कला

फूलको थुंगा बहेर गयो गंगाको पानीमा....!

कहिले भेट होला है राजै यो जिन्दगानीमा.... !!!

अन्जना पौडेल अनुश्रुति

 

अघिल्लो दिन फोन गरें, भाउजूले फोन उठाउनुभयो । उहाँले बुबासंग सोधेर मलाई भन्नु भो, ‘बुबासंग भेट्न बिहान एघार बजेतिर आउनुस् न । म प्रायः कलेजमा क्लास सकिएपछि बुबाको घरमा जाने गर्दथें ।

रगतको नाता सम्बन्ध आफ्नो ठाउँमा छ नैं । तर, भावनाको नाता यति प्रगाढ भयो कि बुबा म जानेबित्तिकै हौसिदै खुसी भएर कवितामै बात मार्नुहुन्थ्यो ।

आई कहिल्यै पनि नसकिने चैतवैशाख मेरा

लाई कहिल्यै पनि नसकिने प्रित नौलाख मेरा

क्यै काम नौलो नगरी नजाउँ

अकालमा हे ममरी नजाउँ ।

अहिले कोरोना महामारीको अनुभव, मृत्युबारे चिन्तन कस्तो छ होला बुबाको सोध्न जाने सुरमा थिएँ । हजुरसंगै गएँ , सपना र योजना–रातभरि निद लागेन, सत्य नहोस् भनेर कामना गरें, तर जति रोएँ पनि बिउँताउन सकिएन बालाई ।

श्रीमानले भन्नुभो –माधव बुबा त जानुभएछ नि सानु । साँझ पाँच पचपन्न बजे यो संसार छोडेर जानुभएछ ।

समाचारमा आइसकेको रहेछ, बिमारी भएर कोठा र ओछ्यान नैं साथी भैरहेको बेलामा कुनै समाचार र सामाजिक संजालमा आँखा गएन । लमजुङका गहना, यो देशका सान, मान अनि गौरव यसरी सुटुक्कै हामीलाई छोडेर जानुभएको खबर त सुरुमा मिथ्याजस्तै लाग्यो ।

यो खबर सुनेर नौनाडी गलेर आए, भावविह्वल भएँ, स्तव्ध भएँ, मर्माहत भएँ । आँखा चिम्म गरें, संसारै अँध्यारो,  शून्य , महाशून्य लाग्यो ।

अनि मोवाइल हेरें, संजालभरि फैलिएको रहेछ समाचार ।  

हरे  ऋतम्भरा महाकाव्यको अन्तिम सर्ग पनि पूरा गर्न दिएन ईश्वरले । उफ् हे ईश्वर तेरो लीला अपरम्पार छ ।

आज र राति के देखें सपना मै मरिगएको 

कहाँ हो कहाँ बादलबीच मै रोइरहेको 

कस्तो अकस्मातको निधन, कस्तो बेखबरको निधन । न कुनै विमारी न कुनैं अस्पताल । उहाँले आफ्नो निधनबारे पनि पूर्व जानकारी पाउनुभएको जस्तो । उहाँको गीतका प्रत्येक शब्दहरूमा सुने, देखें, जुन गीत निधनपछि मात्र बजाउने उहाँको इच्छा रहेछ र मृत्युअघि नसुन्ने बाचा गर्नुभएको रहेछ –

सुन्दर सृष्टि निहारी सुखैले चिम्लुँ नयन

बिहानीपख रातको

कुसुम पारिजातको 

जसरी जान्छ झरेर

भुईंमा बिनापवन

त्यसरी होओस् मरण

 ।

लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएर हाल काठमाडौको लैनचौरमा बस्दै आउनुभएका माधव घिमिरे बुबाले सदा मलाई छोरीको व्यवहार गर्नुभयो ।

लमजुङकी चेली भएकाले पनि बढी सामीम्य रह्यो बुबासंग मेरो । विभिन्न साहित्यिक कार्यको सिलसिलामा जबजब उहाँलाई भेट्न पुग्थें । उहाँ खुसी हुँदै मलाई स्नेहले अंगाल्दै मेरी चेली आइन् भनेर दंग पर्नुहुन्थ्यो –

कति कामले आयौ चेली मेरो घरमा

केके लेखिल्यायौ भन तिमीले रहरमा

कहिलेकाहीँ कवि हिरा परियार र मसंगै जान्थ्यौं उहाँलाई भेट्न ।  तर, उहाँमा कहिल्यै उचनीच, छुतअछूत र भेदभावको तिलसम्म भेटिएन । समान व्यवहार थियो बुबाको हामी दुवैप्रति ।

‘लाएर माया मुटु रित्तिदैन’ भनेर हामी दुवैलाई आशीर्वाद दिदैं कविता सुनाउनुहुन्थ्यो । 

आँगनीछेउ गाइने गाउँछ दिलको सवाई

अछूत भाइ हृदय छुन्छ सारंगी बजाई

सबैको एकै हाड र मासु रंग र रोगन

देहमा दिल दिलमा ईश्वर अछूत नभन

बालकैदेखि मेरी आमाको मुखबाट ‘गौरी’ सुन्दै हुर्किएकी म शान्ति र कान्ती दिदीहरूलाई भेट्दा पनि भावुक हुन्छु ।

यी रोए पनि दुख लाग्छ यिनले संझे कि आमा भनी

यी हाँसे पनि दुख लाग्छ यिनले बिर्से कि आमा भनी

गौरी, मालतीमंगले, आफ्नै बाँसुरी आफ्नै गीत, राजेश्वरी, राष्ट्रमाता, अश्वथामाजस्ता लोकप्रिय र कालजयी कृतिका सर्जक राष्ट्रकवि माधव घिमिरे बुबाले मलाई सधैं हौस्याउनुहुन्थ्यो – लमजुङको हावापानीमा जन्मे, हुर्केकी छोरी हौ तिमी, हिम्मतीली भएर अघि बढ, अवश्य सफलताले तिम्रो शिरमा अवश्य चुम्नेछ । यो प्रेम, यो स्नेहले म पुलकित हुन्थें ।

‘साँच्चैं प्रेम कसैको कमजोरी कमजोरी हुनु हुँदैन, हिम्मत हुनुपर्छ । कमजोरीले मानिसलाई सिध्याउँछ, हिम्मतले सदा मानिसलाई प्रगतिमार्गमा लम्कन सघाउँछ ।’

राष्ट्रप्रेमी राष्ट्रकविले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्दै सदा गुनगुनाउनुहुन्थ्यो ।

‘कहिल्यै पीरमा नबस्नु है, पीर परयो भने झ्यालबाहिर नजर लगाउनु। हिमाल, पहाड, बादल र रुखविरुवा, पात हेर्नु  अनि खुसी हुनु । मलाई हौस्याउनुहुन्थ्यो– छोरी खूब पढ्नु , प्रगति गर्नु, कविता लेख्नु, यो स्वर्गजस्तो देश नेपाल हेरेर’–

गाउँछ गीत नेपाली

ज्योतिको पंख उचाली

जयजय हे नेपाल

सुन्दर शान्त विशाल

संधै तौरताजा रहने र हंसीमजाक गर्ने बुबाको अनुहार झलझली संझिइरहें । रातभरि निद्रा लागेन । आज कुशेऔंशी, बुबाको मुख हेर्ने दिन, कस्तो विडम्बना आजै अन्त्येष्टि उहाँको ।

हजुर यस धर्तीमा नरहे पनि हजुरले पुस्तौपुस्तालाई आफ्ना अजर अमर कृतिहरू उपहारस्वरूप छोड्नुभएको छ । हजुर सदा अमर रहनुहुनेछ बुबा, हर नेपालीको मनमनमा ।

भावविह्वल भएकी छु, स्तव्ध छु, मर्माहत भएकी छु । आफैं विमारी भएर घरमा थन्किइरहेकी छु । आखिरीमा आज अन्तिम श्रद्धाञ्जली दिन पनि जान सकिनँ । साह्रै स्तव्ध र मर्माहत छु । पीडाबोध रनथनिएकी छु ।

आँखाभरिको आँसु  र मुटुभरिको वेदना खोई कसलाई सुनाऊँ र । जुन घाउले दिएको पीडा देखाउन मिल्दैन, बस् मुटुभित्रै महसुस गर्न सकिन्छ । न त रोएर नैं सकिन्छ  न त धोएर नैं पखालिन्छ ।

१०२ वर्ष, अझ भनौं एउटा युग अस्ताएको छ या यो आकाशबाट, यो धर्तीबाट ।

अन्तिम सम्बोधनसहित राष्ट्रकवि माधवप्रसाद घिमिरे बुबाप्रति अश्रुपुरित श्रद्धाञ्जली अर्पण गर्दछु ।

फूलको थुंगा बहेर गयो गंगाको पानीमा,

कहिले भेट होला है राजै यो जिन्दगानीमा ।

प्रकाशित: ३ भाद्र २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App