कला

मूल्यमान्यता

कविता

 गंगा आचार्य सापकोटा  

 

चरा बिहानै जब चिर्विराउँछन्

मुसुक्क हाँस्दै रविले चियाउँछन्

उठेर मान्छे  नव जोस भर्दछ्न्

बुझेर आफ्ना  सब कर्म गर्दछ्न्।१

 

झिकेर भित्री मनबाट मन्त्रण

गरेर ती दिव्य उँचा प्रकल्पन

सुकर्म गर्छन् नित कर्मका भर

जुटी सधैं गाउँ समाज खातिर।२

 

अनेक आस्था र अनेक धर्म छन्  

तथापि मान्छे  त मिलेर बस्दछ्न्

ठूला र साना सबमा समानता  

यहाँ सबैको रसिलो छ मित्रता।३

 

हुँदैन केही छलछाम कर्ममा

न हुन्छ निन्दा उपहास मर्ममा

सधैं जसो प्रीति रहन्छ कायम

छ भित्र आत्मा अति धीर संयम।४

 

मनुष्यमा मानवता र सौम्यता

अनेकतामा पनि हुन्छ एकता  

अनेक संस्कारसँगै छ सभ्यता  

छ गाउँमा सुन्दर मूल्यमान्यता।५

प्रकाशित: २१ भाद्र २०७७ ०७:३६ आइतबार

अक्षर