कला

राजेन्द्र थापाका मुक्तकहरू

राजेन्द्र थापा

 

संविधानबाट ‘संबि’ झिकेर  बचेको ‘धान’ लगेर सुदूरमा खुवाइयोस्

कानूनबाट ‘का’ झिकेर बचेको ‘नून’ लगेर कर्णालीमा पुरयाइयोस्

लोकबिनाको लोकतान्त्रिक नेतामुखी नयाँ संविधान नेपालले पाएकोले

नेपालबाट ‘ने’ झिकेर बचेको ‘पाल’ लगेर सुकुम्वासीको छाना छाइयोस् ।

 

आफू सुन चर्नु हुन्छ कर्णालीमा किन नून छर्नु हुन्न  

सय वचन दिए पनि यौटै किन पूरा गर्नु हुन्न  

गरीवलाई मात्र शहीद बनाउन खप्पिस तपाईंहरू

सयचोटि गरीब मर्दा एकचोटि किन मर्नु हुन्न ।

 

ममचा नि प्रजातन्त्र झैं छिट्टै सेलाउँछ तेसैले तात्तातै खाइन्छ

सडक कुनाकाप्चा जाँ नि जैले नि फालाफाल पाइन्छ

प्रजातन्त्रलाई झैं ममचालाई पनि बाह्य सहयोग चाहिन्छ  

त्यसैले गलेका ढलेका राँगाभैंसी पनि इन्डियाबाटै ल्याइन्छ ।

 

दक्षिणाकैै लागि दक्षिण फर्की प्रणाम छ  

दक्षिणा नपाए दक्षिणै फर्की तथानाम छ

यो तन्त्र हो कि मन्त्र हो कि षड्यन्त्र  

जित्नेको बदनाम छ हार्नेको धूमधाम छ ।

 

टन्न चुस्छौ कुर्सीमा घुस्छौ तर उडुस हैनौ

जिन्दावाद मुर्दावाद भन्छौ तर जुलुस हैनौ

जनताको दैलो र सरकारी थैलो हेर्दाहेर्दै

एकछिनमै सिनित्तै पार्छौ तर बुरुस हैनौ ।

 

यौटा दल भन्छ उठ युवा बम गोला बोक

अर्को दल भन्छ उठ युवा नेताको झोला बोक

होसियार युवाहरू कि पूरै देश बोक सक्छौ भने

कि आफैले टेकेको पैतालाको माटो एकतोला बोक ।

 

उताबाट यता  सारिएको छ रे जङ्गे पिलर

पारिबाट वारि तारिएको छ रे जङ्गे पिलर

सारिएको हैन बरु आफ्नै देशमा पठाएर

वास्तवमै सुरक्षित पारिएको छ रे जङ्गे पिलर ।

 

मालिकले खेल्ने हामी तासहरूको जात

संवेदनाविहीन हामी लासहरूको जात

प्रभुपादमा जल चढाएर चन्दन थाप्न

तँछाडमछाड गर्ने हामी दासहरूको जात

 

सत्ता भोकाउनेलाई मात्तेको कुर्सी ठूलो

भात भोकाउनेलाई पाकेको फर्सी ठूलो

खुट्टा बजारी देश घोकेर निस्किएपछि

म बूढो हल्दारलाई  फाटेको जर्सी ठूलो ।

 

जसलाई आशीर्वाद छ उसैका हाता स्टेरिङ क्यार्नु

लोेकतन्त्र भनेकै रै’छ त नि पावर सेरिङ क्यार्नु

हारे नि या चुनावबाट भागे नि सत्ता उसैको  

जोस रै’छ हल्लाउने पुच्छर र हान्ने सिङ ।

प्रकाशित: २० श्रावण २०७७ १०:५९ मंगलबार

अक्षर