कला

हाम्रो आँपको बोटमा

कविता

 शेखरकुमार श्रेष्ठ

उसको सिमानाको छेउमा

हाम्रो  जमीन छ

त्यहाँ हाम्रो घर छ ।

हाम्रै आँगनीमा पर्ने गरी

छायाँ समेत नजाने गरी

बाले आँपको बोट रोप्नुभएको छ ।

आँप हुर्केको छ

दाना लागेको छ

हामीले खाएका छौं

छिमेकीलाई खुवाएका छौं ।

कहिलेकाहीँ उसले परैबाट  

झट्टी हान्छ

झरेका आँप खान्छ ।

छिमेकी हो

छिमेकी हौं  

हामी केही बोल्दैनौं

आँप मागेर सोधेर चोरेर

कहिलेकाहीँ लुटेर खान्छ ।

वर्ष बित्दै जाँदा

ऊ नपाकीकनै खान्छ ।  

चिचिलो र कलिलोमै खान्छ ।

यो देखेर बाले  

साँगुरो ठाउँ भए पनि

सात बोट आँप लगाउनुभएको छ

त्यो बोट बढ्दै छ  ।

अहिले मेरो छिमेकी पनि  

किस्मत गर्दै छ ।  

उसले तरकारी लगाएको छ

बोडी, सिमी अनि खै के केको लहरा आएको छ ?

लहराले थाँक्रो खोजेको छ  

मेरो छिमेकीले एउटा थाँक्रो हालेको छ

थाँक्रो हाम्रैतिर तेर्सिएको छ

आँपका बोट भेटेको छ

आँपका बोट चढेको छ ।

छिमेकी हो, चूप लागेका छौं

लहराले बोट बेर्दाखेरि

चूप लागेका छौं

आँप नफले पनि

चूप लागेका छौं

बोट ओइलाउँदा पनि

किनकि

ऊ छिमेकी हो  

झगडा गर्नु धर्म होइन ।

वर्षौंदेखि उसको यो क्रम जारी छ

त्यसैले यसपालि मैले सचेत गराएको छु–

छिमेकीले तिमीलाई बोक्न सक्दैन

सधैं भार थाम्न सक्दैन  

यसपटक त्यो लहरा

बारीमा नपठाऊ  

आँपको बोटमा नचढाऊ ।

हाम्रो आँपका बोटलाई

हाम्रै माटोमा फुल्न र फल्न देऊ ।

प्रकाशित: १३ भाद्र २०७७ ०७:०६ शनिबार

अक्षर