मीनकुमार नवोदित
मृत्युलाई काँधमा बोकेर
दगुरिरहेको समयलाई
साँच्ची राखेर
उमेरको पानामा लेख्नु छ
जिन्दगीको कथा ।
अन्धकारलाई चिर्दै
उदाउने सूर्यलाई सोध्नु छ
उमेरको परिभाषा ।
गल्छेडो छिचोल्दै बगिरहेको नदीलाई
काखमा राखेर
सम्झिनु छ बाल्यकालको चकचक
आफ्नै केश सुम्सुम्याउँदै बहने हावालाई
घरको भित्तामा झुन्ड्याएर
हेर्नुछ विगतको ऐनामा
आफ्नै अनुहार ।
अभावको भारी बोकेर
भ्रमको उकालो उक्लिरहेको रातसँग
जिस्किनु छ एकैछिन ।
जस्केलाबाट छिरेर गएको धूवाँझैं
आफैंबाट भागिरहेको उमेरलाई
अठ्याएर थन्क्याउनु छ
आँसुको गोदाममा ।
तर, ब्रेक लगाएर गाडी रोके जसरी
कहाँ रोक्न सकिने रहेछ र उमेर ?
उमेर त नदीझैं
अविरल बगिरहँदो रहेछ निरन्तर
जसरी बगिरहेछ–
हिमालको निधारबाट दुःखको पसीना ।
यदि मिल्ने भए
शरीरको लुगाझैं
घटाउनेथें आफ्नै उमेर
र, बाल्यकालको मैदानमा फर्किएर
खेल्नेथें आफैंलाई बिर्सिएर
चिमुसीची, टालाटुली–बटुली
भाँडाकुटी र ढिकीच्याऊँ
अनि–
वर्षौंदेखि जसरी उपद्रो गरिरहेछ
शासकले सत्तामाथि
त्यसरी नै उमेरसँग विद्रोह गरेर
गर्नेथें आफ्नै जिन्दगीमाथि
भएभरका सबै उपद्रो !
प्रकाशित: २० भाद्र २०७७ ०५:४७ शनिबार