विनोद नेपाल
स्कुले नानीहरू
अलमलिएका छन्
आधुनिक ग्याजेटहरूमा ।
नौजवान र वयस्कहरू
खेर फालिरहेछन् समय
हाते फोन र ल्यापटपहरूमा ।
बन्द कोठाभित्र
झन्झन् कुंजिंदै छन्
घर्कंदो उमेरका मान्छेहरू ।
छैन हल्लाखोर,
सुनिंदैन कर्कश आवाज,
तर,
हराएको छ शान्ति ।
कस्लाई पो लागेको थियो,
नियति यतिसम्म क्रूर हुन सक्छ,
समय यतिसम्म कठोर हुन सक्छ ।
हेर्नोस् त
आफ्नै धुनमा
गड्गडाइरहेछन् खोलानालाहरू,
मीठा गीत गाउँदै
निर्भय उडिरहेछन् चराहरू
हरिया वनबुट्यानबाट,
स्वच्छ आकाशबाट,
जिस्काइरहेछ मान्छेलाई प्रकृति
रमान्छे
अँध्यारो बनाएर अनुहार,
लोप्पा खुवाइरहेछ आफैलाई ।
प्रकाशित: २१ भाद्र २०७७ १०:०३ आइतबार