कला

मृगतृष्णा

मनोवाद

  मौनता थापा

उज्यालोको लोभमा कैयौं पुतलीहरू बत्तीमा होमिएर नष्ट भएका हुन्छन् । फुलको मोहमा भवरा फुलभित्रै गुम्सिएर मर्न बाध्य हुन्छ । पानीको तिर्खाले मृगहरू टाढा टाढासम्म "मिराज"लाई पानी भन्ने सोचेर पच्छ्‍याउँदै जान्छन् । तर त्यो झन् टाढा झन् टाढा हुँदै जान्छ । मृग पानी नै नभेटी बिचैमा तिर्खाले व्याकुल भै मर्दछ । यो हो मृगतृष्णा, हो यस्तै भएको छ हाम्रो जीबन ।

पैसा कमाउने आशा वा धन कमाउने लोभले आफ्नो देश परिवार आफन्त छोडेर वर्षौं विदेशिन वाध्य भएका छौं । विदेशीका वचन, घृणा र तिरस्कार सहेर, अर्काको दास बनेर, अर्काको देशमा दोस्रो दर्जाको नागरिक बनेर आत्मसम्मानमा ठेस लगाउँदै, कठोर यात्रा पार गर्न वाध्य भएका छौं । रातदिन काम गरेर २४ घण्टा खटेर इम्प्लोएर खुशी पार्न हम्मे हम्मे पर्छ । मनमा परिवार छ मातृभूमिको वियोगको वेदनाले पोलिरहेको छ । त्यसमाथि विदेशी मालिक भनाउँदाहरूको नमिठो वचनले मन नुनिलो भैकन अमिलो हुन्छ अनि पिरो हुन्छ । अनि आफ्नो देश सम्झिन्छ । आमा, बुबा र (लोग्ने, छोराछोरी) भाइबैनी सम्झिन्छ । आफू त टाढा विरानो देशमा एक्लो भएको एकलोपनको महसुसले मन आत्तिन्छ । त्यसै त्यसै आकाशले थिच्छ कि धर्तीले निल्छ झैं अनुभव हुन थाल्दछ । बलिन्द्र धारा आँसु बगाएर रून मन लाग्छ तर कहाँ बसेर रूने त ? इम्प्लोएरको अगाडि रोयो भने कामबाट निकालीदेला कि भन्ने डर ! भित्रभित्र पोलेको मनलाई आफ्नै आँसु छम्किएर भित्रैभित्रै निदाउँदै शितल भएको स्वाङ् पार्दै बस्नु हाम्रो वाध्यता भएको छ । दिन गए रात कसरी जाला र रात गए दिन कसरी जाला ? भनेर आफ्ना यौवनका रहरलाग्दा क्षणहरूलाई अर्काको दासत्त्वमा वर्वाद पार्न वाध्य भएका छौं हामी ।

पैसाको लोभमा धन कमाएर जहान परिवार राम्रोसँग पाल्ने मोहमा भवी जीवनलाई राहत मिल्ला कि भन्ने आशामा अमूल्य क्षणलाई नष्ट गरिरहेछौं ।

मरूभूमिमा मृगले पानी पछ्‍याउँदै जाँदा "मिराज" टाढा टाढा भागे जस्तै हामीलाई पैसाले कहिल्यै पुग्दैन । देशको बढ्दो महङ्गी, बेरोजगारी, महङ्गो शिक्षा प्रणाली र महङ्गो उपचार प्रविधिले गर्दा एकजना विदेशमै बसेर कमाए पनि परिवारभित्र पैसा बालुवामा पानी खन्याएझैं कता विलाउँछ कता ? कहिले ४ वर्ष विताएर आफ्नो देश फर्किउँला भनेर दिन गन्दै बस्यो, घरको समस्या जस्ताको तस्तै देशको समस्याको कुराको त सीमा नै छैन ।

देशको अवस्थाको कारणले नै आज म जस्ता कैयौं नारी र पुरूषहरूले अर्काको देशको दासत्त्व स्वीकार्न वाध्य हुनुपरेको छ । तर कहिलेसम्मका लागि ? के अब नेपालीहरूले अर्काको दास नबनी परिवार पाल्नै सक्दैनन् त ? के हाम्रो देशमा सामाजिक, आर्थिक र राजनैतिक सुधार नहोला त ? के सधैँ हामीले आफ्नो देशमा अशान्ति र असुरक्षाको महसुस गर्नुपर्ला त ? परिवार पाल्नाको खाँतिर परदेशमा बसेर माया र ममताबाट टाढिएर एक्लो निरस जीबन बिताउले दिन कहिल्यै नसकिएर मरूभूमिमा पुगेको मृग जस्तै तड्पिई तड्पिई पैसाले कहिल्यै नपुगेर विदेशमै मर्न बाध्य हुन्छौं सायद हामी । तर हाम्रो धन कमाउने सपना कहिल्यै साकार (पूरा) हुँदैन । दिन जान्छ, रात जान्छ, जान्छ सारा यौवनहरू, बाँकी रहन्छ, बस् मृगतृष्णा !

प्रकाशित: ९ भाद्र २०७७ ०५:५६ मंगलबार

अक्षर