कला

लेनिन र पुटिनसँग भेटघाट

नियात्रा

दामोदर पुडासैनी किशोर

 

एकाबिहानमै धेरै रूपमा प्रकट भयो मौसम मस्कोमा । शहरमा जतिजति अनेक किसिमका वेशभूषाका मान्छेहरू देखिन्थें,उतिउति मौसम पनि रङ्गीचङ्गी इन्द्रेनी रूपमा प्रकट भइरहेथ्यो  । युरोपका धेरै मुलुकहरूमा जस्तै रुसमा पनि तीन कुराको विश्वास हुँदैन भन्दैथिए अलेक्सि निकोलायएन्कोभ । पादोगा (मौसम), पाद्रुगा (केटी साथी) र रावोता (जागीर) क्षणक्षणमै कुन रूपमा प्रकट हुन्छन् र कुन रूपमा हराउँछन्, त्यो भन्न नसकिने अवस्था भौगोलिक परिस्थिति र संस्कार बनेर जागिरहेछ जुगौँजुग अघिदेखि रूसमा । मौसमको द्रुत फेरबदलको छाया मान्छेको आनीबानीमा परेपछि मान्छे नै मौसम बनेर चलखेल गर्न थाल्दछ ।

निवासबाट जुवोभ्स्काय उलिना हुँदै जुवोभ्स्की उलवारस्थित विदेश–मन्त्रालय पुग्दा घामले पुलुक्क मुख देखायो । चियाको कपबाट बाफ निस्केझैं हिमागर र हिमशिलाहरूबाट रेशाहरू देखिए वायुमण्डलमा । माघे झरी थामिएपछि टुप्लुक्क देखिएको घाम र उसको वरिपरि झुत्ती खेलिरहेका प्राणीहरू जस्तो भइरहेथ्यो परिवेश ।

अघिल्लो दिन बुझाएको राहदानी फिर्ता लिनु थियो विदेशको मन्त्रालयबाट । वैदेशिक कूटनीतिसम्बन्धी काम गर्ने शाखा अघिल्तिर पुग्दा ढोकामै ‘आगन्तुकको प्रवेश निषिद्ध’  लेखिएको सूचना पाटी देखेपछि हामी झसंग भयौं । ‘राहदानी फिर्ता लिन कतिपटक धाउनुपर्ने हो !’ हाम्रो मनमा नराम्रो आशंका जन्म्यो । ‘आखिर संसारभर नै नहुने भन्ने केही छैन । हजुरहरू कारमै बस्नुहोस्, म र सचिन भित्र गएर राहदानी फिर्ता ल्याउँछौँ’ अलेक्सि निकोलायएन्कोभले आश्वासनसूचक वाक्य छर्नुभयो । ‘तर आगन्तुक प्रवेश निषिद्ध लेखिएको छ नि अलेक्सि’ – मैले भनँ । ‘केही फरक पर्दैन, यो कम्युनिस्ट व्यवस्थाको रुस होइन, अनुशासनमा हिँड्न ।’ – अलेक्सी अलि उत्तेजित देखिनुभयो । साँच्चै केही बेरमै हाम्रो हातमा राहदानी थमाइदिनुभयो उहाँले ।

अन्दाजी पचासबाउन्न वर्षका अलेक्सी हरेक कुरामा जिम्मेवार र गम्भीर हुनुहुन्छ । उहाँले सोभियत संघ विघटन भएपछि नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा काम प्रारम्भ गर्नुभएको थियो ।

“कम्युनिष्ट व्यवस्था गएपछि अब रुसमा अनुशासनले पनि डाँडो काट्यो त ?’ – मैले प्रश्न तेस्र्याएँ अलेक्सीलाई ।  

‘साम्यवादी व्यवस्था गएपछि हाम्रा सबै सुखहरूले डाँडा काटे । सोभियत संघ हुँदा रकेट, गोलाबारुद, हवाईजहाज र किसिमकिसिमका यन्त्र उपकरण बनाउथ्योे देशले । त्यतिखेर कारखाना थिए, काम थियो । काम भएपछि  दाम र मामको दुःख थिएन । समाज अनुशासनमा अडेको थियो । गर्न नहुने काम गर्ने हिम्मत कोही गर्दैनथ्यो । नगर्ने काम कसैले ग¥यो भने उसले सुख पाउँदैनथ्यो । सबैतिर प्रणालीको विकास भएको थियो । साम्यवाद हटेपछि जीवन दुःखैदुःखको भुमरीमा फसेको छ ।’ जिन्दगीका धेरै वसन्त साम्यवादी व्यवस्थामा गुजारिसक्नुभएका अलेक्सीलाई रुसमा साम्यवाद हट्नु औडाहापूर्ण लागिरहेथ्यो ।

‘शहरमा अरू मान्छेहरू त त्यति दुःखी देखिँदैनन् नि’ – मैले अलेक्सिमार्फत रुसको यथार्थता अरू खोतल्न खोजेँ । ‘मस्कोलाई नियाल्दा देशमा विकास र निर्माण घटेको जस्तो लाग्दैन । तर, मस्को बाहिरका गाउँहरूमा पुग्नुपर्छ, रुसलाई बुझ्न । यतिखेर रुसका गाउँहरूको भोकको कालो बादलमा लागेको छ । पहिले पचास रुबलले मजासँग एक महिना टर्दथ्यो, अहिलेको नोट नै भए पनि केही गर्न पुग्दैन । रुवल पाउन असाध्यै गाह्रो भएको छ । मस्कोमा धेरै विदेशी व्यापारी छन् । त्यसैले यहाँ व्यापारिक र आर्थिक चहलपहल देखिन्छ । तर यहाँ आर्थिक स्थिरता छैन । दिनदिनै धनीहरू अकाशिने र गरीबहरू बिलखबन्दमा पर्ने क्रम तीव्र रूपमा बढिरहेछ, अनि कसरी साम्यवादलाई नराम्रो भनौं हामी !’ अलेक्सीको आवाजमा आक्रोश, असन्तोष र अभावको त्रिवेणी मिसिएको थियो ।

कुरैकुरामा हामीहरू रेड स्क्वायरअगाडि पुगिसकेका थियौं । अघिल्लो दिन रेड स्क्वायर र क्रेमलिन सरसरती घुमे पनि भित्री भाग घुम्न बाँकी नै थियो । त्यसमा पनि रुसी महान् राजनीतिज्ञ लेनिनको सुरक्षित शवको निरीक्षण गर्ने मेरो धोको पूर्ण भइसकेको थिएन ।

काला, गोरा, गहुँगोरा, बाल, युवा, वृद्ध जस्ता संसारका सबै रंग जातिजाति र उमेरको प्रतिनिधित्व भएको हजारौं मान्छेहरूको लहरमा हामी पनि लहर लाम लाग्यौं, रेड स्क्वायरको बाहिरी पर्खालछेउको ढोकासामु । कमजोर घाम मुटु हल्लाउँदै रल्लिरहेथ्यो मस्को शहरमा । हाम्रो पहिरन ज्याकेट, ऊनी कपडा, सबै काँपिरहेथे जाडोको टोकाइमा । कर्णजी भने पातलो सुटमा उभिनुभएको थियो । ‘कर्णजीलाई जाडो भयो, पहारमा बस्नुहोस्’ कामिरहनुभएका कर्णजीप्रति अलेक्सीले सहानुभूति प्रकट गर्नुभयो । ‘न्यूयोर्कको जाडो त पचाएँ, यहाँको जाडो’ – कर्णजी फुर्तिसाथ बोल्नुभयो । ‘‘आछ्यूँ खाएँ बाछ्यूँ खाएँ झुसे बारुलो’ त भन्नुहुन्छ कर्णजी, तर कामेर गल्ती गर्नुभयो यहाँ – उद्धवजीको व्यंग्य । ‘हेर्नुहोस् म त काठमाडौंको मान्छे सुट भनेको सुट नै हो नि, व्यक्तित्वको लागि सुट त पहिरनैपर्छ नि हैन ?’ – कर्णजी अझै पनि काठमाडौंलाई भ्यागुतो लुक्ने कुवा बनाउनमै मस्त बन्नुभयो । ‘हो, मान्छेको व्यक्तित्व प्रधान कुरा हो तर व्यक्तित्व झल्काउने साजसज्जा परिस्थिति र मौसमअनुकूल त हुनैपर्छ नि’ – मैले बताएँ । हाम्रो अघिल्तिर दुई जना पच्चीस–छब्बीस वर्षे तरुनीहरू, एउटा चौधपन्ध्रवर्षे किशोर र दम्पती जस्ता देखिने दुई अधबैँसेहरू निकै अघिदेखि हाम्रो कुरा गराइ र हाउभाउ ध्यानपूर्वक नियालिरहेको आभास हामीलाई भइरहेथ्यो । कुन्नि कुन कुराले हो एक्कासि हाँसो फैल्यो उनीहरूमाझ । ‘देख्नुभो, तपार्इंलाई नाङ्गै ठानें उनीहरूले’ – उद्धवजीले कर्णजीलाई प्रहार गर्नुभयो । ‘उनीहरू जत्तिसुकै हाँसुन् म आज त ज्याकेट लगाउँदै लगाउँदिनँ’ – कर्णजी ‘मेरो गोरुको बाह्रै टक्का’ उखानलाई सार्थक पार्ने प्रयासमा कड्कनुभयो । ‘किनभने अहिले कसै गरे पनि तपाईंलाई कुडुजोप्स्की जानै दिंदैनौं, हामी गए पो तपाईं जान पाउनुहुन्छ’ मेरो जवाफमा हाम्रो समूहभर हाँसो फिंजियो । मैले अलेक्सीलाई अंग्रेजी भाषामा रूपान्तर गरेर सबै कुरा बताइदिएँ । अलेक्सी पनि निकै हाँस्नुभयो । हाम्रो समूहको हाँसो देखेर हाम्रो छिमेकी समूह टोलायो, उनीहरूप्रति केही लक्ष्य गरेको हो कि भन्ने अडकलमा । भाषाको अनभिज्ञताले गर्दा कतिपय अवस्थामा सन्देहको सृष्टि हुन्छ र समस्या शिखर चढ्दछ – मैले एकएक गरेर उनीहरूको अनुहार नियालेँ ।

कुरामा भुल्दा भुल्दै हामीहरू क्रेमलिन पर्खाल पार गरेर रेड स्क्वायरभित्र पसिसकेका थियौँ । प्रवेश पाएका मान्छेहरू उत्साहित थिए । रेड स्क्वायरभित्र देखिने कलात्मक भवन, घोडचढी सालिकहरू र भर्खर फक्रेका राता कार्नेसन फूलका थुङ्गाहरूको माझ हिउँका रेशारेशामा चुम्बन गरिरहेथ्यो घामले । कुनै बेलाका रसियाली सेनापति मार्सल जुकोभ एउटा फुर्तिलो घोडामा बसेर आफ्नो ओजपूर्ण व्यक्तित्वको प्रदर्शन गरिरहेथे । त्यो घोडचढी सालिक देख्दा सजीव लाग्थ्यो । शहीदको सम्झनामा एक कुनामा अखण्ड दीप बलिरहेथ्यो । कसैको सम्झनामा अखण्ड दीप जलाइरहनुभन्दा एउटा सुन्दर फूल फुलाउनु बेस हुन्छ जस्तो मलाई लाग्यो । प्राचीन समयमा विद्युत्को अभावले गर्दा उज्यालो कम हुन्थ्यो । अतः रातदिन आलोक छर्न अखण्ड दीप बाल्ने प्रचलन चलेको हुन सक्छ । तर अहिले यत्रतत्र विद्युत सुलभताले गर्दा छुट्टै टुकी जलाइरहनुको कुनै उपादेयता रहँदैन । त्यसले वातावरणीय प्रदूषण र खर्चको भार पनि बढ्ने हुँदा अझ नकारात्मकताको सिर्जना हुनु स्वाभाविक नै हो । फूल वृक्षको फैलावटले सर्वत्र जीवन्तताको प्रसार हुने र जीवनदायिनी शक्तिको बोध हुने हुँदा कुनै उद्घाटन–समारोहमा पनि दीप–प्रज्ज्वलन गराउनुभन्दा पुष्पवृक्षमा जलसिञ्चन गरेको कति राम्रो हो कति !

तात्कालिक सोभियत संघको निर्माण बलिदान दिने असंख्य वीर योद्धाका सालिकहरू जोशिलो हाउभाउमा उभिइरहेथे लहरै । बीचभागमा एउटा सानो घर छ – चिटिक्कको । लहरका असंख्य मान्छेहरूसँगै हामीहरू पनि पस्यौँ । घरबाहिर नै घरभित्र प्रवेश गरेपछि आबाज निकाल्न नपाइने, तस्वीर खिच्न नपाइने, तोकिएको सीमा नाघी हिँडडुल गर्न नपाइने जस्ता नियमहरूको सूची अङ्कित थियो । ठाउँठाउँमा सुरक्षा–प्रहरीहरू चनाखो रूपमा सबै यात्रुहरूप्रति आँखा लगाइरहेथे । भवनबाहिर–भित्र सबैतिर स्वच्छता र शान्ति थियो ।

मझेरीमा उत्तानो परेर सुतिरहेको लेनिनको शव देखियो । सुटटाई पहिरेका, दाह्रीजुँघा भर्खर मिलाएका जस्ता, गोरा, हँसिला लेनिन चिरनिद्रामा सुतिरहेका छन् । रसियाको सिम्बिस्र्क (हाल उल्यानोभ) शहरमा सन् १८७० अप्रिल १० तारीखमा जन्मेका लेनिनले विश्वलाई एउटा नौलो विचार मात्र दिएनन्, सारा रसिया र तत्कालिक सोभियत संघका जनताको सामाजिक रूपान्तरणद्वारा अभूतपूर्व परिवर्तन समेत ल्याइदिए । रुसको नदी भोल्गाको किनारमा गरीबीको मार खप्दा भ्लादीमिर इल्यिच उल्यानोभ(लेनिन)का पिता इल्या निकोलाएभिच उल्यानोभ र आमा मारिया अलेक्सान्द्रभ्नाले आफ्ना छोराले संसारभर त्यसरी क्रान्तिको बिगुल फुक्छन् र सारा विश्वको सामु अविस्मरणीय योगदान पु¥याउँछन् भन्ने कल्पना पनि नगरेका हुन सक्छन् । छोटो अवधिभित्रै उल्लेखीय योगदान दिन सफल भए बोल्सेविक क्रान्तिका नेता लेनिन विश्वलाई साम्यवादतर्फ मोडेर । दृढ निश्चयपूर्वक त्याग र तपस्या गर्ने हो भने मान्छे मानव मात्र नभै महामानव हुन बेर लाग्दैन भन्ने कुराका उदाहरण हुन् लेनिन ।

जनवरी १९२४ मा लेनिनको मृत्यु भएपछिदेखि उहाँको शव रेड स्क्वायरमा सार्वजनिक प्रदर्शनीको लागि राखिएको छ । सोभियत संघको विघटनपछि रसियाका प्रथम राष्ट्रपति एल्तसिनले सन् १९९१ देखि १९९८ सम्मको आफ्नो कार्यकालमा लेनिनको अवशेषलाई रेड स्क्वायरबाट हटाउन पटकपटक विफल प्रयास गर्नुभएको थियो । जनदबाबले गर्दा त्यो सफल भएन । लेनिनको शव देख्दा मेरा आँखा झिम्केनन् । ती महामानवको कोषकोषमा क्रान्तिका विशाल इतिहासहरू अल्झिरहेका छन् । भनिन्छ – महामानवहरूको दर्शन त्यसै पाइँदैन उनीहरूको दर्शनले दर्शनार्थीको जीवनमा पनि ऊर्जाका लहरहरू सञ्चारित हुन्छन् । जुरुक्क उठेर ‘कामरेडहरू ! अहिल्यैदेखि यौटा नौलो कामको थालनी गरौँ’ भन्दै कार्यदिशा प्रस्तुत गरिहाल्लान् जस्तो लागिरहेथ्यो लेनिनको शव देख्दा । कपाल, छाला, शरीर, लवाइ केहीमा पनि मृत्युको गन्ध थिएन । केवल श्वास थिएन, आवाज थिएन र क्रियाशीलता थिएन । धन्न रसियालीहरूले युगौयुगदेखि लेनिनको शव सुरक्षित राखे । महान् व्यक्तिहरूप्रति आफ्नो सर्वस्व अर्पण गर्ने उनीहरूको महत्तको प्रशंसा जति गरे पनि कम नै हुन्छ । नत्र हरेक हप्ता करोडौँ रुवल खर्चेर एउटा श्वासविहीन ज्यूँदोपनलाई कसरी जोगाइरहने आँट गर्थे उनीहरू ।

लेनिनको दर्शन गर्दा गर्दै अलेक्सिका आँखाबाट बलिन्द्रधारा आँसु बगे । लहरमा रहेका अरू मान्छेका अनुहारतर्फ पनि आँखा दौडाएँ । तिनीहरूमध्ये धेरैको आँखा टिलपिल भएका थिए । धेरै रसियालीहरू त अलेक्सीजस्तै भावविभोर बनिरहेथे । म पनि निस्तब्ध बनेँ ।

लेनिनको समाधिस्थलनजिक आफैमा हराएँ म । मान्छेको जिन्दगीको गति रोकियो भने रोकिन्छ सबै चीज । लेनिनको जीवनकालमा उनको सामीप्य पाउन कति कठिन थियो होला ! उनको हर क्षण कति बेफुर्सदी र महŒवपूर्ण ढंगले बित्यो होला ! उनका आदेश, आज्ञा र घोषणा सुन्न मान्छेहरू कति लालायित हुन्थे होलान् । उनीमा अभैm पनि सबै कुरा छ, फगत छैन अलिकति श्वास र एउटा गति । त्यसैको परिणतिमा उनका विचारको बर्खिलाप हुरी र डढेलो फैल्यो । उनको सामु पुच्छर लुकाउनेहरू पनि बडेमानको सिंह बनेर गर्जन थाले । समयले नै ढालेपछि जस्तोसुकै बलबुताले पनि कहाँ उठ्न सकिँदो रहेछ र हगि लेनिन !

रेडस्क्वायरभित्रको त्यस घरमा भित्रँदा लेनिनलाई दायाँ र बाहिरिदा बायाँ पार्ने व्यवस्था मिलाइएको छ । लहरै भित्र पस्दै बाहिरिने नियम भएकोले धेरैबेर रोकिने स्थिति थिएन । मैले धेरैपटक अभिवादन गरेँ । ढोकाबाट बाहिरनेबित्तिकै एउटा कविता लेखिंहालेँ – ‘खाटा बसेको घाउ छामेर’ शीर्षकको ।साँच्चै यतिखेर लेनिन धेरैका लागि खाटा बसेको घाउ बनेका छन्।

रेडस्क्वायर र क्रेमलिन क्षेत्रको हरेक वस्तु प्राकृतिक र ऐतिहासिक रूपमा उच्च महवले सजिसजाउ छन् । क्रेमलिन र वरिपरिका पुराना घरहरू नै मन्दिर जस्ता भव्य लाग्ने । प्रायः तहतह परेका शिखर शैलीका भवनहरूमा टुप्पामा सुनौला गजुरहरूको शोभा अलौकिक छ । रेड स्क्वायरमा भने रातो रंगको भुइँमा सिमेन्टका ससाना ब्लक छापिएका ।  

मैले संग्रहालयको कलात्मक भवनको पूर्णतालाई आफ्नो पृष्ठमा पारी तस्वीर खिचाएँ । सन् १८१८ तिर रसियाली राजा र जनप्रतिनिधिबीच वार्ता भइरहेको सालिकले तात्कालिक राजनीतिलाई छर्लङ्ग्याइरहेको छ । हाम्रो देशमा पनि सच्चा जनप्रतिनिधि तयार भएर देशको लागि उनीहरूले केही मात्र गरे पनि कति राम्रो बन्थ्यो होला देश ! सुपरिणामदायी नबनेसम्म हतियार र युद्धले मात्र समाधान निस्कन सक्दैन । हाम्रो देशमा त पेलाइलाई नै खेलाइ ठान्नेहरूको जमातले त्यसो हुन दिएन ।

रेड स्क्वायरबाट फर्कने तर्खरमा लाग्दा एक हूल मान्छेहरू आँगनमा अवस्थित वृत्ताकार चित्रमाथि उभिएर तसबीर खिचाइरहेका थिए । त्यसलाई रसियाको केन्द्रविन्दु पनि भन्दछन् । बाघ, सर्प, जरायो, माछा, चराका चित्रहरू कोरिएका छन् वृत्ताकारमा । रसियाको हरेक शहर त्यस केन्द्रबाट कति दूरीमा छ भन्ने नाप्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । पहिलेपहिले काठमाडौँको केन्द्रविन्दु हनुमान् ढोकालाई मानेजस्तै प्रचलन देखियो त्यहाँ पनि । केन्द्रविन्दु परिधिमा निर्भर गर्ने कुरा हो । फरक परिधिबाट नियाल्ने हो भने केन्द्रविन्दु पनि फरक स्थानमा परिहाल्छ । मान्छेको जिन्दगीको पनि केन्द्रविन्दु कता मान्ने ? उमेर, उन्नति, पीडा र इच्छा – कामना पूरा भएका क्षणमध्ये कुनलाई ? फरक परिवेश र परिस्थितिलाई नापोको आधार बनाउने हो भने केन्द्रविन्दुको अर्थ पनि फरकफरक लाग्दछ । त्यसैले मैले केन्द्रविन्दुलाई खासै महŒव त दिइनँ, तर तस्वीर भने खिचियो ।

हिँड्दाहिँड्दै तात्कालिक कम्युनिस्ट सेनाको झुत्रो पोशाक पहिरेको एउटा मान्छे रसियालीभाषामा चीत्कार गरिरहेको देखियो । झुस्स दाह्री पालेको, अनुहारभरि अभाव, असन्तोष र असमञ्जसका रेखाहरूले किरिङमिरिङ गरी ढाकिरहेको त्यो मान्छे बेलाबेलामा रुन्थ्यो र कराउँथ्यो । ‘समाजवादी व्यवस्थाको पतनले यो मान्छेको यो गत भयो , अहिलेका बहुसंख्यक रसियालीहरूको प्रतिनिधित्व गरिरहेछ यो मान्छे’ – अलेक्सीले मलाई कोट्याउँदै भन्नुभयो । पन्ध्रआटा समाजवादी गणराज्यहरू समाविष्ट भएको सोभियत संघ हुँदा अमेरिका, जापान, फ्रान्स, बेलायत जस्ता पूँजीवादी खेमाका मुलुकहरूलाई समाजवादी देशहरूको प्रतिनिधित्व गर्ने सोभियत संघ हायलकायल पार्दथ्यो । विश्व नै दुई शक्तिमा विभाजित भएकोमा सोभियत संघ पूँजी, साहित्य, वैज्ञानिक प्रगति जस्ता विविध पक्षको प्रभाव विश्वभर फैलाउने क्रममा थियो । गरीब र धनीको विभेद तात्कालिक जनतालाई थाहा नै हुन्थेन । अरू मुलुकहरूमा गरीब रहन्छन् भन्ने सुन्दा त्यहाँका मान्छेहरू ‘गरीब’ भनेको हेर्न र बुझ्न उत्सुक हुन्थे भन्ने सुनिन्थ्यो । त्यसै रुसमा आज समाजवादी सैनिक पोशाकमा मान्छेहरू क्रन्दनमा डुबेका छन्, दयाको भीख मागेर बाँच्न बाध्य छन् ।

‘म नेपाल आएँ भने तपाईंले नै घुमाइदिनुपर्छ है’ – अलेक्सी बोल्नुभयो ।

‘किन हामीले घुमाइदिए हुन्न ?’ –जुम्रानोभ(जनार्दन)जीले पक्रनुभयो । ‘साहित्यकारहरू हृदयका कुरा बोल्छन्, इतिहास, भूगोल र राजनीतिक परिवेशलाई केस्रा केस्रा पारेर छोडाउँछन् र अरु मान्छेलाई सही दिशातिर डो¥याउन सक्छन्, त्यसैले म उहाँसँगै घुम्न चाहन्छु ।’ – अलेक्सिले जनार्दनजीलाई जबाफ फर्काउनुभयो र मपट्टि फर्केर अङ्ग्रेजी र रसियालीभाषा मिसिएको वाक्य प्रस्तुत गर्दै मुस्काउनुभयो – ‘यु आर खरोसो म्यान (तपाईं राम्रो मान्छे हुनुहुन्छ) ।’

‘ओचिन्राद’ (म धेरै खुशी छु) – मैले मुस्कानमा मुस्कान थपेँ ।

‘तपाईंहरू साइतमा यहाँ आउनुभएछ । उ हेर्नुहोस् त लेनिन र पुटिनसँग पनि भेट्न पाउने हुनुभयो’ – अलेक्सि दाँत ङिच्च पार्दै हाँस्नुभयो र बोल्नुभयो – ‘लेनिन भित्र निद्रामा हुनुहुन्थ्यो, व्यूँझेर बाहिर आइसक्नुभएछ ।’ साँच्चै लेनिन र पुटिनको अनुहार, वेशभूषा सबै कुरा ठ्याक्कै मिल्ने दुई व्यक्तिहरू बेन्चमा बसेर वार्ता गरिरहेका थिए । सबै पर्यटकका आकर्षण भएका थिए उनीहरू । ‘लेनिन समाजवादी, पुटिन प्रजातन्त्रवादी, तैपनि कुरा मिलेछ हैन यहाँ ?’ – मैले अलेक्सिसँग हाँसो गरेँ । ‘लेनिन देश बिगार्नु हुँदैन भनेर पुटिनलाई सम्झाउँदै होलान् ।’ – अलेक्सीको जवाफले हामी सबै हाँस्यौँ । मान्छेहरू सय रुवल तिरेर ती नक्कली लेनिन र पुटिनसँग तस्वीर खिचाइरहेथे । उनीहरूसँग तस्वीर खिच्ने चाहना हुँदाहुँदै पनि त्यति धेरै रकम भुक्तान गर्ने ममा इच्छा जागेन । अलिपर हिँडेजस्तो गरेर मैले क्यामेराको लेन्स घुमाउँदै उनीहरूको दूरतालाई नजिक तानेँ र तस्वीर लिइछाडेँ ।

‘दाइ ! हजुरहरूलाई औद्योगिक प्रदर्शनीको अवलोकन गर्ने निम्ता पनि छ नि बिर्सनुभयो ?’ – भाइ शचीन्द्र वज्राचार्यले सम्झाउनुभयो । ‘हो त नि ढिला नगरौँ ।’ झटपट मस्को शहरको माझमा भइरहेको औद्योगिक प्रदर्शनी स्थलमा पुग्यौँ । हाम्रो स्वागतको लागि पश्मिना होम प्रोस्पेक्ट मस्कोका निर्देशक केशव तिमिल्सिना । प्रदर्शनीको आयोजक संस्थाका उपप्रमुखसँगै मूलद्वारमै प्रतीक्षा गरिरहनुभएको थियो । मूलद्वारमै घ्याम्पोजत्रो रङ्गीचङ्गी बेलुनले ढाकिएका दुई युवतीहरूले स्वागत गरे ।

प्रदर्शनी–स्थलमा हीराजडित हार, फूल, गमलाजस्ता घर सजावटका सामग्री, काठ र बाँसका कलात्मक भाँडाकुडा, हस्तिहाडका सामग्री, हाते कागजद्वारा तयार पारिएका उपहार, ऊनी र छालाका वस्त्र, घडी आदिका आकर्षक कक्षहरू थिए । भीड खचाखच थियो । प्रदर्शनी–कक्षहरूमा रहेका आधाजसो सामग्रीहरू हाते सीपद्वारा सजिएका थिए । हामीकहाँ बाँस, घाँस, काठपातको त्यति अभाव हुँदैन । तिनीहरूको सदुपयोग गरेर कलात्मक उत्पादन गर्ने हो भने रोजगारी र रकमको कुनै अभाव हुँदैनथ्यो ।

प्रदर्शनी–कक्षको बीच भागमा नेपाली झन्डा फहराइरहेको पस्मिना–प्रदर्शनीकक्षमा भेटियो । दुई जना रसियाली बहिनीहरूले धमाधम नेपाली पश्मिना कपडाका बखान गर्दै बेचिरहेका थिए । ‘दोव्रेदेन’ (दिउँसोको नमस्कार) – मैले चिनारीको औपचारिकता शुरू गरेँ । ‘नमस्ते’ उनीहरूले अभिवादन फर्काए । केशव तिमिल्सिनाजीले आपसमा चिनाजानी गराउनुभयो ।

प्रायः सबै प्रदर्शनी–कक्षमा हसिला युवतीहरू नै थिए । उनीहरू हरेक आगन्तुकलाई ‘द्रास्भिचे (ए, हजूर !)! शब्दले सम्बोधन गर्दथे । सामानका राम्रानराम्रा सबै पक्ष सविस्तार बताइदिन्थे । मूल्य घटाउन राम्रैसँग मोलामोलाइ हुँदोरहेछ त्यहाँ । पसलमा पसेपछि कुनै न कुनै सामान नकिनी बाहिरनै मन नलाग्ने । बिक्रीकलामा पोख्त थिए ती युवतीहरू ।

‘तपाई इरानी हो ?’ – एउटी चुलबुले विक्रेताको प्रश्न मेरो कानमा रोकियो ।

‘कसरी इरानी ठान्नुभयो ?’ – मेरो सोधाइ ।

‘तपार्इंको अनुहारको वर्ण र उचाइले मलाई इरानी जस्तो लाग्यो ।’

‘हैन म नेपाली हुँ’ – मैले सीधा उत्तर दिएँ ।  

उनी अकमक्क परिन् । ‘कहाँ नेपाल भनेको ?’ – उनको प्रश्न ।

‘चीन र भारतको बीचमा जहाँ सगरमाथा छ ।’ – बल्ल अडकल काटिन् उनले ।

धन्न सगरमाथा एउटा नभएको भए आफूलाई चिनाउन नै गाह्रो पर्ने । मैले मनमनै सगरमाथालाई प्रणाम गरेँ ।

‘तपाईको नाम नि ?’ – मेरो परिचय पछि मैले सोधेँ ।  

‘फेङ् चोउ ु – उनले हाँस्दै पत्तीले चिरेजस्ता चिम्सा आँखा नचाउँदै जवाफ दिइन् । म  चिनिया मूलकी हुँ मेरा पुर्खा यता आएर बसेका ।’ – उनले थपिन् ।

थोरै बेरमा मन धेरै कुरामा उनीसँग बाँडियो । ‘बेच्न राखिएका सुन्दर प्लास्टिक फूलहरू राम्रा कि उनी ?’ – मलाई छुट्याउन धौधौ परिरहेथ्यो । साथीहरू बाहिरिसकेका थिए । ‘हस् त म जान्छु है’ – मैले बाहिरने अनुमति मागें । ‘फूलदानी वा फूलका गुच्छा, जे भए पनि लैजानुहोस् न’ – उनको नरम स्वरमा आत्मीयता दर्शियो । ‘मैले केही पनि नकिन्ने निर्णय गरेँ, मैले मुख फोरेँ, ‘किन्नुपर्दैन । तपार्इंलाई यो सित्तैमा उपहार ।’  यो गुच्छा देखेपछि त मलाई सम्झनुहोला नि” फेङ् चोउले एउटा कलेजी रङ्गको गुलाफको गुच्छा मेरो हातमा थमाइन् । ‘लिऊँ कि नलिऊँ’ म अन्यमनष्क भएँ । रकम भुक्तानी गर्छु नि त’ – खल्तीमा हात हालेँ ।  

‘पर्दैनपर्दैन भनेपछि पर्दैन’ – फेङ्ले जिद्दी गरिन् मानौं उनी र मबीच धेरै अघिदेखि गाढा सम्बन्ध थियो । मैले उनको मन नै त्यस गुच्छामा सरेजस्तो ठानेँ । ‘म त तिमीलाई यो गुच्छाका पत्रपत्रमा संगालेर लैजादैछु ।’ फूलसँगै मन दिने सुन्दरीलाई अलिकति आफ्नो मन सुम्पेँ । ‘सधैँभरि सँगै राख्नु है’ – उनी अरू खुलेर हाँसिन् । ‘दश्वेदानिया ! (फेरि भेटौला)’ – म हात हल्लाउँदै बाहिरिएँ । ‘सरलाई त्यो जेबुस्का(युवती)ले त यतै राख्न खोज्दै थिई नि’ – केहीबेर हाम्रो कुरा सुन्नुभएका शचीन्द्रले कोट्याउनुभयो गाडीमा चढेपछि । ‘हो, साँच्चै मिजासिला रहिछन् तिनी’ – मैले जवाफ फर्काएँ ।

भोकको मात्रा बढेको थियो सबै जनामा । हुत्तिएर पस्यौँ म्याक्डोनालमांँ । झन्डै एक रोपनीभन्दा बढी जग्गा ओगटेको घरमा म्याक्डोनाल रेस्टुराँको सञ्चालन भइरहेको थियो । हजारौं मान्छेहरू त्यहाँ खाइरहेथे । आफूलाई आवश्यक खाद्य तथा पेय पदार्थको लागि अग्रिम भुक्तानी गर्ने र खाइसकेपछि रित्ता प्लेट र जम्मा भएका फोहोर आआफैले कन्टेनरमा फ्याक्ने प्रथाले सबै टेबुलहरू सफासुग्घर थिए । टेबुलकुर्सी खाली नभएकोले पाँच मिनट उभियौँ । रेस्टुराँमा अधिकांश युवतीहरूको जमघट थियो । हँसीमजाक र छिल्लने क्रम उनीहरूको लागि सामान्य थियो । अधिकांंश अग्ला, गोरा, सुनौला कपाल भएका र लिप्स्टिकजस्तै राता ओठ भएका सुन्दरीहरू थिए । सबैको परिधान बेग्लाबेग्लै रूप र रंगको देखिन्थ्यो । मानौँ पहिरनको प्रतिस्पर्धा नै भइरहेको थियो त्यहाँ । मैले रेड स्क्वायरमा चीत्कार फ्याक्दै भीख मागिरहेको समाजवादी माग्नेलाई सम्भेmँ र स्वर्गका परीजस्ता ती युवतीहरूको हाउभाउलाई नियालिरहेँ । अलेक्सिको हातमा रहेको एउटा पत्रिका तानेँ । पत्रिकाको मध्यपृष्ठमा केली, बार्बरा, मारिया, जस्ता विभिन्न युवतीहरूका तस्वीर र उमेरसँगै उनीहरूसँग समय विताउन चाहनेहरूको लागि सम्पर्क फोनको उल्लेख गरिएको विज्ञापन थियो । ‘यस्तो विज्ञापन पनि पत्रिकामा हुँदो रहेछ ?’ – मेरो प्रश्नमा अलेक्सी उदास हुनुभयो । भन्नु भयो – ‘देशमा स्वतन्त्रता आउँदा राम्रा कुरा मात्र होइन विकृति र विसंगतिको भेल पनि भित्रिँदो रहेछ ।’

फर्कदा रसियाली संसद्डुमाको भवनलाई बायाँ पारियो । तात्कालिक सोभियत संघको जासूसी संस्था के.जी.बी.भवन(जहाँ संघीय सुरक्षा–कार्यालय बसेको छ)अघिल्तिर पुगेपछि म झस्केँ । ‘खोई मेरो फूलको झुप्पा ?’ – अनायास मेरो ओठबाट आवाज निस्क्यो । ‘ल, रेष्टुरामै छोड्नुभयो होला, कसको हातमा प¥यो अब ।’ शचीन्द्रले दिक्दारी पोख्नुभयो । ‘कति रुवल परेको थियो ?’ – अलेक्सी अलि हताश हुनुभयो । ‘रुवलको कुरा होइन, अमूल्य थियो अलेक्सी त्यो फूलको झुप्पा ।’ – उदास र हतासको आँधी मेरो शरीरभर मडारियो । मैले फेङ चोउ मेरैसामु फेरि उभिएझैं लाग्यो । अनुहार सम्भेmँ र सम्भेmँ – ‘सधैँभरि सँगै राख्नू है’ – भन्ने उनको प्रणयसूचक आवाज कानको जालीभरि गुन्ज्यो ।

‘श्रीमान् दामोदर ! समाजवादीहरू जस्तोसुकै असम्भव काम पनि सम्भव तुल्याउँछन् । तपाईं यसको प्रमाण चाहनुहुन्छ ?’ – अलेक्सीले मेरो उदास अनुहारमा नौलो बिजुली चम्काउने प्रयास गर्नुभयो । ‘के छ त्यस्तो’ – मैले चाख तेर्साएँ । ‘ऊ यो भवन हेर्नुहोस् त । स्टालिनको समयमा सडकसीमाको बिस्तार गर्दा यो भवन जुरुक्क उचालेर ५० मिटर पछाडि सारिएको थियो । सार्दा कतै चोइटने, भत्कने त कुरै छोडौं कतै रौँ जत्रो चिरा पनि पर्न दिइएन । यो चमत्कार नभए अरू के हुन सक्छ?’ – हामी सबै चकित भयौँ । त्यत्रो विशालकाय भवन नभत्कने गरी जुरुक्क उठाएर ५० मिटर पर सार्नु र उचालेर सार्दा कतै चर्कन नदिनु कम महŒवपूर्ण र चमत्कारपूर्ण कुरो थिएन । अहिले पनि मस्को–नगरपालिकाको सम्पूर्ण काम त्यस भवनबाट सञ्चालन भइरहेको । ‘साच्चै कम्युनिस्टहरू त जादुगर पनि हुन्छन् कि क्या हो’ – मैले अलेक्सीको ध्यान तानेँ ।’ ‘जादुगर होइनन् तर फलाम पनि नौनी बन्न बाध्य हुन्छ उनीहरूको सामु’ – अलेक्सीको शरीरमा कम्युनिस्ट रगत अझै गाढा हुँदै बगिरह्यो ।

प्रायः विदेशिएका नेपालीहरू कामको खोजीमा भौतारिएका, देशमा उच्च र प्राविधिक पदमा काम गरिरहेकाहरू पनि विदेशका रेस्टुराँमा भाँडा माझ्ने, पसलहरूमा सामान ओसारपसार गर्ने, घरेलु कामदारको रूपमा काम गर्ने, भेडा, ऊँट आदि चराउने काम आद्धि गरिरहेका देखिन्छन् । तर रुसमा त्यो स्थिति छैन नेपालीहरूले इमान र पौरखको बलद्वारा मस्कोमा वर्चस्व कायम गरेको नहेरी फर्कन मनले मानेन । साथीहरूलाई त्यो विषयमा उक्साइयो । नेपालीहरूले अरू धेरै विदेशीलाई रोजगारी दिएका छन् । नेपालीहरूले सञ्चालन गरेको गार्बुस्कास्थित व्यापारिक केन्द्रमा अपराह्न ४ बजेर ३० मिनेट गएपछि जीवनजीको साथमा गयौँ । व्यापारिक भवनको भव्यता र उच्चता निकै प्रशंसनीय थियो । अधिकांश नेपाली व्यापारीहरूको उपस्थिति नेपालकै भाटभटेनी व्यापारिक घर वा काठमाडौं मलमा पसेको भान प¥यो ।

गार्बुस्काको त्यो विशाल व्यापारिक भवन धमाधम कक्षहरू विस्तार थपिँदै थिए । नेपालका प्रसिद्ध व्यापारी उपेन्द्र महतोद्वारा निर्मित त्यो व्यापारिक भवन र त्यहाँ भइरहेको व्यापारिक क्रियाकलाप देख्दा जुनसुकै नेपालीको शिर गर्वले उच्च नबनी रहन सक्तैन । हामी पस्दा नपस्दै डा. गणेश पोखरेल र घनश्याम राजभण्डारीहरूले ताता हात बढाउनुभयो । गार्बुस्का व्यापारिक केन्द्रका प्रायः सबै कक्षमा उहाँहरूको न्यानो साथ रह्यो । अध्ययनको क्रममा रसिया पुगेकाहरूमध्ये कतिपयले त्यहीं व्यापार शुरू गरेका थिए । इनरुवाबाट रसिया पुगेर इलेक्ट्रोनिक्स विषयमा विद्यावारिधि गरेका डा. गणेश सानिमा–समूह र उपेन्द्र महतोको संयुक्त लगानी कम्पनीको पनि प्रबन्ध निर्देशक हुनुहुन्छ । ‘उपेन्द्र महतोले शुरू गर्नुभएको गार्बुस्का व्यापारिक भवनको आयोजना पूरा भएपछि यो युरोपकै सबभन्दा ठूलो व्यापारिक केन्द्र  हुनेछ । यहाँ तीन हजार कार्यालय, दुई हजार पाँच सय पसल र तीन हजार गोदामहरू रहनेछन्’ – डा. गणेशले प्रकाश पार्नुभयो ।

गार्बुस्का व्यापारिक केन्द्रमा धेरै नेपालीहरूसँग भेटघाट भयो । उहाँहरू साहुजीको रूपमा हुनुहुन्थ्यो । प्रत्येक पसलमा दुईचारजना रसियाली र अन्य देशका मान्छेहरू काम गरिरहेका थिए । ‘रसियालीहरू अत्यन्त इमानदार हुन्छन् । जिम्मा दिएको काम तलमाथि नपारी फत्ते गर्दछन् । त्यसैले हरेक पसलमा सकेसम्म रसियालीहरूलाई नै काम दिन्छौं । उनीहरू इमानदार नभए हामी नेपालीहरूको स्थान कहाँ यति उच्च हुन्थ्यो र यहाँ ?’ – डा. पोखरेलले यथार्थ पोख्नुभयो ।

इलेक्ट्रोनिक्स सामानले खचाखच भएको एउटा पसलमा पसेँ । ‘दोवं्रभेचर (साँझको प्रणाम)’ मेरो अभिवादनमा त्यसै भनेर प्रणाम गरे एकजना हँसिला युवाले । ‘तपाईं नेपालबाट भर्खरै आउनुभएको हो ?’ – उनको प्रश्न । ‘कसरी थाहा पाउनुभयो ?’ – मेरो प्रतिप्रश्न । ‘नेपालीलाई नचिन्ने भए त यहाँ काम नगरे भैहाल्यो नि’ – सुस्लोभ नामका ती युवाको खरो जबाफ सुनेर नेपालीको पहिचानमा गर्विलो भयो मेरो छाती ।  

नेपालीहरूले व्यापार–व्यवसायमा गरेको प्रगतिमा जोसुकै नेपाली पनि फुरुङ्ङ नपर्ने कुरै भएन । ‘गणेशजी ! तपाईहरू त मक्खै पर्नुभएको होला होइन ?’ – मैले गणेशजीलाई कोट्याएँ । डा. गणेशजी केही गम्भीर बन्नुभयो ।’ – सबैकुरा राम्रा छन्, रकम कमाइएको छ । मोजमस्ती छ । तर बस्ने ठाउँ होइन यो । पलपलमा आँसु पिएर बाँच्नुपरेको छ यहाँ ।’ – गणेशजीले रसियामा रहेका बहुसंख्यक नेपालीको प्रतिनिधि स्वर निकाल्नुभयो ।’ ‘विद्यावारिधि सकिनेबित्तिकै नेपालमै फर्केर काम गर्ने उत्कट अभिलाषा थियो । टिकटको बन्दोबस्त मिलाइसकेको थिएँ । उड्ने अघिल्लोसाँझ रेलवे स्टेशनमा हिँडिरहेको बेलामा गुण्डाहरूले कुटपिट गरेर बेहोस पारे । साथमा भएको सबै नगद र कागजपत्र लगे । धन्न रसियाली सहपाठिनी थाहा पाइछन् र अस्पतालमा भर्ना गराइछन् । उनैले हेरविचार गरिन् । तङ्ग्रदा हामी दुई बीचमा मायाको अंकुराइसकेछ । बिहा ग¥यौँ । नेपाल फर्कने योजना बीचमै तुह्यो । पछि सन्तति भए । यतै कामकाज गर्न थालियो । आफू  यहाँको नागरिक नभएकोले लगानी सबै श्रीमतीको नाममा छ । श्रीमती र छोराछोरीलाई हाम्रो संस्कार, संस्कृति र चालचलनबारे अत्तोपत्तो हुने कुरै भएन । बिरानो संस्कारमा आफू रम्न गाह्रै पर्ने । उनीहरूलाई पनि नेपाल लगूँ, टिक्न सक्तैनन् । यहाँ कमायो, धनसम्पत्ति जोड्यो, श्रीमती वा अरू कुनै रसियालीको नाममा राख्यो । भोलि उनीहरू वा रसियाली सरकारले बदनीयत राखिदियो भने आफू पाताल पुग्न बेर लाग्दैन । – डा. गणेशले रसियामा बस्ने कयौँ नेपालीको उठी सुख नबसी सुखका कथाव्यथाको पोको खोल्नुभयो खुरुखुरु । धेरै वर्ष विदेशमा बस्नुभएका पोखरेलजीले परिवारकै मान्छे भेटेजस्तो गर्नुभयो । बाहिरबाटै मान्छेको भित्री गहिराइ कहाँ छाम्न सकिन्छ र ! गणेशजीको त्यस स्पष्टवादिताको प्रशंसा गर्नैपर्छ । आलु खाएर पेडाको धाक लगाउने कयौँ नेपालीहरूको लहरमा गणेशजीजस्ता केही मात्र नेपालीहरू भए भने धेरै कुराहरूमा सुधार हुन सक्तछ सत्यता र सरलताको मार्गमा ।

साँझ झमक्क प¥यो । मस्को शहर जगमगायमान थियो रङ्गीविरङ्गी बत्तीहरूले । हिउँमा बत्तीको प्रकाशले फरकफरक रंग प्रक्षेपित हुँदै थियो । महान् भोल्गा रङ्गीविरङ्गी थियो।

खानपान, गीत–सङ्गीत र मीठा कुराकानीले रात झन्झन् जाग्रत् र रंगीन बनिरहेको थियो । आकाशमा जतिसुकै अँध्यारो खनिए पनि मस्कोमा आइपुगेपछि उज्यालो र केही गर्नैपर्छ भन्ने जोशमा रात उभिन्थ्यो । मैले एपार्टमेन्टबाट बाहिर चोकमा नियालेँ । सवारी–साधनको आवतजावत दिउँसोभन्दा बढी थियो । हिउँमा चिप्लने र जाडोको डरले बाक्ला ओभरकोटको खल्तीमा हात लुकाएर फुर्तिसाथ गफ मार्दै हिँड्नेहरूको कमी थिएन । मस्को नदीजत्तिकै अनवरत सिर्जनामा लाग्ने तृष्णा जाग्यो मलाई । हिउँजत्तिकै सफा, स्पष्ट र नयाँ कुराहरू लेख्नुपर्छ मैले – मनमनै प्रण गरेँ ।  झ्यालबाट बाहिर च्याएँ । हिउँ मुस्कुराइरहेथ्यो । अझ मुस्काउँदैथ्यो । म तातिरहेथेँ सिर्जनाका नयाँ गोरेटाहरू जन्माउन ।

मनमा लेनिन खाटा बसेको घाउ बनेर बल्झें । उनको वीरता, राजनीतिक रणनीति र संसारभर हल्लीखल्ली मच्चाएको समय खाटा बसेको घाउको पुरानो टाटो बनेर बिउँतियो ।

प्रकाशित: २० भाद्र २०७७ ०९:२५ शनिबार

अक्षर