कला

अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा

गजल

रुपिन्द्र प्रभावी

के सोचेको होला यो देशले देशका युवाहरूका बारेमा,

विमानस्थल हुँदै उडी जाने सयौं बटुवाहरूका बारेमा ।

 

मानव बेचबिखनविरुद्ध हामी पनि लड्यौं पटकपटक,

आज किन चूप छौं हामी दलाल, साइँदुवाहरूका बारेमा ?

 

संस्कारहरू फेर्नुपर्छ भनियो, तोड्नुपर्छ भनियो थोत्रा संस्कृति,

अब के भन्ने होला कथित अग्रगामी बुर्जुवाहरूका बारेमा ।

 

जसलाई पठाइएको थियो देशै चलाउन भनेर साथी हो,

उसको ध्यान अल्झिएको छ सरुवा र बढुवाहरूका बारेमा ।

 

प्रश्न उठाउन सिकाए जसले आज आफैं प्रश्न भएका छन्,

अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरूका बारेमा । 

प्रकाशित: ९ भाद्र २०७७ १०:१७ मंगलबार

अक्षर