कला

अर्को नाम

बालकविता

चन्द्रमा पौड्याल

आकाशलाई गगन भन्छन् पानीलाई जल  

रुखलाई वृक्ष  भन्छन् फल्छन् धेरै  फल  

हातलाई कर भन्छन् अनुहारलाई वदन

गोडालाई चरण भन्छन् आँखालाई नयन ।

बादललाई मेघ भन्छन् हावालाई पवन  

आमालाई माता भन्छन् हृदयलाई मन

पिता भए जनक ती आमा धर्तीमाता

छोराछोरी सन्तान हुन् परिवारका नाता ।

गाई भइन् कामधेनु चरीहरू पन्छी  

कीराहरू कीटपतङ्ग महिष भयो भैंसी  

पृथ्वीलाई वसुन्धरा सूर्यलाई घाम

चन्द्रमालाई जून भन्छन् कर्मलाई काम ।

शिक्षकलाई गुरु भन्छन् विद्यालाई ज्ञान

चेलाहरू विद्यार्थी हुन् गर्छन् अध्ययन  

कामबाटै कर्म हुन्छ कर्मबाटै नाम  

असल कार्य गर तिमी पाउँछौ अर्को नाम।

प्रकाशित: १६ भाद्र २०७७ ०५:४४ मंगलबार

जुनकिरी