कला

कोरोना पापी

कविता

कल्पना अधिकारी

 

म त हजुर भरिया ज्यामी गर्थे काम दिनरात नभनी

कस्तो कडा रोग आयो यो कोरोना पापी

सामाजिक दूरी राखी काम गरौं साथी

गरीबलाई भर लाग्छ पाखुरीमाथि

काम गरी पसीना झार्न पाउँ हाँसीखुशी परिवार पाल्न पाउँ

काठमाडौंमा ठूलो घरको छिँडीमा छ कोठा

काम गर्न नपाएर सुक्यो तालु र ओठ

यस्तै गरी भइरहे उद्योगधन्दा बन्द

भोकमरी र गरीबी बढ्छ अन्धाधुन्ध

साहुले नि लाउछँ कि उठिबास घर भए त गाउँ गै गर्थे मेलापात

माइला भाइ विरगञ्जमा रिक्सा चलाउँछ

कान्छा  भाइचाहिँ पोखरामा टुरिस्ट डुलाउँछ

मेरी उनी यतैतिर लुगा सिलाउने

गरीबलाई ठूलो पीर छ चुलो जलाउने

काम गरी माम खाने बानी गरीबको यस्तै छ कहानी

कहिले बाढी कहिले पैरो कहिले भूकम्प

पहिले पनि हुन्थ्यो कहिलेकाहीं काम ठप्प

अहिले त विश्वभरि महामारीको युद्ध

सबै एकजुट भए हुन्छ देश रोगमुक्त

पक्कै आउँछ उज्यालो दिन धैर्य गर विचलित नबन।

प्रकाशित: २१ भाद्र २०७७ ०६:४५ आइतबार

अक्षर