धीरकुमार श्रेष्ठ
आमा बिहानै काममा जानुभयो । दिदी पनि सँगै जानुभयो । आमाले जाने बेलामा भन्नुभयो, ‘भाइ आँगनमा खेल्दै छ । हेर्दै गर है बाबु ।’
‘हुन्छ आमा ।’ सिरकभित्रबाटै उसले भन्यो ।
‘आज शनिवार, ढिलोसम्म सुत्छु ।’ मनमनै सोच्यो ।
‘दाजु ।’ एकछिनपछि भाइले उठायो ।
‘के भयो ?’ उसले सोध्यो ।
‘भोक ला’गो।’ भाइले भन्यो ।
‘एकछिन खेल् न ।’ उसले सम्झायो ।
‘नाइ ! भोक ला’ ग्यो भन्या क्या ।’ भाइले सिरक तान्यो ।
ऊ रिसाउँदै उठ्यो । भान्सामा गयो । चुलोमा कराही बसाएको देख्यो । अगेनुमा आगो बाल्न खोज्यो । ढुङ्ग्रो नजीक मुख लगेर फुक्यो । फुङ्ङ खरानी उड्यो । अनुहारभरि परयो । अनुहार सेतै भयो । त्यो देखेर भाइ हाँस्न थाल्यो । उसलाई झन् रिस उठ्यो । कराहीको बिर्को उचालेर हेरयो । रित्तो थियो ।
ओदानको कसौंडीमा हेरयो । खाली थियो । ठेकीको बिर्को उघारेर हेरयो । रित्तो थियो । गाग्रीमा हे¥यो । पानी थियो । लोहोटामा सारयो ।
’लखा ।’ उसले भाइलाई पानी दियो । भाइले घटघटी पियो ।
दिउँसो आमा र दिदी फर्किनुभयो । उहाँले पोल्टाबाट चिउरा निकाल्नुभयो । गाग्रीबाट तीनओटा गिलासमा पानी सार्नुभयो । त्यसैमा चिउरा भिजाउनुभयो । अलिअलि नून छर्किनुभयो । तीनै जनालाई दिनुभयो । आफूचाहिँ भोकै काममा फर्किन लाग्नुभयो । त्यो देखेर उसलाई खान मन लागेन ।
‘आमा !’ उसले बोलायो ।
‘के भन्यौं बाबू ?’ केही नबोली उसले चौथो गिलास ल्यायो । सबैबाट अलिअलि चिउरा झिक्यो । चौथो गिलासमा हाल्यो ।
‘ल, तपाईं पनि खानुस् ।’ उसले भन्यो ।
आमाका आँखा डब्डबाए । चारै जनाले नूनचिउरा खाए ।
आमा काममा जानुभयो । त्यस दिनदेखि बिदाका दिन पनि ऊ सबेरै उठ्छ । भाइलाई हेर्छ । बिदा भन्दैन । आफ्नो काम गर्छ ।
प्रकाशित: ३२ श्रावण २०७७ ०८:४० आइतबार