पुर्णिमा शाह
शब्दहरूले बनेका तिम्रा वाक्यहरूले
शून्य भयो मेरो मस्तिष्क
तिमीले दिएको जीवनरस पिएर
अमृत पनि तीतो भयो ।
हुन सक्छ, मगज मेरो कचौरा
तिम्रो आत्मीय साधिन्य पाएर
व्यर्थ लाग्दैछ संसार आज ।
त्यसैले स्वयं
विशाल सागरमा तैरिरहेछु
बेवारिस लाशसरि
जता पानीका छालहरूले हुत्याउँछन्
उतैउतै पानीको बहावसँगै
बगिरहेछु म ।
चेतना फर्किन्छ, मस्तिष्कमा
समुन्द्रको गहराइभित्र पुगेको हुन्छु
खेल्दछु आफैँ जलपरी बनेर
रंगीन जलचरहरूसँगै
मोती हत्केलामा लिँदै
मध्यम मन्द मुस्कुराई
स्पर्शले सुमसुमाई
नीलसमुन्द्र सतहबाट
आकाशतिर पन्छीजस्तै
उड्न पुग्छु म, फखेटा फिँजाई ।
सुमधुर लय र तालसँगै
पत्तो नपाई उड्दै बादलमाथि
ब्राम्हाण्ड अनि तारामण्डल वरिपरि
कहिले लाग्छ मलाई, म सुन्दर परी ।
म देख्छु शीत लरहझैँ,
निस्किरहेको बाफ
भित्र पुग्छु,
कहिले दनदनी बलिरहेको
ज्वालाभित्र पस्छु,
पटक्कै गुम्सिन म
न त खरानी नै हुन्छु ।
ओहो ,
पुग्न सक्छु म जता पनि
कहिले हिमालको टाकुरामा
कहिले टण्टलापुर घामसँगै मरूभूमिमा
कहिले घना जङ्गलभित्र
वृक्षहरूसँग लट्पटिँदै विशाल रङ्गिबिरङ्गी वाटिकाभित्र
सरिताको ध्वनिसँगै
पुलकित हुँदै नृत्य गर्दै
विशाल सिङ्गमरमरको किल्लाभित्र ।
लम्किरहेछु म त्यहीँ
सुनौलो सिंहासन अगाडि
समयान्तरालमा पुगेँ म
बसेँ थपक्क
हिमाली दन्त देखाई
बर्सिए फूलहरू
मेरो वदनैभरि ।
हावामा उडिरहेछ,
मेरा चित्त कपास सरी
विचारले शून्य छ मस्तिष्क
अनुभव गर्दैछु जीवन जगतको
तिम्रै जीवनरस पिएर
प्रकाशित: २४ श्रावण २०७७ ०६:२९ शनिबार