कला

‘सर्पको गाउँ’को कथा

बजारमा पुस्तक

श्यामकृष्ण खुलिमुली  

सर्प देखेर तपाई कतिको डराउनुहुन्छ ? हो पक्कै पनि धेरै डर लाग्छहोला । यही सर्प हाम्रो वरपर पनि रहेका छन् । अझ भन्ने हो भने त नेपालको तराईमा त कति धेरै सर्प आउँछन् । त्यसमाथि विषालु गोमन र करेत सर्पसंग त सधैं सतर्क हुनुपर्छ । नेपालमा सर्पको टोकाईबाट वर्षेनी धेरै मानिसहरूको ज्यान गरेको छ । यस्तै एउटा गोमन सर्पको कथा बोकेर यशु श्रेष्ठले ‘सर्पको गाउँ’शीर्षकको बालकथा पुस्तक बजारमा ल्याउनु भएको छ ।

नयाँ पुस्तामा बालसाहित्यको क्षेत्रमा नयाँनयाँ प्रयोग गर्न मन पराउनुहुने यशु श्रेष्ठको ‘सर्पको गाउँ’बालबालिकाका लागि एउटा नौलो कोसेली हो । तराईको एउटा गाउँमा बस्ने पुरन एकदिन बारीमा लौका टिप्न जाँदा दुईवटा गोमन सर्प देखेर घरतिर भाग्छ । अर्कोपल्ट विद्यालय जाँदा ढिलो हुन्छ । त्यसैले खेतको आलीआलीको छोटो बाटो जान्छ ।  तर बाटोमा एउटा गोमन सर्प देख्छ । त्यसले डस्नै लागेको बेला एउटा गरुडले टिपेर लान्छ ।  वनमा गएर दाउरा ल्याउने क्रममा उसले चराको गुँडमा बचेरा निकाल्न लागेका साथीहरूलाई पनि सर्पबाट बचाउँछ । अन्तमा त उसको घरभित्रको छानामा सर्प देखेपछि उसकी आमा पनि डराउनु हुन्छ । सबै गाउँले मिलेर सर्प खोज्न थाल्छन् । त्यसपछि के हुन्छ ? त्यो थाहा पाउन भने पुस्तक नै पढ्नुपर्छ ।  

यसरी  मान्छेभित्र डरको खेती गर्ने सर्पको कथा लेखेर यशु श्रेष्ठले सर्प गाउँमा एउटा परिवर्तन गर्ने काम गर्नुभएको छ । अध्याय पुस्तकको रुपमा रहेको कथाको भाषा सरल र रोचक छ । अब के हुन्छ भन्ने कौतुहलता जगाउँछ । गाता र भित्री पृष्ठमा समेत रङ्गीनचित्रले सजिएको छ । उक्त कथा पुस्तक पक्कै पनि बालबालिकाको लागि पढूँ पढूँलाग्ने खालको छ ।

पुस्तकः  सर्पको गाउँ

विधाः  कथा

लेखकः  यशु श्रेष्ठ

चित्रः  सुनिल थापा

प्रकाशकः परिचय पब्लिकेसन

पृष्ठः  ३८+२

मुल्यः  रु.१६०

प्रकाशित: ४ भाद्र २०७७ ११:१६ बिहीबार

जुनकिरी