कला

रविना नरालका तीन कविता

बाबामा समर्पित

रविना नराल

बाबा तिम्रो तस्वीर खोजिरहेँ

समयले मलाई पर्खेन बाबा म ढिलो भएँ

तीन दशकसम्म पनि तिम्रो तस्वीर खोजिरहेँ

विडम्बना तस्वीर देख्ने मेरो सपना यो जुनीमा  

सपना नै  रहिरह्यो विपना बनेन  

घडीको सुई कुदिरह्यो तर मेरा पाइला सुस्त रहे।  

 

अँध्यारो आकाशलाई उज्यालो दिने चन्द्रमा थियो

मेरो परिवारलाई सुख दिई, गाँस, बाँस, कपासको  

जिम्वेवारी लिनुपर्ने बाबा तिमीले सहाराविहीन  

टुहुरा बनाई मेरी आमालाई बडेमानको उठाउनै नसक्ने

बोझ बोकाएर तिमी चिर निन्द्रामा हरायौं ।

 

अप्ठयारोमा आत्मबल थपिदिनुपर्ने,

निराशलाई साहस थपिदिनुपर्ने

विपत्तिमा काँध भरोसा थपिदिनुपर्ने  

बाबा तिमीले त मेरी आमालाई  

दोबाटामा सहाराविहीन बनाई  

बालबच्चाको समेत  

लालनपालन सुम्पेर सजिलै निदायौं ।

म भर्खरै जन्मेको बालसुलभपन पनि पूरा नहँुदै

सपनाको शहरमा मस्तसँग निदाइरहेका बेला  

तिमीले काँडाहरूलाई कुल्चेर फूलमा मलाई

हिँडाउने त्यो तिम्रो हातमा मेरा औलाहरूलाई  

च्यापेर आँगनीमा डुलाउनुपर्ने बेलामा  

मेरी आमालाई विधुवाको उपनाम दिएर

चिर निन्द्रामा मस्त निदाइरह्यो ।

 

तिमीविना छरछिमेकको हेपाहा,  

आफन्तको तिरस्कार,नाबालकहरूको पेट  

भर्नका लागि मेरी भर्खरै दुई वीस कटेकी आमाले  

गरेको संर्घष बाबा तिमीलाई के थाहा

ती मेरी देवी माताले कहिल्यै तिम्रो गुनासो गरिनन्  

त्यसैले त तिमी हाम्रो सपनामा कहिल्यै आएनौ ।

 

घरको धुरी, मुली गुमायौं नर्फकने गरी  

बाबा भन्ने ज्ञान समेत नभएका हामी टुहुराले  

जताततै तिमीलाई आउने आशामा खोजिरह्यौ

तर पनि तिम्रो तस्वीर मेरोसामु कहिल्यै आएन  

एउटा फोटो पनि नपाउँदा एउटा छोरीको

मन कति रुन्छ होला तिमी निदाएकालाई के थाहा

सबै जना हाँसीखुशी बाबाको मुख हेर्नै दिन  

मनाइरहँदा म भने नजरलाई साउने भेलबाट बग्न  

रोक्दै मेरी उही देवी आमालाई तिम्रो रुपमा  

सम्मान गरी हाँस्न कोसिस गर्छु  

अनि मनमनै भन्छु मेरी आमा कति महान् छिन्

बाबाको मायाको अभाव कहिल्यै हुन दिइनन ।

 

समयले मलाई पर्खेन बाबा म ढिलो भएँ

तिन दशकसम्म पनि तिम्रो तस्वीर खोजिरहेँ

विडम्बना तस्वीर देख्ने मेरो सपना  

यो जुनीमा सपनै रहिरह्यो विपना बनेन  

घडीको सुई कुदिरह्यो तर मेरो पाइला सुस्त रहेँ ।।

 

कल्पनामा बाबा

जन्म दिने ममतामयी आमालाई बारम्बार सोध्न मन लाग्छ

कर्म दिने पिताले किन छाडिगए टुहुरो तुल्याई

यस कहालीलाग्दो निस्सासिदो संसारभित्र

ती मेरी आमा जवाफको भोको बनेर लाल प्यारले

मलाई कपालमा हात राखी सुमसुम्याएर सधैं  

भन्ने गर्छिन छोरी यसको जवाफ छैन मसित।  

 

आज पनि उस्तै गरी कुशे औसी घुम्दै आयो आँगनीमा  

विहानीको किरणसँगै नुहाइरहँदा आँसुको थोपा रोक्न  

नसकेर ढोका थुनी स्तव्ध बनी मुटु दुखाएर रोएँ आज  

बाटो जताततै भीडभाड मानिसहरूको खुशीयाली किनमेल

टाढैबाट नियालेर चुपचाप बसिरहँदा मनमनै भने जस्तै परे पनि  

हे बाबा तिमी एकपटक मात्र एकपटक दर्शन दिनलाई आउ है साँझ।  

 

जिन्दगीमा तिम्रो प्यारो काख न्यानो माया जस्तै पीडा परे पनि  

सिरानी बनाई रुँदै हास्दै आफ्नो मनको व्यथा सुनाउन मन छ

यादले सताउँदा हृदय छियाछिया पारी कल्पनाको मुहार तिम्रो हेरी

तिम्रै संन्तति तिम्रै अभावमा रोहिरहेछु केवल एउटा सपनालाई  

विपनामा देख्ने अभिलाषा सपनैमा भए पनि मलाई देखाई जाऊ

म ढुक्क हुन्छु मेरो कल्पनाको आकृति सम्झेर जुनीभरि।  

 

तिमी सपनीमा आयो भने म कहिले सोध्ने छैन मेरी आमालाई  

बुवा कस्तो हुनुहुन्थ्यो ? त्यही छायालाई सम्झी आफ्ना हरेक सुख  

दुःख तिम्रो अभाव तिम्रो चरणको स्पर्स गरी आँसुले पाउ धुन्छु

आफूलाई भाग्यमानी सम्झि आनन्दको सास लिन्छु आजसम्म नभेटिएको  

तिम्रो एउटा तस्वीर पनि मनमा आफ्नै गाढा तस्वीर बनाउँछु त्यो कहिले

नमेटिने गरी सदासदा त्यसलाई म बाचुञ्जेलसम्मलाई बास दिन्छु।  

 

मनमा सन्ताप अनी पीरव्यथालाई तिम्रो पवित्र दर्शनले धुन्छु  

हो बाबा तिम्रो सम्झनामा म हरेक वर्ष यसरी नै रुन्छु ।  

 

फर्केर आउने लाग्दै छ अझै आस

सन्ततिको मायाममता शून्य थियो किन बस्न सकेनौ दुई दिनमा ।

तपाईको मृत्यु व्यथावियोगमा कति कष्ट ग¥र्यौ होला जीवनमा ।।

पितृस्नेहको अनुभव नै गर्न नदिएर किन जानु भयो दूर ।

दुई दिनको नाता मात्र किन लाग्यो हामी उपर ।।

बसेर सन्तानमा मायामोह अनी गरेको भए सार ।

केवल देख्न त सक्ने थिए म पापीनी नयनले एकबार ।।

परिवारको माझमा मान्यजन बनाइ रहर थियो सधैं पुज्नलाई ।

हामी खुशीले बाँचिन्थ्यो होला बाबा हजुरलाई बोझ नलाई ।।

खुशी आउने दिनमा तपाईंको आसामा फूल बिछयाइराख्यौ ।

अरू सरह बाँच्न सधैं कठिन गरी नयन भिझाइराख्यौ ।।

जानु त एकदिन सबैले छ अदृष्य मायाले सताउछ सधैं मलाई ।

मुटुमा वियोगको पीडा रहन्छ घर शून्य जहाँ गराइ ।।

आँखामा आसुँ बग्छ छाती चिरिन्छ बियोगको तपाइको क्षण ।

आसाको खम्बा बिनाको जिबन सम्झेर भक्कानु पर्छ झन ।।

काखमा चुम्ने सपना बोकी अदृष्य भई लोप हुनु भयो आँगनमा ।

कती पापी छ ईश्वर पनि हाँस्नै नदीई रुवायो जीवनमा ।।

तपाईं विनाको जीवन अँध्यारो भई लाग्दैन भोक र प्यास ।

कती छिट्टै नियती आई कङगाल भई बनायो तपाइको लास ।।

फर्केर तपाईं फेरी माया दिने लाग्दैछ अझै आश ।।

प्रकाशित: ३ भाद्र २०७७ ०६:०६ बुधबार

अक्षर कविता बाबा