कला

धनबिरे अनि देश

कविता

 प्रेम राई परीक्षित


 

धनबिरे गाउँमा हुर्केको मान्छे

मीठो बोल्न आउँदैन उसलाई

सिधा अनि सोझो छ ऊ 

बिष घोल्न आउँदैन उसलाई

परिश्रमको पर्याय हो ऊ

काम ठग्न आउँदैन उसलाई

राम्रोलाई राम्रो भन्छ

नराम्रोलाई नराम्रो

चुक्ली लाउन आउँदैन उसलाई


 

अस्ति ऊ अलसतलस बिरामी हुँदा

छिमेकी टिकाराम बाजेले 

अस्पताल पुर्याएका थिए आफैले बोकेर

पोहोर साल  टिकाराम बाजे लड्दा

पदमचाल र हर्चुर खोज्न

कम गाह्रो भा थिएन  धनबिरेलाई

ऊ एउटा पर्याय हो सच्चा छिमेकिको

ऊ एउटा उदाहरण नेपालीको

ऊ नाकको आकार लम्बाई हेर्दैन

आँखाको चौडाई र गहिराई हेर्दैन

शरीरको बनावट र रङ्ग हेर्दैन


 

हेर्छ त केवल

सदाचार

सहकार्य

स्वच्छता

समानता

इमान अनि जमान


 

उसका चर्चरी फुटेका हत्केलाहरुमा

मेहनतको दसी नै दसी भरिएको छ

उसको पैतालाका धाँजाहरुमा

देसको सिमाना कोरिएको छ

उसका निधारका चाउरिएका रेखाहरुमा

विकासका सम्भावनाहरु कोरिएको छ


 

उसका सुकेका ओँठहरुमा

सिङ्गो देश मुस्कुराएको छ

उसले आफ्नो ढाकरमा 

सिङ्गो देश बोकेको छ

उसका तोप्चेहरुमा

देश गर्वका साथ उभिएको छ

उसको फाटेको मैलो टोपी माथि

सुकिलो देश बाँचिरहेको छ


 

त्यसैले

धनबिरे देशको पर्याय हो

बिभेदरहित  समाजको आदर्श हो

बोल्न नजाने पनि

ऊ एउटा ऋचा हो

ऊ महाभारत अनि गीता हो

तृपिटक अनि मुन्धुम हो

बाइबल अनि कुरान हो

किनभने ऊ बोलिरहेको छ 

उसका सुकर्महरुमा

ऊ बोलिरहेछ

उसका निष्कपट व्यवहारहरुमा

धनबिरे गाउँमा हुर्केको मान्छे

चिल्लो दल्न आउँदैन उसलाई

दिनरात पसिना पोख्छ

कहिल्यै गल्न आउँदैन उसलाई

ऊ आफै भूगोल हो

बाटो बदल्न आउँदैन उसलाई।


 

उसलाई होच्याएर 

अरुले धने भने पनि

धनबिरे भने पनि

म उसलाई सम्मान गर्छु

म उसको सुकर्म देखेर नतमस्तक हुन्छु

किनभने ऊ

व्यवहारको धनी धनवीर 

मनको धनी मनवीर

सत्कर्मको धनी सत्कर्मवीर

एउटा ठेट नेपालीको प्रतिनिधि पात्र 

जो आफू मैलिएर

देश सुकिलो बनाउँछ

आफू लडेर भिरहरुमा

देस जुरुक्क उठाउँछ

आफू निथ्रुक्क भिजेर पसिनाले

देसलाई सिन्चाउँछ

आज म उही

व्यवहारको धनी धनबिर

मनको धनी मनबिर

र सत्कर्मको धनी कर्मबिर खोजिरहेछु

१४७१८१ बर्ग मिटर

नेपालको क्षेत्रफलमा

अनि तीन करोड नेपाली मनहरुमा!

प्रकाशित: १७ भाद्र २०७७ १०:५५ बुधबार

अक्षर