मुक्तिनाथ शर्मा न्यौपाने
उनको नाम वास्तवमा विनिता हो । थर लामिछाने हो । उनी एउटा असल बानी भएकी नानी हुन । विद्यालयमा भर्ना गराउँदा हजुरबाले विनिता नै लेखाइदिनुभएकाले विद्यालयमा विनिता भनेरै चिनिएकी थिइन् । घरमा हजुरआमाले भने विनू नै भन्नुहुन्थ्यो । विनितालाई पनि यही नाम विनूमनपर्छ । यो नामभित्र सारै ठूलो माया छ जस्तो मान्छिन् विनिता । विनितालाई घरमा विनू भन्ने गरेको उनका नजिकका साथीले थाहा पाए । विनू नै भन्न थाले । हुँदाहुँदा कक्षामा पनि विनू नै बन्न पुगिन् विनिता । विनितालाई विनिता नाम भन्दा विनू नै मनपर्न थालेको छ अचेल । हजुरआमाले प्यारो गरेर बोलाउँदाबोलाउँदै विनू बन्न पुगेकोमा खुसी मान्ने बानी भएको छ उनको ।
कसैले विनू भनेर बोलायो भने हजुरआमा आइपुगेको जस्तो मान्छिन् उ । हजुर आमा विनूलाई काखमा लिने,म्वाइँ खाने र सम्सुम्याउने गर्नुहुन्छ । उनी बाँदरको छाउरो टास्सिएजस्तै गरेर टास्सिन्छिन् हजुर आमाका काखमा । यो उनको बानी नै भएको छ । कोरोना भाइरस आएर विद्यालय विदा हुदा विनू खुसी भइन्। हजुरआमामाले पढ्नलेख्न सिकाइहाल्नुहुन्छ भनेर ढुक्क भएकी हुन् उ । कोरोनाका कारण घरमै बस्न पर्दा हजुरआमामाले घरका कुन काम कसरी गर्ने सबै सिकाउँदै जानुभो विनू सिक्दै गइन् ।
गीत, कविता र कथा लेख्न सिकाउनु भो । उनीलाई आफ्नै कविता वा गीतमा वाद्यवादनको लय मिलाएर गाउन नाच्न पनि सिकाउनु भो । विनू सिक्दै गइन्। रमाइलो मान्दै सिक्न पाउँदा सारै रमाइन बिनु । आफ्नो अनुभव टेलिफोनको माध्यमबाट अरु साथीलाई पनि सुनाइन विनू। साथीबाट धन्यवाद पनि पाइन विनूले। विनूले साथीहरूलाई भन्दै गरिन् । मन परेको काम गरिरहने बानी सारै मीठो हुँदो रहेछ । अल्छी पटक्कै लागेन । यी काम घरैमा बसीबसी गरियो । यस्तो बानी राम्रो हुँदो रहेछ ।
प्रकाशित: १४ भाद्र २०७७ ०९:१७ आइतबार