कला

कोरोनासँग

 मंगलनारायण जोशी

कोरोना

कलम छुनुअघि

कलम टिप्दाको तिमी

कलम कोर्दाको तिमी

कहिले विक्षिप्त क्रूर

कहिले अकिञ्चन, अनुपम रूप

काँडैकाँडाले ढाकेको रंगीन रूप

प्रश्नैप्रश्नको आकारले

लटपटिएको यक्ष्य मुहार

विस्मृत तिमीलाई हेर्दै

तरंगित हुन पुगेका

मेरो मृत्युका हात खुट्टाहरू

कोरोना,

लाग्दछ मलाई

मानौं तिमीलाई

पहिल्यै कतै भेटेजस्तो

कतै देखेजस्तो छोएर कतै ।

प्रेमिल त्यो मृत्युको पल

अव्यक्त शून्यताको

चिच्याहटले उछिटिएर

कुलेलम ठोकेको थियो

याद छ कोरोना तिमीलाई

कोरोना

मेरी प्यारी कोरोना,

जबजब मान्छेमा

पशुत्व अंकुरित हुन थाल्दछ

यस्तै लिएर रूप

बराबरबराबर अवतरित हुनु तिमी

यो धरती  धाममा

तिमीलाई थाहै छ कोरोना

त्राशै त्राशको पर्खाल सजाएर मान्छे

सगौरव नीलमणिजस्तो

यो प्यारो धरतीलाई

मसान बनाउन घम्साघम्सीमा

आ–आफ्ना नापनक्साहरू

आकाशको उचाइमा टेकेर

दम्भ र अहंको उडान भर्ने गर्दछन्

‘ र, भन कोरोना

तिमी कहाँबाट आयौ ?  

कताबाट आयौ ?

आयौ त आयौ तिमी

जस्तो सारा प्रपञ्च फोडेर आयौ।

तिमी के आयौ, स्तब्ध छन्

अग्न्यास्त्र, ब्रह्मास्त्र, विषादिअस्त्रसारा

लुकेर लाटोबुङ्गो भई

च्यापेर कतै कुनै कुना

त्यसै बेपर्वाह परेका छन्

अझ याद छ कोरोना

मान्छेले तिमीलाई थुनेर पाता कस्न

मान्छेमान्छे सबै एक भएका छन्।

यही अभियानमा

मान्छे स्वयं आफैंलाई थुनेर

एक्लैएक्लै

घरआँगनभित्र कवाज खेल्दै छन्

कौसी, बरण्डा, भान्सा, बैठक कोठामा

अझ मान्छे दुनियादारीको

लक्ष्मणरेखा पार गर्दै

आआफ्ना आवरणहरू

पत्रपत्र च्याती

आआफ्ना मनका

पर्खालहरू भत्काउँदै

स्वच्छन्द स्वस्फूर्त

सजिलो बनिदिएका छन्

नजिकिएर पनि टाढिएका

घरपरिवार, छरछिमेक सारा

लकडाउनको छातामुनि

देख्यौ कोरोना तिमीले

आजकल मान्छे

कुनै स्तुपा, चैत्यजस्तो,

मन्दिर, मस्जिदजस्तो

गुरुद्वारा, गिर्जाघरजस्तो,

पंखपखेरुजस्तो

साधु र भिक्षुजस्तो,

अबोधबालकजस्तो

कवि, लेखक, ज्ञानीध्यानी र गुणीजस्तो

मेहनती कालिगढ, नृत्याकार,

चित्रकार, संगीतकारजस्तो

एक्लोएक्लो पागल

सदा व्यस्त ढुलमुले मनुवाहरूलाई

यस्तै अस्तव्यस्त ज्यानहरूलाई

रंगीन फुलेको बगैंचा बनाइदियो।

तर, कोरोना तिमीले

जान–अञ्जान क्रूर बनी

साथ लिएर गएका

बेकसुर प्राणीहरूलाई

सद्गति देऊ न, शान्ति देऊ न

नत्र तिमीलाई श्राप पर्ला,

पाप लाग्ला

मान्छे भनेको मान्छे नै हो

मान्छेबाट

अबेर कुनै पनि कुरा

लुकेर, छिपेर

बच्न सक्दैन भन्ने कुरा

र, ‘तैपनि कोरोना

मान्छेको थकानलाई

तिमीले शीतल चौतारी दियौ

वरपीपलको छाया दियौ

डरत्रासलाई चिनाइदियौ

जीवन–जगतलाई नजीक सारिदियौ

त्यसकारण

तिमी अपराधी नै सही

छुपेरुस्त मनै सही

कोरोना तिमीलाई

धेरैभन्दा धेरै साधुवाद ।

धेरैभन्दा अझ धेरै धन्यवाद 

प्रकाशित: १६ भाद्र २०७७ ०८:४३ मंगलबार

अक्षर