कला

दुई कविता

रेनुका भट्ट

जीवनचक्र

उस्तै उदाउनेछ घाम
उस्तै बहनेछ हावा
तिमीलाई कहिले चिसो
कहिले आगोको रापले तातो
बनाएर जानेछ  
तर तिमी चुपचाप चुपचाप
हिउँ, बादल, घाम, असिना, आँधीसँगै
टुक्रिँदै–जोडिँदै, जोडिँदै फेरि टुक्रिँदै
बचाउनेछौ मानव सभ्यताको बीउ।

जिजीविषा

हावाभन्दा अघि बग्नुछ भन्दै  
समयलाई धकेलेर
एकदम पछाडि  
खै कता जाँदै गरेको हो मान्छे
आफूलाई बन्द गरेर घरभित्र  
भनिरहेछ
हामी निरीह मान्छेहरू
सक्दैनौ घरबाहिर घुमिरहेको
भयानक मृत्युसँग आँखा जुधाउन।

प्रकाशित: २४ श्रावण २०७७ ०४:०७ शनिबार

अक्षर कविता