कला

बायोपिक सिनेमामा मायोपिक समस्या

चलचित्र

कथाका पछाडि मात्र सिनेमा बन्दैनन्, सिनेमा बन्नुका पछाडि धेरै कथा हुन्छन्।  

कथामा बनेका सिनेमालाई फिक्सन सिनेमा भनिन्छ, तर साँचो घटना वा आत्मकथामा बनेका सिनेमालाई बायोपिक भनिन्छ, बायोपिक अहिले सिनेमा बजारमा चलेको थिम हो।  

बायोपिक दुई प्रकारले बनेका छन्, कसैको आत्मकथामा वा कसैका बारेमा लेखिएको जीवनीका आधारमा। दुइटै विषयले बोक्ने सत्यता एउटै हो– कुनै चरित्रको आत्मसत्य।  

आत्मकथ्यलाई आधार बनाएर नै बायोपिक धेरै बन्न थालेका छन्।  

प्रायः आत्मकथा जुन लेखिन्छ, त्यसमा आत्मसत्य नै पाइँदैन भन्ने गुनासो सर्वत्र व्याप्त छ। अहिले प्रायः मान्छे आत्मकथा लेख्नमै व्यस्त देखिन्छन्। उद्योगपतिदेखि सेनाप्रमुख, पूर्वराष्ट्रपतिदेखि वडाध्यक्ष, चर्तिकलाकारदेखि कलाकारसम्म, जो–कोही आत्मकथा लेखनमा आत्मलीन छन्।  

आत्मकथा लेखनको संक्षिप्त इतिहास
पश्चिमेली चिन्तक हेलेन किक्सुयसले ‘रुटप्रिन्टस्’मा भनेकी छन्, ‘सबै जीवनकथा आत्मकथाजस्तै हुने हुन्, तिनले गएर विवरणात्मक शैलीमा एउटा कथा अर्को शैलीमा भन्छ।’  

आत्मकथा लेखनको आधार वा इतिहास आठौँ शताब्दीदेखि ११ शदीका बीच जापानमा हेइयान शासकहरूमा ‘निक्की बुन्कागु’ अर्थात् स्मृति पुस्तिका राख्ने परम्पराबाट सुरु भएको मान्न सकिन्छ। आफ्ना मालिक वा मालिक्नीलाई उनका सेवकले त्यो पुस्तिका पछि उपहारस्वरूप दिने प्रचलन सुरु भयो। खोजका आधारमा सन् ९९४ देखि १००० का बीचमा सेइ सोनागनको ‘द पिल्लोबुक’ यस किसिमको पहिलो ग्रन्थ मानियो। दरबारका ढोके सोनागनले रानी सादाको टेसीका बारेमा लेखिएको यो स्मृति पुस्तिका नै अहिलेसम्मको प्रामाणिक दस्तावेज मानिन्छ।  

त्यसपछि सन् १८०० मा आधिकारिक रूपमा अंग्रेज कवि रोबर्ट साउथेले अंग्रेजी भाषामा अटोबायोग्राफी नामक शब्द प्रयोग गरेर यस किसिमको पुस्तक लेख्न सुरु गरे। सम्भवतः बायोग्राफी शब्द अंग्रेजी भाषामा प्रयोग हुन थालेको पनि यही समय हो।  

साउथेले यो शब्द सुरु गर्नुभन्दा १२ वर्षअघि सन् १७९७ मा अंग्रेजी समीक्षक इस्साक डिअज्रेलीले ‘मिसेलेनिज् अर् लिटरेरी रिक्रिएसन’ (सन् १७९६) मा सेल्फ बायोग्राफीको चर्चा गरिसकेका थिए। 

नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बिपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, सहिद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गन्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापा हुन्, यिनका बायोपिक कहिले बन्लान् ?

सेल्फ बायोग्राफीलाई सेम्युलर टेलर कलरिजले यो ‘सैक्सन् ग्रिक हाइब्रिड’ शब्द हो भनेर स्विकारेका छन्, पछि उनैले सम्पूर्णतः ग्रिक मिश्रित शब्द अटोबायोग्राफीलाई सिक्काबद्ध गरे, अटोको अर्थ स्वः अर्थात् आफू, बायोज्को अर्थ जीवन र ग्राफेनको अर्थ हुन जान्छ, लेख्नु। आफू स्वयंले आफ्नो जीवनी लेख्नु।  

बेन्जामिन फ्रांक्लिनले अटोबायोग्राफी शब्द प्रयोग गरेरै आफ्नो पुस्तक सन् १७९० मा आफ्ना पिताको निधनपछि प्रकाशित गरे। यसपछि सम्भवतः धेरै आत्मकथा, आत्मजीवनी अनि आत्मगाथा प्रकाशित भए।  

आत्मकथाको लहरमा यसै समय सन् १८४९ मा डेभिड कपरफिल्ड, सन् १८७२ मा ‘द लाइफ अफ चाल्र्स डिकेन्स्’ प्रकाशित भए।  

आत्मकथामा फरक प्रस्तावना त्यतिबेला आयो, जब एन्थोनी ट्रोल्पको ‘एन अटोबायोग्राफी’ उनको मरणोपरान्त सन् १८८३ मा प्रकाशित भयो, उनले यसमा स्पष्ट लेखेका छन्, ‘यदि महिलाको पेटिकोट घस्रिनुले मेरो रगतमा तरंग आउँछ, यदि एक बटुका रक्सीले मलाई रमणीयता दिन्छ, यदि मध्यरातमा म कुनै तमाखुको स्वादमा धर्तीको स्पर्शसितको आनन्द पाउँछु भने यदि मलाई पाँच पाउन्डको नोटले विचलित वा चिन्तित बनाउँछ भने त्यो घटनाले पाठकलाई के सरोकार ?’

उनको यो प्रश्नले आत्मकथामा ठूलो संकट र खाडल अवश्य ल्यायो, तर चिरकालसम्म रहेन। ज्याँ जुक रुसोको कन्फेसन्स, आइरिस लेखक अस्कर वाइल्डको आत्मगाथा बजारमा आइसकेपछि सिग्मन्ड फ्रायडले सन् १९०० को अन्त्यमा ‘इन्टरप्रेटेसन अफ ड्रिम’ प्रकाशन गरे।  

निक्की बुन्कागु शैलीबाट सुरु भएको आत्मकथाको पद्धतिलाई लक्षित गर्दै कुनै समय निबन्धकार मोन्टेँले भनेका थिए, ‘हरेक मान्छेमा वा ऊभित्र सम्पूर्ण मानवीय स्थिति हुन्छ नै।’ सन् १५८८ मा प्रकाशित मोन्टेँको यो निबन्धमा उनले सगर्व भनेका छन्, ‘कहिलेकाहीँ म आफ्नोबारे भन्दा सिसेरोका बारे बढी जान्दछु, यदि म सही अर्थमा राम्रो अध्येता हुँ वा हुन सक्छु भने मैले अरुका बारे झन् धेरै जान्न वा बुझ्न जरुरी छ।’  

मोन्टेँले भन्दा फरक धारणा राखेर सन् १६६८ मा ‘मेरो बारेमा’ भन्ने निबन्धमा अब्राहम कोवलेले लेखेका छन्, ‘यो कठिन र रमाइलो काम हो। मान्छेले आफ्नोबारे आफैँ लेख्नु वा आत्मसात् गरेर आफूलाई इमानदारीपूर्वक व्यक्त गर्न सक्नु। सायद पाठक कानैकानमा उसले भनेको कुरा पत्याउन सक्छ त ?’

आत्मकथाका निम्ति यस्ता धेरै चुनौती आए पनि आत्मकथा लेखनको दौड एक दिशाबाट निर्बाध रूपमा चलिरह्यो। सेन्ट अगस्टिन, ज्याँ पाल सात्र्र, विन्स्टन चर्चिल, हेनरी किलर, महात्मा गान्धी, हिटलर, चार्ली च्याप्लिन्, पाब्लो पिकासो, पाब्लो नेरुदाका आत्मकथाले बजार तताइरहे। फिल्मकार इंग्मार बर्गम्यान्, ज्याँ रेने, लुई बुनियाल, आकिरा कुरोसावा आदिले आफ्नो आत्मकथा पर्दामा र पुस्तकमा एकसाथ दिइरहे। तर, हरेक आत्मकथाले विवाद र बहस निम्त्याइरह्यो।  

संसारका केही आत्मकथा जलाउनुपर्ने अवस्थासम्म आएको थियो, केही आत्मकथा प्रकाशित भएपछि लेखकले देश छोड्नुपरेको, धर्म परिवर्तन गर्नुपरेको विकराल घटना पनि छन्।  

कमला दासको आत्मकथा ‘माई स्टोरी’ र इन्दिरा गोस्वामीको ‘लाइफ इज नो बार्गेन’ यसका उदाहरण हुन् भने सइद जाफरी, एमएफ हुसैन र सलमान रुस्दीका आत्मकथाका अलग–अलग झलक छन्। भारतमा प्रसिद्ध मानिने महात्मा गान्धीको आत्मकथा ‘माई एक्सपेरिमेन्ट विथ ट्रयुथ’ आत्मकथा नभएर अर्का (छाया लेखक) ले लेखेको जीवनकथा मात्रै हो, तर अहिलेसम्म यसलाई आत्मकथा भनेरै व्याख्या गरिन्छ, जुन गलत हो।  

लेखक जर्ज बर्नाड साले ‘जीवनी आधा झुटो हुन्छ’ भनेका छन्। त्यस्तै, विचारक युजी कृष्णमूर्तिले ‘जीवनी आधा झुटो हुन्छ भने आत्मकथा पूरै झुटो हुन्छ’ भनेर व्यंग्य कसेका छन्।

राजनीतिक जीवन बिताएका चारु मजुमदार, कानु सान्याल, राममनोहर लोहिया, भीम राव अम्बेडरका बायोपिक बनाउन नसक्ने बलिउडले धेरैपटक दाउद इब्राहिम र हाजी मस्तानको बायोपिकमा खर्च गरिसकेको छ।  

नेपालका यस किसिमका आत्मकथाको लहर २०६० सालपछि व्यापक भयो, चर्चित कलाकारको तुक्काबन्दी आत्मकथादेखि उद्योगपति व्यवसायीको अहं कथासम्म छापिइरहे र संयोगले बिक्री भइरहे।  

नेपालमा सच्चा रूपमा लेखिएको दमनराज तुलाधरको आत्मकथालाई लेखक सौरभ एक उत्कृष्ट मान्छन्, तर त्यस्तो कृति प्रकाशन गर्न सक्ने दुस्साहस दोस्रो लेखकले गर्न सकेन।  

आत्मकथाका बारेमा भारतकी प्रसिद्ध कवि उपन्यासकार अमृता प्रीतमले लेखेकी छिन्, ‘आत्मकथालाई प्रायः चम्किलो दम्किलो एकांगी सत्य सम्झिने गरिन्छ, आत्मश्लाघाको कलात्मक माध्यम, तर धरातलीय सत्यतालाई लेखकको आफ्नो आवश्यकता मानेर म भन्न चाहन्छु, यो यथार्थबाट यथार्थसम्म पुग्ने एउटा प्रक्रिया हो।’  

सिनेमामा आत्मकथा
सिनेमा आएपछि चलेका विषयमध्ये हो– बायोपिक, साइफाई र रोम–कोम। रोम–कोम पछिल्लोपटक चलेको कथा विषय हो, तर बायोपिक सिनेमा इतिहास सुरु भएदेखि नै चल्दै आएको विषय हो।

सन् १८९५ डिसेम्बर २८ देखि सिनेमा प्रदर्शन हुन थालेको हो, यसको ठीक ४५ वर्षपछि पहिलो बायोपिक सिनेमा बन्यो– ‘सिटिजन केन’।  

फिल्मकार अर्सन वेल्सले हर्मन जे म्यान्किविजको कथामा बनाएको यो बायोपिक मे १, १९४१ देखि  बजारमा आयो।  

५० वर्षसम्म सर्वाधिक सफल मानिएको अर्सन वेल्स निर्देशित ‘सिटिजन केन’ हलिउडमा मात्र नभई सर्वत्र विश्वमा चर्चायोग्य फिल्म मानिन्छ, यो सिनेमा बन्दा सन् १९४१ मा यस्तो धारको सिनेमाको कसैले कल्पना समेत गरेका थिएनन्, यद्यपि यसअघि मुक युगमा ‘लाइफ अफ् अमेरिकन फायरम्यान’ बनेको थियो, तर त्यो कुनै कृति वा जीवनीमा आधारित थिएन।  

विस्कोन्सिनको केनोसामा सन् १९३९ मा जन्मेका वेल्सले सिनेमाको पर्दामा देखाएको त्यो बायोपिकले संसारको आँखा उघारिदिएको थियो।  

एक मिडिया टाइकुनको जीवनीमा आधारित यो फिल्म धेरै किसिमले एक महत्वपूर्ण सिनेमा मानिन्छ, तर यसको प्रबल पक्ष जीवनी मात्र नभएर यसमा दृश्यित राजनीतिक जीवन वा संघर्षको झलक पनि हो।  

‘सिटिजन केन’पछि विश्वका धेरै महत्वपूर्ण व्यक्तिको जीवनीमा सिनेमा बने। आत्मकथा वा जीवनीमा विशेषगरी राजनीतिक लेप लाएका व्यक्तिको समग्र पक्षलाई समेटिन्छ।  

आत्मकथाको शृंखलामा डेविड वार्क ग्रिफिथ, सर्जेइ आइजेन्स्टाइन, आकिरा कुरोसावा, ज्याँ रेने, इंग्मार बर्गमान, चार्ली च्याप्लिन, हिच्कक, त्रुफो, गोदार आदिले कहिल्यै बायोपिक बनाएनन्। तर, विश्वप्रसिद्ध फिल्मकार सत्यजित रेले रवीन्द्रनाथ टेगोर र उनका पिता सुकुमार रेको जीवनीमा आधारित वृत्तचित्र बनाएका छन्।  

भारतका राजनीति मोहनदास करमचन्द गान्धीको जीवनीलाई लिएर यस्तै सिनेमा बेलायतका निर्देशक रिचार्ड अटेनबोरोले बनाए, यसै फिल्मबाट बेलायतले आफ्नो फिल्म इतिहासको आधा शताब्दीमा ओस्कार महोत्सवमा सबैभन्दा धेरै मान–सम्मान र पुरस्कार अनि आकर्षण बटुल्यो। पश्चिमी जगत्ले अलग्गै रूपमा चिनेका एक दुब्ला पातला, क्षीणहीन व्यक्तित्व भएका मोहनदास करमचन्द गान्धीमाथि अर्को विश्वले कसरी रुचि लिनेछ भन्ने फिल्म नबनुन्जेल कसैलाई थाहा थिएन, तर फिल्मको प्रदर्शनपछि यसका पात्र परिवेश र इतिहासले जुन सम्मान पायो, त्यो अद्वितीय थियो।  

भारतका फुलनदेवी, मलखान सिंह, मिल्खा सिंह, सरदार वल्लभभाइ पटेल, अभिनेता सञ्जय दत्त, गायिका हंसा वाडेकरको जीवनीमा धेरै फिल्म बने, तर ती चर्चामा यसकारण रहे तिनमा विवादको जरा बाहेक केही थिएन। शेखर कपुर निर्देशित फुलनदेवीको जीवनीमा आधारित ‘बेन्डिट क्विन’ प्रदर्शन भएपछि फुलनले लेखिका माला सेनलाई अदालतमा मानहानिको मुद्दा हालिन्।  

भारतमा महात्मा गान्धीपछि इन्दिरा गान्धीको जीवनीमा अर्को फिल्म बन्यो, आँधी र इन्दिरा। यी दुवै फिल्म स्वतः विवादमा आए, कारण त्यतिवेला इन्दिरा राजनीतिमा उग्र रूपमा विराजमान थिइन् भने उनका कारण देशमा इमर्जेन्सी लागू भएको थियो।  

कमलेश्वरको उपन्यास ‘काली आँधी’ तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको असफल वैवाहिक जीवन र त्यसपछिको राजनीतिक जीवनमा आधारित जस्तो भनिएको थियो, तर पूर्ण रूपमा इन्दिरा गान्धी र उनका पति फिरोज गान्धीसितको अन्तरंग सम्बन्धमा केन्द्रित थियो। यसलाई पृथक् शैलीमा फिल्मजस्तै बनाइएको थियो। पछि यस फिल्मलाई सेन्सरले रोक लगाएपछि यो सिनेमा समयमा रिलिज हुन सकेन।  

इन्दिरा गान्धीको जीवनीमा अर्को बायोपिक बन्दै थियो, जसको निर्देशन बासु भट्टाचार्यले गरेका थिए, यसबारे लेखिका अमृता प्रीतमले लेखेकी छिन्, ‘इन्दिराजीको घरको भित्तामा एकातिर मोतिलालजी र नेहरुजीका केही तस्बिर थिए। बासुदाले उनको सट लिने बेला इन्दिराजीलाई भन्नुभयो– यी तस्बिरलाई हेर्दै गर्दा जब यसमा धुलो परेको तपाईं देख्नुहुन्छ, तपाईं आफ्नो धोतीको फेरोले यो धुलोलाई पुछेजस्तो गर्नुस्। अवश्य पनि बासुदा त्यो धुलोलाई होइन, समयलाई पुछेको देखाउन चाहनुहुन्थ्यो, तर इन्दिराजीले निश्चित स्वरमा हुन्न भनेर भन्नुभयो। भन्नुभयो– बरु म डस्टर लिएर पुछ्न सक्नेछु तर धोतीको फेरोले होइन। तस्बिर कसैको होस् म कपडाले पुछ्न सक्दिनँ, मलाई फेरि साडी बदल्नुपर्ने हुन्छ। मलाई धुलोसित कुनै प्रेम छैन।’

एउटा बायोपिक बनाउँदा जीवित पात्रसित भएको यो संवादले फिल्मलाई न्याय दिन सकेन। यस्तै र अन्य यस्तै तर्क र बहसले गर्दा यो बायोपिक समयमा रिलिज हुन सकेन।  

इन्दिरा गान्धी मात्र होइन, आफ्नो जीवनी वा आत्मकथा फिल्ममार्फत बाहिर आओस् वा सत्य नै प्रकट होस् भन्ने त हरेक स्रष्टा चाहन्छ, तर कहिलेकाहीँ त्यो हानिकारक पनि भइदिन्छ।  

भारतीय सिनेमाको इतिहासमा जति पनि बायोपिक बने, त्यसमा प्रायः कथामा उद्धृत अन्य पात्रको आपत्ति वा असहजता बेलाबेला प्रकट भइरहन्छ।  

बायोपिक निर्माणका क्रममा फुलनदेवीको जीवनीमा बनेको फिल्ममा खेल्दा एउटा यथार्थवादी दृश्यमा जिउ फालेर अभिनय गर्ने क्रममा नायिका सीमा विश्वासले दिएको दृश्यका कारण उनले आफ्ना पतिसित सम्बन्ध–विच्छेदसम्म गर्नुपर्ने अवस्था आयो।  

हलिउडबाट बनेको बायोपिकमध्ये संगीतकर्मी रे चाल्र्सको जीवनीमा आधारित ‘रे’ होस् वा गायक क्विनको जीवनीमा आधारित ‘बोहेमियन ¥यापसोडी’, यिनमा निर्माण शैली फरक भए पनि भनिएको वा भन्ने तरिका एउटै हो।  

चलचित्र आफैँ कथावाचनको माध्यम भएकाले यसका सबल र दुर्बल पक्षमा कथा कसको भनिँदैछ, वा कसलाई के कारण केन्द्रीयतामा राखिएको छ, विषयमा न्याय भए पनि विषयभित्रकै इतिहासमा न्याय नहुन सक्छ, यस्तै धेरै कारण बायोपिक असफल वा साध्यहीन पनि हुन गएका छन्।  

बायोपिक बनेपछि चर्चामा आएका विश्वका केही चर्चित पात्रमा जोन एफ केनेडी र उनकै जीवनीमा बनेको फिल्म ‘जेएफके’मा देखिएका सरकारी अधिवक्ता जिम्मी ग्यार्सन, त्यसैगरी हेनरिक हैरिअरको जीवनीमा आधारिक ‘सेभेन इयर्स इन् टिबेट’का नायक र त्यस बायोपिकमा देखिएका दलाई लामा सदा चर्चामा रहे।  

दलाई लामाको जीवनीमा पछि बनेको मार्टिन स्कोरसेसीको ‘कुन्दन’मा त्यो भाव र सत्यता स्पष्ट रूपमा देख्न सकिन्छ। यस किसिमका बायोपिकमा स्कोरसेसीको आफ्नो शैली स्पष्ट देखिएन। यद्यपि उनी सिनेमायी भाषामा पोख्त भएका कारण पछि यसमा केही चामत्कारिक काम गरेर उनले यसलाई रिलिज गरे।  

फुलनदेवीको जीवनीमा बायोपिक बनाइसकेका भारतीय मूलका निर्देशक शेखर कपुरले पछि बेलायतकी महारानी एलिजावेथमा एक संगीतप्रधान फिल्म बनाए, जसका निम्ति उनले आलोचनात्मक समर्थन धेरै पाए, यसमा उनले बलिउड शैलीमा गीतहरूको संख्यात्मकताका आधारमा सिनेमामा काम गरे।  

गान्धी पछि रिचर्ड एटेन्बोरोले अश्वेत नेता स्टिभ बिकोको जीवनीमा ‘क्राई फ्रिडम’ बनाए, यो त्यति चर्चामा आउन सकेन।  

बायोपिक बनेपछि सो पात्र समाजमा कसरी जीवित रहन्छ ? वा, त्यसअघि उनको सामाजिकता के थियो, प्रसंगमा आउने हो वा होइन ? यी धेरै प्रश्नका बाबजुद चाल्र्स शोभराजको जीवनीमा पनि बायोपिक बन्ने तयारी गर्दै गर्दा उनले (स्वयं चाल्र्स शोभराज) ले रोकिदिए, यसको कारण थियो– उनी बायोपिकमा मर्न चाहँदैनथे।  

नेपाली सिनेमा जगत्मा पनि बायोपिकको अवधारणा वृत्तचित्रबाट सुरु भयो, शाही शासनकालका राजा महेन्द्रको जीवनीलाई मुम्बईबाट आएका फिल्म निर्देशक हिरासिंह खत्रीले ‘स्वराष्ट्रका हे नायक’ नामबाट बनाए।  

नेपालमा सिनेमा विकासमा अहं भूमिका निर्वाह गर्ने शासक महेन्द्रको इच्छा अनुसार प्रचार–प्रसार डिभिजनले सिनेमा बनाउन थालेपछि शाही नेपाल चलचित्र संस्थान स्थापना भयो। प्रचार–प्रसार डिभिजन र शाही नेपाल चलचित्र संस्थानको स्थापनासँगै निजी क्षेत्रबाट सिनेमा बन्न थालेपछि आदिकवि भानुभक्तको जीवनीलाई बायोपिक शैलीमा सुरु गरेर यहाँ पनि बायोपिक सिनेमाको वीजारोपण भयो।  

नेपालमा जे जति बायोपिक बनेका छन्, तिनको जीवनीमा बायोपिक बन्नुपर्ने हो कि ? वा, बनाउनैनपर्ने मान्छेका बारेमा बायोपिक बनाएर हामीले हाम्रो सिर्जनात्मक समय ह्रास गरेका हौँ, यो सोचनीय छ।  

नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बिपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, सहिद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गन्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापा हुन्, यिनका बायोपिक कहिले बन्लान् ?

यस पंक्तिकारसित समाजसेवी एवं होटल व्यवासायी कर्ण शाक्यले गायक नारायणगोपालको जीवनीमा बायोपिक बनाउने इच्छा व्यक्त गरेका थिए, तर उनले यस फिल्मका निम्ति बजेट र विषयको अवधारणापछि कुनै चासो दिएनन्।  

सम्भवतः बायोपिकका निम्ति नारायणगोपाल जतिको सही पात्र वा विषय अर्को हुन सक्दैन, तर नेपाली समाजले नारायणगोपाललाई त्यति नजिकबाट चिन्न सकेकै छैन। यसलाई पंक्तिकार मायोपिकको समस्या भन्न मन पराउँछ।  

हालै बलिउडले आफ्ना प्रिय गायक किशोर कुमारको बायोपिक बनाउने चर्चा गर्दा सरकारी स्तरबाट त्यसका निम्ति प्रशस्त सहयोग हुने आशा राखेको छ।  

राजनीतिक जीवन बिताएका चारु मजुमदार, कानु सान्याल, राममनोहर लोहिया, भीमराव अम्बेडरका बायोपिक बनाउन नसक्ने बलिउडले धेरैपटक दाउद इब्राहिम र हाजी मस्तानको बायोपिकमा खर्च गरिसकेको छ।  

सायद यो पनि अन्योलको परिणाम नै हो कि ? हामी भने त्यो अन्योलमा नपर्ने हो कि ?
०००

प्रकाशित: २४ श्रावण २०७७ ०४:२६ शनिबार

अक्षर