मुक्तिनाथ शर्मा
रमिला सारै बाठी नानी हुन् ।चौथो कक्षाको परीक्षामा उनी पहिला भएकी हुन् । उनका सारै मिल्ने साथी हुन सकुन्तला,परिधी ओजश्वी र सारा र केटा साथीमा थिए बटुक, कश्यप र प्राञ्जल ।
२०७६ सालको चैतमा उनीहरू विद्यालयमा पढ्दापढ्दै एउटा खवर आयो, हाम्रो देशमा कोरोना भाइरस आयो रे । अब विद्यालय बन्द हुन्छ होला । कक्षामा कुरा हुदाहुँदै नेपाली पढाउने गुरुआमा कक्षामा फुत्त पस्नुभो । उहाँले पढाउन खोज्नु भएन । उहाँले पनि कोरोना भाइरसकै कुरा ल्याउनुभयो । उहाँले भन्न थाल्नु भो । कोरोना भाइरस कोभिड १९ एउटा महामारी ल्याउने एउटा रोग हो । यो हालै चीन देशमा निस्केको खतरा रोग हो । यो रोग जसलाई लाग्छ उसलाई पहिले रुघा लाग्छ । कडा जरो आउँछ । तत्काल औषधि उपचार नभए मानिस मर्छ ।
यो रोग सरुवा रोग हो । यो रागीको सिगान, खकार र लसपसबाट सर्छ । यसबाट बच्न छुट्टाछुट्टै बस्नुपर्छ, घरभित्रै बस्नुपर्छ र बाहिर कतै जानै परेर जाँदा मास्क लगाएर जानुपर्छ । फर्केर आएपछि साबुनपानीले मिचीमिची हात धुनुपर्छ । कोरोनाबारे धेरै कुरा विद्यार्थीलाई सुनाएर गुरुआमा जानुभयो । योभन्दा पहिले भोलिदेखि अनिश्चितकालसम्म विद्यालय विदा हुन्छ पनि भन्नुभो । विद्यार्थीविद्यार्थी बीच कोरोनासम्बन्धी धेरै कुरा भए । एक किसिमको डर पनि भयो । यस्तैमा रमिलाले साथीहरूसंग भनिन्। विदा भए के त घरमै पढ्ने रमिलाका कुराले सबैको ध्यान खिच्यो ।
रमिलाले भनिन् – विद्यालय बन्द भए पनि हामीले त्यसै समय फाल्न हुँदैन ।पढ्न छाड्न हुँदैन र केही न केही अरू काम पनि गर्नै पर्छ । घर पुग्दानपुग्दै रमिला र साथीहरू निधो गर्दै गए । कोही चित्र बनाउने काममा लाग्ने कोही बुन्ने बुनाउने , कोही मुरली बनाएर बजाउने अभ्यास गर्ने भए । रमिला कागज काटेर विभिन्न किसिमका खाम आदि सामान बनाउने भइन् । यो उनको बुध्दिको कमाल हो भनेर धेरैले सराए । रमिलाले साथीहरूलाई विदाका समयमा पनि सक्रिय बनाउने बुध्दि निकालिन । सबै खुसी हुँदै घर पुगे ।
प्रकाशित: ३२ श्रावण २०७७ ११:०३ आइतबार