कला

सानो खरायो

बालकविता

दिलबहादुर थापा

 

सानोसानो खरायो

आज कता हरायो

खाना पनि खाछैन

बोलाउँदा नि आछैन।

 

सानो मेरो साथी

बस्थ्यो टाँडमाथि

खोर पनि खुलेछ

फर्कन पो भुलेछ।

 

मन भयो पिरो

खोई कता छिरो

देख्दा नि देख्दिनँ

भेट्दा नि भेट्दिनँ ।

 

अब कसो गर्ने हो

भोकै पो मर्ने भो

ऊ कतै भाग्यो कि

केले टिपी लग्यो कि ।

 

साह्रै पीर भा’को छ

यही बाटो गा’को छ

माया साह्रै ला’को छ

कसो गरूँ भा’को छ ।

प्रकाशित: १२ भाद्र २०७७ ११:०० शुक्रबार

अक्षर