कला

चन्द्रशमशेर र बलरामपुरका यज्ञमणि आ.दी.

चन्द्रशमशेरको सत्ता जब उत्कर्षमा थियो, नेपालको छवि उच्चतम कोटिमा गनिन्थ्यो, यद्यपि राजनीतिक मोडहरूमा अड्चन र अन्तर्विरोध कायम थिए। विश्व मानचित्रमा कूटनीतिक तवरले नेपाललाई चित्रण गराउने कार्य चन्द्रशमशेरले तत्कालीन शाहवंशका राजालाई ‘हिज मेजेस्ट्री’ को संज्ञा दिलाउनु, काठमाडौंमा ब्रिटिस रेजिडेन्टको सट्टामा राजदूत नियुक्ति गराउनु र गोर्खा भर्तीकेन्द्र स्थापित गराउन नेपाली सेनालाई ब्रिटिस साम्राज्यका लागि लडाकुमा प्रयोग गर्नाले चन्द्र–कर्मको चर्चा अन्तर्राष्ट्रियस्तरमै सशक्त थियो।  

पण्डित शिरोमणि आचार्यले २० वर्षकै उमेरमा धीरशमशेरका छोराहरूलाई पढाउँथे। सन् १८९६ मा धीरशमशेरले राणाहरूकै धर्मकर्मका लागि शिरोमणिलाई काशी बनारस पठाए। अघोर तपस्याको ‘अग्निसिद्धिहोम’पश्चात् ‘दीक्षित’ पदवी धारण गरेका शिरोमणि काठमाडौं आउँदा राणाहरूले स्वागत नगर्ने कुरै भएन। शिरोमणिका दामोदर, काशीनाथ, सदाशिव, रामचन्द्र र हरिहर सन्तान थिए। नेपालको राज्य सञ्चालनमा महत्वपूर्ण योगदान गर्ने माहिला पण्डितका नामले प्रख्यात खोपीका सल्लाहकार काशीनाथका सन्तान ‘राम, भरत, लक्ष्मण, यज्ञ, नरेन्द्र, हर र देव भए’ (आचार्य वंशावली, अ. चक्रपाणि चालिसे, स. केशवमणि आदी, पृ.३२, जगदम्बा प्रकाशन, ललितपुर, २०५६)। ‘यो छोराले गर्भमा बसेर सारा यज्ञको विधि र मन्त्रहरूको प्रयोग सुन्न पायो, यसको नाउँ पनि यज्ञमणि आ.दी. भनेर श्रीपिताजीबाट राखिदिनु भयेछ’ (भएका कुरा, काशीनाथ आचार्य दीक्षित, स. नरेन्द्रमणि आदी, पृ. १७१, काठमाण्डू, २०३१)। ‘दीक्षितहरू धीरशमशेर खलकका फरक–फरक हाँगाहरूसँग जोडिए, चन्द्रशमशेर र उनका सन्ततिसँग बढी नजिक भए’ (शिरोमणि, हेमाङ्ग दीक्षित, पृ. ३, काठमाडौं, सन् २०१६)।  

चन्द्रशमशेरको हालिमुहालीका बीच दीक्षित खान्दानको वर्चस्व कायम थियो। ‘चन्द्रशमशेरका दुई किसिमका सल्लाहकार हुन्थे, देखावटी र भित्रिया, ...भित्रिया थिए– कान्छी महारानीपट्टिका छोरा, हेमराज पाँडे, माहिला पण्डित काशीनाथ, शिवप्रताप थापा, नारायणभक्त माथेमा, राममणि, यज्ञमणि, सुब्बा भरतमणि र मकरध्वज खड्काहरू ...एक्का थिए माहिला पण्डितका सन्तान’ (त्यस बखतको नेपाल, भीमबहादुर पाँडे, पृ.२४०–४१, काठमाडौं, २०४४)।  

चन्द्रशमशेरले बेलायतसँग सन् १९२१ मा पहिलो कूटनीतिक वार्ता गरेपछि सन् १९२३ को नेपाल–ब्रिटिस सन्धिका लागि जब मस्यौदा आयो, तब उक्त सन्धिको अध्ययनका लागि चन्द्रशमशेरले यज्ञमणिलाई अह्राए।  

सन् १९२१ मा प्रेजिडेन्सी कलेज, कोलकाता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्वर्ण पदकले स्नातकोत्तर पहिलो नेपाली ‘यज्ञमणि आचार्य दीक्षितलाई चन्द्रशमशेरले परराष्ट्र विशेषज्ञमा ग्रहण गरे’ (देशभक्त महापुरुष ः श्री ३ चन्द्रशमशेर, मदनमणि दीक्षित, पृ. आवरण समर्पण, साझा प्रकाशन, ललितपुर, २०७४)। चन्द्रशमशेरले बेलायतसँग सन् १९२१ मा पहिलो कूटनीतिक वार्ता गरेपछि सन् १९२३ को नेपाल–ब्रिटिस सन्धिका लागि जब मस्यौदा आयो, तब उक्त सन्धिको अध्ययनका लागि चन्द्रशमशेरले यज्ञमणिलाई अह्राए। ‘उहाँ (यज्ञमणि) लाई राजनीतिमा निपूण ठानी नीतिका वचन सिकाउने र तालिम गरी ...त्यो २३ वर्षको युवकलाई महाराज चन्द्रले सन् १९२३ मा गरिएको ब्रिटिस सन्धि (जसले सर्वप्रथम नेपालको सार्वभौम सत्ता र स्वतन्त्रता मान्यो) का विषयमा आजमाइस स्वरूप जाँचद्वारा राय लिनु हुँदा एक–दुई चित्त बुझ्ने थपघटको राय पेस गर्नु हुँदा ती मन्जुर भएको ...पारखी शासकले यज्ञलाई तेही समयदेखि आफू सँगै राखे’ (भएका कुरा, पुनश्चः नरेन्द्रमणि, पृ. ड)। यज्ञमणिले उक्त सन्धिको मस्यौदाको एउटा पूरै भाग परिवर्तन गरी बेलायत पठाए। बेलायतले नेपालले पठाएको परिमार्जित मस्यौदा स्वीकार ग-यो, जसको फलस्वरूप सिंहदरबारमा ‘डिसेम्बर २१, सन् १९२३ मा नेपाल र बेलायतबीच मैत्री सन्धिको मस्यौदामा हस्ताक्षर भयो’ (परराष्ट्रका पात्र, मदनकुमार भट्टराई, किताब पब्लिसर्स, काठमाडौं, २०७६) एवं बेलायतले नेपाललाई अखण्ड, सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका रूपमा मान्यता समेत दियो। सन् १९२५ मा उक्त सन्धिलाई संयुक्त राष्ट्र संघको रेकर्डमा राखिएपछि विश्व समुदायबीच नेपाल राष्ट्र नौलो रहेन। ‘पहिलो विश्वयुद्धमा नेपालका तर्फबाट बेलायत, फ्रान्स तथा रुस समेतका मित्रराष्ट्रलाई उनले (चन्द्रशमशेर) सहयोग गरे। सन् १९१८ मा आएर तिनै मित्रराष्ट्र विजयी भए। परिणाम, त्यसको केही वर्षपछि सन् १९२३ मा नेपाललाई भारतमा शासन गरिरहेको बेलायती उपनिवेशले सार्वभौम सम्पन्न स्वाधीन मुलुकका रूपमा मान्यता दियो। त्यो सन्धिको मस्यौदा मेरा काइँलाकाका यज्ञमणि दीक्षितले गरेका हुन् भने ठूला कान्छाकाका नरेन्द्रमणि दीक्षितले त्यो मस्यौदा टाइप गरेका थिए। फलस्वरूप भारत स्वतन्त्र भएपछि नेपालले हैदरावाद, ग्वालियर, बडोदाजस्ता ‘देशी राज्य’ सरह भारतमा विलय हुनु परेन’ (देशभक्त महापुरुष, पृ.७२)। ‘नेपाल र बेलायतबीच अहद (सन्धि) भएका अवसरमा राजधानीमा खुसियाली मनाउन दीपावली गरिएको थियो ...त्यति बेला दुई दिन सार्वजनिक बिदा पनि दिइयो ...काठमाडौं र पाटनमा दुई दिन जुवा पनि फुकाइयो’ (खोक्रो–कल्ली, कमल दीक्षित, पृ. ६४, ६७, ७९, जगदम्बा प्रकाशन, ललितपुर, २०५७)।

हुलाक अड्डाको प्रमुख कार्यभार सम्हाल्दै गर्दा पनि ‘यज्ञमणि दिनभर चन्द्रशमशेरकै साथमा रहन्थे’ (कति सम्झू कति बिर्सूं भरतमणि आदी, स. कृष्णप्रसाद पराजुली, पृ. ७६, काठमाडौं, २०७१)। ‘श्री ३ (चन्द्रशमशेर) को जीवनी राममणिले लेखेकोमा टिएन रायले अंग्रेजीमा ट्रान्सलेसन गरेकोमा केही कुरा (यज्ञमणिले) सच्चाउदा, श्री ३ बाट पनि प्रसन्न गरी बक्सेको थियो, तेत्ति कामले श्री ३ लाइ प्रतित परि हालेछ ...तिमी यो किताव तयार्गरी प्रुफ ञाहा पठाउ, र हेरी छापने लायक ठहरीयो भने छापने खर्च पाउने छौ भन्ने जवान भयो ...यसै मौकामा वेलायतको पर्सिभल लाण्डन अंग्रेज, किताव लेखनमा पूर्ण विद्वान रहेछ, उ नेपाल आयो। उसको साथमा काम गर्न यज्ञलाइ पनि राखि वक्सयो। उनि गये पछि फ्रान्सका सील्भान लेभी भन्ने साहेव आये। इनि वडा विद्वान रहेछन् हाम्रो संस्कृतमा पनि निपुण रहेछन्। इनि यो स्मेत तेश्रो पटकमा नेपाल आएका रहेछन। याहावाट धेरै वौद्धका पुस्तक तन्त्र शास्त्रहरू वरावर लैजादा रहेछ, इन सित पनि यज्ञलाइ राखि वक्सीयो। इनलाइ पनि खुसि पा-यो’ (भएका कुरा, पृ. २८०)। 

‘यसै मौकामा वेलायतको पर्सिभल लाण्डन अंग्रेज, किताव लेखनमा पूर्ण विद्वान रहेछ, उ नेपाल आयो। उसको साथमा काम गर्न यज्ञलाइ पनि राखि वक्सयो। उनि गये पछि फ्रान्सका सील्भान लेभी भन्ने साहेव आये। इनि वडा विद्वान रहेछन् हाम्रो संस्कृतमा पनि निपुण रहेछन्। ...इन सित पनि यज्ञलाइ राखि वक्सीयो। इनलाइ पनि खुसि पा-यो’ 

‘सिलभेन लेभिलाई नेपालमा पुरातात्विक अनुसन्धान गर्ने इजाजत दिनु ...चन्द्रशमशेरका एकाध निकै नयाँ र आँटिला कदम थिए’ (त्यस बखतको नेपाल, पृ. २६२)। ‘यज्ञमणिले चन्द्रशमशेरको जीवनी पर्सिभल ल्यान्डनलाई दिए जसलाई ‘नेपाल’ भनी बेलायतबाट प्रकाशित भयो’ (पुराना सम्झना, राममणि आदी, पृ. ८९, काठमाडौं, २०२९)। उक्त प्रख्यात पुस्तक ‘नेपाल’मा पर्सिभल ल्यान्डनले ‘यज्ञमणिलाई दया र सहयोगका लागि पूर्ण मान्यता’ दिएका छन्, (नेपाल, पर्सिभल ल्यान्डन, पृ. १४, भाग १–२, रत्न पुस्तक भण्डार, काठमाडौं, सन् १९७६)। ‘सन् १९०५ मा प्रकाशित पुस्तक सन् १९१० मा फ्रान्सेलीबाट अंग्रेजीमा अनुवाद भयो’ (नेपाल–हिन्दू अधिराज्यको इतिहास, सिल्भाँ लेभी, प्रस्तावना: डिल्लीराज उपे्रत्री, पृ.१६, हिमाल किताब, ललितपुर, सन् २००५)।

चन्द्रशमशरेको आज्ञाले यज्ञमणिले कोलकातामा अवस्थित मार्टिन एन्ड कम्पनीसँगको मध्यस्थतामा बृहत राष्ट्रिय योजनाको नेपाल गभर्मेन्ट रेलवे ‘एक्काइस लाख रुपैयाँको वैदेशिक सहायताबाट उन्नाइस माइल लामो रक्सौल–अमलेखगंज रेल’ (त्यस बखतको नेपाल, पृ. २४३) र पछि उकासे झाडीबाट नेपाल पुग्ने गरी जनकपुर–जयनगर रेलवे निर्माणका लागि महत्वपूर्ण योगदान गरे। ‘यज्ञले सव वन्दोवस्त गरी करारनामा स्मेत गरी मार्टिनको सही गराइ नेपाल सर्कारका तर्पmबाट तिमीले सही गरी दिनु भन्ने यज्ञलाइ र मार्टिनलाइ सर्कारको तर्पmबाट यज्ञले सही गर्ने छन भन्ने लेखापढी भै वन्दोवस्त गरी आयो’ (भएका कुरा, पृ.२८२)। ‘चन्द्रशमशेरले आफ्नो कार्यकालमा गरेका एकाध रचनात्मक कामहरूमध्ये सबभन्दा उल्लेखनीय छ, यो यातायातको समन्वय’ (त्यस बखतको नेपाल, पृ.  २५३)। वर्ष दिनमै सम्पन्न लामो रेलमार्गको खुसियालीमा ब्रिटिस प्रशासकका साथ काशीनाथ र यज्ञमणिले राजा त्रिभुवनले उद्घाटन गरेको अमलेखगन्ज–रक्सौल–अमलेखगन्जको रेलयात्रा गरेर उत्सव मनाए। काशीनाथको व्यवहारबाट घरेलु मामलामा मिल्ती नदेखेका यज्ञमणिले पितासँग एकै ठाउँमा उभिँदा आफ्नो जीवन सार्थक ठाने।  

भीमशमशेर प्रधानमन्त्री भएपछि दीक्षित खान्दानलाई शत्रुतापूर्वक नभएका अनेकन् आरोप थोपल्न लगाइयो र ‘धेरै दीक्षितहरू दण्डित भए र ज्यान जोगाउन धौधौ प-यो’ (त्यस बखतको नेपाल, पृ. १२)। यसै क्रममा ‘यज्ञमणिले हुलाकको काम गर्दा भयेको कारवाइमा स्वर्गेवासि (चन्द्रशमशेर) का पालामा छिनिइ सकेकोमा फेरी वुझियो, तै पनि कसूर निस्केन’ (भएका कुरा, पृ. ३०१)। बेकसुर लक्ष्मणमणि थुनामुक्त भएपछि भीमशमशेरबाट ‘तहापछि राममणि यज्ञमणि २ जनालाई जिन्सि अड्डामा गै भाइको काममा मदद दिनु, भन्ने परमाङ्गी वक्स्यो’ (भएका कुरा, पृ.३१७)। ‘सुनिन्थ्यो कि यज्ञमणिको प्रतिभाबाट भीम यसरी दव्नु भएको थियो कि निजलाई स्वतन्त्र गरी छाडिदिए उहाँको राजकाजलाई खत्रा थियो’ (भएका कुरा, प्रस्तावनाः नरेन्द्रमणि, पृ.ख)।

चन्द्रशमशेरकी दुई रानी लोकभक्तलक्ष्मीदेवी र बालकुमारीदेवी थिए। यज्ञमणिकी जेठी पत्नीको क्षयरोग लागेर अल्पायुको निधनपश्चात् बालकुमारीको प्रत्यक्ष निगरानीमा काठमाडौंको गणवहाल, धरहरामा राम्रै बङ्गला बनाई बालकुमारीले कन्यादान गरेकी लक्ष्मीदेवीसँग यज्ञमणिको दोस्रो विवाह भयो। बालकुमारीकी नाबालिक छोरी राज्यलक्ष्मीकुमारीदेवी (बाबुमहारानी) को विवाह तत्कालीन ब्रिटिस–इन्डिया कम्पनीअन्तर्गतको उध भूभागको तालुकदारी राज्य बलरामपुर रियासतका राजाबहादुर सर भगवतीप्रसाद सिंह साहेबका एक्ला छोरा राजाबहादुर सर दिगविजयका एक्ला युवराज पाटेश्वरीप्रसादसँग भयो। ब्रिटिस–इन्डियालाई चलायमान गर्ने गरी बाबुमहारानीको विवाहसँगै सहायकका रूपमा यज्ञमणिलाई बलरामपुर पठाइयो। यज्ञमणिले गणवहालमा दाइजो पाएको घर हरमणिलाई दिई देवमणिलाई साथै लगे। त्यस वेलाको समाजमा त्यत्तिको पढेलेखेको व्यक्ति राज्यको हर्ताकर्ताका हैसियतमा नरहने कुरै भएन। समृद्ध र शक्तिशाली राज्यमा यज्ञमणिले शान–शौकतका साथ सचिवको जिम्मेवारी सम्हाले भने देवमणिले मनोरञ्जन र सिकारको। ‘बलरामपुरराजको वार्षिक आमदानी निकै ठूलो थियो अंग्रेजको जमानामा, फेरी नेपाली सीमानाको नजीकै र बनकटवा जङ्गल ठ्याक्कै नेपाल सरहदसम्म थियोे। दाजुभाइको एकछत्र साम्राज्य थियो बलरामपुरमा धेरै बर्ष’ (बिर्सेको सम्झेको, कमल दीक्षित, पृ. ७४, जगदम्बा प्रकाशन, ललितपुर, २०४१)।  

पाटेश्वरीप्रसाद नाबालक राजा भएकाले ‘कोर्ट अफ वार्डस्’का रूपमा ब्रिटिसहरूले आफ्ना अंग्रेज भारदार प्रबन्धकका रूपमा राख्थे, जसले राज्य सञ्चालन गर्दै आकर्षक तलब, भत्ता र बक्सिस लिन्थे। जब पाटेश्वरी वयस्क भए, तब यज्ञमणिले ब्रिटिसहरूसँग राम्रो सम्पर्क भएका मोहनशमशेरमार्फत उनैका बहिनी ज्वाइँका लागि दिल्ली सरकार र उत्तर प्रदेशका प्रशासकसँग सम्पर्क गरी ‘वार्डस्’ खारेज गर्न पत्राचारमार्पmत दबाब दिन थाले, जब कि ब्रिटिस हत्तपत्त ‘कोर्ट अफ वार्डस्’ खारेज गर्दैनथे। मोहनशमशेरका पत्रहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीति, सामाजिक तथा पारिवारिक सन्दर्भका हुन्थे, जसको सुरुमै ‘मेरो प्यारो यज्ञ’ र अन्तमा ‘माया गर्ने मोहन’ लेखिएको हुन्थ्यो। यसैबीच लखनउको मोती महलमा ठूलो समारोह सम्पन्न भयो, जसको नेतृत्व उत्तर प्रदेशका ब्रिटिस गभर्नरका सामुन्ने यज्ञमणिले लिए। विशिष्ट पाहुनाका बीच यज्ञमणिले आफ्नो गहन विचार राख्दा भारतका केन्द्रीय राजनीतिका महान हस्ती जवाहरलाल नेहरु लगायत उत्तर प्रदेशका प्रभावशाली नेताहरू चकित भए र राज्यलाई ‘वार्डस्’बाट हटाउने घोषणा तत्कालै भयो। ‘मुद्दा बलरामपुर राज्यका तर्पmबाट युपी सरकारविरुद्ध लडिएको थियो। कोर्ट अफ वार्ड छुटाउन निकै मेहनत परेको थियो र यज्ञमणिको सुझबुझ नभएको भए छुट्दैनथ्यो। वार्ड छुट्यो– सेप्टेम्बर १९३७ मा ...राजकाज यज्ञमणिकै हातमा आयो ...र अन्तिम ५÷६ वर्ष यज्ञमणिले प्रशासनमा नपत्याइँदो प्रगति गरे’ (बिर्सेको सम्झेको, पृ.७५–७६)।  

सन् १९६४ मा पाटेश्वरीप्रसादको निधनले ठूलो उत्तरदायित्वका साथ यज्ञमणि भारतीय राजा–रजौटा, नवाफ र राजनीतिक व्यक्तित्वहरूसँग अझ नजिक हुन पुगे। एकातर्फ यज्ञमणिले ब्रिटिस प्रशासकसँग राज्यका हकहितका लागि बलरामपुर, नैनिताल, लखनऊ, दिल्ली, मुम्बईलगायत अनेकन् ठाउँका महलहरूको सुरक्षण गरे भने अर्कोतर्पm राज्यको नेतृत्वको वंशजका लागि भारतीय रजवाडा ठाकुर परिवारबाटै धर्मपुत्र युवराज र धर्मपुत्री राजकुमारीलाई गोद लिने व्यवस्था मिलाए। आफ्नो मर्यादित उच्चकोटिको शिक्षालाई लखनउबाट प्रकाशित हुने सम्पादक एन.एन. घोषको अंग्रेजी दैनिक ‘द पायोनियर’बाट नियमित साप्ताहिक स्तम्भ छपाउन थालेपछि यज्ञमणिको चर्चा भारतभरि चुलियो। महात्मा गान्धीका निजी सहायक प्यारेलालबाट पोस्टकार्डमार्फत् चिठी आउन थाल्दै गर्दा राजनीतिक, आध्यात्मिक र सांस्कृतिक अभ्यासका लागि गान्धीलाई लेखिएको पत्रको अद्वितीय अन्तिम हरफ ‘हामीहरू केवल शत्रुसँग लडाइँ गरिरहेका छौँ, त्योभन्दा पहिले आफ्नै घर–झगडा मिलाऔँ’ ले गान्धीबाटै सीधै पत्राचार सुरु भयो। राजनीतिलाई पछाडिबाट प्रयोग गर्न खप्पिस यज्ञमणिले जमाएको प्रभाव र रवाफ तारिफयोग्य भएकैले यज्ञमणिमाथि भारतीय राजनेताहरूको विश्वास बढ्दै थियो।

स्वतन्त्र भारतमा केन्द्र र राज्य सरकार बनाउने होडबाजी चल्दै थियो। देवमणिले प्रत्यक्ष रूपमा राष्ट्रिय जनसंघसँग आबद्धता लिएकाले राजनीतिमा कहिल्यै नहोमिएका यज्ञमणिको नाम एकाएक राज्यको हर्ताकर्ताकै रूपमा राजनीतिमा नै मुछिएपछि एकचोटि त जवाहरलाल नेहरु यज्ञमणिसँग निकै रिसाएका थिए, तथापि पण्डित नेहरुकै पत्र यज्ञमणिसामु आयो, जसमा यज्ञमणिलाई उत्तर प्रदेशको मन्त्री बन्न आग्रह गरिएको थियो। यज्ञमणिले गरेको आनाकानी र अलमलका बीच अनिच्छा बुझेरै होला पण्डित नेहरुसहित महात्मा गान्धी र सरदार वल्लभभाइ पटेलले उक्त अनिच्छालाई सकारे तापनि यज्ञमणिलाई केन्द्र सरकारका लागि मन्त्री भइदिन आग्रह गरे, जसलाई समेत यज्ञमणिले नकारे। ‘यज्ञमणि दीक्षितले भारतीय स्वाधीनता संग्रामको शीर्षस्थ र विश्व प्रसिद्ध युगल नेतृत्व श्रीमहात्मा गान्धी तथा श्रीजवाहरलाल नेहरुद्वारा भारतको उत्तर प्रदेश सरकार वा भारतीय संसद्को निर्वाचन हँुदा भारतीय कंग्रेसको तर्फबाट उम्मेदवार हुन प्रबल जोड दिएका थिए। तर, श्रीदीक्षितले आफू नेपाली भएको र भारतमा पनि नेपालीकै रूपमा काम गरिरहेको हँुदा उहाँले इन्कार गर्नुभएको थियो’ (देशभक्त महापुरुष, पृ. आवरण समर्पण)। ‘कांग्रेसका नेताहरूले यज्ञमणिलाई पार्टी ज्वाइन गरेर पार्लियामेन्टमा लड्न आऊ भनेर खुब कोसिस गरे। गोविन्दवल्लभ पन्तबाट धेरैपटक निम्ता पाए, लात हान्दै गए। अटल बिहारी वाजपेयी यज्ञमणिको दरबारमा जम्मा हुने चेलामध्येका हुन्। अलिकति हिसाब मिलेको भए दिल्लीको मन्त्रीमण्डलमा बस्न सक्ने क्षमता थियो यज्ञमणिको, यज्ञमणिलाई सम्झँदा राजनेताको सम्झना हुन्छ’ (बिर्सेको सम्झेको, पृ. ७७)।  

नेपालमा प्रजातन्त्रको उदयका साथ नयाँ सरकार मोहनशमशेरकै नेतृत्वमा बन्यो। फेब्रुअरी १९, १९४९ मा जवाहरलाल नेहरु र मोहनशमशेरबीच भएको छलफलको विस्तृत रूप बाहिर नआए पनि नेपाल–भारतबीच हुने भनिएको सन्धिको विषयमा सहमतिसहित नेपाललाई प्रजातान्त्रिक दिशातर्पm उन्मुख गराउन नागरिकलाई समेत शासन व्यवस्थामा प्रतिनिधित्व गराउने सहमति भए पनि दिल्लीबाट फर्केपछि मोहनशमशेर कार्यान्वयन गर्नेतर्फ हौसिएनन्। सन् १९५० को नेपाल–भारत मैत्री सन्धिका लागि मोहनशमशेरलाई दिइएको सुझावमा यज्ञमणिको समेत चर्चा भएकाले मोहनकै नेतृत्वमा बन्ने मन्त्रिमण्डलमा यज्ञमणिलाई ल्याउने प्रस्ताव रहे पनि अन्ततः बलरामपुरको रक्षा–कवच र बहिनी बाबुमहारानीको सहयोग महत्वपूर्ण ठहरिएकाले दाजु मोहनको इच्छा तुहियोे, जब कि यज्ञमणि आफ्नै मातृभूमि नेपाल फर्केर राष्ट्रको सेवा गर्न चाहन्थे तर समय, परिस्थिति र भाग्यले साथ दिएन। आफ्नो जीवनकालमा यज्ञमणि अन्तिमपटक काठमाडौं आए सन् १९५४ मा केवल तीन दिनका लागि। पहिलो दिनमै यज्ञमणिको युवराज महेन्द्रसँगको दर्शन भेट लामो समयसम्म चल्यो, पुनः दोस्रो दिन भेट्ने सर्तमा। त्यसैबीच प्रधानमन्त्री मातृकाप्रसाद कोइराला आफ्नो पदका लागि सशंकित भई ‘यज्ञमणि मेरो भाग खान आयो’ भन्नसम्म भ्याए भनिन्छ। ‘पुराना चिठीहरूको संकलनबाट यज्ञमणिको बुद्धिमत्तापूर्ण प्रशंसा थाहा हुन्छ’ (अम्बिकाप्रसाद अधिकारी स्मृति ग्रन्थ, पृ. २२१, काठमाडौं, २०५२)।

यसैबीच अटल बिहारी वाजपेयीको चुनावको असमर्थनका लागि प्रत्यक्ष रूपमा यज्ञमणि अगाडि उभिए। ‘यज्ञमणि आचार्य दीक्षितले बलरामपुर स्टेटका हर्ताकर्ताका हैसियतले बलरामपुरबाट अटल बिहारी वाजपेयीले सन् १९५७ मा लोकसभाका लागि लड्नुभएको पहिलो निर्वाचनका क्रममा उहाँको समर्थनका लागि प्रत्यक्ष रूपमा खेल्नुभएको महत्वपूर्ण भूमिका तथा उत्तर प्रदेशका साथसाथै भारतको केन्द्रीय राजनीतिका महान् हस्ती महात्मा गान्धी र पण्डित जवाहरलाल नेहरु लगायत अन्य प्रभावशाली व्यक्तिका साथ स्थापना गर्नुभएको सम्पर्कले सहयोग पु¥याएको हुनुपर्छ। वाजपेयी ३३ वर्षको उमेरमा अल–इन्डिया भारतीय राष्ट्रिय जनसंघको तर्फबाट बलरामपुर निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेसका हैदर हुसैनलाई १० हजारभन्दा बढीको फरक मतबाट पराजित गर्नुभएको थियो। वाजपेयी पहिलोचोटि लोकसभाबाट निर्वाचित हुने क्रममा बलरामपुरसहित लखनऊ र मथुराबाट समेत एकैचोटि निर्वाचन लड्दा पछिल्लो दुवै क्षेत्रमा उहाँको जमानत जफत भएको थियो। यज्ञमणिजीले बताउनुभएअनुसार वाजपेयी बलरामपुर निर्वाचन क्षेत्रमा राजनीतिक भाषणबाट थकित भई रात्रिको खाना खाने क्रममा कसैले राजनीतिको प्रसंग निकालिहाल्यो भने भन्ने गर्नुहुन्थ्यो– यो समय भोजनको कुरा गरौँ, भोटको चिन्ता भोलि बिहानका लागि छाडौँ’ (अनुगीता, डा. जगदीश शर्मा, पृ. ४५–४६ उपोद्घात, बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान, कमइन्क एवम् भारतीय राजदूतावास, काठमाडौं, २०६६)।

दैनन्दिन गीतापाठ सुन्न औधि रुचाउने र राजनीतिमा आफ्ना परिवारका कुनै सदस्यलाई ल्याउन नचाहने यज्ञमणिकै कान्छा छोरा भूवनमणिलाई कंग्रेसका प्रभावशाली नेताद्वय जोगेन्दर सिंह र कमलापति त्रिपाठीले लोकसभाको टिकट दिँदा पनि उम्मेदवारी खारेज गराएका यज्ञमणिको दोस्रो हृदयघातबाट सन् १९७४ मा बलरामपुरमै निधन भयो। यज्ञमणिले सुरुदेखि नै चुनाव नलड्न सम्झाएका चन्द्रशमशेरकी छोरी बाबुमहारानी इन्दिरा गान्धीको आग्रहमा सन् १९७७ मा बलरामपुरबाट लोकसभा चुनाव लड्दा राष्ट्रिय जनसंघका नानाजी देशमुखसँग पराजित भइन् र राजनीतिबाटै सन्न्यास लिइन्, जब कि त्यसपछिको लगत्तैको चुनावमा अटल बिहारी वाजपेयीलाई कंग्रेसकी सुभद्रा जोशीले बलरामपुर निर्वाचन क्षेत्रमै परास्त गरिन्।

वास्तवमा ‘गौतम बुद्धको जन्म क्षेत्रलाई सुगौली सन्धिले भारतमा विलय गरे तापनि चन्द्रशमशेरमा त्यो सिद्धार्थ नगर क्षेत्रप्रति मोह थियो’ (देशभक्त महापुरुष, पृ. ५२)। प्रत्येक कालखण्डमा राजनीतिक थिति, भौगोलिक अवस्था र वैचारिक अवधारणाबीच घर्षण चलिरहने भएकैले जसरी जंगबहादुर राणाले सुगौली सन्धिले हत्याएको चार जिल्ला पश्चिम नेपालमा गाभे, त्यसैगरी ब्रिटिस–इन्डिया सरकार एवं भारतीय नेतागणलाई विश्वासमा लिएर सिद्धार्थ गौतमको जन्म क्षेत्रमध्येको केही भूभाग हाल उत्तर प्रदेशको जिल्ला सिद्धार्थ नगर क्षेत्रलाई समेत नेपालमा गाभ्ने चन्द्रशमशेरको भित्री आकांक्षा थियो, जसमा यज्ञमणिको कालान्तरसम्मको प्रयोग पनि असफल भयो। कूटनीतिमा एउटै मान्यताले निरन्तर कार्य गर्छ भन्ने विषय सधैँ बहसमा हुने भए पनि नेपालको जमिन अंग्रेजले फिर्ता गर्न मञ्जुर गरेको भारतीय विदेश मन्त्रालयको (अ)नाधिकारिक पत्र जनवरी, १९४७ मा मुम्बईमा पद्मशमशेरले पाउँदा पनि गोरखपुरमा अवस्थित ‘बंगाल उत्तर–दक्षिण रेलवे’ का करिब आठ हजार कर्मचारीद्वारा हुने विद्रोहका डरले तत्काल नामञ्जुर भएको तथ्य मदनमणि दीक्षित (जीवन दर्शन, पृ १७६–१८१) ले दर्शाएपछि थप सन्दर्भ उजागर गर्दा यज्ञमणिले पद्मशमशेरको उक्त कदमको विरोध जनाए पनि यज्ञमणिका प्रभु चन्द्रशमशेरका खातिर यज्ञमणि मोहनशमशेरका सामुन्ने समेत जीवनपर्यन्त किंकर्तव्यविमूढ हुन बाध्य भए। यज्ञमणिले नेपाल र भारतमा उत्कृष्ट राजनीतिज्ञ बन्ने मौका गुमाए पनि मुलुकको इज्जत जोगाउन धेरथोर प्रयास गरेकै हुन्। इमानदारी, बफादारी र कुनै स्वार्थ नराखी गरिएको कार्यमा यज्ञमणि सदैव अब्बल रहे।  

संसारको पात्र र परिवेश जुटाउने इतिहास साझा दस्तावेज भएकैले लेखकीय आधिकारिकताका लागि स्तम्भकारले वरिष्ठ इतिहासविद् ज्ञानमणि नेपाल, वरिष्ठ राजनीतिज्ञ पशुपतिशमशेर ज.ब. राणा र यज्ञमणिका माहिला नाति गोण्डा, उत्तर प्रदेश, भारतका वरिष्ठ अधिवक्ता उद्यमणि दीक्षितसँग सहकार्य जुरायो। इतिहास लेखन आफैँमा दुर्बोध्य कार्य भए पनि अलिखित व्यक्तित्वको सम्मान हुनु सत्य विचारलाई सही गर्ने सात्विक हस्ताक्षर हो। अनेकन् ज्ञात–अज्ञात पात्रहरूले नेपालभित्र वा बाहिर पु-याएको योगदानको संस्मरण हुनु जरुरी छ, जसले अन्ततः नेपाली इतिहासको अध्ययनमा थप ऊर्जा दिनेछ। सच्चा नेपाली सपुत संसारको जुनसुकै कुनामा किन नहुन् संसारबाट सम्मानित हुने क्रम रोकिएको छैन, रोकिने छैन।  
(अध्येता अधिकारी यज्ञमणिका पनाति हुन्)

प्रकाशित: ६ भाद्र २०७७ ०३:५७ शनिबार

अक्षर