कला

डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै

गजल

 विकल्प सर्वहारा

चुहिसक्यो खरको छानो घर रोयो दाजै,

डाँडापाखा, गाउँबेंसी, शहर रोयो दाजै ।

धन कमाउन हिँडे सबै जन्जाल बिर्सिएर,  

मुगलान पस्ने जमातको लहर रोयो दाजै  ।

सिस्नु उम्रियो टार बारीमा बाँझो गैरी खेत, 

धाउनै छाडे खोलानाला नहर रोयो दाजै ।

जंघार तर्दै नुनको भारी बोक्ने चलन गयो, 

भाँचिएर जाँदा तोक्मा, ढाकर रोयो दाजै ।

उर्लिएर खहरेले नछोई   दिँदा किनारालाई, 

हिउँद वर्षा आसैआसमा बगर रोयो दाजै ।

प्रकाशित: २७ श्रावण २०७७ ११:१४ मंगलबार