कला

अक्षर राजनीति

विद्याप्रसाद घिमिरे

संसार परिवर्तशील छ, समयले मानिसको चेतमा पनि ठूलो परिवर्तन ल्याएको छ । परिवर्तनले हिजो र आजको जीवनमा व्यापक भिन्नता ल्याइदिएको छ । हिजोसम्म जुन संस्कृति र परम्परालाई मानिसले सामाजिक व्यवस्थाको अभिन्न अङ्ग मान्दै आयो, समयको चक्रसँगै ती मान्यता खण्डित भएर नयाँ मान्यता स्थापित हुँदैछन् । जीवनको सम्बन्धमा अस्तिको मानिसले बनाएको परिभाषा र परम्परालाई हिजोको मानिसले भताभुङ्ग पारेर आफ्नै ढंगले व्याख्या गरयो । ती सबै परिभाषा आज फेरि बदलिएको छ ।

अस्तिसम्म मातृसत्तामा रहेको समाज हिजो पितृसत्तामा गयो । हिजोको कट्टर पितृसत्तामा हाल मिश्रित लक्षण देखिँदैछ । समाज फेरि मातृसत्ताको सँघारमा उभिएको छ । मातृसत्ता, पितृसत्ता, नारीप्रधान, पुरूषप्रधान यी सबै अधिकारसँग सम्बन्धित विषय हुन् । साँच्चै भन्ने हो भने विवादै गर्न नपर्ने विषय हुन्। महिला र पुरूषबीच प्रकृतिले नै भेद गरिदिएको छ भने अधिकारमा पनि प्रकृतिअनुसार केही न केही तलमाथि त भएकै छ । यही प्राकृतिक विभेदलाई अघि सारेर यहाँको हरेक पुस्ता अधिकारको वहस गरिरहन्छ ।

अधिकारको तराजुमा कहिले पुरूषको पल्ला भारी त कहिले महिलाको । तसर्थ हामीले देख्दै आएको यो परिवर्तनलाई समयकै खेल ठानिदिए फरक पर्दैन । केही मानिस समय कटाउन केही न केही गरिरहन्छन् । किनकि उनीहरूलाई समय आफैले चलाएको हुँ भन्ने अहम् छ । तर समयले नै मानिसको आयुलाई काट्दै  गइरहेको हुन्छ । मानिसको इच्छामा समय चल्दैन, उल्टै समयले आफ्नो चाहनाअनुसार मानिसलाई नचाउँछ । यसर्थ कसैले चाहेर होस् वा नचाहेर, समयले आफ्नो अन्तर्गर्भबाट परिवर्तनलाई जन्म दिन्छ र आफैमा विलिन गराउँछ पनि ।

सभ्यताको आरम्भदेखि पूर्वीय समाज धार्मिक मान्यताबाट निर्देशित रह्यो । धर्मको प्रभावले होला, हिजोको समाज नारीप्रति निकै उदार थियो । प्रमाण र उदाहरणका लागि पूर्वीय दर्शन र पौराणिक कथा पर्याप्त छन् । पुरूषको नामभन्दा नारीको नाम अगाडि राखेर लक्ष्मी–नारायण, सीता–राम, राधा–कृष्ण, शिव–पार्वती, उमा–शङ्कर आदि नामबाट सम्बोधन गर्ने परम्पराले पूर्वीय समाजको विगत नारीप्रधान थियो भनी देखाउँछ । महाभारतमा एक नारीले  आफू  केन्द्रमा रहेर पाँच पुरुषलाई परिधिमा राखेको कथा छ । सोही ग्रन्थमा पुरूषलाई नारीको नामबाट ‘कौन्तेय’ ‘गङ्गापुत्र’ आदि सम्बोधनले बोलाइने प्रसङ्ग छ । यी उदाहरणले विगतमा नारीको सम्मान उच्च रहेको देखाउँछ ।

परिवर्तनको यो चक्रलाई “कहिले सासूको पालो त कहिले बुहारीको पालो” बनाएर समयले चलाइरहेको छ । केही बाठाटाठाले यसैलाई अधिकारको मुद्धा बनाएर नारी र पुरूष दुवैलाई द्वन्द्वमा होमिदिएका छन् । यही द्वन्द्वको मारमा अहिले समाज कित्ता–कित्तामा बिभक्त हुँदैछ । समाजमा द्वेष सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्नका निम्ति राजनीतिका खेलाडीले बनाएको चेसमा हामी हात्ती, घोडा र प्यादा बनेर लडिरहेका छौं ।

अहिले प्रयोगमा आएका केही शब्द यस्ता छन्, जुन कुन प्रयोजनका लागि आएको हो, कसैलाई थाहा छैन । हामी कतिसम्म क्षुद्र विषयमा राजनीति गर्छौ त्यस दिशामा पनि दृष्टि दिन जरूरी छ । केही वर्षअघिसम्म जहीँतहीँ प्रयोगमा रहेको ‘आइमाई’ शब्द अहिले नजानिँदो गरी लोप बनाउँदै लगिएको छ । औपचारिक तवरमा यो शब्द बोल्न र लेख्न नै प्रतिबन्ध लागेको अवस्था छ । यो कुनै भाषाविद्ले लगाएको बन्देज नभई विशुद्ध राजनीति हो । राजनीति गर्ने अन्य विषय नपाएर उठाइएको बखेडा हो । हामी हरेक कुरोमा राजनीति गर्छौं र अलि बढी नै गर्छौं ।

महिलालाई आदरपूर्वक सम्बोधन गर्न हाम्रा पूर्वजले “आइमाई” शब्द प्रयोगमा ल्याएका हुन् । ‘माई’ शब्दले माता वा देवीलाई बुझाउँछ । मनकामनामाई, चुरीयामाई, छठीमाई आदि यसका उदाहरण हुन् । ‘आई’ को अर्थ आया वा काम गर्ने महिला हो । तसर्थ समग्रमा आइमाईको अर्थ ‘कर्मकी देवी’ वा ‘कर्मकी माता’ भन्ने हुन्छ । मन्दिरमा रहने माता आस्थाकी प्रतीक हुन् भने ‘आइमाई’ कर्मशील माता हुन् । यिनै माताले मन्दिरको माताको प्रतिष्ठा जोगाएकी हुन्छिन् । यिनले प्रकृतिको सीमाभित्र रहेर बालकलाई जन्म दिन्छिन् । स्याहारसुसार र लालनपालन गरी सो बालकलाई सक्षम नागरिक बनाएर समाजमा स्थापित गराउँछिन् ।

“खाली दिमाग शैतानको घर ।” मिलेर बसेको समाजलाई द्वन्द्वमा धकेल्ने निकृष्ट कर्मलाई खाली दिमागकै उपज मान्नुपर्ने हुन्छ । यो ‘आइमाई’ शब्दमाथि पनि यस्तै “खाली दिमाग” को आँखा परेको हुनुपर्छ । यति महान भाव दिने “आइमाई” शब्दमाथि कुनै शैतानलाई राजनीति गर्ने भूत सवार भयो र सुरू गरिदियो बेअर्थ विवाद । अहिले सरकारी कामकाज वा कुनै औपचारिक कार्यक्रममा कसैले स्त्रीलाई नारी वा महिला नभनी झुक्किएर ‘आइमाई’ शब्द प्रयोग गरयो भने उसले मुद्धा खेप्नुपर्ने अवस्था छ ।  

‘आइमाई’ शब्द नेपाली भाषामा प्रयुक्त हुँदै आएको झर्रो शब्द हो । संवादको भावबमोजिम यो शब्द प्रयोग गर्दा कसैलाई आपत्ति हुनु नपर्ने हो । गालीमा प्रयोग हुने शब्द होइन भने त्यसलाई संवादमा प्रयोग गर्न मज्जाले मिल्छ । सनतनदेखि चलिआएको एउटा शब्दमा उठेको यति सारो विवादमा चित्तबुझ्दो तर्क एउटै भेटिँदैन । तर यही विवाद अहिले सगरमाथाको शिखरमा छ । यस्तो अर्थहीन विवादले हामीलाई कहाँ पुरयाउँछ ? के यही एउटा शब्द हाम्रो सामाजिक रूपान्तरणमा बाधक बनेको थियो ? यो शब्द हटाएको दिनदेखि हाम्रो वैयक्तिक, सामाजिक र आर्थिक जीवनमा कायापलट भएको छ ?

शान्त समाजमा नौलो तर्क अघि सारेर राजनीति सुरू गरिदिने हो भने समाज अशान्त बन्न समय लाग्दैन । हाम्रो राजनीतिको मूल अभिष्ट भनेकै शान्त समाजलाई अशान्त बनाउनु भएको छ । नयाँ नेपालको अवधारणा  राजनीतिक उपज हो भन्नेमा कसैको बिमति छैन । साविक नेपाललाई नयाँ नेपालमा रूपान्तरण गर्नु छ भने सबै पक्षमा फेरबदल गर्नुपर्छ भन्नेमा एउटा वर्गले जोड दियो । भविष्यमा यसले कस्तो तरङ्ग उत्पन्न हुन्छ भन्ने तर्फ कसैको ध्यान गएन ।  

पुरानो सबै फेरबदल गरेपछि नयाँ नेपाल बन्छ । यही मानसिकता पालेका सनकी जत्थाको सनकमा नेपाली भाषा पनि पिल्सिन पुग्यो । अन्य क्षेत्रलाई जसरी भाषामा पनि परिवर्तन गर्नुपर्छ भन्ने सोच नै गलत थियो । यसले भाषाप्रेमीहरूमा तरङ्ग ल्याइदियो र प्रकारान्तले भाषा आन्दोलनको स्वरूप लियो । अन्य क्षेत्रमा परिवर्तन गरेझैं भाषालाई परिवर्तन गर्नु गलत रहेछ भनेर बुझ्न त्यसबेलाका नीति निर्मातालाई वर्षौं लाग्यो ।

भाषामाथि गरिएको राजनीतिले ल्याएको समस्या अहिले सतहमा देखिन थालेको छ । बालबालिकालाई अक्षर चिनाउन प्रयोग हुने नेपाली वर्णमालाको अवस्था अहिले हेरिसाध्य छैन । सुरूका दिनमा ‘ग’ चिनाउन प्रयोग हुने ‘गणेश’ केही वर्षअघिसम्म ‘गमला’ थियो, अहिले ‘गधा’ भएको छ ।  

बालबालिकालाई भाषा बुझाउन प्रयोग हुने अक्षर किन परिवर्तन भयो त ? कारण बुझ्दा वर्णमाला बनाउने जिम्मा पाएको भाषा सुधार समितिले यसबारे अनेकौं निर्णय गरेको पाइयो । जुन निर्णयमा “केही वर्षअघिसम्म नेपाल हिन्दूराज्य थियो । त्यसबेला ‘ग’ चिनाउन चित्रसहितको ‘गणेशजी’ राख्दा कसैको बिमति थिएन । सिङ्गो राष्ट्र नै धर्म निरपेक्षमा गइसकेको विद्यमान अवस्थामा ‘गणेश’ शब्दबाट ‘ग’ अक्षर चिनाउने कार्य गैरसंवैधानिक ठहरिने हुँदा परिवर्तन गर्न उचित हुने” तर्क देखियो ।

बिगतमाझैं गमलाबाट नै ‘ग’ चिनाउने विषयमा छलफल हुँदा गमलामा पनि कुनै अमुक धर्मको धङ्धङी देखिएको पाइएपछि निरपेक्ष शब्द खोज्दै जाँदा ‘गधा’ शब्द भेटिएको रहेछ । ‘गधा’ कुनै धर्मविशेषको स्वामित्वमा नपर्ने देखेर नै ‘गधा’ शब्दबाट ‘ग’ अक्षर चिनाउने गरी वर्णमालामा राखेको पाइयो । यस्तो श्रैष्ठतम् दिमागलाई नमान्नु पो कसरी ? छोराछोरीलाई अक्षर चिनाउन भोलि आफ्ना सन्तानले एकएक अक्षरमा यति झमेला उठाउनुपर्ला भनेर हाम्रा पुर्खाले सोचेका होलान् त !

हरे ऽऽ   मुरख्याइँ  र पागलपनको पनि एउटा सीमा हुन्छ । बितेको केही वर्षयता आफ्ना सबै मूल्य र मान्यताका सीमा हामीले पार गरिसकेका रहेछौं । हामी कुन बाटो हिँड्दैछौं र गन्तव्य कहाँ हो ? बताउन सक्ने कोही छैन । जताततै ‘कुहिराका काग’ भेटिन्छन् । के यस्तै झिनामसिना विषयमा अल्झेर समय कटाउन र भत्ता पचाउनकै लागि होला त यो राजनीतिक परिवर्तन ? एउटा बालकले ‘ग’ अक्षर चिन्ने सवाल हो, गणेशबाट चिन्दा के फरक पर्छ ? गधाबाट ‘ग’ चिनेको मानिसले जिन्दगीभर गणेश भन्नै नपाउने गरी निषेध गर्न मिल्ने पनि त होइन । गधा ‘ग’ भन्न हुँदा गणेश ‘ग’ भन्न किन नहुने ?

केही वर्षअघिसम्म ईश्वर चिनाउन प्रयोग हुने ‘ई’ स्वरवर्ण अहिले ‘इँटा’ भएछ । ‘ईश्वर’ चिनाउन त ‘ई’ नै सुहाउँदो थियो नि ! ‘ईश्वर’ कुनै धर्मको वपौति होइन । सबै धर्म सम्प्रदायमा ‘ईश्वर’ हुन्छन् नै । तर यहाँ समस्या बनेर चित्र ठडिएछ । ईश्वर चिनाउँदा अक्षरको साथमा चित्रसमेत राख्नुपरयो । तर कस्को चित्र राख्ने ? शिव राख्ने कि बुद्ध; क्राइष्ट राख्ने कि मोहम्मद ! समस्याको विकल्प बनेर ‘इँटा’ आएछ, तर अझै समस्या सुल्झिएको देखिन्न । किनकि ‘इँटा’ शब्दले ‘ई’ होइन चन्द्रबिन्दुसहितको ‘इँ’ चिनाउँछ । ‘इँटा’ हेरेर अक्षर चिनेको बालकले ‘ई’ कहिले चिन्छ र कुन चित्र हेरेर चिन्छ ? यसको उत्तर वर्णमाला निर्मातासँग छैन ।

देख्दै अत्यार लाग्ने यस्ता समस्या नेपाली वर्णमालामा कति–कति ? पहिला ‘छठ’ चिनाउने ‘छ’ अहिले ‘छाता’ चिनाउने पो बनेछ । छठ हिन्दू पर्व हो । अहिले हिन्दूवादको गन्धसम्म आउने शब्दलाई अक्षर चिनाउने प्रयोजनमा राख्न पाइन्न । हालको वर्णमालाको माध्यमबाट अक्षर चिनाउने हो भने बालकले ‘छ’ चिन्नुअघि ‘छाता’ बाट ‘छा’ चिन्छ । हामी हिँड्न नजान्ने बालकलाई दौडाउन खोज्दैछौं । आखिर यो हतारो किन ? हिँड्न नजान्नेलाई दौडाउन खोज्दा पछारिने डर त हुन्छ नै ! तर यो सब बुझिदिने कसले ? सबैलाई राजनीति गर्दै फुर्सद छैन । भोलि देश सम्हाल्ने पुस्तालाई बज्रस्वाँठ बनाउने अभियानमा राजनीति गर्नेदेखि विद्वानसम्मको लर्को देखिन्छ र अभियान सफलतातिर लम्कँदो छ ।

केही अघिसम्म ‘आमा’ चिनाउने ‘आ’ अहिले ‘आगो’ मा परिणत भएछ । आगो सबैको साझा हो, आगोमाथि सबै धर्म र सम्प्रदायको समान हक छ । यसो त हिन्दुत्वको गन्ध आयो भनेर ‘आमा’ शब्दलाई नै वर्णमालाबाट हटाइनु बौद्धिक तर्क होइन । किनभने ‘आमा’ धर्मको उपज होइन, यो त प्राकृतिक हो । हरेक धर्ममा आमा हुन्छन् तर आश्चर्य अक्षर राजनीतिले ‘आ’ चिनाउन प्रयोग हुने ‘आमा’ लाई खर्लप्पै निलेछ ।

उहिल्यै ‘म’ चिनाउन चित्रसहित ‘मन्दिर’ देखाइन्थ्यो, पछि मकल ‘म’ बन्यो । अहिले त्यो स्थान ‘मम्मी’ ले ओगटेर बस्नुभएको रहेछ । ‘आमा’ शब्दमा हिन्दूवाद देख्नेले ‘मम्मी’ मा कुनै वाद देख्न नसक्नु कस्तो बिडम्वना ? उहिल्यै ‘आमा’ चिनाउन सौभाग्य पाएको ‘आ’ लाई अहिले ‘मम्मी’ चिनाउने ‘म’ अक्षरले विस्थापित गर्नु आश्चर्य हो ।

पुरानो वर्णमालाको ‘डमरू’ ‘ड’ नयाँ वर्णमालामा ‘डन’ ‘ड’ बन्यो । शिवजीको त्रिशूलमा त्यति राम्रोसँग बसेको डमरूलाई हटाएर शरीरभरि मासुका डल्ला भएको, कालो चस्मा र ह्याट लगाएको ‘डन’ देख्दा आश्चर्य नमान्नु पो कसरी ? वर्णमाला बनाउँदा त्यहाँ राखिएका शब्द, चित्र र त्यसले पुरयाउने असरलाई विचार गरिनुपर्छ । अक्षर चिनाउँदा प्रयोग हुने चित्र र चित्रभित्रको भावले बालमस्तिष्कलाई सही बाटोतर्फ डोेरयाउन सक्नुपर्छ । अक्षरै चिनाउने त हो, जसरी पनि चल्छ भन्दै जबरजस्ती शब्द र चित्र राख्दै जाँदा भोलिको पुस्तामा नैतिकता हराएर जान्छ । भरखर अक्षर चिन्ने बालकले शिवजीको डमरू चिन्नुअघि ‘डन’ चिन्नुपर्ने स्थितिलाई कसरी लिने ? यसले नयाँ पुस्तालाई कतातिर लैजान्छ ? भाषामा देखा परेको यो बेथितिलाई देखेको नदेख्यै गरे अस्तव्यस्त निम्तिनेछ । भाषाको यो बेथितिले नेपालीको भविष्य अभिसप्त नबनोस् । यति मात्र कामना गर्न सकिन्छ ।

प्रकाशित: १८ श्रावण २०७७ ११:३० आइतबार

अक्षर