कला

जे.अस्मिताका ५ कविता

समकालीन कविता

जे.अस्मिता

नयाँ घर

पुरानो भो, साँघुरो भो

असामयिक भो, बेसौगातको भो भनेर

हामीले  

भत्कायौँ आफ्नो पुरानो घर

र  

तिनै ईट्टाका टुक्राहरू जोरजाम गरेर

तिनै झ्यालढोकाहरू ठोकठाक गरेर

तिनै दलिन र खापाहरू सजेर

तिनै जग र छानाहरू सजेर

हामीले  

बनायौं नयाँ घर ।

 

अब

ढोका अर्कै ठाउँमा छ

र झ्याल पनि अन्तै छ

पिँढी अर्कै तौरको छ

र मझेरी पनि भिन्न छ।  

 

अचेल  

भित्र पस्दा पनि अल्झन्छौँ हामी

बाहिर निस्कँदा पनि अल्मलिन्छौँ हामी

यसर्थकी

बिर्सेका छैनन् हाम्रा गोडाहरूले पुराना यात्राहरू  

यसैले  

हामी आत्तिएका छौं  

हामी अत्तालिएका छौँ

देखेर आफंैले बनाएको घर

जस्तो कि

हाम्रो देशको वर्तमान छ।  

 

वितरण  

हामी सँगै थियौँ

उसले भन्यो, हेर बाहिर कोही कसैलाई केही बाँडिरहेको छ

तँलाई पनि दिन्छन कि ?

होइन तिनिहरू अरु कसैलाई बाँडदै छन्  

सायद आफन्तहरूलाई

सायद आफ्ना सहायकहरूलाई

अथवा

आफ्ना आश्रितहरूलाई

सायद उनीहरू आफन्तआफन्तबीच केही बाँड्दै छन्  

मलाई पनि दिन्छन कि ?

होइन उनीहरू अरु कसैलाई बाँड्दैछन्  

सायद आफ्ना समर्थकहरूलाई

सायद आफ्ना कार्यकर्ताहरूलाई  

अथवा

आफ्ना भर भर्ताहरूलाई  

सायद उनीहरू आफूआफूमा केही बाँड्दैछन्  

यदि तँलाई केही दिँदै छैनन् भने  

अथवा मलाई केही दिँदै छैनन् भने

यदि मलाई केही दिँदै छैनन् भने  

अथवा तँलाई केही दिँदै छैनन् भने

सम्झनु

यो वितरण  

यो व्यवस्था

यो पद्धति  

यो सरकार  

तेरो लागि बेकामको छ र मेरो लागि पनि

मेरो लागि पनि बेअर्थको छ र तेरो लागि पनि।

 

भात

भात खानै नपाएपछि  

हामीले विकल्प रोज्यौैँ

 

केही ताता शब्दहरू बटुल्यौँ

केही राता टालाहरू जोड्यौँ

कही घोचाहरू काट्यौँ

केही मोहराहरू बनायौँ

हातमा हात समाउँदै  

काँधमा काँध मिलाउँदै

घर घर डुल्न थाल्यौँ

वस्ती वस्ती पुग्न थाल्यौँ।  

 

हे अँध्यारोका वासिन्दाहरू हो

हे चिसोका निवासीहरू हो

तिम्रो नामको घाम सधैं सहरमा उदाउने गर्छ

तिम्रो नामको उज्यालो सबै सहरमा झर्ने गर्छ

तिम्रो नामको न्यानो जम्मै सहरमा पोखिने गर्छ

कदापी वस्न हुँदैन यो चिसो भूतलमा यसरी

कदापी वस्न हुँदैन यो कठ्याङरिदो वस्तीमा यसरी

कदापी वस्न हुँदैन यो शितोष्ण धरातलमा यसरी।  

 

जाग

उठ

पच्छ्याउ हाम्रा पदचापहरू

आज देशले बलिदान मागेको छ

स्विकार गर हाम्रा आह्वानहरू  

आज देशले क्रान्ति मागेको छ  

 

नराहरू घन्काउँदै

लाठीहरू बजार्दै

बन्दुकहरू पड्काउँदै

अघिअघि हिँड्दै हामी सहर आइपुग्यौँ।  

 

हो

हामीसंग पछिपछि हिंडेकाहरू

कति बाटैमा ढले, कतिलाई बाटैले खायो

हामीसंग पछिपछि आएकाहरू

कति बाटैबाट ओझेल परे

कति बाटैबाट हराए

तर हामी सहर आइपुग्यौँ

ठम्याउदा नठम्याउँदै सहरलाई

हामी सहर जस्तै बन्यौ

रमाउँदारमाउँदै सहरमा

हामी सहर नै बन्यौँ।  

 

अहो,

हामीले रोजेको विकल्प

यति अचुक भयो कि

आजकल हामीलाई भात खानै हुँदैन।

 

आजकल

हाम्रो देशमा

केही त भएको छ आजकल

उनीहरू चिनामिलाउँदै छन्

जोखना हेर्दै छन्

र, लगन जुराउँदै छन्।  

 

उनीहरू चर र घातअरू खेलाउँदै छन्  

समिकरण बनाउँदै छन्

र  

वासलातपत्र तयार गर्दै छन्

 

उनीहरू यतायता भन्छन्

हामी त्यतै त्यतै लाग्छौँ

उनीहरु उताउता भन्छन्

हामी त्यतै त्यतै भाग्र्छौँ

उनीहरू यसो यसो भन्छन्

हामी धर्म निभाउछौँ

उनीहरू उसोउसो हो भन्छन्

हामीकर्म निभाउँछौँ

मानौँ

महायज्ञ भई रहेको छ

र  

उनीहरू पुजापाठ गरि रहेका छन्।  

हवन, किर्तन गरिरहेका छन्  

मन्त्र, मन्त्रणा पढिरहेका छन्  

यसर्थ

हामी जल चढाउने बेला कुरी रहेका छौँ

हामी दूध चढाउने पला कुरी रहेका छौँ

धुपदिप गर्ने पालो पर्खिरहेका छौँ

नैवेध थाप्ने पालो पर्खिरहेका छौं ।  

 

हाम्रो देशमा

केही त भएको छ आजकल

हुनपर्ने केही नभएपछि

यही त भएको छ आजकल।  

 

अनुभूति  

किन हटाइँदैनन्  

यी  

फोहर होर्डिङ बोर्डहरू

अनि घिन लाग्दा ब्यानरहरू

‘यहाँ सोच्न मनाही छ,

बोल्न मनाही छ,

जाग्न मनाही छ।’  

 

‘सुनसान राख यो सहरलाई

सुत्न देऊ यो वस्तीलाई

चुपचाप बस तिमी।’

 

‘अँध्यारो हाम्रो संस्कार

चिसो हाम्रो संस्कृति ।’

 

‘कमिसन हाम्रो पौरख, कमिसन हाम्रो गौरब

पाहुर हाम्रो आधार, पाहुर हाम्रो अधिकार।’

 

किन हेर्छ खाउँलाझैं गरी मलाई

त्यो

डण्डा लिएर उभिएको मान्छे

किन हाँस्छ कुटिल हाँसो

त्यो  

कालो कोट लगाएको मान्छे

किन गर्छ तिरस्कारपूर्ण ब्याबहार

त्यो दौरा सुरुवाल र टोपी लगाएको मान्छे

यो सबै मेरो मात्र अनुभूती हो कि  

तपाई पनि

यस्तै अनुभूति बाँची रहनुभएको छ ?

प्रकाशित: ६ भाद्र २०७७ ०४:३० शनिबार

कविता अक्षर