सुनिता गिरी
म छिट्टै आउँदैछु
उजाडिदै गएका गुराँसहरूमा रङ्ग भर्न
ओठहरूमा मुस्कानको गीत बोकेर
फाट्दै गएका मनहरू जोड्न
अमर प्रीत गुगुनाउँदै
म छिट्टै आउँदैछु
जब आउँछु
शान्तिपूर्वक उभिन सकूँ आफ्नो माटोमा
निर्धक्क हिँड्न सकूँ आफ्नो बाटोमा
जसरी निर्बाध उडिरहेछन्
गगनमा चराहरू
सगरमाथाको स्वाभिमानी छाती बोकी
म मेरो रहरको साइतमा
ससम्मान जन्मभूमि टेक्न
म छिट्टै आउँदैछु
जब आउँछु
स्वतन्त्र आँखाले हिमालको उचाई नाप्न सकूँ
बाँसुरीबाट शान्तिको धुन निकाल्न सकूँ
मेरा बाँकी सपना फुलाउन मेरै रगत र पसीनाले
आफ्नै पखेरु भिजाउन
म छिट्टै आउँदैछु
तर बिन्ती छ मेरो
मैले माटोमा टेकेपछि
फर्की हेर्न नपरोस्
अर्को देशको माटो ।
प्रकाशित: ११ भाद्र २०७७ ०७:१७ बिहीबार