लालबहादुर भुजेल
ज्यादै कम उमेरका शिशु, बालबालिका वा व्यक्तिलाई ‘बाल’ भनिन्छ । एकथरी मान्छेहरू, बाललेखनलाई त्यतिविधि महत्व दिदैनन् र त्यति साह्रै त्यो मामलामा संवेदनशील हुनुपर्छ र भन्ने ठान्छन् । जति बुझ्यो त्यति नै गाह्रो, बुझ्न खोज्यो बुझ्नै कठिन, जति बुझ्यो त्यति कठिन भनेझैं बालबच्चाको पेट बोली बुझेर बालसाहित्य रचना गर्नु भनेको ‘फलामको चिउरा’झैं कठिन र जटिल कार्य हो ।
तर, कतिपयले बालकविता, निबन्ध, कथा, चुड्कीको भरमा रचना गरेर प्रकाशित गरिन्छ भन्ने ठान्छन् । यसरी बालपक्ष र बालविधाप्रति गहन रूपमा नसोच्नु आफैंमा न्याय हुँदैन । यो कुनै नौलो कुरा नभएर बालवालिकाप्रतिको नकारात्मक सोच र दोषी चस्माको परिणाम हो । यो कुरा, प्रायः जसो दैनिक बोलचाल, कुराकानीबाट छर्लङ्ङ हुन्छ जस्तै के बच्चाको जस्तो कुरा गरेको ? यो काम त बच्चाले पनि गर्न सक्छन् ! तिमीहरू अहिले बच्चै छौ, केही बुझ्दैनौ ! बच्चालाई किन पठाएको होला ! यो त बच्चाको खेल हो !
यसको अर्थ हुन्छ, हामीमध्ये धेरैले, बच्चालाई तर्कसंगत कुरा गर्ने, बुझ्ने, समस्या हल गर्न सक्ने र ठूलाबडाको सहारा सहयोगविना निरीह, केही गर्न नसक्ने, आलोकाँचो र अपरिपक्व भन्ने ठान्छौं ।
बालबालिकाप्रतिको हाम्रो सोच रुग्ण छ, त्यति स्वस्थ्य छैन । हामीले गुडिया, खेलौंनाको रूपमा लिन्छौं । कतिले त बच्चालाई देख्नासाथ लाडप्यारको रूपमा गालामा चिमोट्ने, दुई हातले उचालेर दायाँबायाँ माथि फालेझैं गरी डिलबाट हुत्याउने, डरत्रास देखाउने, नदीखोलामा पौडी खेलिरहेको भए किनारमा उभिएका बच्चालाई समातेर रहमा डुबुल्की मारी दिने, जिस्क्याउने, होच्याउने, गिज्याउने प्रवृत्ति पनि छ । ‘बाख्राले खाने, भेडाको कान काट्ने भनेझैं’ ललाइफकाइ बच्चालाई राति कार्यक्रममा लिएर गयो तर, घोर आपत्तिजनक, बदमासी काम गरेको दोषारोपण निरपराध बच्चामाथि थोपरयो । विगतमा, गाउँमै प्रायोजित सांस्कृतिक कार्यक्रममा ठूला बडा भनाउँदाको लहैलहैमा जाँदा, स्कूल प्रांगणमा बस्ने क्रममा, वयस्कहरूले पालैपालो त्यो अबोध दुब्लोपातलो बच्चालाई घचेटेर बेसहारा टुहुरोझैं दिक्कवाक्क पारेर हदैसम्म हेपेर दुव्र्यवहार गरी सताइको घटनाको प्रत्यदर्शी यो लेखक पनि हो ।
महिलाहरूले पढ्न पाउनुपर्ने अधिकारको बुलन्द आवाज उठाउने १५ वर्षीया पाकिस्तानी चेली मलालालाई तालिवानी समूहले निर्मम तवरले गोली हानेर १० दिनपछि होसमा आएकी थिइन् र सन् २०१४ मा नोवेल पिस पुरस्कार जितेकी थिइन् । अर्की स्वेडेनकी १६ वर्षीया स्कुले किशोरी ग्रेटा थनवर्ग (जलवायु परिवर्तन सम्बन्धमा विश्वव्यापी अभियानकी अभियन्ता)लाई थनवर्ग टाइम्स् म्यागाजिनको सन् २०१९ को पर्सन अफ दि इयर (वर्ष व्यक्ति) घोषणा गरिएको थियो । यी दुई पौरखी बालिकाको कीर्तिमानी कार्यले बालबालिकाको निहित क्षमता उजागर गर्दछ ।
बालसाहित्य लेखनभन्दा प्रौढ साहित्य लेखनमा बढी मेहनत, कठिन र जटिल हुने कुरा एक थरीको तर्क छ भने प्रौढ साहित्यिक लेख लेख्ने क्रममा, प्रचुर मात्रामा शब्दहरू खेलाउन पाइन्छ भने बालसाहित्यमा शब्दको खडेरी हुन्छ । जुन उमेर समूहको बालरचना, लेखआदि सृजना गर्नु पर्दा त्यही उमेर समूहको बनेर रचना गर्नुपर्ने हुन्छ । त्यसरी, शब्द विन्यास र चयन गरेर बालमनोवैज्ञानिक रंगीन चित्र अंकित र मनोरञ्जनात्मक बाल हितकारी पुस्तक निकाल्नु सहज र सरल छैन ।
हाल कोभिड–१९ को मारले संक्रमितमध्ये २० देखि ३० प्रतिशत बालबालिका छन् । लकडाउनमा शैक्षिक संस्था ठप्प भएको कारणले बच्चाहरू किंकर्तव्यविमूढ हुनको साथै वयस्कबाट सर्ने उच्च जोखिममा छन् । बालपुस्तक केन्द्रित डिजिटल लाइव्रेरी तथा रुचिअनुसार छानेर पढ्ने बालसाहित्य पुस्तकहरूको पनि अभाव छ । विभिन्न स्थानमा भइरहने पुस्तक प्रदर्शनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक मेला र महोत्सवहरूको आयोजना गरिएको हुन्छ जहाँ, प्रौढ लेखक, कविका विभिन्न विधाका पुस्तकहरूको चर्चा गरिन्छ तर, बालसाहित्यिक पुस्तकहरूको गरिमा र चर्चित बालसाहित्यकारहरूको नाम–निशाना नै पाइँदैन । जातीय पहिचान, संस्कृति, परम्परा, रीतिरिवाज जीवन्त राख्न भाषाको आफ्नै स्थान छ । तर, पश्चिमी सिकोले विभिन्न जातजातिको भाषा लोपोन्मुख हुँदैछ । मेरो एकजना नेवार समुदायकै सहकर्मी मित्रले छोराछोरीले घरमा अभिभावकसँग आफ्नो मातृभाषा नेवारीमा कुराकानी नगरेकोमा गुनासो पोख्नुभयो । तर, विडम्बना यो छ कि देशको महङ्गो मध्येको निजी बोर्डिङ स्कुल (रातो बंगला) मा आफ्नो सन्तति पढाउने, फेरि घरमा अंग्रेजीमा कुरा गर्छन् भनेर दुःखेसो पोख्नुको तुक नै छैन ! सकीनसकी झोलाभरि अंग्रेजीका मोटा पुस्तक लगेर पढ्दा हामी नाक फुराउँछौ भने नेपाली भाषामा लेखिएका बालसाहित्यका जुनसुकै विधाका पुस्तक पढ्दा कति गौरावान्वित हुन्छौं त ? अभिभावकको नाताले चासो लियौं त ?
सन् २०१८ को सेप्टेम्बर १८ मा पारित ‘बाल ऐन’ २०७५ ले नेपाली बालबच्चाहरूले प्राप्त गर्ने अधिकार र कर्तव्यको सुनिश्चित गरेको छ तर, आम नेपालीले कहिले कार्यान्वयनमा ल्याउलान् त !
बालसाहित्यबारेमा अध्ययन, अनुसन्धान, खोज र शोध ज्यादै न्यून देखिन्छ । अन्य विभिन्न विधाका कृतिहरूको विश्लेषणको तुलनामा, बालसाहित्यका पुस्तकहरूको समीक्षा नगन्य छ । बालपुस्तकको बाहिर पछाडिपट्टि केही हरफ खर्चेर कथाको सार–संक्षेप, लेखककवि, सम्पादक, चित्रकार, शुद्घाशुद्घी तथा प्रकाशकको नाममैं सीमित राखी, मनोवैज्ञानिक पक्ष केलाइएको पाइँदैन ।
राष्ट्रिय दैनिक पत्रिकाहरू जस्तै – नागरिकको ‘जूनकिरी’, कान्तिपुरको ‘कोपिला’, अन्नपूर्णको ‘अंकुर’, गोरखापत्रको मासिक पत्रिका ‘मुना’, नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित ‘बालप्रज्ञा’ लगायत अन्य पत्रपत्रिकामा ज्ञानवद्र्घक रोचक, चेतनामूलक बालकथा, कविता, चुट्किला आदि प्रकाशित भइरहन्छन् । तर, बालसृजना खातिर अभिभावकहरूको ध्यानाकर्षण कति हुन्छ त ! तर, उल्लिखित बालस्तम्भ र अन्य खुराकहरूले मात्र केटाकेटीहरूको मनोवैज्ञानिक, काव्यिक भोक साम्य हुन्छ त ? पक्कै पनि अपुग हुन्छ !
देशभर बालसरोकारवाला साहित्यिक संस्थाहरू मनग्गे क्रियाशील छन् तर वार्षिक रूपमा स्मारिका वा अन्य स्रष्टाहरूका सृजनाहरू विमोचन र रचना वाचन गरेको भरमा आफ्नो धर्म निर्वाह गरिरहेका हुन्छन् । बालसाहित्यमा सबैको दायित्व र लगाव हुनु जरुरी छ । यसको प्रवद्र्घन तथा विस्तार गर्दै बालमनोविज्ञानप्रतिको संवेदनशीलता सबैको चासोको विषय हो । अहिले पनि आफ्नो बच्चा आफूले भनेको हुबहु पालना गरोस् र अधिनमा बसोस् भन्ने चाहन्छन् अभिभावकहरू, जसले गर्दा बच्चाहरूको आत्माविश्वास स्खलन हुन्छ र सदैव पराधीन मानसिकताले ग्रसित हुन्छन् । बालसाहित्यको कद अग्ल्याउन अन्य निकायहरूको सत्प्रयासको सँगै, सञ्चार माध्यमको भूमिका अपरिहार्य छ ।
प्रकाशित: १८ भाद्र २०७७ ०६:२२ बिहीबार