कला

सुमन थापा ‘संगम’का तीन कविता

कविता

सुमन थापा ‘संगम’

सपना झरेको साँझ 

अकस्मात झरेर सपना

टुक्रिएपछि असंख्य टुक्राहरूमा  

फुलमाया

तिम्रो आँखाको डिलबाट

छातिको मैदान हुँदै

स्वयं झरेकी तिमी

अल्झिएकी थियौ

मजेत्रोका हत्केलाहरूमा।  

 

हृदयको ताल फुटेर  

अनवरत बगिरहेको बिरहको बाढी

रोक्न सामर्थ्य राख्ने बाँध नभएर

जीवनको किनारमा उभिएर  

काँपिरहेकी थियौ  

तिम्रो पिडाको नमिठो सुसेली

सुनिरहेथें मैले

त्यो साँझ।  

 

फुलमाया !  

बतासको झोक्कामा ठोकिएर

फूलका नरम पातहरू काँपे जसरी  

नकपाउ ओँठ    

जीर्ण भित्ताहरू भत्किए जसरी  

नभत्क तिमी  

पहिरोसङ्गै खसेको ढुङ्गा जसरी  

हिलो र बाढी सङ्गै नखस फुलमाया।  

 

स्वीकृतिमा 

शिर हल्लाएकी थियौ तिमीले यहि ठाउँमा  

र आज बर्षौँपछि त्यही स्थितिमा

भक्कानिएर रुँदैछौ फेरि

उसैको सम्झनामा

जसले तिम्रो छाँयालाई समेत कुल्चिएर गयो

जसले तिम्रो भावनामा आगो सल्काएर गयो

कदाचित नरोउ तिमी।  

 

फुलमाया !

उसको स्र्शले भत्किएकै हौ तिमी तर  

जोगाइ राखेको तिम्रो अटल सपना

ड्ग्मगाउन नदेउ  

मायाको रुमालमा

जुनिभरलाई संगालेर  

उपहारस्वरूप  

दिएथ्यौ कसैलाई आफ्नो मुटु  

तर त्यही निर्दोष मुटु फुटेर

बगिरहेको छ आज धोकाको खोला

जुन खोला तरेर अब

सधैंलाई जान्छु नभन

ऊ फर्किनेछ एकदिन  

तिम्रो बिश्वासको भ-याङ समाएर

तिमी अब यहिँ रोकिनु पर्छ

तिमी जस्तै  

कैयौं हृदय टुक्रिएको बिश्वासको  

मल्हम बनेर ।

 

समर्पण 

कतै दूर भागेर जाला कि भनी  

स्नेहले समेटेकी थिएँ  

जीवनमाथि टेकेर अघि बढिरहने हरेक क्षणहरू

 

एकोहोरो टोलाईरहेकी मलाई

मस्तिष्कको सन्दुकबाट सुटुक्क निस्किएर  

बिचारले

सृष्टिको प्रत्येक संघार टेक्न हिँड भन्यो इशाराले

 

एकएक गरी ब्रह्माण्ड देखाउन  

क्षितिजको काँधमा घाम नाच्नु पहिले नै  

म भन्दा छिटो बिउँझिएर अघि लागे आँखाका नानीहरू ।  

 

म हिंडे यात्रामा

कहाँकहाँबाट बग्दै आएर हावाले

कानमा सुस्तरी बयान गर्यो यो सृष्टिको

 

अघि बढेँ म  

दलिनका दुबै छेउ कलश राखेर  

साइत पर्खिरहेका पाइतालाहरूले  

सृष्टि छोएर उसको मर्मभेदीहरू  

हृदयले बुझ्नु भन्यो मलाई

उसै बखत भन्यो

अगाडि बाटाहरुमा भिरहरु छन्  

पहिराहरु छन्, जोगिएर जानू भन्दै

गोडाहरूले अनवरत हिँडाए जीवनको गोरेटो।  

 

एकदिन

बादलका कपास बटुलेर  

हातहरूले बुने प्रेमको न्यानो गलबन्दी  

नदीका कलकल धुनहरु

पछ्याउँदैपछ्याउँदै कानले सुनाए

सत्य बाणीका ध्वनि तरंगहरू

श्वासले सुस्तरी संवादमा बयान गर्यो  

यो सुन्दर सृष्टिको।

 

साँझहरूका गर्भमा उज्यालो बटुलेर  

सागरले जीवनको मधुर किरण देखाउँदै  

पहाडका हृदय भिजाएर  

गुलाबी ओंठहरु खोल्दै

स्वागत गर्यो मलाई सृष्टिको अर्को बिहानीले।

 

एक युग बाँचेको स(शरिर हेरें मैले आफैँलाई

धन्यवाद छ

मलाई गति दिने मेरा प्रत्येक अंगहरुलाई।

तिमीलाई मेरो यो जीवन समर्पण गर्न चाहन्छु।

 

जन्म  

आमाको कोखबाट  

समान प्रक्रियामा जन्म लिएथ्यौं

उनी अनि मैले ।

 

आमाकै न्यानो काखमा खेल्न थालेसँगै  

फरक हुर्काईमा बाँच्न थाल्यौँ

पुरुष थिएँ म  फेर्न थालेँ तातो श्वास  

नारी थिईन ऊनी फेर्न थालीन चिसो निश्वास  

स्वरुपमा मान्छे थियौं दुबै ।

समान थियोे आँसु छुट्टियौँ स्वप्नले  

उस्तै थियोे मर्म भोगाई अलग थियो

 

शताब्दीयौं देखि  

मान्छेको दुई आँखामा नै अलग थियो हेराई

दायाँ आँखाभित्र रहेछु म  

बाँया आँखाभित्र रहिछन् उनि

 

जसै हुर्किँदै गयो जीवनको रुख  

फैलिँन थाले जराहरु

मूल जरो बनें म  

उनी मसिना जरामा सिमित भइन्

उनले टेके जति बाटो सबै साँगुरिँदै थियो

मैले टेके जति बाटो सधैं मुलबाटो भयो

हरेक गाँस, हरेक खुसी, हरेक हेराई अनि भोगाई  

अलग्गिँदै थियो हाम्रो हुर्काईमा।  

 

मैले हेर्नै सकिन  

उनलाई अध्याँरोले निल्दै गरेको  

सहनै सकिन बिभेद

 

उनको आदर्श अनन्त आकाश झैँ लाग्छ

उनको साहस चिसो हिउँ बोकेको अक्षम्य पहाड झैँ लाग्छ

उनको सहर्ष स्विकारोक्ती सागरको मौन आवाज बनेर बगे झैँ लाग्छ

उनको पिता हुँ

उनको पति हुँ  

उनको माइती हुँ  

उनको प्रेमी हुँ  

 

पुरुष हुँ म तर सत्ता होइन  

शक्ति  हुँ म तर सासक होइन  

को हो त्यो विभेदको जन्मदाता  

को हो त्यो मानिसलाई वर्गीकरण गर्ने  

सहन सक्दिन म  

किनकी

नशाहरूमा बग्ने रक्त नदी समान छ

पिडाको अनुभुति समान छ

मृत्यु पछिको निश्चरता समान छ

जिवनको यात्रा समान छ  

र समान छ हाम्रो जन्म ।

प्रकाशित: २७ श्रावण २०७७ ०६:५८ मंगलबार

अक्षर कविता