कला

वैकल्पिक शिक्षा –प्रणालीमा मदन बाजे

क्याप्शन

वसन्ती राई

 

 

राणा शासनमा नेपाली जनतालाई अक्षर चिन्ने,शिक्षाबाट वञ्चित  गराइएको थियो । त्यस बेला शिक्षामा विकास भनेको नै अक्षर चिन्नु र पढ्न, लेख्न जान्नुमा थियो। त्यसैले नेपाली जनताले पढ्न, लेख्न जान्नुपर्छ भन्ने आवाज उठाएका थिए । पढ्न, लेख्न स्कुल जान पाउन थाले । बोल्ने, सुन्ने र देख्ने मात्रै सूचनाको माध्यममा जनताले पढ्न, लेख्न थालेपछि जनताको सूचना अक्षरदेखि शक्तीशाली हुन सुरु भयो। त्यही अक्षर माध्यम बनेको सूचनाले जनतामा नयाँनयाँ कुराको चेतना आउन थाल्यो। देशको शासन प्रणाली नै परिवर्तन गर्ने तागत अक्षरमा भयो।

समय र वस्तु गतिशी छ। समय र वस्तु गतिशीलता भएको कारणले नै मानवीय सोच र विचार पनि गतिशील हुँदै जान्छ। प्रकृतिको एउटा नियम छ। पुरानाहरू झर्दै जानु र नयाँहरू पलाउँदै जानु। रुखको पात हेरौं । नयाँ पात बिस्तारै पुरानो हुँदै जान्छ र एक दिन झर्छ। फेरि अर्को नयाँ पात पलाउन सुरु हुन्छ। हाम्रो जन्म र मृत्यु हेरौ। हामी जन्मन्छौ। हामी पनि पुरानो हुदै जान्छौ र नयाँ मान्छेहरु जन्मिन्दै जान्छन्। बिचार,सिदान्त र व्यवहारलाई हेरौ। हिजो मेरी हजुरआमाले बाह्रहातको पटुकी, चार मिटरको फरिया र चोलीले जीवन कटाउनुभयो।आज मलाई सारी, कुर्ता, जिन्स सबै चाहिएको छ। मेरी हजुरआमाको पालामा मासु तिहुन मात्रै बनाएर खानु हुन्थ्यो। आज मेरो पालामा मासुको अनगिन्ती परिकार भएका छन्। हिजो कम्युनिष्ट सिद्धान्तको शासन प्रणाली जत्तिको असल शासन केही थिएन। आज त्यही शासन पद्द्धति, सिदान्त पहिलेजस्तै छैन ।मान्छेको सोच र आवाश्यकता परिवर्तनशील छ। स्थिर हुने भए त हिजो हामी जे थियौ आज पनि त्यही नै हुन्थौ होला । मेरो बाजे साधु हुनुहुन्थ्यो। ध्यान गर्नु हुन्थ्यो। मेरो बुबा बाजेको साधु र ध्यान छोडेर कट्टर कम्युनिष्ट हुनुभयो। आज म बुबाको कम्युनिष्ट होइन। अर्कै नयाँ अवसर खोज्दै छु। हामी बाउबाजेको नाक राख्ने कुरा गर्छौ। जीवन पाउनु भनेको कसैको नाक राख्नका लागि होइन। जीवन त जमना अनुसारको  आफूलाई अनुकूल हुने सम्भावनाको खोजी गरेर बाँच्नु हो।

हिजो हामीलाई अक्षर चिन्न नै ठूलो र महत्वपूर्ण कुरा थियो। अझ भनौ आवाश्यकता थियो। आज हाम्रो सामाज अक्षर पढ्ने र लेख्ने कुरादेखि माथि आइसकेको छ। हामीले अर्थशास्त्रमा पढेको छौ। मानवीय आवाश्यकताहरू असीमित हुन्छन् र एक आवश्यकता पूरा हुनेबित्तिकै अर्को आवश्यकता खडा हुन्छ । विकास पनि यस्तै त हो। मान्छेको असीमित आवाश्यकताजस्तै। मानवीय जीवन विकासको एक निश्चित तहमा पुगेपछि फेरि अर्को विकासको खुड्किलो खोज्न थाल्छौ। विकास पनि मानवीय आवाश्यकता हो। चरण(चरण पार गर्दै गएपछि फेरि नयाँ आवश्यकता महसुस भइरहने। तसर्थ, हिजोको महत्वपूर्ण परिवर्तनहरू आज सामान्य हुन्छ भने त्यही सामान्य अवस्थामा रहिरहेर बस्न सकिन्दन। यदि त्यसो भयो भने त्यो समाप्त हुने निश्चित छ।

आजको दिनमा अर्थपूर्ण शिक्षा भनेको पढ्नु, लेख्नु र बोल्नु मात्रै बिलकुलै होइन। अबको शिक्षाको आवाश्यकता भनेको हिजोको कुरा, आजको आवाश्यकता र नयाँ कुराहरूलाई सन्तुलन मिलाएर सिकाउनु हो। हामी पच्चिस वर्ष अक्षर पढेर डिग्रीको प्रमाणपत्र झोलामा बोकेर हातमा भात पकाउने सीप  छैन। छिनछिनमा चियाको चुस्कीको साथमा दुनियाँ गफ गर्दा हामी चियाको बारेमा जान्दैनौ। हामी वर्षभरिको सिकाइलाई एक दिन स्कुलको  कोठामा तीन घण्टा बसेर जाचँ गर्छौ अनि को पास को फेल भनेर छुट्छौयाउँ। लाख किसिमको दिमागको मूल्याङ्कन एउटै मात्रै कुरा पढाइलेखाइमा मात्रै सीमित गरेर अन्य प्रतिभालाई मारिदिन्छौ।बालमस्तिष्कलाई डिमोटिभेट गराएर उनीहरुको असीमित क्षमता, विचार, कला र भावनालाई त्यही ध्वस्त पारेर हजारौ प्रतिभाशाली बाल दिमागलाई समाप्त गरेर एकजना सुपरस्टार भनेर ट्याग लगाइदिने शिक्षा प्रणाली छ हाम्रो। यस्तो शिक्षा प्रणालीले आज मान्छेहरू मान्छे भएर बाच्न पाएको छैन। प्रत्येक स्कुलमा पढाइ र लखाइको अस्वस्थ प्रतिस्पर्धाले बच्चालाई डिप्रेसन बनाइरहेको छ।

दुईचार दिनअघि मेरी एक जना साथीसंग कुरा हुँदा मैले के गर्दैछस् भनेको उनले जवाफ फर्काएकी थिइन्, ‘ अहिले  भर्खरै बाबुको अनलाइन क्लासको भर्चुअल क्लास फिस बुझाएर आएको।’ मैले साथीलाई प्रश्न गरिन। मैले आफैलाई प्रश्न गरे। डिग्री पास गरेको अभिभावकको चार वर्षको बच्चालाई यो लकडाउनमा अनलाइन क्लास पढाउनु आमाबुबाले नजानेको के त्यस्तो कुरा पढाइन्छ । त्यहाँ यस्तैगरी अर्को एउटा सेयरिङ छ मसँग। यो लकडाउनमा आफ्नो  बच्चाको व्यवहारमा परिवर्तन भएको कुरा मसँग एकजना दिदीले सुनाउनुभएको छ। “लकडाउनअघि बच्चा सधै चिन्तित देखिन्थ्यो। म र उसको बाबासँग कहिल्यै खुलेर बोल्दैन थियो। राति निन्द्रामा बरबराउँथ्यो तर लकडाउनपछि बच्चा हामीसँग खुलेर बोल्न थालेको छ। यति धेरै खुशी देखिन्छ। पहिले स्कुलको होमवर्कले ऊ चिन्तामा हुन्थ्यो रहेछ। मलाई मेरो बच्चाले पढ्दै गरेको शिक्षामा डर छ किनकि बालमनस्थितिमा परेको असरले भोलि उसको भविष्यमा केही नराम्रो असर त पर्ने होइन ।’ 

अहिले जोसंग पढेको प्रमाणपत्र साथमा छैन। त्यो मान्छेले म बेरोजगारी भए भनेको सुनिएको छैन। किनकि उसले आफै केही कर्म गरेर जीवन चलाएको छ। प्रमाणपत्र नभएको मान्छेसंग स्वाबलम्बी,पौरख र श्रम हराएको छैन तर जोसंग पढेलेखेकोको प्रमाणपत्र छ। यो मान्छे सक्षम छ भनेर प्रमाणपत्र दिलाइएको छ। बिडम्बना ११ ऊचाहि बेरोजगारी भए भनेर कराइरहेका छन्। कसैलाई गाली गरिरहेका छन् । सरापिरहेका छन्। पढेका मान्छेहरुसंग स्वावलम्बी, पौरख र श्रम हराएका छन्। हराउने क्रम जारी छ। हिजो मेरी हजुरआमा र आमाको पुस्ताले  क नपढी अर्थात् अशिक्षित भएर नै पनि घरव्यवहार चलाउनुभएको थियो। आफ्नो इमानदारीमा रहेर आफ्नो सन्तान प्रतिको कर्तब्य पालना गर्नु भएको थियो। आफ्नो सन्तानलाई पढाई, लेखाई गराउने अवसर दिनुभएको थियो। नेपालीपन झल्किने संस्कार दिनुभएको थियो।शिक्षा लिनु भनेको सक्षम भएर आफै गरिखाने हुनु हो। आत्माविश्वास बढाउनुहो तर खै आजको शिक्षाले त परनिर्भरता हुन प्रेरित गरिरहेको छ। जागिरे केटा पाइएन बेरोजगारीसंग के बिहा गर्नु । जागिर छैन बिहे गरेर श्रीमती कसरी पाल्नु भन्ने शिक्षित व्यक्तिहरूबाट नै यस्तो कुरा हुदा, शिक्षाको हालत सरम लाग्ने स्थिती छ। जति(जति नयाँ पुस्ता उति(उति जीवन देखि हार मानिरहेको छ। शिक्षित भएर पनि जाबो एक ज्यान पाल्नुको पिरले हामीलाई डिप्रेसन नै भएको छ। कोही शिक्षित व्यक्तिसंग जीवन  जिउनका  लागि पनि घरमा गाईभैंसी पाल्नुपर्ने जसरी पाल्नु सकिन्दैन भनेर हामीलाई चिन्ता परेको छ। जागिर छैन भने पाल्नु सक्दैन भन्ने डरले जागिरे, तलबवाला खोजेर हिड्छौ। हामी बिनाजागिरको जीवनसंग किन डराइरहेका छौ ।

हामी हिजोभन्दा आज परिवर्तन भएको हेर्न चाहन्छौ तर मूलधार छोड्न पनि चाहँदैनौ। किनकि हामीलाई पुरानो व्यवहारमै अभ्यस्त छौ। नयाँ कुराको व्यवहार अप्ठ्यारो र चुनौती छ। यी सब खेप्न हामीमा आँट हराएको छ।

जीवन हार होइन, हिम्मत हो, प्रयास हो भनेर बुझाउन अब हामीलाई वैकल्पिक शिक्षाको आवाश्यकता परेको छ । जीवन अनुशासनसहितको स्वतन्त्रता हो भनेर खुलेर बाच्न सिकाउने शिक्षाको जरुरी छ। कोठाभित्र बसेर साँघुरो घेरालाई तोडेर बाहिर खुला संसारमा निस्केर जीवनको सुखदुखमा पौठेजोरी खेल्न सक्नु नै आजको युगले मागेको असल शिक्षा हो।

परिवर्तनको लागि जहिल्यै  मूलधारबाट वैकल्पिक धारमा आउन आवश्यक छ। हिजोको शिक्षामा वैकल्पिक भनेको नेपाली जनताले पढ्नलेख्न पाउनुमा थियो। हरेक विकल्पहरू एकदिन मूलधार बन्छ नै। आजको शिक्षामा जीवनमा काम लाग्ने कुराहरुको सिकाइ हुनु नै शिक्षाको शक्ति र पहुँच हो।

मदन बाजेको दिनको  सुरुवात

 

बिहानीको मिर्मिरे किरण भुईमा खस्ने साथ सेतै कपाल फुलेको मदन बाजे पच्चिस बर्से युवाझै शारीरिक फुर्ति र मानसिक ऊर्जामा आफ्नो नातीनातिनीहरूलाई उठ है भन्नु हुँदै हिँडाइको ठूलो चाल निकाल्नु हुँदै आफ्नो बिस्तारा छोडेर बिहानीको भर्जिन हावा खान बाहिर निस्कनुहुन्छ। 

कपाल सेतै फुलेको मदन बाजेको सोच र विचारमा ऊर्जा त यसै छ नै। त्योभन्दा पहिले उहाँको स्वस्थ्य शरीर र फुर्तिलो शरीर देखेर उत्प्रेरित नहुने सायद छ। भनिन्छ, दिनमा देखेको सपनाले मान्छेलाई रातमा सुत्न दिदैन। लाग्छ, मदन बाजेलाई पनि उहाँले दिनमा देखेको सपनाले रातमा सुत्न दिदैन। त्यसैले होला भोको बचेरालाई उज्यालो खस्ने साथ चारो खोज्न उड्ने माउ चरीसँगै मदन बाजे पनि नातिनातिनीको भविष्यका लागि दिनको उडाइँ सुरु गर्नुहुन्छ। फरक यति हो। चरीको उड्ने पखेटा जोकोहीले देख्न सक्छ। मदन बाजेको उड्ने पखेटा जो कोहीले देख्न सक्दैन।

एक चिनिया उखान छ  – शिक्षक उड्यो  भने विद्यार्थी दौडिन्छ। शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ। शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ। शिक्षक बस्यो भने विद्यार्थी सुत्छ। शिक्षक सुत्यो भने विद्यार्थी मर्छ।

मदन बाजेको भनाइ र गराइ पनि यही हो। टिम अर्थात् अभियानको अगुवाई गर्ने मान्छे जहिल्यै उड्नुपर्छ भन्ने कुरामा व्यवहारिक हुनुहुन्छ र आफ्नो टिमलाई यो कुरा बारम्बार सम्झाइरहनुहुन्छ। बिहानीको झिसमिसेमै आफ्नो टिम र विद्यार्थीलाई अर्थात् नातिनातिनीलाई जगाउन पुग्नुहुन्छ।

हरेक दिन बिहानी पाँच बजेदेखि मदन बाजेको दिनको सुरुवात हुन्छ। पाँचदेखि छ बजेसम्म करीब एक घण्टा विद्यार्थीरनातिनातिनीहरुसँग बिहानी चिसो र स्वस्थ्य हावा खाँदै सामुहिक कसरत गर्नुहुन्छ र सामुहिक कसरतपछि करीब तिन किलोमिटर जतिको मर्निङ वाकमा निस्कनुहुन्छ। मदन बाजे बाल्टिनमा दिसा गर्नुहुन्छ। दिसा गरेपछि दिसालाई खरानीले छोप्नुहुन्छ। पिसाब बोतलमा गर्नुहुन्छ। बाल्टिनको दिसा  भरिएपछि मलखाडीमा लगेर राखिन्छ र केही समयपछि मल तयार हुन्छ र त्यसलाई तरकारी बारीमा लगेर अर्गानिक तरकारी फलाएर  खानुहुन्छ। पिसाब भरिएपछि पिसाब सङकलन गर्ने ठूलो ड्रममा पुग्छ र आवाश्यकता अनुसार तरकारी बारीमा प्रयोग गरिन्छ।

 मदन बाजेले मानव प्रकृतिको चक्र यति सरल र प्रष्ट तरीकाले बुझ्नुभएको छ र व्यवहारमा लागु गर्नुभएको छ। मानव  प्रकृतिको चक्र बढा मजाले सरल भाषामा आफ्नो व्यावहारिक काम  देखाएर बुझाउनु उहाँलाई निकै नै आनन्दको कुरा हुन्छ। मदन बाजेको यो बुझाइ र व्यवहार देखेर जो कोहीलाई दङ खुवाउँछ। उहाँको जीवन एकदमै सरल छ।  छिनछिनमा उहाँले नयाँनयाँ जुक्ति जीवन सरलीकरणको उपायहरू खोजिरहनुभएको हुन्छ। खोजलाई पाई पनि रहनुभएको हुन्छ। खाजा मकैभटमास र मौसम अनुसारको फल तथा खाना खानुहुन्छ। आफ्नै बगैचाको अर्गानिक चिया पिउनुहुन्छ।

मदन बाजेसँग करीब एकसय पचाँस जना नातानातिनी छन्।  प्रत्येकका लागि आआफ्नै किसिमको सपना देख्नुभएको छ। कसलाई के बनाउने र कसका क्षमता के छ । त्यो क्षमतालाई कहाँ र कसरी प्रस्फुटन गराउने र त्यसको भविष्य कसरी बनाउने भनेर योजना छ । ती नातिनातिनीका  लागि देखेको सपना उनीहरूसँग मात्रै सम्बन्ध नभएर  समृद्द देश बनाउने सपनासँग जोडिएको छ। कुन बच्चाले कति सिक्यो कहाँ  के गर्दैछ कति गर्यो र बच्चाको प्रगति हुँदै छ कि छैन। हरसमय मदन बाजेको ध्यान भनेको बच्चाहरूलाई कसरी धेरैभन्दा धेरै निडर,निष्पक्ष र सिपालु बनाउनु रहेको छ। मदन बाजे भन्नुहुन्छ  –विकासको पूर्ण रूप भनेको नै समयअनुकूल मानवीय चेतना स्तरको विकास र भौतिक पूर्वाधारको विकास हो र त्यो विकासको फाउन्डेशन भनेको नै शिक्षा हो। मान्छेको जीवन सभ्यताको पहिलो सुरुवात भनेको नै शिक्षाबाट सुरु हुन्छ। त्यसैले नेता, जनता, समाज, परिवार, साथी छिन्नभिन्न भएकालाई मिलाउने भनेको नै शिक्षा हो। त्यसैले शिक्षाको अभियानमा दिनरात खट्नुभएको छ। बाजे भन्नु हुन्छ– नेपालको किताब घोकाउने शिक्षाप्रणालीको अन्त्य गर्नुपर्छ। कोरोनाको कारण लकडाउन भए पनि मदन बाजेको दिनचर्यामा  व्यस्ततामा कत्ति पनि कमी आएको छैन। अहिले पनि मदन बाजे अठार घण्टा नै खट्नुहुन्छ।

 

मदन बाजे र जनजागृति विद्यालय

 

नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका२, सोल्मा डाडागाँउस्थित मदन राईले  सन्चालन गरेको शुभद्रामदन फाउन्डेशन छ। यो सदरमुकाम छेउ परेकोले निकै बाक्लै बस्ती भएको ठाउँ हो। सोल्मा गाँउस्थित जनजागृति प्राथमिक विद्यालतमा पाँच जना मात्रै विद्यार्थी बाँकी भएकोले बन्द हुन लागेको सरकारी विद्यालयलाई बन्द गर्नु हुँदैन भनेर स्थानीय बासिन्दाको अगुवाइमा २०७३ साल असारमा मदन राईले सन्चालन गर्नुभएको शुभद्रा  मदन फाउन्डेशनलाई विद्यालय सन्चालन गर्ने जिम्मा लगाएको हो।

मदन राई करीब छ, सात वर्ष अघिदेखि नै आफ्नो वैकल्पिक शिक्षा अभियानको अभ्यास गर्नका लागि प्राइभेट विद्यालय किन्न खोज्दै हुनुहुन्थ्यो तर मिलिरहेको थिएन। तिसवटाभन्दा माथि जिल्लाका आठदेखि तेह्र वर्षको करीब एक सय पचास जना हिमाल, पहाड, मधेस, पुर्व, पश्चिमदेखि विभिन्न जातका विद्यार्थीहरुलाई आवासिय व्यवस्थापन गरी सदरमुकाम परिसरमा रहेको सरकारी तथा प्राइभेट स्कुलमा भर्ना गराई सर्टिफाईट गर्ने काम भइरहेको थियो। यो काम मदन राईका लागि  बाध्यता थियो। किनकि आफ्नो विद्यार्थीलाई आफैले सर्टिफाइट गर्ने आफ्नो विद्यालय थिएन। एक नेपाली बाध्यकारी उखानझै खाऊँ भने दिनभरिको सिकार, नखाऊ भने कान्छा बाउको अनुहारजस्तै भएको थियो तर निरन्तर प्रयासको बाबजुद, कर्मशील र सत्कर्मलाई कुनै कुराले अवरोध गर्न सक्दैन र प्रवाह हुँदैन । संयोगले मदन राईलाई आफ्नो वैकल्पिक शिक्षाको अभ्यास गर्ने चाहना पूरा भयो । बन्द हुन लागेको सरकारी विद्यालयबाट। पश्चिम दार्चुलाको सागर लोथ्यालदेखि पूर्व ईलामको समिर लाप्चा, हिमाली भेग मुगुको ढिकी ल्वामु लामा र तराई सर्लाहीको आरतीकुमारी महतो। यसरी मदन राईको करीब एक सय पचाँस विद्यार्थी छन्। जुन विद्यार्थीहरूलाई मदन राईले मेरो नातिनातिनीहरू हुन् भन्नुहुन्छ र मदन राईलाई ती विद्यार्थीहरुले मदन बाजे भन्छन्।विद्यालयमा हाल सरकारी शिक्षकको कोटा दुई जना छ र बाँकी शिक्षकको व्यवस्थापन शुभद्रा मदन फाउनडेशन आफैले गरेको छ। यस वर्षदेखि विद्यालयले माध्यमिक तहको स्विकृती पाइसकेको छ।

मदन बाजेको वैकल्पिक शिक्षा प्रणालीको अभ्यास

मदन बाजेको वैकल्पिक शिक्षा विद्यालयमा विद्यार्थीको शैशिक सामाग्रीको रूपमा  गाई, भैसी, बङ्गुर, घोडा, कुकुर, बिरालो, भेडा, विभिन्न जातको बाख्रा, खरायो, विभिन्न जातको कुखुरा, परेवा, हाँस, टर्की, लौकाट, बट्टाई पालिएको छ। धान कुट्ने मिल, चिउरा कुट्ने मिल, काठ चिर्ने समिल, आरण, साइकल मर्मतको वर्कसप, तरकारी, धान, मकै, फलाउने बारी, आफ्नै फलफूल बगैचा, कम्युटर,लुगा सिलाउने मेसिन, तेक्वान्दो, टेबलटेनिस,पौडी, गीत–संगीत तथा नाटक विभिन्न किसिमको आउटडोर र इनडोर खेलकुद सामाग्रीहरु ,बाद्यबादन सामाग्री सेटहरू, मान्छेको जीवनमा चाहिने अनगिन्ती सीपका लागि चाहिने पुरानो र आधुनिक सामानहरू विद्यार्थीका  लागि पुग्दो छ।

सीप सिक्न र   शिक्षा लिनका लागि  सस्तो र महङ्गो वस्तुले कुनै फरक पार्दैन। जहाँ जे सामग्री उपलब्ध र सम्भब छ। त्यही प्रयोग गरेर सिकाउनुहुन्छ र विद्यार्थीले सिक्छ। हामीलाई चाहिएको जीवन उपयोगी शिक्षा नै यही त हो।  सामान बिग्रिए पुणः मर्मत गरिन्छ। मर्मत गर्दा पनि नहुने छ भने अर्को किन्ने व्यवस्था छ। यसको सम्पुर्ण आर्थिक व्यवस्था अहिलेसम्म मदन राईले गर्दै आउनुभएको छ। मदन बाजेको वैकल्पिक शिक्षा भनेको प्रकृतिसँग नजिक भएर प्रकृतिको संरक्षण गर्नु। विज्ञान जान्नु, प्रविधिको प्रयोग गरेर जीवन सरलीकरण बनाउनु हो। उपभोगमुखी टिठलाग्दो नेपाली समाजको हाल देखेर मदन बाजेले सधै उपभोगमुखीलाई निरुत्साहित गरेर उत्पादनमुखीलाई प्रोत्साहित गर्नुहुन्छ।

विद्यालयमा चाहिने हर सामान विद्यालयमा बनाउन सम्भव भएकालाई त्यही बनाउने वातावरण मिलाइएको छ। नेसनल ट्रेनिङ ल्याबोटोरिस् ईस्टिच्युड को सिकाइ पिरामिडमा भनिएको छ। सुनेर पाँच प्रतिशत, पढेर पन्ध्र प्रतिशत, हेरेर तीस प्रतिशत, गरेर साठी प्रतिशत र गराएर नब्बे प्रतिशत। मदन बाजेले ठ्याक्कै यो सिद्धान्त आफ्नो विद्यालयमा लागु गर्नुभएको छ। उहाँको विद्यालयमा पढाउने। सुनाउने काम एकदमै कम गरिन्छ। हरेक सिकाइ गर्ने र गराउनेदेखि सुरु हुन्छ।   त्यहाँ शिक्षकलाई टिचर भनिन्दैन। मेन्टर भनिन्छ। कुनै पनि काम मेन्टरहरूले पहिले गर्छन् अनि मात्रै विद्यार्थीहरूलाई गराँछन्।कोर्षको किताब विद्यार्थीले पढ्दैनन्। मेन्टरले पढ्छन्। कुनै पनि काम गर्नका लागि मेन्टरले पहिले गरेको हुन्छ।

शिक्षकले चप्पल लगाएर विद्यार्थीलाई जुत्ता लगाउन सिकाउने हाम्रो शैक्षिक प्रणालीको ठीक उल्टो छ मदन बाजेको शिक्षाप्रणाली। ‘विद्यार्थीलाई जुत्ता लगाउन सिकाउनु छ भने मेन्टरले पहिले जुत्ता लगाएको हुनुपर्छ अनि मात्र विद्यार्थीले पनि जुत्ता लगाउनुपर्छ भन्ने कुरा जान्दछ।’

मदन बाजेको वैकल्पिक शिक्षा प्रणालीमा मेन्टरहरु भनेको सहजकर्ता मात्रै हुन्। शिक्षक बरु नेता हुन्। असल नागरिक बनाउने नेता। नेताले सबै कुरा जानेको हुँदैन तर सिकारु, विद्यार्थी लाई बाटो खुलाइदिन र अवसर दिन, अवसर खोज्न सौहार्दमय वातावरणमा स्वर्णिम सपनाहरु पूरा गर्ने बाटो खुलाइदिने सम्वाहन हो। यसैले सबै शिक्षकहरु सहजकर्ताको रूपमा हुनुपर्छ भन्ने धारणा राख्नुहुन्छ।विद्यार्थीहरु इन्टनेटबाट धेरै कुरा सिकिरहेको हुन्छ। मेन्टरले इन्टरनेटको प्रयोग सही कुरामा गरिरहेको छ कि छैन भन्ने कुराको ख्याल मात्र गर्ने हो। कुनै पनि शिक्षकले सबै कुरा जानेको हुँदैन बरु विद्यार्थीबाट शिक्षकले धेरैभन्दा धेरै कुरा सिकिरहेको हुन्छ। मदन बाजे भन्नुहुन्छ – म तिन वर्षको बच्चादेखि कति धेरै कुरा सिकिरहेको छु।’ तसर्थ बाजेको विद्यालयमा मेन्टर विद्यार्थीका लागि सर्वस्व नभएर एक सहजकर्ता मात्रै हुन्।

मदन बाजेको धारणामा सिकाइका तरीकाहरू गुरु सिकाइ, साथी सिकाइ, स्वयं सिकाइ र शेयर सिकाइ  । यसरी चार किसिमको सिकाइ तरीका छन्। कुनै जमना  थियो गुरु थापेर गुरुलाई पुजेर ज्ञान आर्जन गर्ने अब त्यो जमना एकादेशको कथा हुँदै गुरुको परिभाषा पनि फेरिन्दै आएको छ। एउटा सिकारुले धेरै जनाबाट विभिन्न कुराबाट सिक्न सक्दछ। चाहे ठूलाबाट होस् चाहे सानाबाट। सिकाइ सिकाइ नै हो।

नेपाल सरकारको पाठ्यक्रमलाई नै आधार मानेर मदन बाजेले वैकल्पिक शिक्षाको बाह्र विद्या भनेर विद्यालयमा लागु गर्दै हुनुहुन्छ। ती बाह्र विद्याको शीर्षकहरू यी हुन्। १) भाषा र बोली  २) प्रकृतिरविज्ञान  ३) खाना  ४) वस्त्र ५) घर ६) प्रविधि  ७) स्वास्थ्य, यौन तथा योग ८) मनोरञ्जन,संगीत तथा खेलकुद ९) मानविकी तथा व्यवस्थापन १०) सिर्जनशील गतिविधि  ११) मानसिक असन्तुलन, आत्महत्या  र १२) सन्तुलन । यी शैक्षिक प्रणाली अभ्यास र योजना र सपना भनेको अन्तिममा देश विकाससँगै जोडिन पुगेको छ। देशमा असल नागरिक कसरी बनाउने भनेर खोज्दै जाँदा शिक्षाको फाउन्डेशन सही हुनुपर्ने रहेछ भन्ने निस्कर्षमा आइपुग्नु भएको हो। यो शैक्षिक अभियानको लागि मदन बाजेसंग पुग्दो स्रोतसाधन छ। त्यहाँ विद्यार्थीलाई पञ्व तत्व  घाम, पानी, आकाश, माटो र हावा सिकाइन्छ। मैले दुख पाए पनि मेरो सन्तानलाई सुखमा हुर्काउँछु, दुख दिन्न भन्ने समाजको कुरालाई मदन बाजेले छ्वाप्पै काटेर जीवन सुखदुख हो। बच्चाहरूलाई दुख गर्न सिकाउनुपर्छ भनेर नै विद्यालयको परिसरमा राखिएको थुप्रै भनाइहरूमध्ये एउटा यो घत पर्दो भनाइ पनि राखिएको छ।  

‘दुख सिकाउने स्कुल’। मदन बाजेको अर्को भनाइ पनि निकै यस्तै घतलाग्दो छ। ‘बालबालिकाको श्रम शोषण गर्नु अपराध हो। बालबालिकालाई श्रम सिकाउनु धर्म हो’।

एक सय पचाँस जना बाजेको नातिनातिनीहरु बिहान पाँच बजे देखि बेलुका उमेर अनुसार आठ बजे देखि दश बजे सम्म कसैले फुर्सद पाउदैनन्। कसैले पनि बोरिङ भएर दिन कटाउदैनन्। दिन भरी सिकेको, गरेको कुरा हरेक बेलुकीपख डायरीको रुपमा कसैले डायरी  त कसैले कम्युटरमा अभिलेख राख्छन्।

मदन बाजेको बैकल्पिक शिक्षा अभियानको मुख्य उदेश्य तिन तहको शिक्षा छ। ति हुन् । १. संसारको लागि - वातावरण शिक्षा (दिसा,पिसाब,पसिना) २. राष्ट्रको लागि – अर्थतन्त्र शिक्षा ( कृषि, उध्योग,ब्यापार, सेवा) ३. ब्यक्तिको लागि – योग्यता शिक्षा (ज्ञान्, बुद्दि, विवेक, सिप) यसरि मदन बाजेको चौतर्फि काम, योजना र सपना छ। उपभोक्ता मात्रै उत्पादन गर्ने नेपालको शैक्षिक प्रणालीमा बैकल्पिक शिक्षामा  मदन बाजेको नारा “बिद्यार्थि द्वारा बिकास” भन्ने छ।पाँच वर्ष बाजेको विद्यालयमा सिकेर निस्केको हरेक विद्यार्थीले आत्मा निर्भर हुन सकेका छन्। जीवन उपयोगी सिपहरु प्रसस्तै सिकेका छन्। बाजेको शिक्षा पाएर सक्षम भएर निस्केका थुप्रै विद्यार्थीहरु छन्। बाहिर निस्केर आफ्नो धरातल बिर्सिनेहरु पनि छन्। आमाले आफ्नो सन्तानलाई माया गर्न कहिल्यै छाड्दैनन्। चाहे बुढेसकालमा हेरुन् कि नहेरुन्। एउटा माउ चरीले कति दु:ख गरेर बचेरो हुर्काउछ।बचेरो चरा भएपछि छोडेर जान्छ नै तर छोडेर जाला भन्ने कुरा सम्झेर माउ चरीले फेरी  अर्को बचेराको लागी गुड बनाउन छाड्दैन। जति आउछन्, सिक्छन्, निस्कन्छन्, गाली गर्छन्। तथापि बाजेको यो अभियान थाकेको छैन। बरु भन्दा झन झन ब्यापक बनिरहेको छ।

विद्यालयमा कसैको एक थोपा दिशा, पिसाब र पसिना खेर जादैन। सबै संकलन भएर प्रक्रियागत तरिकाले तरकारी बारीमा पुग्छ। कोपि फलाएर भान्सा घरमा ल्याउछ।वातावरण जोगाउनु, स्वास्थ्य राख्नु र मान्छेले स्वस्थ्य हावा लिएर बाच्नुपर्छ। स्वस्थ्य वातावरणमा बाँच्न पाउने अधिकार आधारभुत मानव अधिकार हो। हामी अधिकार मात्रै खोज्ने कि कर्तब्य पनि पुरा गर्ने भन्ने सवाल पनि संगै छ। मानव कृयाकलापबाट प्रकृति बिगारेर कोसंग अधिकार खोज्ने भन्ने अलि अप्ठ्यारो कुरा पनि छ।हामी जान अन्जानमा प्रकृति स्रोतको लाभदायि उपभोग बाट बन्चित हुने क्रियाकलाप गरिरहेको छौ। वातावरण प्रदुषण आजको विश्व समाज चरम उपभोगवादि संस्कारमा ग्रसित छ।हुन त प्रदुषण मानव सभ्यताको बिकाससंगै उत्पन्न भएको वातावरणिय समस्या हो। तथापी प्रदुषणको गतिलाई सन्तुलन मा राखेर स्वस्थ्य मानविय जीवन र स्वस्थ्य वातावरण तथा प्रकृति बनाउन सकिन्छ भन्ने कुरामा मदन बाजे दृढ बिस्वास राख्नु हुन्छ।

मदन बाजेको विद्यालयमा पढ्ने विद्यार्थीहरु किताब घोकेर पास हुने हो कि नहुने हो? होमवर्क गरेको छैन मास्टरले भाले बनाउने भयो। पढ्न नजानेर आत्माग्लानि महशुस कुनै विद्यार्थीले चिन्ता गर्नु पर्दैन।

आजको गुणस्तरिय शिक्षा भनेको,कक्षाकोठा कागजको शैक्षिक सामग्रीले सजिसजाउ बनाउने ट्रेन्ड चलेको छ तर मदन बाजेको शिक्षा प्रणालीमा पढ्ने विद्यार्थीले कक्षाकोठा कागजले होईन। माटोलाई बिरुवाले सजाउछन् र जमिन रङ्गि चङ्गी बनाउछन्। प्रकृतिलाई सजाईरहेको हुन्छन्। त्यहा कुनै जात, धर्म, भुगोल, क्षेत्र, रङ र लिङ्गको आधारमा कोहिलाई हिनताबोधको महशुस हुनु परेको छैन। सानै देखि बसेकाहरुलाई सम्भवत यस्तो कुरा थाहा छैन्। समग्रमा हेर्दा मदन बाजेको विद्यालयमा सुन्दर, शान्त सानो नेपाल अटाउनु भएको छ।

प्रकाशित: ६ भाद्र २०७७ ०४:५६ शनिबार

अक्षर