कला

दीपशिखा

बालकथा

शेखरकुमार श्रेष्ठ  

“दाइ, हामीले धारामा यति धेरै पानी खोल्छौँ । यो पानी सधैँ खोलिरह्यो भने त समुद्र पनि भरिएर हाम्रो घरसम्म आउँछ होला हगि ?” धाराको पानीमा खेल्दै दीपशिखाले भनिन् ।

“आउँदैन बहिनी ।”, दाजुले भने ।  

“किन आउँदैन । अस्ति त्यो पोखरीबाट त पानी माथि आएको थियो ।”  

“समुद्रको पानी त्यसरी आउँदैन ।”  

“अनि कहाँ जान्छ त ?”    

“म तिमीलाई मोबाइलबाट देखाउँछु । ल हिँड जाऊँ हेर्न ।”

हातगोडा धोएर दाजुबहिनी कोठामा गए । उनीहरूले मोबाइल खोले । दाजुले गुगलमा बहिनीलाई देखाउँदै भने, “ल हेर । यो नख्खु खोला हो । चिन्यौ ?”

“अँ, देखेँ । अब हेर्दै जाऊ । यो पानी यहाँबाट बग्दै बागमतीमा पुग्छ । बागमतीमा अरू धेरै खोला मिसिन्छन् । अब यो नदी भारतमा पुग्यो । अब यो नदी झनै ठूलो भयो । अब यो कमला नदीको नामले बग्यो । यसमा कोसी नदी मिसियो । अलि पर पुगेपछि यसमा गंगा नदी पनि आएर मिसियो । यो नदी अझ अगाडि बढ्दा पदमा नदी बन्यो । अब यहाँनिर हेर । यहाँ अर्को नदी पनि आएर मिसिएको छ । अब यसको नाम मेघना नदी भयो । यही मेघना नदी हिन्द महासागरमा पुगेको छ । अब यहाँबाट अन्त पानी जाने ठाउँ छैन ।”  

“अनि यो भरिँदै माथिमाथि आउँदा हाम्रो घरसम्म पानी आउँदैन त ?”  

“महासागर पानीको भण्डार हो । यहाँको पानी भरिएर आउँदैन । जब घाम लाग्छ नि तब पृथ्वीको पानी बाफको रूप लिएर आकाशतिर जान्छ । आकाशमा उडेर गएको बाफ बादल बन्छ । अनि त्यही बादलबाट पानी पृथ्वीमा पर्छ ।”

“हो र ?”  

“हो नि । तिमीले लुगा धोएर सुकाउँदाको पानी पनि त बाफ बनेर उडेको देखेका छौ नि ?”  

“अँ, देखेकी छु । अनि दाइ ! हाम्रा बाबालाई पनि सबैले नदीमा लगेर छाडेपछि पानी सँगसँगै बगेर महासागरमा जानुभएको होला कि घामले तानी आकाशमा लग्यो होला ? अस्ति न आमाले भन्नुभएको । बाबा गंगामा केही समय बसेर आकाशमा जानुहुन्छ रे ।”  

“ल छाडिदेऊ बाबाको कुरा । पहिला राम्रोसँग पढ ।”, बुबाप्रति रहेको बहिनीको ध्यान मोड्दै दाजुले भने ।  

“साँच्चै दाइ, त्यसो भए हाम्रो धाराको पानी पनि खोलामा पुगी सागरमै पुग्छ होला नि ।”

“हो । पुग्छ ।”

“त्यसो भए हाम्रो धाराले बगाएको माटो, पात पनि त जान्छ होला नि ।”  

“पानी ठूलो भए जान्छ ।”  

“अनि कागज नि ?”

“त्यो पनि जान्छ । बाँकी कुरा पछि गर्छु । मेरो गृहकार्य गर्नु छ ।”

“हस दादा ।”  

दाजुले भनेको कुरा सुनेपछि दीपशिखालाई लाग्यो – त्यसो भए मैले लेखेको चिठी पानीमा राखिदिएँ भने त यो बग्दै जान्छ । यो बगेको चिठी एकदिन त बुबाले भेटिहाल्नुहुन्छ नि । त्यसैले उनले कागजमा लेखिन् “बाबा, घर आउनुस् ।”  

उनले त्यो कागज पानीमा बगाइन् । त्यो कागज केही तल गएर अड्कियो । त्यसपछि उनले दिनदिनै धेरै कागज बगाउन थालिन् । उनले स्कुल नै नगई बुबालाई हरेक दिन कागज पठाउन थालिन् । यसरी दिनदिनै कागज बगाउँदै गर्दा एकदिन निरुताले देखिन् । निरुता उनकी ठूलाबाबाकी छोरी हुन् ।

“होइन के गर्न लाग्यौ, दीपशिखा ? पढ्न गइनौ ? तिमी त कुलोको पानीमा एक्लै खेलिरहेकी छ्यौ त ?”, निरुता दिदीले सोधिन् ।  

“बाबालाई चिठी पठाउन लागेकी नि ।” दीपशिखाले भनिन् ।  

दीपशिखा भर्खर सात वर्षकी थिइन् । उनका बुबालाई क्यान्सर रोग लागेको थियो । रोगकै कारण उनका बुबा बित्नुभयो  । त्यसपछि दीपशशिखाकी आमा एक्लैले छोरा र छोरीलाई हुर्काउँदै गइन् । छोरा सात कक्षामा पढ्दै छन् । दीपशिखा भने दुई कक्षामा पढ्दै छिन् ।  

“तिम्रा बाबा कहाँ छन्, तिमीलाई थाहा छ ?” यति प्रश्न गर्दै तलतिर बगिरहेको पानीमा दीपशिखाले बगाएकी कागज निरुताले लिइन् ।  

“थाहा छ । आमाले भन्नुभएको बुबा तल नदीको घाटमा जानुभएको थियो रे । अनि त्यहाँबाट पानी सँगसँगै समुद्रमा जानुभयो रे । त्यसैले बाबालाई त्यहीँबाट फर्केर आउन पत्र लेखेकी ।”

“अनि अरू के भन्नुभयो ?”  

“बुबा, त्यहाँ पनि केही समय बसेर आकाशमा जानुहुन्छ रे । त्यसैले बुबालाई फर्केर आउनुहोस् भनी चिठी पठाएकी ।”

“अनि यहाँबाट बगाएको चिठी कसरी त्यहाँ पुग्छ त ?”, निरुताले प्रश्न गरिन् ।

“दाजुले भन्नुभएको हामीले हाम्रो घरबाट बगाएको पानी कुलेसो, कुलो, खोला, नदी हुँदै समुद्रमा जान्छ रे । त्यसैले पानीसँगै चिठी बगाउँदा यो पनि जान्छ नि त ।”

दीपशिखाको कुरा सुनी निरुता जिल्ल परिन् र भनिन्, “ल, तिमी पानीमा खेल्दै गर । भरे म तिम्रो घरमा आउँछु ।”  

दीपशिखाले टाउको हल्लाइन् । बेलुका निरुता दीपशिखाको घरमा गइन्, “काकी खाना पाक्यो ? अनि दीपशिखा पढ्न जान मानिनँ भनेर मलाई सुनाउँदै हुनुहुन्थ्यो । आज गइन त ?”

“गइन । आज पनि खेलेर बसिन् ।”  

“ए । उसो भए भोलिदेखि दीपशिखा पढ्न जान्छिन् ।”  

“जसरी भए पनि पठाउनुप¥यो नानी ।”  

“अनि काकी, काकाको श्राद्ध कहिले हो ? यही महिना होइन र ?”  

“हो, अब आउने चौध गते ।”

“अनि काका बित्नुभएको कति भयो रे ?”, निरुताले सोधिन् ।  

“दीपशिखा पेटमा छँदा बित्नुभएको । अहिले यो साँढे छ वर्ष भइन् । त्यही सात वर्षको श्राद्ध होला अब ।”  

“आमा, कसको श्राद्ध ? त्यसो भए अब खिर खान पाइने भयो ।”,  दीपशिखाले सोधिन् ।

“तिम्रा बाबाको श्राद्ध ।”, निरुताले भनिन् ।  

“निरुता नानी, मैले यसलाई थाहा दिएकै छैन । श्राद्ध त खोलामा गएर गराउने गरेकी छु । यसलाई नभन ।”, आमाले निरुतालाई भन्नुभयो ।

“श्राद्ध त मरेको मान्छेको गर्ने होइन र भन्या ?”, दीपशिखाले सोधिन् ।  

“हो, तिम्रा बाबा बितिसक्नुभएको छ । त्यसैले उहाँको श्राद्ध गर्ने ?”, निरुताले भनिन् ।

“आमा ! बुबा त नदीबाट पानी सँगसँगै बगेर जानुभएको भन्नुभएको होइन ?”, दीपशिखाले सोधिन् ।  

“होइन नानी । यो त तिमीलाई फकाउन भन्नुभएको । वास्तवमा तिमी नजन्मँदै तिम्रा बुबा बित्नुभएको थियो । त्यसैले तिमी स्कुल नगई बाबालाई जति चिठी पठाए पनि बाबुले पढ्नुहुन्न । अब भोलिदेखि बाबुलाई चिठी पठाउन घरमा नबस ल । बरु धेरै पढी तिम्रा बाबाको ज्यान लिने रोगको ओखती बनाऊ ।”, दीपशिखाले भनिन् ।

“हस दिजु । अब म बाबालाई चिठी लेख्दिनँ । म पढ्न जान्छु ।”, दीपशिखाले भनिन् ।

“ल काकी, भोलिदेखि नानी पढ्न जान्छे । अब खाना खानुस् । म घर गएँ है त ।”

निरुता घर गइन् । दीपशिखाको अनुहार मलिन भयो । उनका आँखाबाट आँसु झरे । आमाले दुई हात अगाडि बढाई दीपशिखालाई नजिक आउन सङ्केत गरिन् । दीपशिखा आमाको काखमा गएर बसिन् ।  

प्रकाशित: ५ भाद्र २०७७ ०९:३७ शुक्रबार

जुनकिरी