कला

विद्यालय

कविता

शेखरकुमार श्रेष्ठ

 

विद्यालय कान्जिघर नबनोस्

जहाँ खान नपाएर  

किलामा टुरिएका पशु

फाल हालेर एक्कासि

बालीमा रगबगिँदा

हरिया बालीभित्र पस्दा

यातनापूर्वक

थुनेर राखिन्छ  

अनि  

मालिकलाई जरिवाना तिराउनका लागि

घाँस न पानी

दाना न पराल थुनेर राखिन्छ ।  

विद्यालय

वधशाला पनि नबनोस्

जहाँ मांसप्रेमीको आहाराका लागि

बगरेले खेलाईखेलाई

जनावरको मस्तिष्क र शरीरर छुट्याएझैं

मासुका पुञ्जपुञ्ज झिकेर  

पैसामा अंगलाई  

स्वादअनुसार टुक्राटुक्रा भाग लगाइन्छ

आलो रगत र मासुलाई

काम नलाग्ने भन्दै  

माटो र खरानीमा लतपताइन्छ ।

विद्यालय पक्षीप्रेमीले

आफ्नो सोखका लागि  

घरमा दाना र पानी खान दिएर पाल्ने

पिँजडाको चरा पनि नबनोस्

जसले वनमा स्वच्छन्द भएर डुल्न पाउने

पखेटाको अधिकार हनन होस् ।

विद्यालय चिडियाघर पनि नबनोस्

जहाँ टिकट काटेर मात्र  

पशु र पक्षीको स्वभाव

आकार, प्रकार, रङ, रूप

हेर्न पाइन्छ  

विद्यालय पढ्ने थलो पनि नबनोस्  

जहाँ सिक्ने नाममा

घोक्ने र कण्ठ गर्ने काम हुन्छ

र पानी तलतिर किन बग्छ भनी सोध्दा

वाक् बन्द हुन्छ

अनि किताबमा यही लेखेको छ भन्ने जवाफ आओस् ।

विद्यालय त त्यस्तो थलो बनोस्

जहाँ घरपालुवा जनावरले जस्तो खानाका लागि  

मालिकको भर पर्न नपरोस्

बरु जङ्गली बाघले झैं

वन नै थर्काएर आफ्नो दानापानी खोजोस्

आफ्ना शत्रुहरूलाई परास्त गर्न सकोस्

आफ्ना लागि र आफ्ना वंशका लागि

कसरी बाँच्ने र बचाउने भन्ने कुरा सिकोस्

जहाँ चिडियाहरूले झैं समय परिवर्तन भएको थाहा पाई  

मान्छे बिउँताउने गीतगीत गाउन सकून् ।

त्यसैले विद्यालय

मानव इतिहासको मानव बनाउने स्थल होइन

मानवता बनाउने थलो बनोस् ।

विद्यालय त ठेकी बनोस्

जहाँ दूधबाट दही भइसकेका

विद्यार्थीहरूलाई मथेर घिउ बनाउन सकियोस्

चिज बनाउन सकियोस्  

जसलाई दीर्घकाल प्रयोग गर्न सकियोस् ।

प्रकाशित: १० भाद्र २०७७ ०८:४५ बुधबार

अक्षर