कला

रहस्य

लघुकथा

हेमलता उप्रेती 

 

यो असत्ती काँडे लहराको भार बोक्दाबोक्दा हैरान भैसकें । यसबाट कसरी मुक्ति पाउने होला ?’ आफ्नो शरीरभररि जेलिएको काँडे लहरोतर्फ हेर्दै सिसौले गुनासो पोख्यो ।

 सखुवाले भन्यो, यस दुष्टको त के कुरा गर्नु र ? यसका काँडाले मेरो त शरीरै छयान्द्राछयान्द्रा भैसक्यो ।’

 तिनलाई आफूले दिएको पीडा सुनेर काँडे लहरो फुरुङ्ङ भयो । उसको मौनताभित्र दुष्टता झल्कन्थ्यो । अर्को महिना एक समूह प्राणी आए र जंगल पूरै फँडानी गरे । तथापि फँडानी गरिसक्नासाथ वर्षायाम शुरू भयो । वर्षातको कारण तीन महिनासम्म उनीहरू त्यहाँ आएनन् । जब उनीहरू आफ्नो बस्ती बसाउन फेरि त्यहाँ आइपुगे, जंगलको अवस्था देखेर छक्क परे किनकि त्यतिन्जेलमा नयाँनयाँ मुनाहरू पलाएर जंगल त झन् सुन्दर, हरियालीपूर्ण भैसकेको थियो । हैरान भई उनीहरू एक ठाउँमा बसेर कुरा गर्न थाले, ‘यसरी त यो जंगल मासेर बस्ती बसाउन नसकिंने रहेछ । यो जंगल मास्ने उपाय के होला ?’ 

तिनका कुरा सुनिरहेको काँडे लहराले अस्ति ठूला रूखहरूले आफूलाई गाली गरेको सम्झियो । बद्ला लिंने मौका यही हो भन्ठानी उसले साखिलो हुँदै रहस्य खोलिदियो, ‘यिनका जरा नकाटेसम्म त कहाँ मास्न सकिन्छ र ?’ रहस्यको भेउ पाएर तिनीहरू धमाधम सबै बिरुवाका जरा काट्न थाले । अपितु सर्वप्रथम त्यही काँडे लहराको जरा काटे । 

प्रकाशित: १९ भाद्र २०७७ ११:०५ शुक्रबार

अक्षर