कला

माफ गर्नुस् महाशय !

कविता

रामविक्रम थापा

भरोसाको लौरो टेकेर

नउक्लेको भए यो उकालो 

चढ्थेँ र कहाँ म 

स्वाभीमानको यत्रो पहाड

ठेलिदियो बतासले

जोडबल लायो अर्कैले 

तब न चढ्यौ तिमी 

त्यो गगनचुम्बी हिमाल

चराको एकमाइलभन्दा

कमिलाको एकइन्च यात्रा नै

काफी छ जिन्दगीमा 

माफ गर्नुस् महाशय 

म चरा बन्न सक्दिन ।

भित्ताभरिका उसका प्रमाणपत्र

गलाभरिका उसका पदकहरू 

मेरो रित्तो भित्तो 

र खाली यो गला 

अटिनसक्ने प्रमाणपत्र 

र बोकिनसक्ने पदकहरू

हुन्थे होला मेरा पनि

माफ गर्नुस् महाशय

तन्त्रमन्त्रले गाल्न सक्दिनँ

म बिन्ती पत्र हाल्न सक्दिनँ ।

होचो ढोकाको कोठाभित्र

निहुरिएर पस्न म सक्दिनँ

लम्पसार परेर घिस्रिदै

त्यो कुर्सीमा बस्न म सक्दिनँ 

हात मेरो भो नसमाउm

डोरिएर हिँड्न म सक्दिनँ

माफ गर्नुस् महाशय

त्यसरी कुप्रिएर हिँड्न म सक्दिनँ ।

पर पुगेर पछि  फर्कदै

हेर्छौ तिमी सहयात्रीलाई

आफूलाई विजेता घोषणा गर्दै

विजयगीत सुनाउँछौ बतासलाई

हिँडेको त आखिर घोडा न हो

पुर्‍याएको न हो त्यहाँ तिमीलाई

खास पुगेको त घोडा नै हो

त्यो पनि मालिकको,

माफ गर्नुस् महाशय

मालिकसित मागेर

घोडा चढ्न म सक्दिनँ

आफूलाई अपाङ्ग बनाएर

अघि बढ्न म सक्दिनँ ।   

प्रकाशित: २३ श्रावण २०७७ ०४:४७ शुक्रबार

अक्षर