कला

आमा

कविता

 अशोक दवाडी अतीत

कथा लेख्न बसे

 अलिअलि गजल

एकदुईओटा उपन्यासमा पनि कलम मजैले चल्यो 

संसारलाई वर्णन गर्न सके 

तिमीलाई खुशी बनाउँछु 

तिमीलाई सधैं सुखी बनाउँछु 

भन्न त बहुत भने आमा 

तर तिम्रो मायाको 

तिम्रो त्यागको 

तिम्रो संसार र 

क्षेत्रफलको बारेमा मैले कैले लेख्न सकिन ।

हिजोका मितिमा एक बथान कलिला खुशीहरु

आएर आपसमा झगडा गर्दै हुन्थे  

कोही तिमी मेरी हौ भन्थे  

कोही त्यसै लुटुपुटु गर्थे

तर नि सबैलाई तिम्रो न्यानो स्पर्श  

परेकै थियो ।।

तर ती स्पर्शहरू

ती तिम्रा आगनमा गुञ्जने 

चिरबिर आवाजहरूले 

बसाई सारेका छन्

आज तिम्रो आवाज कर्कश लाग्छ

तिम्रो धोती ठुस्स गनाउँछ

तिम्ले कनीकुथी कोट्याएका

एक माना रहर रहरमै सकिन्छ

तर

तिम्ले शहरसम्म पोको पर्दिन्छौ

एक मुरी अनतीको चामल

तिम्रो आँगनमा आजभोलि  

खुशी मुस्किलले भित्रिन्छ ।।

तिमीलाई कहिल्यै घाम चर्को भएन  

 घरभरि मुस्किल थिए झर्को भएन  

मारेर आफ्ना रहरहरु थियौ अझै खुशी  

कहिल्यै आङमा गतिलो सर्को भएन  

तर पनि थियौ कत्ति खुशी आमा ।।

प्रकाशित: २१ श्रावण २०७७ १०:१० बुधबार

अक्षर