कला

सलाम

कविता

श्रीषा पाण्डे

वीर गोर्खालीको वीरगाथा  

सुनेर हुर्किएका हामी

हाम्रा सन्ततिहरूलाई सुनाउनेछौ

कोभिड –१९ का योद्धाहरूको कथा

महानायकहरूको भित्री व्यथा

कर्तव्यपरायण पुलिस छन्  

र त

सडकमा कहर छैन

हैकम हाकिमहरू कहिल्यै हार्दैनन्

अहोरात्र खटिएका नर्सहरू

कैँयौ फ्लोरेन्स र टेरेसाले पुनर्जन्म लिएका छन्

आभारको भार घरमै बसेर तिर्नुपर्छ

चुल्हो नबलेको घरमा

सामल जुटाउने सहयोगी

दृष्टिको दृष्टान्त बनेका छन्

मास्क, स्यानिटाइजर  

अहिलेका  

सुदर्शन चक्र हुन्

जीवनको अभिन्न अंग हुन्

गाँस, बास र कपाससँग नाता टुटेका मान्छेले

कुन्नि कुन दिन स्यानिटाइजरसँग नाता जोड्ने हो ?

विश्वासको पिपिई लगाएर  

काममा संलग्न  

सम्पूर्ण  

साधुवाद र आदरभावका पात्र हुन्

सामाजिक दूरी कायम गरेर  

सबै मिली

रोगलाई हराउनु छ

सहयोगीहरूको साथ दिऔं

आशा र विश्वास पोल्टाभरि राखौं

कर्मले र धर्मले गरौं

मानवताका दूतहरूलाई

सलाम । सलाम ।। सलाम ।।।

प्रकाशित: १४ भाद्र २०७७ ०६:०१ आइतबार

अक्षर