कला

सुमन थापा ‘संगम’ का तीन कविता

कविता

सुमन थापा ‘संगम’

प्रेमको रंग  

प्रेमको गोरेटो पहिल्याउँदै  

यादको लौरो टेकेर पुगेथें तिम्रो मनको आँगन  

फुलेथेँ जूनको उज्यालोमा  

तिम्रो हृदयको बगैँचाभरि ।  

 

प्रेम अंकुराउँदा मैले प्रेम मात्र देखें  

प्रेम सारें आँखामा  

प्रेम सारें मुटुमा  

र हिडें प्रेमको सहारामा  

तिमी हिँड्ने बाटो ।  

 

प्रेमको विजयोत्सव मनाउन  

ताराहरू लिएर पुगेथें तिम्रो आँगन

 

तिमीलाई भेटेर  

ताराहरू दिनुअगावै  

फाटेछ  धर्ती जातको ज्वालामुखीले  

हाम्रो प्रेम कुन जातको थियो भनिनौं  

कुन रंगको थियो कहिल्यै भनिनौं।  

 

प्रेमको पनि जात हुन्छ र ?

 

हाम्रो प्रेममा  

जातीयताको बीज रोपेका थिएनौँ

तर फल्यो विभेदको विषाक्त फल

म जल्दै गएँ अपमानको चितामा र खरानी भएँ।  

 

कुनै दिन तिम्रो हृदयको ऐनामा  

म उभिएँ भने हेर्नू मलाई

म कति पवित्र छु

जति पवित्र छ बादलबाट भर्खरै झरेको झरी

बतासले मात्रै स्पर्श गरेको फूल

पहाडको उचाइबाट हामफालिरहेको झरना

हेर्नु मलाई म कति रंगीन छु

जति रंगीन छ–साँझको इन्द्रेणी आकाश

तिम्रो शरीरको प्रत्येक नसामा बगिरहेको रगत

जति रंगीन छ–मैले तिमीलाई गरिरहेको यो प्रेम ।।

 

म हराएँ भनें...  

कुनै समय म हराएँ भने  

दिनहरूमा नखोज्नु मलाई  

दिनलाई त घामले आफूसँगै हरेको हुनेछ  

साँझहरूमा पनि नखोज्नु मलाई  

साँझलाई त जूनले पिइरहेको हुनेछ।  

 

रूखले नयाँ वस्त्र फेरि रहेका बेला  

म हराउन सक्छु  

सबैबाट बिर्सिएको बेला  

म हराएँ भने  

फेरिफेरि सम्झिएर

हतासिएर रूखकै छायाँतिर  

नखोज्नु मलाई।  

 

म कतै पहिरोछेउ उभिएर  

खसेको रूखको पुरानो पातमा

रुँदै एउटा प्रिय नाम लेखिरहेकी हुनेछु

जहाँ हराए पनि

आँखामा बाढी आइरहेको हुनेछ मेरो

एक्लो नदीको तिरैतिर नखोज्नु मलाई

म मुटुमा तिर रोपेर कतै गइरहेकी हुनेछु।  

 

कुनै दिन म साँच्चै हराइदिन्छु

म बेखबर त्यसरी हराएँ भने

फूलबारीहरूमा हेर्नू

म प्रत्येक फूलको आँखाबाट  

तपतप खसिरहेकी हुनेछु।  

 

पुतली  

भित्तोमा अडेसिएर  

झ्यालबाहिर हेर्छु

घाम र बतासले जिस्काउँदै

लखेटिरहेकी पुतली झ्याल नजिक आइपुग्छे  

 

घामले तातो लगाउँदै जिस्काउँछ

फुर्र उड्छे

फेरि बतासले जिस्काउँदै अलि पर हुत्याइदिन्छ

अत्तालिँदै नजिकै फूलका पातहरूसंग  

सम्झौता गर्न पुग्छे ।  

 

कुल्चँदा झुरुम्म हुने सुकेका पातहरू

पुतलीको स्पर्शले बिउँतिन्छन्  

कामुकतामा लठ्ठिएर ऐंठन गर्छन्  

विवश पुतली  

निसास्सिएर आफूलाई फ्यात्त भुइँमा छोडिदिन्छे।  

 

दैलो उघार्छु

पुतलीछेउ पुग्छु, छुन्छु  

छुनासाथ विलीन भई

म आफूलाई छाम्छु

छुनासाथ विलीन भएकि

पुतली त म आफैं रहेछु।  

प्रकाशित: २२ भाद्र २०७७ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App