कला

सकिनँ आफ्नो भाग्य लेख्न

म कलम

कवि राधेश्याम मल्ल

राधेश्याम मल्ल

मैले

देश लेखेँ

विदेश लेखेँ

लेखेँ युद्ध अनि युद्धबिरामहरू  

एकीकरण र बिखण्डन लेखेँ

तर

सकिनँ आफ्नो भाग्य लेख्न ।  

 

मैले

माया र प्रेमका महाकाव्य लेखेँ

लेखेँ लामालामा आख्यान

जीवन र जगतका सिद्धान्त  

राजा, महागुरु र सन्यासीका वाणी  

कवि, कलाकार अनि सर्जकका सृजना  

विडम्वना

आफैले आफ्नु चोट लेख्न सकिनँ।  

 

मैले

दूधे बालकका कोमल औँलादेखि

क्रुर, फुस्रा, सम्बेदनारहित अस्थिपन्जर औंलाका बीचमा रही

हरेक पल

उनीहरूका  

सफल अनि असफलतका कथा लेखेँ

निशब्द अनि समर्पणसहित

उनका

उत्साह र कुन्ठा लेखेँ

बिडम्बना

आफ्नो न सुख लेखेँ न दुःख लेखेँ।  

 

मैले

ज्ञानका सार लेखेँ

विज्ञानका सुत्र लेखेँ

महापुरुषका गुणगान लेखेँ

मेहफिलहरूका रोमान्स लेखेँ

सफलताका प्रमाणपत्र लेखेँ

अदालतका फैसला लेखेँ

तर अफसोच

आफ्नो न महत्व लेखेँ न महिमा लेखेँ।  

 

मैले

ताजमहल, राजमहल, वङ्गला अनि कुटीका नक्सा लेखेँ

सफलतामा खुसी हुनेहरूका उत्साह लेखेँ

वैराग्य बोकी समसान घाटमा तपस्या गर्ने

अघोरीहरूका बैरागी भाव पनि लेखेँ

जीवन बाँच्न चाहनेहरूका लागि

डाक्टरका प्रिस्कृप्सनमा औषधिका नाम लेखेँ

मर्न चाहनेहरूका लागि सुसाइड नोट लेखेँ  

के लेखिनँ र मैले ।  

 

दुर्भाग्य

आफ्नु न सुरु लेखेँ न अन्त्य नै लेखेँ

किनकि म त एक कलम न परें

जन्जिरले बाँधिएको दास न परेँ

जीउँदो लाश न परें

मालिकका औँलाको बीचमा च्यापिएको

फगत यौटा चेपुवा कलम न परेँ।  

प्रकाशित: १६ भाद्र २०७७ ०६:०५ मंगलबार

कविता अक्षर