कला

सम्झनामा प्रेमिल पोखरा

संस्मरण

खेमराज पोखरेल

 

म अमेरिकामा छु र अस्ति मात्र यही कोरेनाका बीचमा एउटा अमेरिकन साथीले मलाई सोध्यो – पोखरा पुग्नुभएको छ ? साँच्चिकै स्वर्ग हो पोखरा ।’ यो सुनेर म कति गौरवान्वित भएँ होला – अन्दाज गर्नुस् ।  

तपाईँहरू पक्का पनि पोखरा पुग्नुभएको छ । नपुगेको भए पुगिहाल्नुहोस् । जीवनको एउटा स्वर्ग छुट्छ । किनकि संसारका मान्छे एकपल्ट पोखरा पुग्न चाहन्छन् ।

उसले त्यसो भनेपछि मैले उसलाई आफूले त्यहीँको कलेजमा ५ वर्ष प्राध्यापन गरेको बताएको थिएँ । ऊ त गइहाल्यो तर मलाई भने पोखराको यादले बिछट्ट सताइरह्यो । किनभने परदेशको पीडा देश नछोड्नेलाई थाहा हुँदैन । देशको महत्त्व देश नगुमेकालाई थाहा हुँदैन । आमा गुम्दाको पीडा आमा नगुमाएकालाई थाहा हुँदैन । मान्छेको स्वभाव आफूसँग भएको बस्तुलाई ‘कौन पुछे खेसडीका दाल’ ठान्ने हुन्छ । खोई किन हो यही स्वभावका कारणले हो कि अचेल म अमेरिकाको आँगनबाट देशलाई अघोरै सम्झिरहेको छु । किनकि देश मसँग छैन । हिजो मैले नगुदानेका पहाड, ताल, नदी र समग्र नेपाली परिवेश दिमागका तरेलीभित्र बसेका छन् । पोखरालाई ज्यादै धेरै सम्झँदै छु । किनकि अहिले पोखरा मसँग छैन ।  यादहरू मात्रै छन् । ती यादले मेरा दिमागमा बलेँसीका डोबहरू बनाइदिन्छन् । पोखराको मैले तरेलीतरेली भ्रमण गरेको छु । पत्याउनुस्, यादहरू दीर्घ भएर बसेका छन् । तपार्इँले मलाई खुच्च्यूँ भने पनि भन्नुहोस् ।

२०३५ सालको कुरा हो, तिनताक म महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा स्नातक तहमा पढ्थेँ । शैक्षिक भ्रमण गएका थियौँ पोखरा । पोखरा पृथ्वीनारायण क्याम्पसको प्रदर्शनी हलको भुइँमा काम्लो ओछ्याएर लहरै सुतिएको थियो । यो मेरो पहिलो भ्रमण थियो । वर्षा याम थियो । पोखरालाई त्यसै त चेरापुञ्जी भनिन्थ्यो, त्यसमाथि वर्षा याम । पानी परेको परै थियो । पोखराबाट हिमाल देखिन्छ भन्ने कथा मात्र भएको थियो हाम्रा लागि । तर नसिबमा पोखरामा जागिर खानु लेखेको रहेछ  र मलाई परदेशका ठाउँबाट यति धेरै सम्झना आउनुपर्ने रहेछ ।

कालान्तरमा मेरो जागिरको मेसो पोखरामा नै जुरेको थियो । त्यो दिन २०४३ सालको साउन १ गते थियो । सिमसिम पानी परिरहेको थियो । म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट काज फिर्ता भएपछि सबै समान बोकेर पोखरा लाग्दै थिएँ । पृथ्वीनारायण क्याम्पसमा हाजिर हुनु थियो । म कस्तो हुस्सु रहेछु कि पहिला डेरा खोजेर अनि सामान लैजानुपर्ने म सुमुसुमु सामान लिएरै पुगेको थिएँ । पृथ्वीनारायण क्याम्पसमा नेपाल परिचय विषयको शिक्षण समितिका अध्यक्ष झ्यामप्रसाद भुसाल हुनुहुन्थ्यो । अहिले उहाँ हुनु हुन्न । उहाँको डेरा कलेजको गेट अगाडि नै थियो । गाडी गेटमा रोकेर उहाँसँग सम्पर्क गरेको थिएँ । किनभने तिनताका मोबाइल फोन त परै जाओस्, ल्याण्डलाइन फोनको पनि पउलता थिएन । उहाँले नै क्याम्पस प्रमुखसँग कुरा मिलाएर केही दिनका लागि सबै सामान कलेजकै गेस्ट हाउसमा राख्ने र गेस्ट हाउसमै बस्ने व्यवस्था मिलाइदिनुभएको थियो । कस्तो मिलनसार होला उहाँ ! कति धेरै सम्झना आइरहेको छ झ्याम सर ! हार्दिक श्रद्धाञ्जली ।

त्यसपछि कोठा खोज्न थालेको थिएँ । त्यो बेला मेरी श्रीमती नौ महिनाकी दोजिया थिइन् । गेस्ट हाउसको भान्साबाट बाहिर निस्कँदा काइ लागेको ढुंगामा चिप्लिएर लडिन् । मैले र त्यसबेला अब्जरभर भएर आएका चिवतनका साथी यज्ञ अधिकारी मिलेर कोठामा ल्यायौँ । गण्डकी अस्पताल लग्यौँ । डाक्टरले यसो आला घुमाएर ‘ठीक छ, आराम गराउनुस्’ भनेर बिदा गरिदिएको सम्झना आउँछ ।  

त्यही बेलाको एउटा घटना त भनूँ होला । तरकारी किन्नु थियो । म गेस्ट हाउसमै थिएँ । चिप्लेढुंगामा तरकारी पसलहरू थिए । म तरकारी किन्न पुगेको थिएँ । एउटा अलि लामो घिरौँला जोखाएको थिएँ । त्यो घिरौँला पुग नपुग आधा किलो थियो कि ! त्यसको मूल्य ३२ रुपैयाँ भनिएको थियो । दाम सुनेर म तर्सिएको थिएँ । किनकि त्यो बेला मेरो जिल्ला सप्तरीमा घिरौँला किलोको ५० पैसामा पाइन्थ्यो । अनि म घिरौँला नकिनी सुकेको चना किनेर फर्किएको थिएँ ।

पृथ्वीनाराण क्याम्पससँग जोडिएका परीक्षा सम्बन्धी धेरै यादहरू छन् मेरा । म गेस्ट हासउमा बसेकै बेला कलेजमा परीक्षा चल्दै थियो । मलाई क्याम्पस प्रमुखले परीक्षामा निरीक्षक खटाउनुभएको थियो । कोठामा कुनामा बसेर एउटा खाइलाग्दो ज्याङ्गो चिटमाथि चिट चोर्दै थियो । मैले चिट समाएर कपी खोसेको थिएँ । अनि उसले मलाई पाखुरामा समातेर ‘तँ बाहुनलाई सेतीमा फालिदिन्छु’ भनेको थियो । ऊ पनि मझैं ६ फुटिया थियो । तर म लुते बाहुन डरले खङ्ग्रङ्ग भएको थिएँ । अब यसले मलाई सक्यो भन्ने लागेको थियो । नमितासुमितालाई रेप गरेर सेतीमा फालेको धेरै वर्ष भएको थिएन । फेरि पोखरा देखेका आफन्त साथीहरूले पनि मलाई पोखराकै कोन्द्रा देखाएर अत्याएका थिए । अलि परबाट क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ हस्याङफस्याङ गर्दै आइरहेको देखेको थिए । अलि मेरो श्वास आएको थियो । अनि क्याम्पस प्रमुख आएर उसलाई भन्नुभएको थियो ः ‘ए तिमी कर्णेल भएर चोर्ने । म तिमीलाई माथि कम्प्लेन गरेर जागिरबाट निकालिदिन्छु ।’  त्यसपछि ऊ त पानीपानी भयो । अचम्म त्यो बाघ त माफी मागेर पो गयो । झन्डै खुट्टा समाएथ्यो नाथुले !

गेस्ट हाउसमा धेरै दिन बस्ने कुरा पनि थिएन । डेरा खोज्न केही समय लागेको थियो । सामान्यतया चिटिक्क परेका घरमा डेरा पाइने तर पैसा धेरै हुने हुन्थ्यो । आँक्न नै नसकिने । पछि नदीपुरमा एउटा नयाँ घरमा तत्कालका लागि डेरा सरियो । त्यो तत्काल किन भनेको भने गेस्ट हाउस छोड्नु थियो । अर्को डेरा नपाउञ्जेलका लागि मात्र त्यो नयाँ घर दिएका थिए । किनकि घरबेटी पनि नदीपुरका पराजुली थिए । उनी शिक्षक भएकाले शिक्षकको मर्का बुझेका थिए सायद । 

डेरा सरेको केही दिनपछिको कुरो हो । रात परेको थियो । मेरी दोजिया श्रीमती पेट दुख्यो भन्दै मेरै काखमा पल्टिएकी थिइन् । मैले हतारहतार रामजी पराजुलीकी आमालाई बोलाएको थिएँ । रामजी पराजुली पृथ्वीनारायण क्याम्पसकै राजनीतिशास्त्रको सहायक प्राध्यापक हुनुहुँदो रहेछ र जागिर नै छोडेर अमेरिका जानुभएको रहेछ । हामी पनि आमा नै भन्थ्यौँ । मेरै काखमा श्रीमती फत्र्याकफत्र्याक गरिरहेकी थिइन । नयाँ ठाउँ मैले कसैलाई चिनेको थिएन । राति नै आमालाई बोलाएर लिएर आएँ । आमा आएर मेरी श्रीमतीको टाउको काखमा राख्नुभयो । मैले उहाँले सिकाएझैँ पुसअप गराएँ । मेरी श्रीमतीले मेरा आँखा अगाडि नै मरेको छोरो पाइन् । मैले एकटकले त्यो मृत चिचिलोको अनुहार हेरेको थिएँ । गोरो न गोरो थियो । तर त्यो आफ्नो थिएन । मैले त्यो मरेको छोरालाई आफैँ बसेको घरपछाडिको कम्पाउन्डभित्रको बारीमा खाल्डो खनेर गाडेँ । निस्तब्ध रात थियो । नितान्त एक्लै थिएँ । नयाँ ठाउँ, रातको समय, मैले त्यो काम गर्नु नै थियो, गरें । आँखाबाट अनायास आँसु आएका थिए । सर्टको बाहुलाले पुछेँथेँ । श्रीमतीलाई सम्झिएथेँँ । सम्झाएँथेँ । अहिले कसैले ‘तेरो छोरा छैन’ भनेर सोद्धा एकपल्ट त्यही खाल्डोमा गाडिएको गोरो चिचिलो लासलाई सम्झन्छु । त्यही क्रूर रातलाई सम्झन्छु । सेतीको डिलमा रहेको कलेजको गेस्ट हाउसको काइ लागेको ढुंगा सम्झिन्छु । ठीकै छ भन्ने डाक्टरलाई सम्झन्छु । तर के गर्ने जसजसलाई सम्झिए पनि नियति सम्झेर चूपचाप लाग्छु ।

म पोखरा २०४३ साउनदेखि २०४७ साल फागुनसम्म बसेँ । यसबीचमा परीक्षा सम्बन्धी अर्को समस्यामा परेँ म । कोठामा एउटा खाइलाग्दो ज्याङ्गो चिट चोर्दै थियो । मैले चलनअनुसार कपी खोसेँ । उसले त मेरो कठालो नै समाएर भनेको थियो  ‘मलाई चिनेको छ म को हुँ ? सेतीको क्वान्द्रोमा हालिदिन्छु । के सोचेको छ बाहुन चरी ?’ म डरले  थर्थराएँ  । अनि अर्को निरीक्षक आएर उसलाई कपी दिएर परीक्षा दिन पो लगाए । अनि मलाई खुसुक्क भने  ‘त्यो पञ्चायतले पालेकोे ठूलो गुण्डा हो । ठूलो पञ्चको छोरा हो । यसले लेखेर कपी बुझाउँछ अनि उसलाई रेस्टिकेट गर्नुपर्छ । कारबाही पनि हुने । परीक्षाको नतीजा आउन्जेलसम्म त ऊ कहाँ हामी कहाँ ।’

पृथ्वीनारायण क्याम्पसमा जागिर खाइरहँदा एउटा केटोले मलाई निकै मानसिक यातना दिइरह्यो । कुरा के भएको थियो भने म परीक्षा कोठामा निरीक्षक थिएँ । ठूल्ठूला आँखा भएको एउटा आर्य केटो सर्दै सर्दै अर्को साथीको हेर्न पुग्थ्यो । मैले उसलाई ठाउँ सार्न कपी उठाएँ । उसको कपीभित्र चिट रहेछ । विचरा त्यो चिट सार्न पाएको भए उसले २ नम्बर पाउँथ्यो । तर मैले उसलाई त्यो बेलाको नियमअनुसार रेस्टिकेट गरिदिएँ । ऊ रोयो, बिन्ती गर्यो, गिडगिडायो तर मैले मानिनँ । परीक्षाको नतीजा आउँदा ऊ सबै विषय फेल भयो । त्यसपछि ऊ हरेकपल्ट मलाई चोकमा, बाटामा, जहाँ भेटे पनि मेरो अगाडि आउँथ्यो र ठूला आँखा तरेर मेरो अनुहार हेथ्र्यो । म भित्रभित्रै आतङ्कित हुन्थेँ । पोखराका कोन्द्रा सम्झन्थेँ । डर लाग्थ्यो । कसैले समातेर त्यही सेतीको कोन्द्रामा हालिदियो भने भन्ने भय भइ नै रहन्थ्यो । समय बित्दै गयो । म एकदिन हस्याङफस्याङ गर्दै कलेजभित्र पस्दै थिएँ । परीक्षा दिने विद्यार्थीहरूको हुल थियो । कसैले मेरो खुट्टा एकाएक समायो । यसो हेरेँ उही ठूला आँखे विद्यार्थी थियो । डर पनि लाग्यो । तर ऊ भन्दै थियो ः ‘सर मलाई माफ गरिदिनुहोस् । हजुरले मलाई रेस्टिकेट नगरिदिनुभएको भए म पढ्नुभन्दा चोर्नतिर लाग्ने थिएँ । मैले यति पढेँ कि सर, अहिले मैले विषय नलगाई बिएल पास गर्दैछु । सर, धन्य हुनुहुन्छ ।’

म गौरवले पुलकित भएको थिएँ । आफ्नो कर्मप्रति गौरवबोध गरेको थिएँ ।

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरिरहँदा आर्थिक गर्जो परि नै रहन्थ्यो । सबैलाई पथ्र्यो होला । पेस्की नलिई व्यवहारै चल्दैनथ्यो । कर्मचारीहरू सहयोगी र मिजासिला थिए । गणेशबहादुर गुरुङ क्याम्पस चिफ हुनुहुन्थ्यो । पेस्कीले अखट्ट भएको थियो । क्याम्पसमा पैसा नभएकोले पेस्की दिन बन्द गरिएको सूचना पाएर म क्याम्पस चिफलाई विन्ती बिसाउन कक्षमा प्रवेश गरेको थिएँ । मेरो कुरा सुनेर घर्रा तानेर आफ्नै चेक मलाई दिनुभएथ्यो । कस्तो मीठो सहयोग ! यो लेखिरहँदा उहाँको स्वर्गवास भइसकेको छ । हार्दिक श्रद्धाञ्जली ! तर म त सम्झिरहेको छु नि चिफ सर !

म पोखरामा यति रमाएँ कि यतै बस्ने बारेमा सोच्न थालेँ । यसको कारण कलेजका साथीहरूको माया, आडभरोसा थियो । त्यस्ता साथीहरू फेरि जीवनले कहिले पनि भेटेन । तिनताक मेरो डेरा नदीपुर दाताराम पराजुलीको घरमा थियो । दाताराम कलेजका पियन थिए । दाताराम त्यहाँको रैथाने भएकाले जग्गाजमिन धेरै थियो । बेच्दै खर्च चलाउने गर्दथे । उनको एउटा घर सानो छाप्रो थियो जहाँ उनका परिवार बस्थे । त्यसबाहेक एकपाखे एउटा पक्का घर थियो नसकिएको । त्यही नसकिएको याने कि फिनिसिङ नभएको घरमा हामी बस्थ्यौँ । अर्को कोठामा पृथ्वीनारायण क्याम्पसकै रामदेव गौली सर बस्नुहुन्थ्यो । बाथरुम थिएन । बाहिर धारामा नै नुहाउनुपथ्र्यो । ट्वाइलेट नामको एउटा ढ्वाङ थियो र पनि हामी भाडामा बसेका थियौँ । किनकि सजिलो थियो । घरबेटीको सान खप्नुपर्ने थिएन । हो उनै दाताराम पराजुलीको नहरले काटेको अलिकति नमिलेको जग्गा थियो । करीब ४ आना थियो होला त्यो । एकदिन दातारामले त्यो जग्गा मलाई दिने कुरा गरे । मैले पैसा छैन भनेँ । तर उनले अहिले पास गर्नु पैसा भएको बेला दिँदै गर्नु भनेकाले हामीले पास गर्यौँ र पोखरामा घडेरीका मालिक भयौँ । तर मजा के भो भने हरेकपल्ट जब उनलाई पैसाको आवश्यकता पथ्र्यो त्यतिबेला उनी पैसा मागिहाल्थे । तरकारी किन्ने पैसा उनलाई दिएर नै त्यो जग्गाको मोल चुक्ता भयो ।

राजनीतिक रूपले पनि निकै रमाइलो थियो क्याम्पस । घोर पञ्चायत काल थियो । विद्यार्थीको जुलुस गेटबाहिर नजाने र पुलिस–प्रशासन गेटभित्र नपस्ने प्रचलन थियो । रामनाथ ढकाल, खगराज अधिकारी, तुलबहादुर गुरुङ, धनराज गुरुङ, मिना कार्की, झलक सुवेदी, रवीन्द्र अधिकारी आदि गतिला र चल्ताफिर्ता विद्यार्थी नेता थिए । रवीन्द्र अधिकारी र हाम्रो एउटै घरमा डेरा थियो । मैले मेरी श्रीमतीलाई वामपन्थी चेत बुझाउन सकेको थिइनँ । तर रवीन्द्रसँगको सम्पर्क र उनको व्यवहार बोलीचाली र स्वभावले मेरी श्रीमतीलाई प्रभाव पार्यो । धेरै वर्षपछि रवीन्द्रसँग बाँसबारीभन्दा पश्चिमको मर्निङवाक गर्ने ठाउँमा भेट भएको थियो । सांसद रवीन्द्रले परैबाट चिनेर नमस्ते सरम्याडम भन्दा म विभोर भएको थिएँ । भन्छन् नि मास्टरलाई ठूलो मान पाएको चेलोचेलीले धेरै वर्षपछि चिनेर नमस्ते भन्दाको आनन्द अरू केही गर्दा हुन्न । मेरी श्रीमतीले पुरानो कुरा झिकेर रमाएकी थिइन् । मेरी श्रीमती रवीन्द्रको स्वभाव देखेर निकै खुसी हुन्थिन् । त्यो केटोमा निकै खूबी छ भन्थिन् मेरी श्रीमती । पछि उनी मन्त्री भए । हामी दुवै जोईपोइ खुसी भयौँ तर हामी बूढाबूढी अमेरिकामा थियौँ । एकाबिहानै हेलिकोप्टर दुर्घटनामा रवीन्द्रको मृत्यु भएको सुन्दा हामी भावविह्वल भएका थियौँ । उफ, मान्छेको जुनी  !

जीवन अलमस्त चलेकै थियो । दिनभरि कलेजमा साथीहरूसँग हुन्थेँ ।तर श्रीमतीलाई अलिकति भाषाको, अलिकति संस्कृतिको सहजता भएन । अलिकति सप्तरी मूलघर आउजाउ गर्न पनि अपायक थियो । तिनताक जम्माजम्मी एउटा गाडी मात्र पूर्व जान्थ्यो । खासमा नीलमणि पोखरेल सरुवा भएर विराटनगर गएपछि हामीलाई एकखाले औडाहा भयो । यो त एकप्रकारको बहाना थियो सरुवा हुने । सरुवा पत्र काखी च्यापेर र घडेरी बेचेर हामी २०४७ साल चैत्र १ गते महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस विराटनगरतिर हानिएका थियौँ ।

अँ त म सरुवा भएर जब पोखरालाई पछाडि छोड्दै थिएँ, पोखराका यादहरू, रमाइला पलहरू, पोखराका सुन्दरताहरू तथा साथीभाइहरूका सम्झनाहरू आइरहेथे । क्याम्पसको प्राध्यापक चौर, जयनेपाल चौर, प्रगतिशील चौर, बेलौतीका रुखहरू, भिमकाली ढुंगाको याद आइरहेथ्यो । सर्वप्रथम पोखराबाट देखिने श्वेत हिमाली बारहरू देखेर मन रोमाञ्चक भएको र कविता लेखूँलेखूँ लागेको क्षण त झन् बिर्सनै सक्दिनँ नि । पोखराको फेवातालबाट देखिने माछापुच्छ्रेको मैतालु सुन्दरताले पारेको अटल छाप आइरहेथ्यो । पाताले छाँगो याने कि डेभिड फलको छाँगे पानी, काउँडाँडा, विन्ध्यवासिनी, सेती, फेवाताल, बेगनास र रुपातालको सम्झना आइरहेथे । केआई सिंहको ऐतिहासिक पुल याद आइरहेथे । अनवरत आइरहेथे । आइरहेथे ।

पोखराले मलाई ज्यादै माया गर्यो । मैले कृतघ्न भएर पोखरालाई माया मारेर हिँड्दा पनि फेरि बोलाएर अन्तर्राष्ट्रिय पर्यटन गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्ने अवसर दियो । स्थायी जागिर दियो । घडेरी दियो । सन्तान दियो । सन्तान भनेको मेरी माइली छोरी मनुशीला दियो । उनी अहिले अमेरिकाको एउटा सरकारी विश्वविद्यालयको प्रोफेसर भएकी छिन् । जबजब म छोरीलाई देख्छु पोखराको याद आइहाल्छ । पोखराले अवसर दियो । तर म परिवेशीय अखाडापतिले अह्राएको लालमोहरलाई मानेर बतासिँए । अहिलेसम्म पनि बतासिएकै छु । मलाई थाहा छ यसरी बतासिएर म कहीँ पुग्दिनँ । र पनि फेरि बतासिएकै छु अनिश्चिततातिर । मात्रै अनिश्चिततातिर । किनकि आम मान्छेले बोकेको जिन्दगी जस्तै मेरो जिन्दगी पनि अनिश्चित छ । त्यसैले म चैतन्यका यादहरू बोकेर सफरमा छु । जिन्दगीको सफर छ । म मुढ र चैतन्य शरीर र चेतले साथ दिउञ्जेलसम्म सफरमा छु । यात्रामा छु ।

साँच्चि भन्छु, यो बेला सात समुद्रपारिबाट म तिम्रो सुन्दरतामा वशीभूत भएको छु पोखरा । जहाँजहाँ म पुग्छु, त्यहाँ त्यहाँका मान्छे पोखरा सम्झिएर लोभिन्छन् । सम्मोहित हुन्छन् । तिमीले मोहनी लायौ क्यार ! त्यसैले त पोखरा, तिम्रो मायामा लट्ठिएको छु । जिन्दगीका हुलमुल नियतिले कसलाई कता पुर्याउँछ, त्यो कसलाई थाहा छ र ! को कति बाँच्छ, त्यो पनि के थाहा ! कसले कति कमायो, त्यो पनि के थाहा ! मरेपछि के पाइन्छ – पाइन्न, के थाहा ! जहाँ पुगे पनि स्थायी भाव त सम्झना रहेछ । बाँचुञ्जेल म सम्झन्छु, मरेपछि परिवेशले सम्झन्छ । सम्झिए पनि सम्झन्छ, नसम्झिए पनि सम्झिँदैन । तर म त अमेरिकामा छु तर पनि सम्झँदै छु र रमाउँदैछु पोखरा, तिमीलाई सम्झेर । 

प्रकाशित: १९ भाद्र २०७७ ०५:२० शुक्रबार

अक्षर