कला

किन बाँधिएन मन ?

कथा

रीता ताम्राकार  

 

थाप्लाभरि ऋणको भारी बोकेर , तीनवर्षको लागि खाडी मुलुक गएको उसको लोग्ने । भारी हलुङ्गो हुन नपाउँदै डेढ वर्षमै काम छोडेर घर फर्केको छ । डम्म तुवाँलो लागेको दिनजस्तै अँध्यारिएको छ लोग्नेको अनुहार । अनि त्यो हेर्दै अन्यौलग्रस्त छे ऊ अचेल ।

वास्तविकतासँग साक्षात्कार हुन पटकपटक उसले गरेकी प्रयास विफल बनेको छ । त्यतिविधि हँसमुख, मायालु उसको लोग्ने एकतमासको बनेको छ । कसैसँग भेटघाट नगर्नु, कोल्टे सुतेर शून्य भित्ता निहार्नु, बोल्दा बोलीमा धारिलो शब्द मिसाउनु । छोराछोरीप्रति पनि उदासीनता देखाउनुले पर्नुसम्म पीर परेको छ उसलाई ।

            सम्झन्छे ! सासू खस्दाको ऋण , ससुराको उपचारको क्रममा थपिएको ऋण , लोग्नेले पसल गर्दा डुबेको ऋण, साउं तिर्न नसक्दा ब्याजमाथि स्याज खप्टेको ऋण ! ऋणै ऋणको भारीले उस्कनै नसकिने गरी  थिचेपछि गाउँ छोडेर काठमाडौं पस्दाको महाकष्ट । हरियो रूखपातको जंगल छोडेर मानिस , गाडी र घरहरूको जंगलमा टिकी खान हम्मेहम्मे परेको व्यथा !

गाउँमा जति नै दुःख भए पनि छरछिमेकको साथ थियो । आफन्तको आफ्नोपन थियो । एकअर्काको पीरव्यथा बाँडिन्थ्यो । खेतबारीमा उब्जेको कुरा मिलिजुली खाइन्थ्यो । ऐंचोपैंचो टथ्र्यो । तर काठमाडौंको मानव महासागरमा त्यो सब त आकाशको फल आँखा तरी मर भनेजस्तै भएथ्यो । कम्ती अत्यास लागेको होइन उसलाई त्यसताका । मनको अत्यास बिसाउन दरिलो काँध थियो लोग्नेको ऊसँग ।

उसको लोग्नेले एउटा कम्पनीमा सानोतिनो काम पायो र उसले पनि नाङ्लो  पसल थापी । महँगो डेराभाडा, दुईदुई जना बच्चाको पढाइ , औषधी (उपचार , सामाजिक व्यवहार , जीवनरूपी रथ गुडाउनु सधैं मुस्किल । कसरी उछिन्नु ऋण ? अन्तत  आमनेपाली युवाजस्तै उसको लोग्ने पनि सयकडा तीनको ब्याजदरमा ऋण काढेर हान्निए खाडी मुलुक ।

लोग्नेको बिछोडपछि एक्लिएको दिनमा ऊ झन्डै पागल बनेकी लोग्नेको मायाले । धन्न हिंड्नुभन्दा  केही दिनअघि फेसबुक खोलेर चलाउन सिकाएका थिए उसका लोग्नेले । उसले मानेकी त कहाँ हो र ! तर , भेटेजस्तै अनुहार हेरीहेरी कुरा गर्न पाइन्छ । हरेक मनका कुरा आदानप्रदान गर्न पाइन्छ भनेर करैले गर्दा सिकेकी उसले । लोग्ने हिंडेपछि काम लाग्यो निक्कै मजाले । दंग परी ऊ आफैं । बिस्तारैबिस्तारै उसको अधिकांश समय भिडियो च्याट, ह्वाट्स एप , र इमोमा बित्नथालेको हुन्छ । हो,उसलाई जीवन निकै रंगीन र मनोरम लाग्न थालेको हुन्छ ।

 तर ..... तर .... अचानक गएको डेढ वर्षमै बिनापूर्वसूचना लोग्ने फर्केर बनेको असहज परिस्थिति कोक्याउन थालेको छ अचेल । हरेक दिन बिताउन एउटा सिङ्गो वर्ष काट्नुजस्तै भएको छ । डेढ वर्षपछि लोग्नेको साथ पाएका रातहरू न्यानो उष्ण बन्नुको साटो तुसारोले कठ्यांग्रिएजस्तो चिसो बनेको छ ।

आज पनि दुई घण्टा भइसक्यो ओछ्यान पसेकी ऊ । तर अहँ ऊसँगै भएको महसुससम्म छैन उसको लोग्नेलाई । आफ्नै लोग्नेले एकै ओछ्यानमा यतिविधि तिरस्कार गरेको सहन मुस्किल भएको छ उसलाई ।

उसभित्रका लाभाहरू निक्कै तीव्र गतिमा हलचल गरिरहेछन् विस्फोट हुन । ऊ रोक्ने प्रयास गरिरहेकी छ , चिटचिट पसीना काढ्दै ।

“के भएको छ तपाईंलाई र यति बेग्लै बन्नुभएको छ ? मनमा केही टेन्सन भए बाँड्दा हलुङ्गो हुन्थ्यो ।तपाईंको यो अनौठो व्यवहारले पर्नसम्म छक्क परेकी छु । यस्तो त हुनुहुन्नथ्यो तपाईं ! डेढ वर्षमा मान्छे नै साटेजस्तो बन्नुहुन्छ भन्ने थाहा पाएकी भए म त्यतिबेला जानै दिन्नथें । “ फुत्केर नै छोड्यो मनभरि  छल्केका छाल । एकछिन पर्खि केही बोल्लान् कि भनेर । तर भित्ता बोल्लाउसको लोग्ने बोलेन ।

 “ यत्रो दिन भइसक्यो फर्केको । न कसैसँग भेटघाट , न कतै आउजाउ , न कुनै सुखदुःखका कुरा ! न घरव्यवहारमा वास्ता ! लौ !! आज त फुकाउनुस् मनको गाँठो । सकिंदैन यसरी बाँच्न । केको भारी छ त्यो मनमा ,बिसाउनुस् मलाई ! हुन त उतै हुँदा पनि मन झस्केकै थियो मेरो । तर सोचें , घर परिवारदेखि टाढा , प्रचण्ड रापमा खट्दाको थकाइ होला ! अब विश्वास भो मलाई , कुरा त्यतिमा मात्र सीमित छैन । लौ भन्नुस् ... के छ त्यो मनभित्र ! “ पाखुरा तानेर बलैले आफूतिर फर्काउँछे लोग्नेलाई उसले ।

अहो !! कस्तो घृणा बोकेको आँखा ! ऊ झसङ्ग बन्छे । आफ्नै लोग्नेसँग आँखा गाँसिरहनन सकेर आँखा झुकाउँछे ऊ ।

                     “ हो ! म कसैलाई भेट्दिनं र कसै कहाँ जान्नं , किनकि मलाई त्यो लायक तैंले छोडेकी छैनस् । मेरो मनभरि तैंले गरेको विश्वासघातको पीडा उर्लिरहेको छ । म कसरी सामान्य बन्न सक्छु र ! अहँ सक्दिनं । पटक्कै सक्दिनं । सक्दै सक्दिनं ।बहुलाउन मात्र बाँकी छ मैले बुझिस् ! बहुलाउन !! “ ऊ मनमनै थरर हुन्छे । के भनेका होलान् यस्तो भन्ने गम्दै ।

                          “ म पचासपचपन्न डिग्रीको तापक्रममा ऋणको भारी निखन्न रगत पगालेर पसिना बगाइरहेको बेलायता तेरो मस्ती ! मैले सपनामा पनि सोचेको थिइन । मेरी स्वास्नी त्यस्ती विश्वासघाती हुन्छे भनेर । मैंले तँलाई , तेरो र मेरो नियाँस्रो मेट्ने सजिलोको निम्ति अनलाइन आउन सिकाएर नेट जोडेर गएको । तर ... छिः .. छिः घिन लाग्छ मलाई तँदेखि बुझिस् घिन ! “ अनुहारभरि वितृष्णा भरेर पुनः ऊ अर्कोतिर फर्क्यो ।

 “ यति धेरै आरोप लगाएपछि उता फर्केर धर पाउन हुन्न । केमा मैले विश्वासघात गरें, कस्तो मस्ती गरें , खुलाएर भन्नुपर्छ बुझ्नु भो ? त्यसै आरोप लगाएर पाइँदैन । भन्नुस् खुरुक्क कुरा के हो ? “ फेरि सकीनसकी फर्काई आफूतिर ।

 “ ठूलो कुरा नगर् ! मेरो कुरा सुनेपछि तेरो अनुहार मलाई देखाउनलायक रहँदैनस् तँ । हुन्छ ,तँलाई इच्छा नै छ भने भोलि बिहान सुन्लिस् मेरो कुरा र त्यसपछि तेरोमेरो सम्बन्धको फैसला पनि भोलि नै होला । अहिले सुत् मजाले । मनमा डढेलो त मेरो पो लागेको छ । तेरो मनमा त फूलैफूलको बगैंचा होला । “यति सुनाएर उसको लोग्ने जुरुक्क उठेर कोठाको कुनामा लगाइराखेको भुइँ ओछ्यानमा डंग पछारिन गयो ।

               ऊ मनभरि आँधी सुसाउँदै उत्तानो पल्टिरहन्छे । के छ लोग्नेको मनमा त्यस्तो भयानक कुरा ? घरबार नै उजाडिने कुरा गर्छन् । विविध तर्कवितर्क र अन्दाज मनमा खेलाइरहन्छे ।अचानक उसको आँखाअगाडि निर्लज्ज भावमा उभिन आइपुग्छे सविना ! ऊ झसङ्ग तर्संन्छे । अनायासै उसको निधारमा चिटचिट पसीना उम्रन्छ । नचाहँदानचाहँदै लोग्ने बाहिर गएपछिका घटित दुर्घटित दृश्यहरू उसका आँखाअगाडि चलचित्रका रूपमा दृश्यावलोकन हुन आइपुग्छन् ।

लोग्नेको बिछोडमा नियाँस्रा दिनहरू बिताइरहेकै समय एक दिन अचानक उसकी स्कुलकी साथी सविना आइपुगेकी हुन्छे । धेरै लामो समयपछिको भेट प्रफुल्ल हुन्छ उसको मन ।

                   “ तँ पनि यतै छस् ! लौ न , चिन्नै गाह्रो हुने गरी आधुनिक पो भइछस् त ! बस न !’’ उसले साथीलाई अंगाल्दै भनेकी हुन्छे ।

 “ जमाना अनुसारको फेसन र शृङ्गार त गर्नैपरयो नि ! फेरि काठमाडौंमा पाखे भएर बस्ने कुरा भएन । लोग्ने जापान छन् । छोराछोरी होस्टेल , आफू फुक्काफाल !’ भन्दै उन्मुक्त खित्का छोडेकी हुन्छे सविनाले ।

उसले छक्क परेर साथीको उन्मुक्तता निहारी केहीबेर नबोली !

 “ किन पक्क परेकी ! जीवनलाई नदीजस्तै गड्गडाएर बग्ने बनाउनुपर्छ । पोखरीजस्तै जम्ने होइन , बुझिस् ! मनको इच्छा र चाहनालाई दाम्लाले गाई बाँधेजस्तो बाँध्नुहुन्न ! दुई दिनको जीवन आनन्द र मोजले बिताउने हो नि ! कि कसो ? तेरो पनि लोग्ने विदेश , आफू पनि सानै भए पनि पसल गर्ने ! कमाइ त राम्रै होला । हप्तामा यसो एकदुई दिन त पसलससल बन्द गरेर रमाइलो गर्नुपर्छ बुझिस् !’’ पुनः स्वच्छन्दता र उन्मुक्तताको लामो हाँसो हाँसी सविनाले ।

“ तेरो पो बूढो जापानमा , ठूलो कमाइ होला । फेरि ऋण पनि छैन होला । मेरो त्यस्तो भाग्य कहाँ? ऋणैऋणका भारीले थिचेर बसाइं आएका हामी । यहाँ पनि दुई जनाले काँधमा काँध जोडेर कोसिस गर्यौं । आखिर पार नलागेर वहाँ जानै पर्यो खाडी मुलुक । कमाइ राम्रो छैन , दुःख धेरै छ रे ! यता ऋणको थुप्रो । मोजमस्ती , घुमीघुमाइ त आकाशको फलजस्तै हो मेरो निम्ति । तेरो साथ दिन सक्दिनं म । सरी है !’ उसले दुःख पोखी ।

                 “ ए ..... तँपनि ! यत्रो वर्षपछि भेटिएकी साथी ! म घुम्दावर्दा तँलाई खर्च गर्न लाउँछु होला त ! फेरि आइमाईले चाह्यो र आँट्यो भने त्यस्तो अभाव त कता भाग्छ कता ! बस हिम्मत त जुक्त्ति चाहिन्छ बुझिस् ! “ बिन्दास शैलीमा बोली सविना ।

बिस्तारै बच्चाहरूको छुट्टी पारेर घुम्न थालेकी हुन्छे ऊ पनि । घुम्न पाएर केटाकेटी पनि दङ्ग । अलिअलि गर्दै उसको स्वभाव परिवर्तन हुँदै गयो । घुमीघुमाइ र मोजमस्ती उसका लागि नशाको लतजस्तै बन्दै गयो । ऊ अब बच्चाको छुट्टी हुँदा मात्र होइन बच्चाहरू स्कुल गएपछिको समय पर्खन थाल्नेमा पुगी ।

एकदिन स्विमिङ गर्न जाने योजना बनाउँछे सविना । ऊ पनि उत्सुकताका साथ गई । सविना त पोख्त रहिछे । ऊ पनि गाउँकै खोल्साखोल्सीमा पौडी हिंड्ने भएर होला हल्का खेल्न सकी । स्विमिङ कष्स म लाउन उसले आनाकानी गरेकीले सविना नमजासँग रिसाएकी छे उसँग ।

 “पाखे कहीं नभएकी ! स्विमिङ पुलमा स्वीमिङ कष्टम लगाउन गाह्रो मान्ने । मान्छे जहींतहीं यस्तै लुगा लगाएर रमाउन थालिसके । पख ! आज तेरा निम्ति केही कपडा किन्नुपर्छ । यस्तो लोभलाग्दो जीउ छ । फेसन अनुसारको ड्रेसअप गरेर हिरोनी बनेपछि पो बैंसालु भमराहरूको नजर पर्छ त मैंया !’ भन्दै जोडदार खित्का छोडी सविनाले ।

सविनाबाट उपहारस्वरूप प्राप्त नयाँ फेसनका छोटा र खुल्ला लुगा लगाउँदा बानी पर्न निक्कै गाह्रो भयो उसलाई । तर सविनाले यस्तो लुगामा तँ कुनै चलचित्रकी नायिकाभन्दा कम देखिएकी छैनस् भनेर उसभित्रको अप्ठ्यारोपन कुचोबिना नै सिनित्त बढारी ।

एउटा शनिबार नानीहरूसहित आफ्नै घरमा रात बस्नेगरी बोलाई सविनाले । दिनभरि रमाईलो गर्दै बसे ।नानीहरू पनि दिनभरिको उफरपाफरको थकाइले होला छिट्टै सुते साँझ । अचानक सविनाले प्रस्ताव राखी ।

           “ म त अब एक प्याक ह्विस्की लिन्छु । तँ के लिन्छस्? वाइन .. बियर ? “ ऊ छक्क परेर सविनालाई हेर्दै बोल्छे ।

                  “ तँ रक्सी पनि खान्छेस् र ? “ उसको प्रश्नले सविना कोठै हल्लने गरी हाँस्छे ।

           “ तँ कोदे .. पाखे .. कुन जमानामा छेस् ? जमाना कहाँ पुगिसक्यो । आधुनिक सोसाइटीमा फिट हुन , यो सब आवश्यक भइसक्यो बुझिस् ! ल .. म ह्विस्की लिन्छु , तँ वाइन लि ! आजदेखि तेरो आधुनिक जीवनको पूर्ण शुभारम्भ !’’ ऊ अनुहारमा अन्यौलताका विविध भाव ओराल्दै बसिरहन्छे ।

“स्वीमिङ कस्टम पनि लगाइहालिस् , पुरुष भमराको मनमा करेन्ट लगाउने नयाँ फेसनको लुगा पनि लाउन थालिस् , साज शृंगारले राम्रीमाथि झन् राम्री देखिन थालिस् ! अब यो वाइन सुरु ! वाइनबाट बियर ,रम , ह्विस्की सबै ! बिस्तारै बानी पर्छ र तँलाई बेपत्तासँग यही जीवनशैली मन पर्छ । अनि तँ पछुताउँछेस् , कति ढिलो मैले बाँच्न जाने भनेर बुझिस् ! ला एक प्याकली ! “ सविना आफू ह्विस्की लिंदै उसलाई वाइन दिन्छे ।

ऊ मान्न हिचकिचाउँछे , तर पनि मान्छे ! नमानी धर पनि छैन । मुखबिगारी बिगारी सक्छे । सविनाले पुनः  पुनः आफू पनि थप्छे र उसलाई पनि थपिरहन्छे । अनि ह्विस्कीको रमरममा सविनाले अत्यन्तै पारदर्शी नाइट ड्रेस लाउंछे र उसलाई पनि लगाउन भन्छे । सविनाको हरेक कुरा ऊ आफूभित्रको अप्ठ्यारो पन्छाउँदै मान्छे ।

दुवैजना साथी ह्विस्की र वाइनको मातमा रसिला र उत्तेजक कुरामा रमाइरहेका थिए । एक्कासि सविना छिल्लिएर उसँग चल्न थाल्छे ।

                       “ के गरेकी तैंले ? म लोग्नेमान्छे होइन त ! तेरी साथी पो त ! तँ जस्तै !’ हाँस्दै भन्छे ऊ ।

            “थाहा छ मोरी ,थाहा छ ! तँमजस्तै साथी नै होस् । आइज न् साथीसाथी नै मज्जा गरौँ  एकछिन । कस्तो बेग्लै मजा हुन्छ स्वाद चाख्न , पल्किन्छेस् तँ !’ उसलाई कसिलो अँगालोमा बाँधेर पलङमा पछार्छे सविना ।

अनि निकैबेरपछि उसलाई आनन्दकै तरङ्गमा लाग्छ , सविनाभित्र लोग्नेमान्छे नै नभए पनि कहीं कतै पौरुषत्व शक्ति र गुणचाहिं रहेछ ।

               “ कस्तो लाग्यो मैयाँ ! निकै दिनको तृष्णा केही तृप्त भयो कि ? थपूँ अझै ? “ सविना उसको चिउँदो समातेर हल्लाउंदै जिस्काउँछे ।

“ छि  तँपनिकस्ती .... केके जानेकी छि  !! “ किन्चितलजाउँदै बोल्छे ऊ ।

 “ नलजा न मोरी ! म लोग्नेमान्छे हुँ र ? हेर मैयाँ ! हाम्रा लोग्नेहरू विदेश गएका छन् । के उनीहरु हामी यता तड्पिएजस्तै तड्पिएर बस्छन्  भन्ठानेकी छस् ? अहँ त्यस्तो हुँदैन बुझिस् ! मेरो लोग्ने त अर्की लिएर मोजले बसेका छन् । मैले यहाँबाट आपत्ति जनाउँदा , पेटको भोकजस्तै शारीरिक भोक लाग्छ खानै पर्यो भन्छन् । पैसा टन्न पठाएको छु आफू पनि मोज गर् भन्छ । के हो अर्थ ? सम्झौता हो बुझिस् सम्झौता ! यो जीवन नै सम्झौतामा अडिएको छ ।’’ सविनाको कुराले झस्किन्छे ऊ ।

                      “ भने पछि तँ ...... ! ’’ कुरा अधुरै छोडी उसले ।

            “ अँहो ! उता उनीहरू मोज गर्छन् ,हामी यता किन नगर्ने ? शरीर हाम्रो पनि उस्तै हो , भोक हामीलाई पनि लाग्छ । बुझिस् मैयाँ ! जिन्दगी जिउन जाने अत्यन्तै सजिलो छ । टन्न छन् मेरा त केटा साथीहरू, छानीछानी मेटाइन्छ भोक । पछि लोग्ने फर्केपछि दम्पतीको जोडी बाँधिएकै रहन्छ । ऊ त्यो फोटोजस्तो हेर त ! उसलाई सविनाको यो कुरा पच्न’गाह्रो हुन्छ ।

                    “ तँ जे भन् , जे गर् ! तर म यो कुरामा सहमत हुन सक्दिनं । मेरो लोग्ने खाडीको भुँग्रामा मेहनत गर्दै छन् मेरो र छोराछोरीको सम्झना मनमा बोकेर । म यता केटा फेरिफेरि तनको तृष्णा मेटूँ । अहं ! मबाट चाहिं यो हुन सक्दैन है !’ उसले हातै जोडी ।

“ सती सावित्रीजीकी जय ! बस्यो .... सम्झना मनमा बोकेर । झन् त्यो खाडी मुलुकमा त बन्धनमा बसेका शेखका स्वास्नीहरू , बुहारीहरूले मौका पाउनासाथ कामदारलाई प्रयोग गर्छन् रे बुझिस् ! यता तँ सती सावित्री बनेर बस् , तृषित प्यासी बन्दै , उता तेरो सत्यवान् मस्तीको घोडा कुदाउँदै होला ।’ सविनाको कुराले आठ रेक्टरको भूकम्प मनमा उरालेर निदाउन नसकी छ्पट गरिरही उसले ।

त्यसपछिका दिनमा निकै दिन न ऊ सविनाकोमा गई , न सविना आई । तर उसभित्र थाम्नै नसक्ने गरी तृष्णा बहिरह्यो । ऊ छटपटाइ रही कसैको स्पर्शले तृष्णा मेट्न । एउटा अनौठो भोक महसुस गरिरह्यो उसको तनले । उसलाई घरी सविनासँग उठ्नसम्म रिस उठथ्यो । घरी सविनासँग समय बिताउने असीमित चाह उठ्थ्यो मनमा । आन्तरिक ऊहापोहले छटपटाइरही ऊ निक्कै दिन ।

               “ मेरो यादै आएन कि कसो मैंयालाई ! “ एक दिन अचानक ढोकामा झुल्किन आइपुग्छे सविना । खै ,कुन आवेगमा ग्वाम्म अँगालो हालेर सुँक्कसुँक्क रोई ऊ ।

 “ मैले तेरो छटपटी सबै बुझेकी छु । यसरी बाँच्नुको कुनै अर्थ छैन । मन दाह्रो बना । जीवनको भरपूर आनन्द उठाएर बाँच्नु नै असली बाँच्नु हो । हिंड, आज म तँलाई मेरो साथीसँग भेट गराउँछु । उसले अस्तिदेखि तँसँग भेट्ने मन गरेको छ । छिट्टो गर, नानीहरू स्कुलबाट आउनुभन्दा अगाडि फर्कनु छ तैंले । म त फुक्काफाल ! मनमा विचित्रको भाव उराल्दै ऊ पुग्छे सविनासित गेस्ट हाउस । जहाँ अत्यन्तै सुन्दर युवक प्रतीक्षामा हुन्छ उनीहरूको ।

तीनैजनाको खाइपिइ र मस्तीभरि मन कुतकुताउने गफपश्चात् अचानक सविना भन्छे “एकछिन म एकजना आफन्त भेट्न जान्छु । दुईजना रमाइलो साथ मनोरन्जन गर्नू है ! म फर्किहाल्छु । बाईबाई मैंया नलजाई बस है । बानी छैन , अलि लाज मान्छे .... लजालु छे ... टेक केयर सुदेश !’ उत्ताउलो खित्का छोडेर सविना निस्कन्छे । सुदेश ढप्काएको ढोकामा चुकुल लाउँछ ।

करीब अढाई तीन घण्टामा मनको अप्ठ्यारोपना , ऊहापोह सबै पचाएर उसले सुदेशभित्र आफ्नो लोग्नेको प्रतिबिम्ब साट्न , देख्न भ्याइसकेकी हुन्छे  र बिस्तारै भिन्नभिन्न मान्छेमा आफ्नो लोग्नेको बिम्ब देख्ने बानी अम्मलकै रूपमा लाग्छ उसलाई ।यदाकदा उसभित्रको पतिव्रता , सुसंस्कारी नारीले शिर उठाउन नखोज्ने होइन तर रङ्गीन बँचाइमा परास्त बन्न पुग्छे ऊ ।

उफ !! के यही कुरा थाहा पाएको छ लोग्नेले ? ऊ नराम्रोसँग छटपटाउंछे । तर कसरी सम्भव छ थाहा पाउन ? के सविनाले विश्वासघात गरी ? अहँ यो सम्भव छैन ! के लोग्नेका बिम्बमा साटिएकाहरूमध्ये कोही लोग्नेसँग परिचित थिए ? अहो !! यो सम्भव छ । ऊ खलखली पसीनाले भिज्छे । के आँखाले नदेखी , कानले सुनेकै भरमा प्रमाणबिना दोषी बनाउन मिल्छ र कसैलाई ! आफ्नै मनको तर्कले ऊ केही विश्वस्त बन्छे । र भोलि बिहानको प्रतीक्षा गर्न थाल्छे ।

                                             “ तेरो माया र सम्झनामा रुझ्दै , मैले खाडीको तप्तभूमिमा पसीना बगाइरहँदा तँ यहाँ आफ्नो बैंसको ज्वाला शान्त पर्न गेस्ट हाउस धाउने भइस् होइन् ? कसरी गर्न सकिस् ममाथि यस्तो विश्वासघात भन् त ? तँलाई तेरो आत्माले थोरै पनि धिक्कारेन ? तेरो विवेकले यसो गर्न हुँदैन भनेर एकपटक पनि भनेन ? मैले कसरी जान्नु तँभित्र एक वासनाकी भोकी बाइफाले महिला रै’छे भन्ने कुरा । तँत्यस्ती संस्कारी , संयमी , शान्त , समर्पित थिइस् , त्यो सबै तेरो देखावटी रूप रहेछ भन्ने बल्लबुझें मैले ! “ बच्चाहरू स्कुल पठाएपछि मात्र बोल्यो  उसको लोग्ने ।

                 “ तँ त थुक्क ! “ एक पित्को घृणाको थुक लोग्नेले भुइंमा थुक्यो । उसलाई लाग्यो उसको इज्जत लोग्नेको मनबाट झरेर थुकमा रूपान्तरण भईभुईंमा अलपत्र परेको छ । ऊ भित्रभित्र थरथरी भए पनि बाहिर दह्रोपन देखाएर बोल्छे ।

           “ यो सब झूठ हो । कसैले तपाईंका कान फुके मेरो विरुद्धमा । हिजो तपाईंले अनलाइनको मात्र कुरा गर्नुभएको थियो । रातभरि रिसले नानाभाँती सोच्नु भएछ ।’ ऊ विरोधका स्वर उराल्छे । 

“ तेरो कर्तुतको खबर अरूबाट सुनेपछि पनि , अझै तँप्रतिको विश्वासले एकपटक तँलाई जाँचेपछि मात्र त्यो कुरा पत्याउने मन गरें । तँलाई जाँच्न अर्कै साथीको फोटो राखेर फेक आइडी बनाएर तँसँग फ्रेन्डसिप जोडे र च्याटमार्फत सम्बन्ध बढ़ाएं ! तैंले पटकपटक भिडियो कल गर्ने कोसिस गरिस् , मैले बोलेर मात्र तँलाई मक्ख पारेर तेरो विश्वास जितें । सम्झी त , मलेशिया बस्ने रुकुमको तेजेन्द्रसँग कस्ताकस्ता कुरा गरेकी छस्  र उसलाई कस्ता  कस्ता फोटो पठाएकी छस् । तैंले कामुकतापूर्ण कुरैकुराको उत्तेजनामा गेस्ट हाउसमा उसलाई पनि समय दिने बाचा गरेकी छेस् होइन् र ? “ नजरभरि उपेक्षाको अग्नि बोकेर उसको लोग्ने उसमाथि नजर गाड्छ ।

  ऊ थरथरी काँपिरहेकी छे । अश्रुमिश्रित स्वरले भन्छे “ त्यो तेजेन्द्र तपाईं नै हो र ? कसरी हुनसक्छ यो ? फोटो .... फोटो ... त .. होइन तपाईं मलाई भ्रममापार्दै हुनुहुन्छ । “  

                  “ विश्वास लागेन? आफ्नो कर्तुतको विश्वास लागेन तँलाई । ला ... हेर आफ्नो कालो कर्तुत हेर्छस् । कस्तो शब्द , कस्तो कुरा , कुन कामुकताको शिखर उक्लेर कसरी बोलेकी छस् सुन्छेस् ? “ उसको लोग्नेले मोबाइल खोलेर फोटो निकाल्यो र रेकर्ड गरेको कुरा अन गर्यो । ऊ लाज , डर र पछुतोले पानीपानी भई । धुरुधुरु रुँदै थुचुक्क बसेर लोग्नेको खुट्टा समाती ।

 “ मन बाँध्न सकिन , गल्ती भयो , एकपटकको निम्ति माफ पाऊँ । अब जीवनमा कहिल्यै दोहरिने छैन यो गल्ती ! माफ गरिदिनुस् मलाई माफ गरिदिनुस् ! “ ऊ धरधरी रुन्छे ।

“ तैंले माफ दुई तरीकाले पाउँछेस् । पहिलो , म अर्को विवाह गर्छु । अर्काको जुठो अब म खान सक्दिनं । तैंले सौता रिझाएर बस्नुपर्छ । दोस्रो केही बबाल नमच्चाई छोडपत्र गर्न मान्नुपर्छ । यी दुईमा एक तेरो सजाय । म यसमा अडिग छु । तँ कुन बाटो रोज्छस् तेरो खुशी । छोराछोरी मेरा हुन् , मैसँग बस्छन् ।’ लोग्नेको फैसलामा अलपत्र परेर ऊ एकटक भुइँ निहारिरहन्छे ।                                  

प्रकाशित: १७ भाद्र २०७७ १०:२३ बुधबार

अक्षर