अगम विकराल
१
फूलै फूलमा पनि त खुल्नै सकिन
घातले फाटेको मन टुन्नै सकिन
भेटिएला फेरि कतै मन दिने त
कसोकसो तिमीलाई भुल्नै सकिन ।
२
जून झुमेर के भो
धर्ती खुलेर के भो
मन नै त फिका छ
फूल फुलेर के भो।
३
उदासीमा जब रहनु नै छ भने
आँसुसगै जब बहनु नै छ भने
भो प्रेमको कुरा नगरूँ हौ अब त
वियोगको व्यथा सहनु नै छ भने ।
४
आँसु मात्र छ अब त निचोर्न नआऊ
खाटा लाग्दै छ घाउमा चिथोर्न नआऊ
अब त यसरी बाँच्ने बानी परिसक्यो
म जे छु ठीकै छु फेरि बिथोल्न नआऊ ।
५
रुँदारुँदा जति नै गले पनि
घातै घातले जति नै जले पनि
यसरी पनि बाँच्निदो त रैछ नि
व्यथै व्यथाले जति नै थले पनि ।
प्रकाशित: २४ श्रावण २०७७ ०५:३८ शनिबार