कला

फलाहारी बाबाको ‘जल समाधि’

प्युठान तिरामका गुरु लोकनाथ अधिकारी फलाहारीले प्युठान र रोल्पाको सीमानामा पर्ने लुङ्ग्री र माडी नदीको संगम चतुर्भुजमा साउन २६ गते ‘जल समाधि’ लिएको खबर राष्ट्रिय चर्चामा रहेन। उहाँलाई नजिकबाट चिन्नेहरूले मात्रै एक आध्यात्मिक गुरुको अवसानको खबर थाहा पाए। उहाँ प्युठानको स्वर्गद्वारी आश्रमसँग पनि सम्बन्धित हुनुहुन्थ्यो।  

गुरुले स्वर्गाद्वारीबाट आफ्ना छोरालाई जलसमाधिमा बस्छु भनी पत्र लेखेको प्रमाणबाहेक केही छैन। प्रहरीले अचानक २६ गते उहाँको पार्थिव शरीर फेला पारे। उहाँको कतिबेला परमधाम भयो भन्ने पनि यकिन भएन। एकाएक उहाँको २९ गते दाहासंस्कार भएको खबरले समाज शोकाकुल हुन पुग्यो।  

पाँच वर्षअघि हाम्रो भेट गौरीघाटस्थित एउटा धाममा धार्मिक कार्यक्रममा भेट भएको थियो। उहाँले आफूलाई स्वर्गद्वारीबाट आएको भन्नेबित्तिकै महागुरु फाल्गुनन्दले त्यहाँ गौमातालाई नुन खुवाउन एक हजार पाँच सय रुपैयाँ पठाएको सम्झना आयो। कार्यक्रम सकिएपछि हामी एकदम नजिकियौँ।  

मैले उहाँको जीवनी लेखेर डेढ वर्षअघि रुसको उज्वेकिस्तानमा विमोचन गरायौँ। त्यहाँको एउटा आध्यात्मिक तथा ज्योतिष अन्तर्राष्ट्रिय सम्मेलनमा हामी दुवै भाग लिन गएका थियौँ। यात्राभरि हामी सँगै बस्यौँ, सँगै हिँड्यौँ। त्यसपछि हामी गलेश्वर बाबाको जन्मभूमि ताप्लेजुङको दोखु भन्ने गाउँमा पनि सँगै गयौँ।  

त्यसपछि हामी पाथीभरामा सँगै गयौँ। गत वर्ष हेलिकोप्टर दुर्घटनामा पर्नुअघि तत्कालीन पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीसँग हामी साह्रै नजिक भएर कुरा पनि ग¥यौँ। उहाँहरू दुवै कश्यपगोत्री भएका कारण पनि निकटता रहेछ। मन्त्री अधिकारीसँगको त्यही नै अन्तिम भेट हुन पुग्यो। त्यो भेटबारे मैले यही नागरिक पत्रिकामा लेखिसकेको छु।  

गुरु लोकनाथ जल मात्र पिएर त्यति लामो अनशनमा बसे पनि त्यो कुरा कतै लेखिएन, लेखाउनुपर्छ भन्नेमा म थिएँ। त्यसका लागि उहाँलाई विभिन्न देशको भ्रमण गराउने समेत इच्छा थियो। तर, उहाँले छोरालाई जलसमाधिमा बस्छु भन्ने पत्र लेखेर बिदा हुनुभयो। बिदा मात्र हुनु भएन, उहाँले समाधि लिएको कुरा धेरैले थाहै पाएनन्।

लोकनाथ गुरु साह्रै सत्यवादी र सत्यका लागि देह त्याग गर्न सक्ने व्यक्ति हो। सत्यभन्दा ठूलो धर्म संसारमा केही छैन। लेख्नु–पढ्नु सैद्धान्तिक कुरा जान्नु बेग्लै कुरा हो। सत्यवादी भएर बाँच्नु कठिन काम हो। उहाँजस्ता सत्यवादी ब्राह्मणबाट म अति प्रभावित भएको हुँ।  

गत पुस ३ गते मेरो ७०औँ जन्मोत्सवका लागि जन्मभूमि पाँचथरको ओलनेमा उहाँलाई विशिष्ट अतिथि बनाई अभिनन्दन गर्ने इच्छा राख्दा उहाँ आउनुभएको थियो। त्योभन्दा एक वर्षअगाडि पनि दमक घरमा आउनुभयो र मलाई आशीर्वाद दिनुभयो।  

गुरु लोकनाथको जन्म १९९९ वैशाख ५ गते प्युठान तिराम गाविस वडा २ को आनन्दटोलमा भएको हो, पिता ठाकुरप्रसाद उपाध्याय, माता सावित्रा देवकोटाको कान्छा छोराको रूपमा। शासन, प्रशासन, राजनीतिमा हिंसा हुनाले उहाँले अहिंसा र शान्तिको मार्गका लागि अध्यात्म अवलम्बन गर्नुभयो। भात, तिहुन, तरकारी, नुन, तेल परित्याग गरी २०५१ सालदेखि फलफूल र कन्दमूल मात्र भोजन सेवन गरी आउनुभएकाले उहाँ फलहारीबाबा नामले चर्चित हुनुभयो।

स्कुल अध्ययनभन्दा गुरुकुल शिक्षा लिनुभएका बाबा लोकनाथले बुवाको निधनपछि एकल आमाको पालनपोषणमा हुर्कन थालेको पाइन्छ। पिताको मृत्युपछि उहाँले सांसारिक मोहबाट विरक्तिएर विवाह गर्न रुचि देखाउनुभएको थिएन। तर, आमाले २०१६ सालमा वैवाहिक बन्धनमा बाँधिदिनुभयो, प्युठान खैरा निवासी गुरुप्रसाद पोखरेलकी सुपुत्री केशरादेवीसँग। एक छोरा, दुई छोरीको जन्म भएपछि २०२९ सालमा उहाँले श्रीमती गुमाउनुभयो। २०३० सालमा प्युठान पुण्यखोलाका यज्ञप्रसाद रिजालकी सुपुत्री पार्वतीदेवीसँग उहाँको दोस्रो विवाह भयो। पार्वतीदेवीबाट एक छोरा र एक छोरीको जन्म भयो।  

उहाँलाई मैले लारुम्बाको किराँतेश्वर धाममा पनि लगेर प्रवचन गराएँ र गुरु आत्मानन्द लिङदेनसँग भेट गराएँ। त्यो बेलाको भेटमा गुरुलाई पनि स्वर्गद्वारी सवारी गराउने भन्ने दोहोरो सल्लाह भएको थियो। त्यहाँ हेलिप्याड पनि बनिसकेको थियो। तर, गुरु लोकनाथले अनायसै देह त्याग गर्नुभएपछि त्यो सपना अधुरै रह्यो।  

फलाहारी बाबाले ‘जल समाधि’ लिएको जानकारी उहाँका छोरीज्वाइँबाट काठमाडौंमै थाहा भयो। त्यो सुनेर म छाँगाबाट खसेजस्तो भएँ। उहाँ धेरै चर्चा परिचर्चाबाट टाढा बसेर आध्यात्मिक साधन गर्दै हुनुहुन्थ्यो।  

उहाँले काठमाडौंमा २०५१ वैशाख १९ देखि असार १० सम्म र २०५५ जेठ ९ देखि २०५६ मंसिरसम्म पशुपतिमा अनशन गर्नुभएको थियो। पछि के भएर हो अनशन परित्याग गर्नुभयो र निरन्तर आफ्नै साधनामा लागिरहनुभयो।  

गुरु लोकनाथ जल मात्र पिएर त्यति लामो अनशनमा बसे पनि त्यो कुरा कतै लेखिएन, लेखाउनुपर्छ भन्नेमा म थिएँ। त्यसका लागि उहाँलाई विभिन्न देशको भ्रमण गराउने समेत इच्छा थियो। तर, उहाँले छोरालाई जलसमाधिमा बस्छु भन्ने पत्र लेखेर बिदा हुनुभयो। बिदा मात्र हुनु भएन, उहाँले समाधि लिएको कुरा धेरैले थाहै पाएनन्। 

प्रकाशित: ६ भाद्र २०७७ ०३:३३ शनिबार

फलाहारी बाबा जल समाधि अक्षर