कला

चित्काराको चकचकी र हाम्रो लाचारी

कुनै मुलुकलाई ध्वस्त पार्नु छ भने अरू केही गर्नुपर्दैन, त्यस मुलुकको शिक्षालाई ध्वस्त पारे पुग्छ । शिक्षा भन्नु नै चेतनाको आलोक हो । ज्ञान, सीप र सिर्जनाको मूल जरो हो । संस्कृति, सभ्यता र पहिचानको आधार हो । हाम्रो मुलुकमा कुनै क्षेत्र ध्वस्तीकरणको दिशामा अग्रसर छ भने त्यो शिक्षा पनि हो । त्यही भएर यो मुलुक बर्बादीको मार्गमा बेलगाम दौडिरहेको छ । हाम्रा विश्वविद्यालय हेरौँ । ती प्राज्ञिक थलो जस्ता छैनन् । बरु दलीय स्वार्थ पूरा गर्ने जिमखाना र कुस्तीस्थल (रेस्लिङ रिङ) जस्ता छन् । नपत्याए हेर्नुस्, विश्वविद्यालयमा मञ्चन हुने गरेका मारपिट, भागम्भाग र तोडफोडका प्रहसनहरू । अराजकता, आगजनी र तालाबन्दी लगायत गैरप्राज्ञिक गतिविधिहरू । कुनै जमानामा दक्षिण एसियाकै राम्रो गनिने त्रिविलाई हामीले कहाँ पु¥यायौँ ? महेन्द्र संस्कृत, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयको नियति पनि त्यही हो । संसारले नै आशातित नयनले हेरिरहेको काठमाडौं विश्वविद्यालय एउटा गर्विलो गति लिएर अघि बढिरहेको थियो । त्यसमा पनि राजनीति छिराएर पतनको मार्गमा धकेल्ने कुकृत्य हुँदै छन् । विश्वविद्यालयमाथिको यस्तै लापरबाही र खेलौनीकरणका कारण आज नेपालका लाखौँ युवा विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीको बहानामा बिदेसिन बाध्य छन् । मुलुकभित्रै भरोसा योग्य कुनै विश्वविद्यालय हुँदो हो त आज यो मुलुकले यतिविधि लाचारी खप्नुपर्ने थिएन ।

आज विदेशी विश्वविद्यालयका लागि नेपाल एउटा गतिलो बजार भएको छ । अस्टे«लियामा मात्र विद्यार्थी भिसामा वर्षको ७० हजारभन्दा बढी युवा जाने गरेको तथ्य हालसालै सार्वजनिक भएको छ । प्रतिविद्यार्थी सालाखाला २० लाखका दरले हिसाब गर्ने हो भने पनि अस्टे«लियाका लागि मात्र वर्षमा एक सय ४० अर्ब रूपैयाँ बिदेसिने गरेको देखिन्छ । भारत सरकारको उच्च शिक्षा विभागको तथ्यांक अनुसार भारतमा अध्ययनरत विदेशी विद्यार्थीमध्ये सबभन्दा ठूलो संख्या नेपाली विद्यार्थीको रहेको छ । आज पश्चिमाहरूसित दुनियाँलाई देखाउन लायक कुरा के छ ? तिनीहरूसित राम्रा विश्वविद्यालय छन् । टाढाको कुरा नगरौँ । हाम्रै छिमेकी मुलुक भारतमा पनि (युपी र बिहारलाई नगन्ने हो भने) शिक्षा क्षेत्रलाई निकै गम्भीरताका साथ लिइएको पाइन्छ । तिनीहरूको शैक्षिक उन्नयनको ग्राफ लोभलाग्दो रूपमा उकालो लागिरहेको देखिन्छ ।  

यसै सालको फेबु्रअरीको १०, ११, १२ र १३ तारिखमा भारतको चण्डीगढमा अवस्थित चित्कारा विश्वविद्यालयको एउटा कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । यो मेसो मिलाउने कार्य गरेका थिए, ग्रिनविच इन्टरनेसनल एजुकेसन प्रालिका संस्थापक एवं चित्काराका नेपाल प्रतिनिधि राजेश चापागाईंले । नेपालबाट प्रहरी स्कुल साँगाका प्रिन्सिपल सञ्जीव घिमिरे, गोकुण्डेश्वर मावि धनकुटाका प्रअ यज्ञप्रसाद चापागाई, अभिभावक प्रतिनिधि कृष्णप्रसाद भट्टराई, हाम्रा अगुवा राजेश चपागाईं र म लगायत पाँच जनाको टोलीले सहभागिता जनाएका थियो । भारतका विभिन्न राज्य र सार्क मुलुकका विभिन्न शिक्षण संस्थामा काम गर्ने लगभग तीन सय प्रतिनिधिलाई निम्त्याइएको उक्त कार्यक्रमको प्रमुख नारा ‘कनेक्टिङ दी डट्स्’ थियो । अर्थात् कुनै रेखाचित्र बनाउनका लागि बिन्दुहरूको मिलन हुनुपर्छ । प्राचीन कालमा एसियाले संसारलाई शिक्षाको आलोक दिएको थियो । अहिले त्यसको खरानी पनि हामीसित बाँकी छैन । हामी कुनै न कुनै माध्यमबाट शिक्षाको विकासमा एकअर्कासित जोडिनुपर्छ । आपसमा मिलेर सम्भावनाको खोजी गर्नुपर्छ भन्ने मूल कथ्य यस सम्मेलनको रहेको थियो । यो अवधारणाबाट अघि बढ्दै ‘ग्लोबल कनेक्सन’का कार्यक्रम सञ्चालन भएका रहेछन् । बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, स्पेन, जर्मनी लगायत युरोपियन मुलुक तथा चाइना, जापान, कोरिया, थाइल्यान्ड, मलेसिया लगायत एसियाली मुलुकका विश्वविद्यालयसित विभिन्न कार्यक्रमको आदान–प्रदान गर्ने गरिएको रहेछ । संसारमा भित्रिएका नयाँ प्रविधि र पद्धतिलाई अवलम्बन गर्दै प्रभावकारी रूपमा अगाडि बढ्ने नीति लिइएको रहेछ । साथै अमेरिका, रुस, क्यानडादेखि साउथ अफ्रिकासम्मका विश्वविद्यालयका अनुभव लिने र आफ्नो स्थान र अस्तित्वको निक्र्योल गर्ने रणनीति लिइएको पाइयो ।  

आश्चर्यलाग्दो कुरा के थियो भने चित्कारा एउटा गैर–नाफामूलक प्राइभेट विश्वविद्यालय रहेछ । प्राइभेट पनि त गैरनाफामूलक हुन सक्दो रहेछ भनेर एकछिन दिमागका तन्तु झनन्न भएका थिए । कार्यक्रमका सबै सहभागीको सम्पूर्ण खर्च यसले आफैँ व्यहोरेको थियो । विश्वविद्यालयको एउटै ध्याउन्न के देखिन्थ्यो भने विभिन्न क्षेत्र र वर्गका मानिसको विचार सुन्ने, मन्थन गर्ने र अनुभव साटासाट गर्ने । आफ्नो विश्वविद्यालयमा कार्यरत संकाय सदस्यहरू (प्राध्यापकहरू) लाई अनुसन्धानमा बढीभन्दा बढी अग्रसर गराउने । दुनियाँका कुरा सुन्ने र दुनियाँलाई पनि आफ्ना कुरा सुनाउने । अघिल्लो दिनको कार्यक्रममा भारतका प्रसिद्ध मोटिभेसनल स्पिकर किरण करुवाडेको दुई घन्टा लामो सेसन राखिएको थियो । अघिल्लो दिन उनीहरूले ‘बिन्दुहरूको जोडाइ’ का बारेमा दुनियाँसामु आफ्ना कुरा राखे । भोलिपल्ट विश्वविद्यालयमा कार्यरत प्राध्यापकका लागि अस्टे«लियाबाट बोलाइएका विशेषज्ञद्वारा दीक्षित हुने मौका जुटाएका रहेछन् ।  

हामीलाई लोभ लागेको कुराचाहिँ के थियो भने विश्वविद्यालयले आफ्नै आम्दानी र स्रोतबाट यस्तै सभा, सम्मेलन, विचार आदान–प्रदान र तालिमका कार्यक्रम राख्दो रहेछ । चित्कारा शैक्षिक गुठीको कोषमार्फत विश्वविद्यालयको शैक्षिक उन्नयन, भौतिक पूर्वाधार विकास लगायत विद्यार्थी हकहित र सेवामा आधारित कार्यक्रम पनि विस्तार गर्दो रहेछ । मन लोभिएको, इष्र्या लागेको अर्को पक्ष के थियो भने शिक्षाबाट कमाएको पैसा शिक्षाको क्षेत्रमै खर्च गर्ने वचनबद्धता र त्यसको कार्यान्वयन । विश्वविद्यालयले शिक्षाबाट कमाएको रकम अन्त खर्च गर्न नपाउने मापदण्ड नै बनाएको रहेछ । हाम्रोमा भने पशुपति शर्माको गीतलाई बिर्साउने गरी शिक्षण संस्थाले आफ्नो दाह्रा नंग्रा तिखारिरहेका हुन्छन् ।  

त्यसैले त्यहाँ देख्न सकिन्थ्यो विभिन्न क्षेत्रका पुस्तकै पुस्तकले भरिभराउ आकर्षक पुस्तकालय । सामानै सामानले सजिएका ल्याब र तिनका भव्य भवनहरू । खेलकुद र मनोरञ्जका व्यापक साधनहरू । कला र संगीतका विशाल कक्षहरू । भव्य सभाकक्ष र वाचनालय । भौतिक सुविधा सम्पन्न फराकिला कक्षाकोठाहरू । विश्वविद्यालयभित्रै फराकिला पार्क, पानीका फोहरा, विश्राम स्थल, मन्दिर र बगैँचाहरू । लोभलाग्दा भोजनालय, क्यान्टिन र क्याफ्टेरियाहरू । व्यावहारिक सीप सिक्ने सीप–कक्षहरू । सफा, सुग्घर र मनमोहक वातावरण । यी सबै देख्दा लाग्थ्यो म साक्षात् सरस्वतीले खेल्ने मैदानमा छु । गुणस्तरीय शिक्षाको स्वप्नभूमिमा छु ।  

नाफै मात्र कमाउने हो भने अरू पेसा र व्यवसाय पनि गर्न सकिन्छ । शिक्षा भनेको त सेवा पनि हो । शिक्षामा पनि नाफा कमाउन सकिन्छ, पाइन्छ । तर, कुनै संस्थाले शैक्षिक कर्म गरेर कमाएको पैसा शिक्षामै लगानी गर्नुपर्छ । विश्वविद्यालय यही मान्यतामा अडिग रहेछ । परिणाम स्वरूप यसले भारतको पन्जाब र हिमाचल प्रदेशमा दुईवटा विश्वविद्यालय सञ्चालन गरिरहेको रहेछ भने भारतभर विभिन्न ८ ठाउँमा आफ्ना सूचना केन्द्र स्थापना गरेको रहेछ ।  

अनौपचारिक कुराकानीका दौरानमा एसियाली जीवनस्तरलाई कसरी माथि उठाउने, एसियाली शिक्षालाई कसरी प्राचीन सभ्यता र आधुनिक प्रविधिबीचमा सन्तुलित बनाउने लगायत विषयका चर्चा भएका थिए । सहभागीमध्येका एक डा. ब्रिजेश चौहान भन्दै थिए, ‘‘फिनल्यान्डका मानिसहरू कसरी संसारकै सुखी मानिस कहलिन पुगे ? फिनल्यान्डले कसरी आधुनिक शिक्षामा नयाँ उचाइ लियो ? युरोपियनहरूको औसत आयु किन दक्षिण एसियालीको भन्दा बढी भयो ? अबको हाम्रो शिक्षाले यी प्रश्नको उत्तर खोज्नुपर्छ ।’  

उनीहरूको चिन्तनको दायरा यसरी बढ्दै गइरहेको रहेछ । हामी अझै हाम्रा विश्वविद्यालयलाई राजनीतिको विषाक्त पन्जाले कोपरिरहेको टुलुटुलु हेर्न अभिशप्त छौँ ।

संयोग नै मान्नुपर्छ । हामी दिल्ली उत्रिँदा विधान सभा चुनावको सरगर्मी बढेको थियो । चुनावी मत परिणाम आउने क्रममा थियो । शिक्षा र स्वास्थ्यलाई मूल मुद्दा बनाएको आम आदमी पार्टी र त्यसका नाइके अरबिन्द केजरिवालको क्रेज बढ्दै थियो । दिल्ली एयरपोर्टमा हामीलाई लिन आएका चित्कारा विश्वविद्यालयका क्याब ड्राइभर विजय गुप्ता भन्दै थिए, ‘केजरीवाल सबलाई पानी पिउन पनि दिँदैनन् ।’  

मैले सोधेँ, ‘किन भाइसाब ?’  

उनले भने, ‘उनले शिक्षा र स्वास्थको क्षेत्रमा धेरै राम्रा काम गरिहेका छन् । त्यसैले आम आदमीको जित निश्चित छ ।’ हामी इन्दिरा गान्धी एयरपोर्टबाट चण्डीगढ जाँदै गर्दा विजयले गरेको भविष्यवाणी कार्यक्रम सकेर दुई दिनपछि फर्कंदै गर्दा सत्य साबित भइसकेको थियो । दिल्ली केजरीवालको विजयोत्सव मनाउने तयारी गरिरहेको थियो ।  

शिक्षा र स्वास्थ्यलाई हाम्रो मुलुकको संविधानले पनि नागरिकको मौलिक हकभित्र समावेश गरेको छ । के कागजमा समावेश गरेपछि सकियो ? यसको कार्यान्वयन गर्नुपर्दैन ? छिमेकी मुलुकको केही राम्रो देखेपछि मन झनै हुँडलिँदो रहेछ । आफूलाई पनि लोभ लाग्दो रहेछ । आफ्नो परिवेशसित तुलना गर्न मनलाग्दो रहेछ । तर के गर्नु, यस्तो बेला हाम्रो भागमा पर्ने भनेको लघुताभास र लाचारी शिवाय अरू केही पनि होइन रहेछ । 

प्रकाशित: २० भाद्र २०७७ ०५:२२ शनिबार

शिक्षा अक्षर