कला

अन्तिम प्रेमपत्र

हास्यव्यंग्य निबन्ध

नन्दलाल आचार्य

मेरी दिलकी साम्राज्ञी लक्ष्मी,

अन्तिम पटक सप्रेम सम्झना !

 

म छु यहाँ; तिमी छ्यौ त्यहाँ । सरकार छ उहाँ; भोकमरी छ जहाँतहाँ । खबर छ मकहाँ; महङ्गी छैन र कहाँकहाँ ? तिमी कहाँ पनि त्यही होला; म कहाँ पनि यही छ ।

महँगीले शिखर चुमेपछि, हाम्रो प्रेमले पनि शिखर नचुम्ने कुरै आएन । शिखर छुनुको अर्थ अब अर्को ठाउँ छैन । अब जाने र पुग्ने अर्को गाउँ छैन । अब प्रेमस्रेम प्रकट गर्नु छैन । अरूअरू पत्र लेख्नुको कुनै सार्थकता नै छैन ।

सदाझैँ यस सरकारले पनि मूल्य बढोत्तरी गर्ने गौरवमय परम्परालाई अक्षुण्ण राख्यो । घढोत्तरी हुन तीन महिना पर्खनुपर्छ । बढोत्तरी गर्न भने तीन घण्टा नै काफी हुन्छ ।

अन्तर्राष्ट्रिय जगत्मा पेट्रोलियम पदार्थको भाउ थपघट हुँदा हामीकहाँ पनि मूल्य समायोजन गर्ने नीति छ । निजी क्षेत्र सरकारलाई झुकाउन सदा सफल छ । उपभोक्ता समूह सबैभन्दा निरीह छ । त्यसैले त सरकारले हामीलाई चाहिँदानचाहिँदा सबै वस्तुहरूको भाउ एक्कासी बढाएको छ ।

सरकारसँग पौँठेजोरी खेल्दै निजी संस्थाले पनि मिलेर अखबारहरूको मूल्य शतप्रतिशत बढाए । बढाबढ गर्दागर्दै अब बढाउने ठाउँ नै रहेन । तिमी पनि बढ्यौ; म पनि बढेँ । बढ्दाबढ्दै हामी शिखरमै पुग्यौ । र, पो आज अन्तिम प्रेमपत्र लेखिरहेछु । अन्तिम पटक प्रेम प्रकट गरिरहेछु ।

प्यारी लक्ष्मी ! धन्दा नमान । पछि पनि म पत्र भने लेख्ने छु तर पे्रमपत्र लेख्ने छैन । प्रेम प्रकट गरेर शिखरभन्दा उँभो लाग्नु छैन । अबका पत्र व्यापारिक प्रयोजनका हुने छन् । खास कामका हुने छन् । अबका विचार परिवर्तनको दिशा उन्मुख हुने छन् । फजुल खर्च गरेर प्रेमस्रेम प्रकट गर्ने युग विदा भइसक्यो ।

प्रेम प्रकटको जमाना रहेन । जे चाहना थियो, त्यसलाई पनि विदावारी नगरी भएन । मेरा यसखाले बाध्यताहरूलाई समझदार बनेर सम्झने छ्यौ भन्ने आशा र भरोसामा छु । साथै अलिखित रूपमै प्रेम प्रकट भएको महसुस गर्ने छ्यौ । लेखेरभन्दा नलेखेरै, गरेरभन्दा नगरेरै अनि भनेरभन्दा नभनेरै प्रेम प्रकट गर्ने चलनको विकास गर्ने÷गराउने छ्यौ ।

यस्तैयस्तै मनोद्गार व्यक्त गर्दै तिमीलाई पठाउने अन्तिम प्रेमपत्र तयारमा कागज रङ्ग्याउन र मसी खर्च गर्न खोज्दै छु । अझ यसलाई अन्तिम सुझाव पत्रको रूपमा लिँदा पनि हुन्छ । तिमीले यसप्रकारका कुनै शब्द नजोड्दा हुन्छ । यहाँ मनको अटेसमटेस ह्वालह्वाली छाद्ने काम गर्दै छु । हो, आज अन्तिम प्रेमपत्र कोर्दै छु ।

पहिलेको युग सरल थियो । आम्दानीसँग महँगी समायोजन हुन्थ्यो । त्यसैले प्रेम प्रकट गर्न सरल थियो । खर्चले धान्ने खालको थियो । अब आम्दानीचाहिँ जहीँको त्यहीँ छ; खर्च भने कहाँ छ, कहाँ ! आम्दानी फेदमा छ; वस्तुको मूल्य भने टुप्पामा छ ।

आम्दानी टुप्पामा नपुगी खर्चको समायोजन गर्ने एउटै बाटो छ । त्यो हो– चुपचाप सहिरहनु । चुपचाप हेरिरहनु । चुपचाप भोगिरहनु । यही अचूक अस्त्र अपनाउने निर्णय लिँदा तिमीलाई प्रेमपत्र लेख्न बन्द गर्ने अठोट जन्मेको हो । तिमीलाई पठाउने पत्रका लागि कागजको मूल्य बढ्यो; मसीको मूल्य बढ्यो । हुलाक खर्च आकासियो ।

अझ मोवाइल, इन्टरनेटको जमानामा पनि हुलाकको भरपर्ने भनौली । नेट चल्ने मोवाइल किन्न गाह्रो छ । किनिहाले नेट चलाउन साह्रो छ । गाह्रो र साह्रो काममा हात हालेर जीवन धरापमा पार्नु छैन । धरापमै पारेर पनि पाइने केही होइन ।

मैले पनि आफ्नो समयको मूल्य बढाएँ । मैले पनि आफ्नो प्रेम प्रकटको आकार घटाएँ । सबै कुरामा बढाएर कहाँ समायोजन गर्न सकिन्छ र ! मिलनबिन्दु भेट्न माग र पूर्तिका बीच अन्तरक्रिया हुनैपर्छ । त्यसबाट नै बाँच्न सकिन्छ; त्यसबाट नै टिक्न सकिन्छ । मैले टिक्नुछ । अतः मैले युगबाट मनग्यै कुरा सिक्नुछ । तिमीले पनि अनेकन कुरा बुझ्नु छ अनि कार्यमा ढाल्नुछ । तसर्थ भो, म अर्को प्रेमपत्र लेख्न चाहन्नँँ ।

हेर लक्ष्मी ! जमाना बदलियो तर चाहना बदलिएको छैन । जमानाअनुसार चल्न नसक्ने मान्छे काम नलाग्ने भएको छ । म पनि त्यसकै अनुयायी भएको छु । अब म चिठीको साटो पोस्टकार्डमा लेख्ने भएको छु । फेरि तिमी नै भन त ! प्रेम, प्यार, सम्झना, चुम्बन ! यी अनावश्यक शब्द चिठीमा उल्लेख गर्नुको अर्थ ठाउँ ओगट्नु मात्रै हो । मसँग धेरै ठाउँ हुन्न; धेरै मसी हुन्न र धेरै समय पनि रहन्न ।

मनभरि असन्तोषी धमिरे पहाड बोकेर शब्दलाई दुःख दिनु उचित पनि होइन । ट्वीटर, फेसबुक र इमेलमार्फत खबर आदानप्रदानमा दिलचस्पी राखेर समय खेर फाल्नु मात्र होइन, आयु घटाउनु पनि हो । दस जनाका दसतिरका तनावलाई पढ्दापढ्दै सन्तुलित मन पनि असन्तुलित हुन्छ । धेरै बेर स्क्रीनमा ध्यानले हेर्दा सोझै आँखामा अनाश्यक दबाब पर्न जान्छ । कुसमयमै अन्धो हुने सम्भावना बढ्छ ।

सारसौंदो छँदा त तिम्रासामु खडा भएर स्पष्टीकरण महायज्ञमा उत्तीर्ण हुन मुटु दह्रो पार्नुपर्छ । अपाङ्ग भइयो भने त इसाराको कठपुतली हुनुको विकल्प रहन्न । अतः बेतुके शब्दलाई आवश्यक बनाएर र परिस्थितिलाई नाजुक तुल्याएर म तिम्रो अन्तःस्करणमा धक्का पु¥याउन चाहन्नँ । हो, म अर्को प्रेमपत्र लेख्न चाहन्नँँ ।

‘म कुशल छु र तिमी पनि कुशलै छ्यौ भन्ने आसमा छु ’ भनेर लेख्दा धेरै थोक बित्छ; त्यो तिमीलाई पनि थाहा छ । हेर, लक्ष्मी ! म र तिमीमा धेरै अन्तर छ । निक्कै मात्रामा भौगोलिक दूरी छ । हरेकका आ–ाफ्ना शारीरिक व्यथाहरू छन् । कुनै भित्र दबिरहेका छन् । कुनै बाहिर प्रकट अवस्थामा छन् । फेरि, महँगीको महासागरमा पौडिरहनु पर्दा को पो कुशल रहन सक्ला र !

यता फर्कंदा पनि पोल्छ; उता ढल्कँदा पनि पोल्छ । यस्तो पीडादायी क्षणमा कुशल रहेको ढोंग रच्ने मन छैन । र, व्यक्त गरेर सबैका सामु बुझक्कड हुने मन पनि छैन । भो, लक्ष्मी ! म फेरि प्रेमपत्र लेख्न चाहन्नँँ ।

लक्ष्मी, ‘तिम्रो पत्र पाएँ, अघोरै खुशी भएँ ।’ यस्ता आकासकुसुम कुरा लेखेर म सत्यको खिल्ली उडाउन चाहन्नँ । सत्यको रङ बेग्लै हुन्छ; उज्यालो हुन्छ । असत्यको रङ कालो हुन्छ; अँध्यारो हुन्छ ।

म सूर्यलाई बादलले छोपोस् भन्ने चाहन्नँ । बादललाई सूर्यले छिन्नभिन्न पारोस् भन्ठान्छु । म मनको बेखुशीलाई उदाङ्गो पारेर संसार हँसाउन चाहन्नँ । असत्यको सिँढी चढेर भूलको महाजालमा फँसाउन पनि रुचाउँदिनँ ।

अब त तिम्रो नामले पनि तर्सन थालेको छु । तिम्रो पाइलो प¥यो कि खर्चले मुख बाउने निश्चित देखेको छु । तिम्रो प्रत्यक्ष दर्शनभन्दा सम्झना नै प्यारो लाग्छ । तिम्रो भयङ्कर रूपको साक्षात् दर्शनको कल्पनामा तर्सन्छु तर तस्वीरको कोमल स्वरूपमा भने मोहित हुन्छु ।

अतः माया भए पनि मनमा नै साँचेर राख्छु । कायाको अभिलाषा परित्याग गर्छु । तिम्रो दर्शन बन्दै चाहन्नँ । तिम्रो पत्र पाएँ पनि पाएँ भन्दिनँ । नपाए पनि गुनासो पोख्दिनँ । म अरू बर्बादीमा फस्न चाहन्नँँ । किनभने महँगीको युगबाट अछुतो रहन सक्दै सक्दिनँ । भो, म अर्को प्रेम पत्र लेख्न चाहन्नँँ ।

अर्को कुरा ‘तिम्रो यादमा बाँचिरहेको छु’ भन्ने जस्ता कपोकल्पित कुरा लेख्ने भूल मबाट कदापि हुने छैन । फेरि, पतिदेव त मेरो धेरै याद गर्दो रहेछ, भेट गर्न जानुप¥यो भनी यहाँ आइपुग्यौ भने म अर्को आपतमा पर्छु । मैले आफूलाई बाँच्ने जुन व्यवस्था गरेको छु, त्यसमा दखल पर्न नजाओस् ।

एक जनाको व्यवस्थापनमा अरू थपिँदा कस्तो आपत पर्छ; त्यो त मलाई मात्र थाहा छ । मबाहेक अरूलाई थाहा हुन ती मझैँ किचिएका, थिचिएका र पिल्सिएका हुनुपर्छ । संसारको रीत तिम्रो मगजमा बसेको छैन । बस्न खोज्यो भने पनि तिमी बस्न दिने पक्षमा कहिल्यै हुन्नौ । भो बा भो, म अर्को प्रेमपत्र लेख्न चाहन्नँँ ।

लक्ष्मी ! अर्को कुरा समेत नभनीकन भएन । ‘आफ्नो स्वास्थ्यको ख्याल गर’ भन्ने जोखिम उठाउन समेत म चाहन्नँँ । त्यसले एक किसिमको उल्झन ल्याउँछ । म आफ्नो पत्रलाई स्वास्थ्य शिक्षाको ग्रन्थ बनाउन चाहन्नँँ । सधैँ सञ्चो भए साराका सारा स्वास्थ्यकर्मीहरू र औषधि पसलेहरूको मन खल्लो हुन्छ । डाक्टरले बिरामी जाँचेको नाममा, प्रयोगशालावालाले टेस्ट गरेको बहानामा र मेडिसिन सेन्टरवालाले ओखती दिएको निहुँमा पैसा हसुर्ने अवस्था नदिलाईकन पनि हुन्न ।  

‘बिरामलाई बलैले मिचेर शान्त गराऊ, आर्यघाटतिरको सपना देखेऊ भने मात्र पैसा छर्न डाक्टरकहाँ धाऊ’ भन्ने मन भए पनि मनमै दबाउँछु । रामनाम सत्य हो भन्न पनि पैसै लाग्ने रहेछ । बैतरणी नदी जम्प गराउन पनि बाहुन बाजेलाई घुस खुवाउनै पर्ने रहेछ ।

कताकता पैसा लाग्ने ठाम छ भनी खोज्दै हिँड्ने तिम्रो मनलाई विचलित पारी आँधीतुफान आउने अवस्था ल्याउँदिनँ । आफ्नो मन चिमटेको नरुचाएरै अन्तिम पत्र लेख्न बसेको म अरूको मन कुड्याउन चाहन्नँँ । म अर्को प्रेमपत्र लेख्न बन्दै चाहन्नँँ ।

हेर, प्रेमस्रेमको चर्चा–परिचर्चामा धेरै दिमाख गिजोल्न चाहन्नँँ । म्यासेज बक्सका कुरा ह्याकरले पढ्न सक्छन् । पासवर्ड भेट्न सके त जसले पनि दुरुपयोग गर्छन् । नसके पनि साइन आउट नगरी छाड्दा इन्टरनेट जगत्का गोप्य कुरा ऐरेगैरेले थाहा पाउँछन् ।

अर्कातिर पोष्टकार्डमा लेखिएका मेरा प्रेमोद्गार पढेर, बुझेर खिल्ली नउडाऊन् भन्ने कुरामा समेत म सचेत छु । जो कोहीले पढेर हल्का रूपमा मूल्याङ्कन नगरून् भन्ने चाहन्छु । अतीतलाई सम्झेर वर्तमानको पीडालाई भुल्न खोज्दिनँ । वर्तमान जस्तो छ, त्यसलाई त्यही रूपमा भोग्न चाहन्छु । नदुखेको कपाल दुखाउन चाहन्नँँ । म अर्को प्रेमपत्र लेख्न चाहन्नँ ।

लक्ष्मी ! ‘शेष कुराका लागि तिमी नै जानिफकार छ्यौ ।’ भन्ने कुरा अवगत गर्ने मेरो विचार ठ्याम्मै हुन्न । आजसम्म मैले भनेका एउटै कुरा पनि तिम्रा लागि पच्य भएका छैनन् । मान्य ठहरिएका छैनन् । मेरो सोच तिम्रो सोच हुन सकेको छैन । मेरो कुरा तिम्रो हुन पाएको छैन ।

म गर्छु आग्राको कुरा तिमी गर्छेउ गाग्राको कुरा ! मेरो सत्यलाई असत्य देख्छ्यौ । मेरो कर्तव्यलाई बन्धन सम्झन्छ्यौ । मेरो कामलाई बदनाम ठान्छ्यौ । मेरो व्यक्तित्वलाई मगन्तेको जीवन बुझ्दछ्यौ ।

मेरो बचत प्रवृत्तिलाई मक्खीचुसको लीला ठह¥याउँछ्यौ । म पूर्व फर्के तिमी पश्चिम हेर्छेउ । म आनन्दित भए तिमी बेचैनमा पर्छेउ । भो, अब भो, अरू भूल गर्ने छैन । कसैको मनको तीतो बन्न चाहन्नँ । म फेरि अर्को प्रेमपत्र लेख्न चाहन्नँ ।

तिमी र मैले एक सम्झौतामा हस्ताक्षर गरेका थियौँ । मैले आफ्नो जागिरले दिने पचास प्रतिशत आम्दानी मासिक रूपमा तिमीकहाँ पठाउनुपर्छ । त्यसको हरहिसाव माग्न मनाही छ भनी बन्धन तिमीले नै लगाएकी थियौ । बदलामा मैले पनि घरव्यवहार हेर्नुपर्छ, त्यसभन्दा बढ्ता खर्च गर्न पाइन्न भनेको थिएँ । दुवै सहमत थियौँ र सही छाप ग¥यौँ, गरायौँ ।

अहिले आएर पनि म त्यही कुरामा अडिग छु । हस्ताक्षर बाहिरको काम नहोस् भन्दै छु । यस्तै भइरहे, यस्तै सहिरहे अवश्य केके पर्लापर्ला ! सरकारले नै पतिपत्नीको प्रेममा तगारो हाल्ला । नबल्ने आगो पनि हुरहुरी बल्ला । बादलविना नै घनघोर पानी बर्सला ।

हेर, तिमी नामकी मात्र लक्ष्मी हौ, कामले सुदामा नै हौ । मक्ख नपर । सुदामाको झैँ आत्मीयता त तिमीमा छैन, मात्र दरिद्रता छ ।  हो, तिम्रो मनझैँ सरकारको मन भो । दिनानुदिन मूल्य बढाएर केके पार्ने भो, भो । भोकै राख्ने भो । नाङ्गै पार्ने भो । हुने नहुने सबै एकैपटक ल्याउने भो । भो अब भो, कलमलाई दुःख दिन चाहन्नँ । समयलाई तर्साउँदिनँ । तिम्रो सम्झना गरी अरू पीडित बन्न चाहन्न । अरू कुनै प्रेमपत्र लेख्न चाहन्नँ । धन्यवाद !

प्रकाशित: १ भाद्र २०७७ ०९:०१ सोमबार

अक्षर