बालबालिकाका लागि मनोरञ्जन र उनीहरूमा पठनसंस्कृति बढाउने उद्देश्यसहित् परिचय पब्लिकेसनले बालसाहित्यका विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आएको छ । यसै क्रममा पछिल्लो पटक कथाकार रत्न प्रजापतिले लेख्नुभएको ‘कमिलाको क्याराभान’ नामको रङ्गीन चित्रकथा प्रकाशनमा ल्याएको छ । यस किताबमा उज्ज्वल तामाङले कथा सुहाउँदा चित्रहरू कोर्नुभएको छ ।
यो चित्रकथाको मुख्य पात्र हो सन्देश। ऊ आँगनमा खेल्दै गरेको हुन्छ । उसले आँगनमा कमिलाको ताँती देख्छ । कमिला लाइनमा हिँडिरहेका हुन्छन् । लाइनमा हिँडिरहेको कमिलाको ताँती देखेर उसको मनमा निकै उत्सुकता बढ्छ । ‘यति धेरै कमिला किन लाइनमा बसेका होलान् ?’ उसको मनमा अनेक प्रश्न उठ्छन् । ऊ आफैं आफ्नो प्रश्नको उत्तर खोज्ने प्रयास गर्छ । राष्ट्रिय गान गाउन हो कि ? भोट हाल्न हो कि ? पेट्रोल भर्न हो कि ? बत्तीको पैसा तिर्न हो कि ? टेलिफोनको पैसा तिर्न हो कि ? लाइसेन्स लिन हो कि ? पासपोर्ट बनाउन हो कि ?
साँच्चै कमिलाहरू किन लाइनमा हिँडेका होलान् त ? यो कुरा थाहा पाउन एकपटक यो किताब पढ्नैपर्छ । कथा निकै रमाइलो छ । कथाले राम्रो सन्देश पनि दिन्छ । कथाको पात्र सन्देशले कमिलाको ताँती देखेर एउटा राम्रो सन्देश पनि प्राप्त गर्छ । त्यो सन्देश के होला ? यसका लागि पनि एकपटक यो किताब पढ्नैपर्छ । यो किताब पढ्ने सबैले त्यो राम्रो सन्देश प्राप्त गर्नेछन् ।
प्रकाशित: ४ भाद्र २०७७ ०५:४५ बिहीबार