सुनिता गिरी
उफ !
सपना पो रहेछ
सपनामा मैले
आमालाई देखेँ ।
आमा हाँस्दै थिइन्
मलाई
सुनकेशरी रानीको कथा सुनाउँदै
म आमाको न्यानो काखमा
झकाउँदै थिएँ
अनायास
कथा सुनाउँदा सुनाउँदै
मेरो कलिलो निधारमा
तपतप खस्यो आमाको आँसु
त्यही आँसुको स्पर्शले
म झस्केर ब्युँझिएँ ।
उफ !
सपना पो रहेछ
सपनामा मैले
आमालाई देखेँ ।
सपनामा त म
बालिका नै रहेछु
मेरा ससाना रहरहरु
रङ्गीचङ्गी फूलहरुजसरी
पाखापर्वत
फूलबारी अनि जङ्गलहरुमा
फूलिरहेका थिए
मेरा सपनाहरु
थरीथरी पुतलीसरी
फूलबारीहरुमा उडिरहेका थिए
ती फूल, पुतली
र आकाशमा टाँगिएका इन्द्रेणी देखाउँदै
आमाले मलाई कर्मको आँगन
र पराया मानिसबारे
उदास भएर बताइन्
हिँड्दा यात्रामा
लडिएछ भने कतै
फेरि उठेर हिँड्ने भरोसा दिइन्
त्यसरी
उपदेश दिँदा दिँदै
अनायास
मेरो कोमल छातीमा
थपक्क खस्यो आमाको शिरको फूल
त्यही फूलको स्पर्शले
म झल्याँस्स ब्युँझिएँ ।
उफ !
सपना पो रहेछ
सपनामा मैले
आमालाई देखेँ ।
यत्तिखेर
आफँैँ आमा हुँ म
हिजो आज
मेरी छोरीको हरेक सपनामा
म हातमा फूल समातेर
हाँस्दै हाँस्दै उभिएकी हुन्छु ।
प्रकाशित: २१ श्रावण २०७७ १२:४८ बुधबार