कला

तिमी स्वास्नी, म लोग्ने

कविता

 सरोज  खतिवडा

आउनुस् एकपटक नाटक हेरौं  

दृश्य १

बिस्तारै पर्दा खुल्छ  

मञ्चको छेउमा  

दिनदहाडै चौरहरूबाट

एकाबिहानै जंगलहबाट  

काँसघारीहरू, उखुबारीहरूबाट

छिमेकीको मतानहरूबाट, छाउगोठहरूबाट  

अधिकारकर्मीको सोफाहरूबाट

धर्मभिरुहरूको व्यसानहरूबाट

बकंरहरूबाट, चेम्बरहरूबाट, इजलासहरूबाट

बाबुहरू,गुरुहरू, दाजुहरू, काकाहरू वा लोग्नेहरूको पाखुराहरूबाट

हजारौ वर्षदेखि  

निर्वस्त्र, निर्मम र कान्त शरीर बोकेर उभिरहेका छन्, मानिसहरू

मञ्चको मध्यभागमा

घुमिरहेका छन् अड्डाअड्डामा

गाँउदेखि शहरका चोकचोकमा उन्मुत्त कामातुर साँढेहरू

पँधेरा, चौतारा र दोबाटामा  

ढुकिरहेका छन् गिद्धहरू  

खेतखलियान र खर्कहरूमा

डुलिरहेका छन् ब्वाँसाहरू

पर्दा बिस्तारै बन्द हुन्छ ।  

नेपथ्यमा

पुरुष  –  तिमी र मसँगै छौं

तिमी महान् छौ र धानिरहेछौ सृष्टि  

तिमी स्वास्नी म लोग्ने कति सुन्दर छ संसार है ?

महिला  –   तिमी र मसँगै छौ

तिमी अहंकारी र व्यभिचारी छौ  र साचिरहेका छौ मौनता

तिमी लोग्ने म स्वास्नी कति ढोगीं र क्रूर छ दुनियाँ

दुवै  –  हामी कहिलै मानिस भएनौं

 

दृश्य २

 

बिस्तारै पर्दा खुल्छ  

भित्ताहरूमा टाँगिएको छ  

सामन्तवाद, पुँजीवाद, समाजवाद

मञ्चमा छरपस्ट छन् लाश, आधा लाश र केही थान जिउँदा लाशहरू  

रेटिएका, काटिएका, थिचिएका, झुन्ड्याइएका, बगाइएका

पोलिएका,पुरिएका अस्तव्यस्त शरीरहरू  

रगत र वीर्यले लतपत पछयौरी, मजेत्रो, चौबन्दी पेटिकोट,सारी, बुर्का, घाँगर  

अनि च्यातिएका, चुँडिएका डङ्गुर भित्री लुगाहरू

छापेको छ अखबारले यौन अंगसहितको मृतकको तस्वीर  

र लेखेको छ ‘बलात्कारी फरार’

प्रहरी गर्दै छ दावी अपराधी धेरै टाढा छैन  

बिहानै घरधन्दा सकेर जम्मा भएका छन् अधिकारकर्मीहरू

ढ्याउ डकार्दै माइतीघर मण्डलामा लाउँदैछन्  

पुरानो नारा ‘बलात्कारीलाई फाँसी दे’

कुर्सीबाट तल परेकाहरू बोल्दै छन्  

मञ्चको बानेश्वरतिर ट्यारट्यार सुनिन्छ  

टेलिभिजनमा महिला मन्त्रालयका पुरुष मन्त्री

भावुक हुँदै दो¥याउँछन् अपराधी समातिने कुरा  

र रेडियो नेपालमा घन्किरहेको छ  

‘जेजे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै’

पर्दा बिस्तारै बन्द हुन्छ ।

नेपथ्यमा

महिला  –  हेरेर आफ्ना स्तनको आकार

देखेर भङ्गाकुरको आकृति

      म हायलकायल छु समयसँग

काँपिरहेछु तिम्रो सभ्य सभ्यतासँग

      चिट्चिह्याहट हुन्छ दुनियाँको आखासँग

पुरुष  –  सुनेर भालेकृत  

      घृणा छ मलाई मेरो लिंगसँग

सधंै पछुताउँछु स्वप्नदोषहरूमा

      धरोधर्म अत्यास लाग्छ हरेक स्खलनहरूमा

दुवै  –   हामी कहिल्यै मानिस भएनौं

 

दृश्य – ३

 

पर्दा बिस्तारै खुल्छ 

मञ्चभरि चिहानहरू छन्, मुर्दाहरू छन्, सल्बलाउँदा कंकालहरू छन् 

त्यसैमाथि ठिंग उभिएको छ देश

देशको एउटा छेउमा छ राजधानी

बिच भागमा सिंहदरबार र छेउमै छ सर्वोच्च 

रजस्वला भएकी स्वास्नीको ओछयानबाट

भर्खरै न्यायालय आउनुभएको छ श्रीमान्

र माग्दै हुनुहुन्छ

बीभत्स, कत्लेआम र छियाछिया परेको योनिसँग

बलात्कार भएको प्रमाण

छोरी जन्माएर पनि बाबु बन्न नसकेको वकिलले

दिंदै छन् अभियुक्त निर्दोष भएको कुरा

न्यायमूर्तिका आँखा बन्द छन् 

श्रीमान् कलम उठाउनु 

पर्दा बन्द हुन्छ ।

नेपथ्यमा

थर्थर काप्नु थियो धर्ती

अन्तिम युद्धका लागि

चिहानहरूबाट, घाटहरूबाट परेड खेल्दै निस्कनु थियो

मेघसरि गर्जदै बन्द आवाजहरू

लिंग बन्दीगृहबाट उमुक्त संसार खोज्न

आँधीबेरी ल्याउनु थियो काँचा आत्माहरूले

वीर्य साम्राज्यमा बनेको सिंहदरवार भत्काउन

घरघरबाट सर्वांग निस्किनु थियो

हजुरआमाहरू,आमाहरू, स्वास्नीहरू, बैनीहरू, छोरीहरू

अन्तिम प्रलयको एउटा अट्टहास गर्जनु थियो 

तर यस्तो केही नहुदै मानिसहरू सभ्य कहलिए ।

 

दृश्य ४ 

 

पर्दा बिस्तारै खुल्छ

अजंगको रुखमा

वर्षौंदेखि जोडी ढुकुर सम्भोगरत छन्  

विशाल जंगलमा सिंहले कहिल्यै बलात्कार गर्दैन  

कुनै भालेले कहिल्यै

भर्खरै अण्डाबाट निस्केको चल्लाको योनिच्छेदन गर्दैन  

हात्ती कहिल्यै सामूहिक बलात्कारमा पर्दिन

यो जंगलको कुरा हो  

पर्दा बन्द हुन्छ ।

नेपथ्यमा

मानिसहरू जंगली होइनन्  ।

प्रकाशित: २१ भाद्र २०७७ ०६:२६ आइतबार

अक्षर