कला

डलर खेती

कथा

विशालदत्त भट्ट 

“काठमाडौं सहर, हेर्डा लाग्छ रहर

साला गिड्डै गिड्डको सहर ।” 

कुनै समय अधिकांश काठमाडौंवासीको मुखमा झुन्डिएको कुनै लोकप्रिय चलचित्रको संवाद थियो यो । काठमाडौंको अस्तव्यस्त जीवनशैलीलाई बिम्बित गर्नुपर्दा धेरै यही संवादको प्रयोग गर्थे । नातावाद, कृपावाद, चाप्लुसीवाद र घमन्डवादले सखाप पारेको शहर थियो काठमाडौं । सानो सपनाको खोजीमा आफ्नो दैनिक विपनालाई पोल्टामा गन्दै आएकाहरू काठमाडौं शहरको चक्रव्यूहमा फसेर अलप भएका कुरा एउटा असीमित उदाहरण हो । तर काठमाडौंजस्तै यस अमेरिकाको न्युयोर्क पनि गिड्डै गिड्डको शहरभन्दा केही कमीको छैन । सपनाजस्तै आम नेपालीहरू यस अनजान भूमिका पुग्नु, गिड्डको छायामा सर्पले गरेको संघर्षजस्तै हो ।

सपना आफ्नो अपार्टमेन्टबाट बाहिर हेर्दा पाउँछे न्युयोर्क शहर तिहार आएजस्तो झिलिमिली भएको छ । काठमाडौंमा यस्तो झिलिमिली तिहारताक मात्रै देखेकी थिई उनले । न्युयोर्कमा भने रात पर्न थालेपछि हरेक रात तिहार जस्तै झिलिमिली भएर आउँछ । तब त सबैको मन मस्तिष्कमा लक्ष्मी माताको बास छ । केही समय मात्र भयो न्युयोर्कमा हिउँ पर्न थालेको । हुन त नोभेम्बर महिना पनि लागिसक्यो । अब पनि हिउँ पर्न ढिलो भयो भने अमेरिकी जनतालाई निकै उत्सुकता बढ्न थाल्छ । उसै पनि उनीहरू अमेरिकालाई ग्लोबल वार्मिङबाट कसरी बचाउने भन्नेमा चिन्तित देखिन्छन् ।

पूरै न्युयोर्क शहर हिउँले ढाकेको थियो । कहीँ कतै त बाटो पनि प्रस्टसँग देखिँदैनथ्यो । रुखका पातहरू झरेर मानव अस्थिपञ्जरजस्तै आकारको भएका थिए । सपनाको मन पनि त्यस्तै उजाड भएको छ । नजिकैको टाओरले रातको एघार बजेको घन्टी पनि बजाइसक्यो । सपनाको अपार्टमेन्टमा असीको दशकका गीतहरू मन्द आवाजमा बज्दै थिए । लता मंगेशकरको ‘लग जा गले के फिर ये हसीं रात हो ना हो’ भन्ने गीत बजिरहेको थियो । उनले आफ्नो हात अगाडि बढाएर आफैसँग अँगालो मारिन् । मनमा छुट्टै अनुभूति छायो । स्ट्याचु अफ लिबर्टीलाई पनि पुलुक्क हेर्न भ्याइन् । कठ्याङ्ग्रिँदो जाडोमा ऊ पनि एक्लै थियो । यसबेला साथमा कोही भैदिएको भए ऊ पनि जोरसँग अँगालो मारेर केहीबेरलाई भए पनि जाडोबाट राहत पाउने प्रयत्न गर्दो हो । सपना र स्ट्याचु अफ लिबर्टी दुवैको हालत एउटै छ । दुवैलाई एक्लोपनले नमजासँग पिरोलेको छ । उनी टेबलमा रहेको थर्मसबाट थर्मसको बिर्कोमा पानी हालेर पिउन थाल्छिन् । पानी राखेको समय पनि धेरै भएको थिएन । अत्यधिक तातो थियो । जिब्रोसम्म पुरयाउनुभन्दा पहिलै त्यसबाट आएको तातो बाफले थाहा पाइहालिन् र सेलाउनलाई बिस्तारै आफ्ना कोमल ओठबाट मन्द सासले फु‘फु‘ गर्न थालिन्  । 

शून्यतामा पनि एकतमासले गुन्जिरहेछ उनको मनको बह । आफ्नो परिवारलाई एकचोटि फेरि सम्झिने प्रयत्न गरिन् उनले । उनले चाहेर पनि सम्झिन सकिनँ । फोनैपिच्छे उपहार र पैसाको मात्र कुरा निकाल्ने आफन्तजनबारे सम्झिँदा मन हुँडलिएर आउँथ्यो । उनलाई यस अनजान भूमिमा फाल हानेर आएकोमा निकै पछुतो लागिरहेको थियो । अमेरिका आउनुअघि त उनले पनि विदेशमा पैसाको बोट छ भन्ने सोचेकी थिइन् । विदेशमा जति सजिलो होला भन्ने उनले अमेरिका आउनुपूर्व सोचेकी थिइन् त्यसो रत्तिभर पनि भएन ।

मेनहट्टन शहर क्रिसमसको आगमनलाई स्वागत गर्न तयार भएर बसेको छ । चोकचोक, गल्ली गल्लीहरूमा बडेमानको झिलीमिली बत्ती युक्त क्रिसमस ट्रि बनाइएका छन् । बच्चा र महिलाहरू त्यस क्रिसमस ट्रिको अगाडि बसेर फोटो लिइरहेका हुन्थे । पुरुषहरू भने अलिक व्यस्त हुन्थे । तिनीहरूलाई आफ्नो व्यस्त जीवनका बाबजुद क्रिसमस ट्रि अगाडि रहेर फोटो खिच्ने समय कमै हुन्थ्यो । उसै पनि अमेरिका जस्तो पुरुषप्रधान राष्ट्रमा पुरुषहरूको काम अलिक उच्च र सामान्यभन्दा केही फरक अवश्य हुन्थ्यो । पुरुषहरू दिन प्रतिदिन व्यस्त बन्दै गैरहेका थिए । उनीहरूको व्यस्ततालाई हेर्दा क्रिसमसको गिफ्ट दिन सान्टा क्लाउजको वस्त्रभित्र पुरुष छन् कि महिला भन्ने कुरामा पनि सन्दिग्ध हुनुपर्ने अवस्था थियो ।

सपनालाई काठमाडौंमा हुँदा सिभिल मलमा सजाएर राखिएको कृत्रिम क्रिसमस ट्रि अगाडि बसेर साथीहरूसँग फोटो खिचेको याद आयो । त्यसबेला क्रिसमस आउँदा सपनाको मनमा छुट्टै उमङ्ग र उत्साह थियो । उनले आफ्ना साथीहरूसँग मिलेर एउटा रोमान्टिक इङ्लिस फिल्म पनि हेरेकी थिइन् । त्यस फिल्मको नाम त उनलाई याद छैन तर साथीहरूसँग बिताएका ती पल स्मरणमा ताजा छन् । कम्ता रमाइलो थिएन त्यो फिल्म । उनलाई त्यस फिल्मले निकै बाँधेको थियो कि कतिबेला फिल्म सकियो पत्तै पाइनन् । त्यो समय सपनाको जीवनकै खुसीको क्षण थियो । उनी निस्फिक्री भएर जे मन लाग्यो त्यही गर्न सक्थिन् । घरपरिवारबाट कुनै बन्देज थिएन । उनको उमेर पनि त्यस्तै थियो, रमाइलो गर्दै साथी सङ्गीहरूसँग हाँसखेल गर्ने । सपनालाई हरपल काठमाडौंमा बिताएका रमाइला पलहरूको याद आइरहन्थ्यो ।

सपनाका सपनाहरू पनि उनको बढ्दो उमेरसँगै बढ्दै गए । उनी खुला आकाशमा उड्न चाहन्थिन् । आफ्नो महत्वाकांक्षा पूरा गर्न उनी दत्तचित्त थिइन् । उनलाई परिवर्तनसँग  विशेष लगाव थियो । उनी आफूलाई हरेक कुरामा पुरुषसरह अब्बल मान्थिन् । उनी जीवनमा केही गरौं भन्ने चाहन्थिन् । कलेज लाइफ सकिनेबित्तिकै उनी घरकी एक जिम्मेवार चेली बन्न जागिर खोज्न भौंतारिन थालिन् । आफ्नो बलबुताले भ्याएजति लोकसेवा परीक्षामा सहभागिता जनाउँदा पनि नाम निकाल्न असमर्थ रहिन् । अन्त्यमा केही नलागेर उनले आफ्नो योग्यताअनुसारको उपयुक्त जागीर पाउन सोर्सफोर्स लगाउन विवश भइन् । नजिकका नाता पर्ने एकजना मामा पर्नेले उनलाई एउटा एनजिओमा जागीर मिलाइदिए । त्यसपछिका समय उनलाई पछि फर्केर हेर्नुपरेन । 

त्यस संस्था आवरणमा मानव हितको लागि सञ्चालित भनिए पनि यथार्थमा त्यस्तो केही देखिँदैनथ्यो । त्यसमा लाग्नेहरू सबै आफू र आफ्नो आउँदो पुस्ताका लागि मनग्गे धन सम्पत्ति आर्जन गर्नमै व्यस्त रहन्थे । सपना जसै एनजिओको जागीरमा जोडिन पुगिन तब उनको मन पनि अरूहरू जस्तै पैसा कमाउनतिर अग्रसर हुनथाल्यो । उनलाई जीवनको परम आनन्द र सन्तुष्टि पनि पैसा नै हो भन्ने भान हुन थाल्यो । उनी हरेक कुरालाई पैसासँग दाँज्थिन् । उनको जागीर पनि राम्रो हुँदै गयो । जागीरकै कारण उनले ब्याचलरभन्दा माथिको पढाइलाई प्राथमिकता दिन सकिनन् । उनी पाइरहेको राम्रो जागीर छोड्ने पक्षमा पनि थिइनन् । फेरि उनलाई त्यही जागीरमा आबद्ध भैरहे भोलिका दिनमा अन्य देशमा जागिरी मिल्ने आशा थियो । यसअघि पनि धेरैले अन्य देशमा जागिरको मौका पाइसकेका थिए । अन्य देशमा जागीरको अवस्था मिलेको खण्ड मनग्गे डलर आर्जन गर्न सकिन्छ भन्ने उनको बुझाइ थियो । एनजिओमा लागेकामध्ये अधिकांशको जीवनस्तर सुध्रिएकै हुन्थ्यो । रातारात सम्पन्न भएको पनि उनले देख्दै आएकी थिइन् । उनलाई पनि त्यसैको व्यग्र प्रतीक्षा थियो । अरूलाई झैं उनलाई पनि त्यस एनजिओ आफूतर्फ परजीवी र परनिर्भर बनाउँदै थियो ।

सपनाको सार्थकसँग बिहे भएको चार वर्ष भैसक्दा पनि उनी आफूलाई एक अविवाहित स्त्री जस्तै ठान्छे । कारण सार्थक र सपना हप्ताको एक दिन पनि भेटेर बिरलै भलाकुसारी गर्न भ्याउँछन् । बाँकी दिनहरूमा दुबैको काम गर्ने सिफ्ट फरकफरक समयमा पर्ने भएकाले पनि एकाअर्कालाई समय दिन भ्याउदैनन् । फेरि हरेकलाई अमेरिका जस्तो शहरमा जति व्यस्त त्यति नै सम्मानजनक लाग्थ्यो तर नेपालीहरूलाई भने अमेरिकामा जति व्यस्त त्यति नै डलर आर्जन हुन्छ भन्ने ध्येय हुन्थ्यो ।

एकदिन सपनाले सार्थकलाई जवाफ फर्काइन्, “तिमीसँग बिहे भएर पनि म एक अविवाहित स्त्री जस्तै हुँ ।” कहिलै श्रीमानको कुरामा दुई मत समेत प्रकट नगर्ने सपना त्यस दिन अलि उग्र भएर श्रीमानलाई जवाफ फर्काएकी थिइन् । सपनाले त्यस दिन सार्थकलाई जवाफ नभएर मनको कुण्ठा र बाँध पोखेकी थिइन् । सार्थक पनि केहीबेर त निशब्द भएर उनको त्यस व्यवहार नियालिरह्यो । सार्थकलाई आफ्नो श्रीमतीबाट त्यस कुराको अपेक्षा थिएन । सपनालाई थाहा छ, सार्थक एउटा असल केटा हो । ऊ सपनालाई निकै प्रेम गर्छ तर श्रीमती अनुरूप समय कहिलै दिन भ्याउँदैन । सुरुका दिनहरूमा सपना सार्थकलाई  देखावटी रूपमा प्रेम गर्थी तर कालान्तरमा उससँग  साँच्चिकै प्रेम हुन गएको थियो । सार्थकको असल बानीबेहोराहरूले सपनाको मन जितेको थियो । हुन पनि सपनालाई यस अनजान भूमिमा साथ, सहयोग र प्रेम प्रदान गर्ने सार्थकबाहेक अरू को नै पो थिए र । ती दुवै  जना आफ्नो काममा यतिसम्म व्यस्त भैदिन्छन् कि बिहे गरेको चार वर्ष भैसक्दा पनि बच्चा जन्माउने सुअवसरको थालनी गर्न सकिरहेको छैनन् । तिनीहरूको मस्तिष्कमा त्यस कुराको सही ढङ्गले बीजारोपण हुनसकेकै छैन । तिनीहरूको मन धन आर्जनमै केन्द्रित थियोे । सार्थकलाई आफ्नो पुरुषार्थमा असाधारण किसिमको अहंता थियो । सपनालाई भने आजभोलि निकै चिन्ता लाग्न थालेको छ । पैसा, यौन र शक्ति मात्र जीवन जिउन पर्याप्त छैनन् । श्रीमान् र श्रीमतीबीच उत्तिकै साथ र सहयोगको पनि जरुरत पर्छ । उनी सोच्छिन्, अब पनि पैसा कमाउन भनेर आफ्नो भविष्यलाई बेवास्ता गर्दै हिँड्ने हो भने समयले नमजासँग धिक्कार्नेछ । 

सपना कलेज पढ्दा उनलाई कुनै प्रशान्त भन्ने केटाले निकै मन पराउँथ्यो । उनी भने आफ्ना फुटेका आँखाले पनि प्रशान्तलाई हेर्न चाहन्नथिन् । उनलाई थाहा थियो प्रशान्तमा त्यो कुरा छैन जुन उनी आफूलाई प्रेम गर्ने केटामा चाहन्थिन् । प्रशान्त हेर्दा राम्रो थियो, पढाइमा अब्बल थियो नै तर सपनालाई एउटा केटामा यी सबैकुराहरू भन्दा पनि पारिवारिक पृष्ठभूमि र कुलघरानाले फरक पार्थ्यो । त्यसैले उनी कुनै केटालाई प्रेम गर्नु वा प्रेम प्रस्ताव स्विकार्नु पूर्व तिनीहरूको पारिवारिक पृष्ठभूमि बारे भेउ पाउने कोसिसलाई प्राथमिकता दिन्थिन् । प्रशान्तलाई पनि सपनाको यो बानी राम्रोसँग थाहा थियो । प्रशान्त एकतर्फी सही सपनालाई अगाध प्रेम गर्थ्यो । सपनामा आफू सुन्दर हुनुको प्रचुर घमन्ड थियो । उनको सुन्दर मुहार अघि पुरुष मानसिकता सजिलै घायल भैहाल्थे । कयौंपटक सपनाले आफ्नो सुन्दरताको प्रयोगमा धेरै पुरुषलाई आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गरेकी थिइन् । उनी आफ्नो अघिपछि भमरा झैं लाग्ने केटालाई सजिलै प्रयोगमा ल्याउथिन् । त्यस्ता केटाहरूबाट धेरै कुरा प्राप्त गर्न सकिन्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । उसै पनि तिनीहरू समर्पण गर्नमा खप्पिस हुन्छन् भन्ने उनको बुझाइ थियो । मायाको नाटक गरेर उनी त्यस्ता केटाहरूबाट प्रशस्त फाइदा लुट्ने गर्थिन् । उनको त्यस बानीले उनलाई धेरैपटक ठक्कर पनि खुवाएको थियो । 

क्याम्पस जीवनमा प्रवेश गरेको एकाध दिनमा सपनालाई राजनीतिको नशाले छोएको थियो । उनी पढाइलाई थाँती राखेर राजनीतिमा लागेकी थिइन् । त्यसताका उनी निकै जोस जाँगरले राजनीतिमा लागेकी थिइन् । उनमा राजनीतिमा लाग्दै गए एकदिन ठुलै पदको हकदार हुन सकिन्छ भन्ने बुझाइ थियो । उनलाई मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्नेछु भन्ने आशा थियो । पछि उनका ती सबै आकांक्षा र महत्वाकांक्षाहरू विलीन भएर गए । प्रधानमन्त्री बन्ने होडमा उनीजस्तै हजारौंको संख्यामा अरु पनि थिए । उनले कतै पढेकी थिइन्, “प्रधानमन्त्री बन्छु भन्दै हिँड्नु मूर्खहरूको स्याल हुइँया हो । प्रधानमन्त्री बनेर जनताको सेवा गर्नेछु भन्नु महामूर्खहरूको वाणी हो । एक असल व्यक्ति बनेर पनि आफूले जनताको सेवा गर्न सकिन्छ । प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु, मन्त्री बन्छु, नेता बन्छु भन्ने कुनै उद्देश्य होइन । उद्देश्य भनेको एक योग्य मान्छे बन्छु भनेर लिनुपर्छ ।” तर उनी परिवर्तित हुनु पछाडिको कारक तत्व त्यही एउटा पङ्क्ति मात्र नभएर उनको राजनीति प्रति विलगाव हुन नसक्नु पनि थियो । अर्को कारक थियो, राजनीतिमा लाग्दैगर्दा निकै समय दिनुपर्ने हुन्थ्यो, जुन उनको वशको बात थिएन । 

सार्थक पनि सपना काम गर्ने एनजिओमा एक उच्च पदस्थ कर्मचारी थियो । त्यस एनजिओमा इमानदारी पूर्व आफ्नो काम गरेकोमा उसलाई विशेष सम्मानसहित अमेरिकाको न्युयोर्कस्थित अर्को आइएनजिओमा जागिरको लागि सिफारिस गरिएको थियो । त्यो कुरा चाल पाएर सपनाले सार्थकसँग हिमचिम बढाएकी थिइन् । सार्थक पनि के थियो र, पुरुष मानसिकता न हो, एउटा सुन्दर स्त्री आफ्नो पछि परेकोमा दङ्गदास थियो । उसलाई थाहा थिएन सपना उसलाई आफ्नो अमेरिका पुग्ने स्वार्थ पूरा गर्न नजिकिदै थिइन् । बिस्तारै सपना आफ्नो कार्यमा सफल हुँदै गइन् । उनले सार्थकसँग एउटा प्रेमको ढोङ रचेर उसैसँग बिहे गरेर अमेरिका पलायन भइन् । 

अमेरिका पुगेपछि उनलाई थाहा भयो कि पैसा कमाउन साँच्चिकै एक कठिन कार्य रहेछ । जसरी उनी सोच्थिन त्यसो त बिल्कुलै थिएन । उनी पनि ती रुखका भर्खर झरेका पात झैं भएकी थिइन् । हावाको बहले जता लान्थ्यो तेतै जानुपर्थ्यो । तेही पात झैं डाँडा कटेसरी निमेषभरमै हराउन चाहन्थिन् । उनलाई हर समय सानोभन्दा सानो कुराले कल्पनामै सही आफ्नो देशमा सुमधुर पलमा धकेलिदिन्थ्यो । उनले जुन हिसाबले सोच्थिन् कि अमेरिकामा डलर आर्जन होला तर त्यस्तो भएन । उनका लम्बेतान आकांक्षामा सीमितता छाउन थाले । उनमा एकपछि अर्को गर्दै अफ्सोसहरू थुप्रिदै गए । देश र आफ्नो घरको मात्र याद आइरहन्थ्यो । उनले कहिलै यतिसम्म मनन गरेर जीवनलाई महसुस गरेकी थिइन्न् । 

देशको अवस्था पनि नाजुक थियो । स्वदेशमा रहेर गर्नसक्ने पनि केही थिएन । भ्रष्टाचार, नातावाद, कृपावाद, चाप्लुसीवाद र घमन्डवादले सखाप पारेको थियो देशका हरेक तहलाई । राजनीति त कुरागरी साध्य थिएन । जब जब देशको बारेमा सोच्थिन् तब त्यसै त्यसै ग्लानि भएर आउँथ्यो सपनालाई । देशमा पुरै बिनासले जड गाडेको थियो । देशको हरेक क्षेत्रमा डलरको गन्ध आउन थालेको छ आजभोलि । जहाँ जे काम गर्दा पनि हरेकको अर्जुनदृष्टि विदेशी डलरमा केन्द्रित हुँदै आएको छ । यसरी डलरमुखी भएर देशका नेताहरू लागि परे भने देशको उन्नति कहिले हुने ? देशको विकास कसरी हुन्छ ? सार्थक आफू काम गरिरहेको संस्थामा अझै माथिको पद पाउन चाहन्छ । तर उसलाई थाहा छैन, त्यस संस्था उसलाई केवल मोहराको रूपमा प्रयोग गर्दै थियो । नेपालमा भएको त्यसको सवब्रान्चले नेपालको हितमा भनिए पनि, हित भन्दा बढी अहितमा काम गरिरहेको थियो । तिनीहरू आफ्नो निहित स्वार्थ र महत्वाकांक्षा लाद्न सार्थक जस्तो निर्दोष व्यक्तिहरूलाई प्रयोगशाला बनाउँदै थियो । सार्थक जस्ता केही सोझा साझा व्यक्तिहरूलाई छानेर अप्रत्यक्ष ढङ्गले उसैको मुलुक विरुद्ध मोहरा बनाइरहेको हुन्थ्यो । देखावटी रूपमा तिनीहरू केही ठाउँमा सडक, केही राहत सामग्री र केही आर्थिक सहयोग गरेझैं गरेर देशमा बिखण्डन निम्त्याउँदै थिए । तिनीहरू देशमा सूक्ष्म ढङ्गले साम्प्रदायिक, जातीय, धार्मिक लगायत विभिन्न द्वन्द्व निम्ताइरहेका हुन्थे जुन आवरणमा नदेखिए पनि भैरहेका हुन्थे । 

सपना पनि आफ्नै देशको विरुद्ध एउटा प्रयोगशाला बनाइएकी हुन्छिन् कुरा धेरै पछि मनन गर्न पुग्छिन् । उनी अमेरिका आउनुनै आफ्नो मुलुक विरुद्धको पहिलो प्रहार थियो । अन्य मुलुकबाट आएका मान्छे अमेरिकामा त मेसिनले झैं काममा खटिनुपर्ने रहेछ । सपना आफ्नो देशमा कथित मानव अधिकारवादीको भेषमा आफ्नो निहित स्वार्थ पूरा गर्न विभिन्न बहानामा प्रभाव जमाउँदै गरेका विदेशी मुलुककाहरूलाई सम्झिन्छिन्् । मन त्यसै त्यसै हुँडलिएर आउँछ । हामी तिनीहरूबाट केही अनुग्रह निगाह हुने लालसामा आफ्नो दिन गनिरहेका हुन्छौं । हाम्रो देश रेमिट्यान्समा पहिलो भएको गर्व गर्दै बसिरह्यौँ तर हाम्रो देश भित्रैका श्रोत र साधनहरू सही सदुपयोग भयो कि भएन त्यसबारे ध्यान भने कहिलै दिन सकेनौं । 

सपनाजस्ता कयौं नेपाली नारीहरुलाई विभिन्न लालसा देखाउने मानवअधिकार नामक एउटा जालोले देशलाई खर्लप्पै पारेको छ । मानव अधिकारको रक्षक भनिएका मानव अधिकारवादहीरू देशमा साँच्चिकै संकट आउँदा मौन बसेको सबेलाई थाहा छ । हुन त डलरको सोझो पनि गरेका हुनसक्छन् । मानवअधिकारवादी संस्थाहरूले पक्कै पनि विदेशी, विशेष गरी युरोपेली निकायबाट सहयोग जुटाएका हुन्छन्, किनकि नेपाल सरकार या निजी स्रोतबाट त्यस्तो संवेदनशील र मानवीय दर्शनमा आधारित कामका लागि रकम उपलब्ध हुँदैन । यसै पनि नेपाल सरकारको ढुकुटी त्यति विघ्न सम्पन्न छैन । नेपालका द्वन्द्व पीडितहरूको हक संरक्षण, मानवता विरोधी घटनाहरूको अभिलेखीकरण र सशक्त निक्र्याेलका लागि मुलुकभर सञ्जाल बिस्तार गर्ने हो भने त्यसको लागि त पैसा चाहियो । फेरि कुनै पनि राज्य बिना कुनै स्वार्थ बोकेर अरुको सहयोगमा तत्पर हुँदैन । यो कुरामा कुनै दुईमत छैन कि विदेशी स्रोतबाट त्यसरी आउने रकम डलर नै हुनेभयो । र त्यसरी आएको डलर सही ठाउँमा खर्च होला भनेर सोच्नु नै मूर्खता हो । यो कुरा इतिहासले निकै स्पष्टसँग पुष्टि गरेको छ । 

सरकार आफ्नो आत्मनिर्भरताको विकल्प खोजिरहेको बेला भर्खर वामे सर्दै गरेको नेपाली गैरसरकारी क्षेत्रमा पैसाको वर्षा हुनु आफैंमा एउटा असाधारण र अचम्मलाग्दो कुरा हो । यसरी पैसा वर्षंदा विकृतिहरू पनि एकपछि अर्को गर्दै बल्झिदै गए । कति ठाउँमा ती विकृतिहरूले अलि उग्ररूप पनि लियो । कतिपय उच्च पदमा आसिन व्यक्तित्व र नेताहरूले ‘एनजिओ’ लाई एनजिओको रूपमा नभई आयस्रोत र भात खाने बाटोको रूपमा प्रयोग गर्दै आए । मुलुकमा राजनीतिक अस्तव्यस्तको प्रमुख कारक पनि एनजिओ र आइएनजिओ नै बन्न पुगे । सामान्य जनता मात्र नभई ठुला नेताहरू समेत एनजिओ र आइएनजिओको डलर खेतीमा मलजल गर्नमा अभ्यस्त हुँदै गएपछि त्यसको मारमा निर्दोष जनताहरू पर्न गए । अझै ताजुब लाग्ने कुरा के छ भने, एकाधलाई छोडेर अधिकांश विद्यार्थीहरू पढ्दापढ्दै विद्यार्थीजीवन देखिनै विभिन्न एनजिओ र आइएनजिओमा आबद्ध भैरहेका हुन्छन् । विद्यार्थी जस्तो राष्ट्रको एक संबेदनसिल निकाय त्यसरी एनजिओ र आइएनजिओको प्रलोभनमा लाग्दै जाने हो भने देशको भविष्य कता जाला ?

सपनाजस्ता लाखौं नेपालीलाई प्रलोभनमा पार्ने र आफ्नो स्वार्थ पुरा गर्न सक्रिय नेपालमा लाखौंको संख्यामा एनजिओ र आइएनजिओ जस्ता गैरसरकारी संस्थाहरू छन् । जसको कामको परिणाम हेर्ने हो भने अहिलेको अनुपातमा दश गुणा छिटो देश विकास हुनुपर्ने देखिन्छ । विदेशी दूतावास, दातृ नियोग वा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्तरराष्ट्रिय संस्थाको नाममा जे जति क्रियाकलाप हुन्छ सब  देखाउनका लागि मात्रै गरिएको ढोङ्ग मात्रै हो । त्यसको प्रभाव पर्नु त परको कुरा जुन परियोजनाको लागि गरिएको हो त्यसमा थोरै मात्र पनि जीवन्तता पाउन सक्दैन । फेरि त्यस क्रममा लाग्ने टाउकेहरूलाई डलर आर्जन भने प्रसस्तै हुने गर्छ । दातृ नियोगहरूबाट त्यसरी रकम लिएर सोझासाझा जनतालाई परिचालन गर्ने एनजिओ र आइएनजिओ समग्र राष्ट्रका लागि एउटा विषालु नाग हो । यसलाई जतिसुकै दूध पिलाए पनि एकदिन राष्ट्रलार्इ नै नडसला भन्न सकिन्न । देश अस्थिरता र अस्तव्यस्ततातिर खुम्चिंदा समेत धेरैलाई डलर खेतीले सजिलै आकर्षित गर्‍यो । विदेशी सहयोग भएकोले सरकारी जागिर अथवा मास्टरी काममा भन्दा यतातिरै सबैको ध्यानाकर्षण बढ्न थाल्यो । कुनै पनि अन्तर्रािष्ट्रय संस्थामा लाग्दा हरेकले निकै राम्रोसँग सोच विचार गरेर मात्र लाग्नुपर्ने रहेछ  नत्र आफ्नो भविष्य र मुलुकको भविष्यलाई भित्तामा पुर्याउने गरी प्रहार हुनसक्ने खतरा हुन्छ । मेरो धरातल के थियो र के छ ।  म कहाँबाट स्वचालित छु र कहाँबाट पोषित छु । म कुन नियतले यस संस्थामा लाग्दै  छु भन्ने जस्ता कुराहरू बरोबर हेक्का राख्नुपर्छ । 

मानव अधिकारवादीहरू मानवअधिकार र समाजसेवाको नाममा डलर खेती गरिरहन्छन्, यसमा कुनै दुईमत छैन । समाजसेवा वर्तमान परिपेक्षमा एउटा डलरवादी अभियानको रूपमा देशमा विकसित हुँदै छ । अझ आजकल त डलर खेतीका लागि बालबालिका समेत मोहरा बनाइन थालेका छन् । बालबालिकामुखी कार्यक्रम गर्दा युरोपेली मुलुकबाट प्रशस्त पैसा प्राप्त हुने भएकाले एक दशक यता बालबालिका सम्बन्धी थुप्रै गैरसरकारी संस्था धमाधम दर्ता हुन थालेका छन् । तर जुन परियोजनाको लागि भनेर संस्था दर्ता गरिएको हुन्छ त्यसो नभैई विपरीत दिशामा लागेको देखिन्छ । यसले हाम्रो राष्ट्रियतालाई खण्डित पार्ने काम अवस्य गर्छ । नितान्त रूपमा डलर खेतीसँग जोडिएको एउटा विखण्डकारी सोचले मानव सभ्यतामा संकट नलेराउला भन्न सकिन्न । कसरी देशलाई एउटा ग्रान्ड डिजाइनमा सखाप पारिदै छ भन्ने कुरा सपनालाई पहिलै ज्ञात नभएको होइन, तर यतिविघ्न संकट लेराउला भन्ने बारे चाहिँ कल्पना गरेकै थिइन्न् । सपनालाई अमेरिकाको जीवन मन पर्नुपर्ने हो । उनी त्यहाँको जीवनमा अभ्यस्त हुँदै जानुपर्ने हो । उनी पनि अरुजस्तै डलरको मोहमा लाग्दै जानुपर्ने हो । तर त्यस्तो हुँदैन । उनलाई देशको चिन्ताले निकै पिरोल्न थाल्छ । त्यस अवस्थाले एउटा पुरानो नेपाली उखान ’औंला दिएर डुँडुलो निलेको’ आभास गराउँछ । सुरुमा त सपना पनि डलर कमाउनकै लागि, अमेरिका जाने निधो भएका सार्थकसँग बिहे गरेर त्यता आएकी थिइन् त्यो बेग्लै कुरा हो । समयले उनको आँखा खोलिएको छ । उनको चेत खुलेको नहोला पनि भन्न सकिन्न ।

देशमा एकरत्ति विकास हुन नसक्दा पनि सामाजिक संजालभरि फलानो नेपालीले यस्तो काम गरेबापत विश्वसामु सम्मान गरिँदै छ, ढिस्कनो नेपालीले सारा विश्वलाई पछि पर्दै अग्रस्थानमा आसीन हुनपुगेका छन्, भन्नेजस्ता समाचार छ्यापछ्याप्ती छन् । पछिल्लो समय विभिन्न देशले आफ्नो निहित स्वार्थ राख्दै नेपालमा रहेका एनजिओ र आइएनजिओमार्फत केही नागरिक र ओहोदावालालाई चयन गर्दै तक्मा सिफारिस गर्ने क्रम बढिरहेको छ । हामी नेपालीहरू भने तक्मा र सम्मान थाप्न पाउँदा गौरवान्वित हुन्छौं तर त्यस तक्मा पछाडिको रहस्य पटाक्षेप गर्नतिर कहिलै लाग्दैनौं । तक्मा थाप्नुपूर्व आफू त्यस तक्माको योग्य छु वा छैन त्यसबारे पनि बेवास्ता गरिदिन्छौं । तक्मा सिफारिस गर्ने राज्य र निकायले हामीमा कुन नियतले सिफारिस गर्दै छ त्यो निक्यौैल गर्न जरुरी छ । सामान्यतया तक्मा र सम्मान मनोबल बढाउने ठूलो हतियार हो, तर बिनासित्ति   दिइने सम्मानको कुनै औचित्य हुँदैन । नेपालमा बहुदल आएपश्चात् विश्वका धेरै मुलुकले आफ्नो स्वार्थ राख्दै विभिन्न बहानामा केही नेपालीलाई छनोट गर्दै अन्तर्राष्ट्रिय मिडियामा लगेर सम्मान गरेको ढोँग गरिरहेको सबैलाई थाहा छ । त्यसो गर्दा नेपाली जनतालाई रिझाउन पनि सहज हुने भयो । पञ्चायत कालमा नेपालीहरू अन्तरौष्ट्रिय तहमा लगिएर कमै सम्मानित हुन्थे । जुनसुकै संस्थालाई देशमा प्रवेश गर्नमा रोक लगाइएको थियो । बहुदल आउनासाथ लाखौंको संख्यामा गैरसरकारी संस्थाहरू नेपाल भित्रिँदै गए । तिनिहरूले नेपालीहरूमाझ आफ्नो प्रभाव छोड्न एकपछि अर्को गर्दै नेपालीलाई अन्तर्राष्ट्रिय मिडियासामु लगेर धमाधम सम्मानका पदक र आभूषण टक्राउन थाले । बिनापृष्ठभूमि योग्यताभन्दा विशिष्ट सम्मानद्वारा सम्मानित हुँदै जानु आफैंमा उदेकलाग्दो कुरा हो । त्यसरी प्राप्त गरेको तक्मा र सम्मान आफैंमा एउटा उपलब्धि नभई प्रयोगशालाको उपज हो भनेर प्रस्ट हुनजान्छ । त्यस कार्यसिद्धिमा गर्व गर्ने ठाउँ कहीँ  कतै देखिँदैन । त्यस्ता सम्मान भनेका औपचारिकतामा सीमित हुने हुन्छन् । बिनाकारण सम्मान दिने र पाउनेबारे हरेक अग्रदूतले गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने कुरा हो । नेपालका प्रत्येक राजनीतिक दल विभिन्न गुटउपगुटमा विभाजित छन् । तिनीहरूले कहिलेकाहीँ आफूलाई माथि र उँचो देखाउन पनि विभिन्न तिकडम गर्दै सम्मान आदानप्रदान गरिरहेका हुन्छन् । 

देश भित्रको कुरा पनि दुरुस्तै अन्तराष्ट्रिय तक्माको जस्तै छ । सम्मानका भागिदार ती हुन्छन् जो निस्वार्थ राष्ट्रियता र देशको हितमा लागेका हुन्छन् । तर यहाँ भने जो राष्ट्रको सेवामा लागेको ढोङ गर्दै डलर खेतीमा लाग्छन् तिनलाइनै पदक र विभूषण द्वारा सम्मानित गरिन्छ । नेपालमा दिइने मान, पदवी, सम्मान, आभूषण, अलंकार र तक्मा पटक पटक विवादास्पद बन्नु र विवादमा तानिनुको कारण पनि यही हो । केही अपवाद छोड्दा हरेक पटक नेपालमा प्रायःजसो मान, सम्मान, पदवी, आभूषण, विभूषण र अलंकारमा पहुँचवालाकै हालिमुहाली हुने गरेको छ । मान, सम्मान र पदक सिफारिस गर्ने निकाय स्वयंले आफूलाई र आफ्ना मान्छेलाई सिफारिस गर्नु जस्तो दुखद मजाक अरु के हुनसक्छ ?

बिनासित्ती तक्मा दिने चलन दोश्रो विश्वयुद्धपछि एकाएक वृद्धि हुँदै गयो । पश्चिमा मुलुकले आफूसँग चिढिएका राष्ट्रलाई रिझाउन त्यहाँका जनतालाई सम्मान गर्ने प्रक्रिया सुरु गरे । त्यसक्रममा नेपाल पनि नमजासँग प्रयोगशाला बन्न पुग्यो । चल्तीका मौलिक राष्ट्रिय सम्मान र तक्माहरू बिच विभिन्न देशका सम्मान र तक्मा नेपाल भित्रिए । त्यस अनुपात नेपाली मौलिकता झल्काउने सम्मानहरू पनि छाँयामा पर्दै गए । विदेशी मुलुकका तक्मा र सम्मानहरू सोझासाझा जनतालाई रिझाउने मूल मन्त्र झैं बनेर विकसित भयो । यहीँ भनौं न विदेशी मुलुकहरूले छुन नसकेका आयामहरूमा सम्मान कार्यक्रम र तक्माले एउटा सोपानको काम गरिदियो । फेरि सम्मान र तक्मा पाउन लालायित हुनु त मानव स्वाभावनै हो । सम्मान भन्नेबित्तिकै फाल हाल्दै जाने नेपालीहरू माझ ती मुलुकहरूले आफ्नो थप विगुल फुक्नै परेन । जबसम्म नेपाली जनता काम नगरिकन सम्मान र तक्मा पाउन लालायित हुन्छन् तबसम्म देश समृद्धितर्फ लम्कनै सक्दैन । र जबसम्म हरेक व्यक्ति राष्ट्रियता र स्वाभिमान भित्र अडिग हुँदैन तबसम्म लोकतन्त्र बलियो हुन सक्दैन र लोकतन्त्र धरासायी बन्दै जान्छ ।  

सपना त एउटा प्रतिनीधी पात्र मात्र हो । उनी सानैदेखि मनमा कुराहरू खेलाउनमा खप्पिस छिन् । उनी हरेक कुरालाई विभिन्न कोणबाट विश्लेषण गरेर विचार गर्ने गर्थिन् । उनले धेरै पहिलादेखि देशको बारेमा सोच्न थालेकी हुन् तर डलर खेती र राष्ट्रिय संवेदनशीलताबारे भने पहिलोपटक सोच्दै थिइन् । उनलाई थाहा छ उनी त्यसमा गर्न केही सक्दिनन्, तर पनि त्यसबारे निकै गहन रूपमा सोच्ने गर्छिन् । सपनालाई ढिलै भए पनि आत्मानुभूति हुन्छ । त्यसैक्रममा टेलिफोनको घण्टी बज्छ । उनमा उत्सुकता थपिन्छ । यसअधि उनलाई मध्यरात यसरी फोन कहिलै आएको थिएन । उनी हतार हतार फोनको रिसिभर आफ्नो कानमा जोड्छिन् । उताबाट निकै उत्साहित मुद्रामा एउटा पुरुष आवाज सुनिन्छ । त्यो पुरुष आवाज अरु कसैको नभएर सार्थकको हुन्छ । ऊ भन्दै हुन्छ, “हेल्लो सपना तिमीलाई गुड न्युज छ । आज मेरो प्रोमोसन भएको छ । म अब न्युयोर्क ब्रान्चको हेड अफिसर भएको छु । स्यालरी पनि राम्रो छ । विगतका दिनहरूमा मैले इमानदारीपूर्वक काम गरेकोमा मलाई हेड अफिसले सम्मान पनि गर्ने भएको छ । छिटै अब हामी आफ्नो लागि एउटा नयाँ अपार्टमेन्ट खरिद गर्नेछौं ।” यति भनेर सार्थक फोन राखिदिन्छ ।

सार्थकको त्यस कुराले सपनामा केही परिवर्तन देखिँदैन । सार्थकले भनेझैं सपनालाई त्यस कुरा गुड न्युज पनि लाग्दैन । सपना मनमनै सार्थकलाई पनि प्रयोगशालाकै संज्ञा दिन पुग्छिन् । उनी यन्त्रवत् भएर स्ट्याचु अफ लिबर्टीलाई हेरिरहन्छिन् । लामो हेराइपछि उनी आफ्नो पेटमा हुर्कदै गरेको बच्चालाई निकै मायालु पारामा मुसार्छिन् र सार्थकको मायालाग्दो अनुहार सम्झिन पुग्छिन् । 

प्रकाशित: ३२ श्रावण २०७७ ०९:०२ आइतबार

अक्षर