कला

एउटा परदेशीलाई सम्झेर

कविता

तारा पराजुली

 

प्रभातले  

सप्को खोल्न नभ्याउँदै

दुईचार धर्का मिरमिरे

गर्भिणी क्षितिजहरू

चिसो घाम कोरल्छन् ।

 

लखेटिएर  

पल्लो भूखण्ड पुग्छन्

अपाङ्ग शरणर्थीहरू

घामसँगै ओहोरदोहोर गर्ने दिनहरू

त्यो जुनको बलेसी

झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरू

मौसमका बहार

पिठयूँभरि थकाइ थप्ने चौतारी

फुर्सदका कल्पना

फूलको महक

खर्कको सेलो, पालममा तमुल स्वर

बेठीको सुरम्य

उत्ताउला रत्तेउलीहरू

मारुती, हाक्पारे

दशैको मालसिरी

तिहारको सयपत्री, मखमली भेला

देउसी र भैली  

चासोक र तुङ्माको नुतनता

बक्रितको अँगालो

सबैसबै पाको पारि उतै लगेछौ

फगत छाडेछौ

झझल्को अल्झाइराखेर

यो भूगोलभरि

कतिन्जेल झुक्काउनु

निर्मल आँखाहरूलाई

ऊ त्यो मूलबाटोको हरियो मन देखाउँदै

प्रतीक्षालयमा कुराएर

फेरि यो निष्ठुर कालचक्रले

भेटाउँछ भेटाउँदैन

मैले मेरो देश हुँदै

सगरमाथाको अहलि निश्केर

यो सन्देश पठाएकी छु

भोलि हेर्ने ऐनाहरू नहटाउनु भनेर

कसैगरी सुनाइदिनू

एउटा परदेशीलाई सम्झेर ।                        

प्रकाशित: २३ भाद्र २०७७ ०६:४२ मंगलबार

अक्षर