कला

मसानमा एकछाक

नियात्रा

दामोदर पुडासैनी किशोर

उकालो चढ्न सक्यौं भने मात्र भेटिनेछ उमङ्ग यत्रतत्र ।

जीवन बगिरहेछ - कहिले उकालो र कहिले ओरालोमा । जीवननदीको गति आफ्नै र अर्थपूर्ण हुनुपर्छ भन्ने पक्षमा लागिरहेको छु म । अप्ठेरोका बगरहरू, विवशताका आँधीहुरीहरु र अवरोधका मोडहरुमा भुइँचालो ल्याउने पक्षमा छु म । अँध्यारोसँग, युद्धसँग र फजितिसँग लाप्पा नखेल्ने हो भने अर्थ रहँदैन जिन्दगीमा कुनै सपना देख्नुको ।  

जिन्दगी चिन्न चिन्नुपर्ने रहेछ अरुको जिन्दगी । जिन्दगी बलियो बनाउन बलभन्दा धेरै भिड्नु पर्नेरहेछ समस्याका शृङ्खलाहरुसँग । जिन्दगीको भिडाइको क्रममा भेटिरहेछु हुम्लाका धावा बोल्ने हाँगाहरुसँग ।  

‘यात्राको अभियानमा जुट्ने हो भने जीवन्तता नहुने ब्रहमाण्ड छैन’- यस्तै बुझिरहेछु हुम्लाको हृत्कम्प छाम्दै अघि बढ्दा ।  

सपनासरि फैलिंदैछन् यात्राका पाइलाहरु ।

बिहान उठ्दा त अर्कै भइसकिछौ तिमी । हिजो साँझ तिमी र म सँगै सुत्यौं । साँझ तिम्रा निधारहरु मात्र सेता थिए, चम्किला थिए । तलतिर कालो मुहार र अझ तल हरियो पटुकीमा सजिएकी थियौ । रातमै तिमीलाई ओल्टाइकोल्टाइ पार्न चाहन्थें म । बेला बेलामा उठ्थें । झ्यालबाट चियाएर हेर्थें । तिमी निदाएकी थिइनौं । स्वाँस्वाँ सुसाउँथ्यौ । आकाशको जून लोभिदैथ्यो तिमीसँग । म के गर्दैछु त्यो पनि तिमीले थाहा पाइनौ । थाहा पाएर पनि वास्ता गरिनौ । आफ्नै काखमा लडिबुडी गरिरहेको प्रेमीलाई वास्ता गर्नु र नगर्नुको के अर्थ । वास्ता नगर्नु भनेको पूरै वास्ता गर्नु हो प्रेममा । म तिम्रो शिर हेर्दै निधार हेर्थें । अँध्यारोभित्र लुकेर हेर्थें । लुकेर हेर्दाहेर्दै स्याउहरुमा ठोक्किन्थें । सूर्यमूखीहरु मेरो चाला देखेर लज्जावती बन्थें । तिम्रो सौन्दर्यको सामु मेरो निदको के अर्थ । मेरा सपनाहरुको के अर्थ ? म रातदिन जागा बनिरहेछु हुम्ला, तिम्रो चुलबुले आनीबानीहरुमा ।

आँगनमा ओर्लनै पाएकी थिइनन् मिर्मिरे । हेर्दाहेर्दै पूर ैहिउँका श्वेत वस्त्रले ढाकियो तिम्रो वक्ष । सिमकोटमा म उभिएको थिएँ । चारैतिरबाट क्वारक्वारती हेर्नथाले मलाई चाँदीका पर्खालहरुले । हेर्दाहेर्दै एकरातमै तिम्रो सर्वाङ्ग हिममय हुनु मेरो लागि चमत्कार थियो । तिम्रो हिमज्योतिको अँगालोमा बेरिंदा मैले जिन्दगीलाई अझ जिम्मेदार र अझ उज्यालो देख्न थालिरहेछु ।  

रातसँगै च्यातिएछन् आलस्य र निद्रा । आँखाको पहिलो स्पर्शमा फरक समय उदायो बिहानी रङ्गमा । चाँदीका वस्त्रहरु चाँदीका पटुकी र चाँदीले टमक्क टालिएको तिम्रो स्वरूपभित्र धेरै बुनें मैले जिन्दगीका जमराहरु ।  

जित्नेहरुका लागि हो जिन्दगी । हार्नेहरु लखेटिन्छन् जिन्दगीबाट ।

मेरो साथमै पुगेका महेश भाइले तिम्रो हरक थेग्न सकेनन् । पुगेको पाँच दिनसम्म हल्का महसुस गर्न सकेनन् उनले । म तिम्रो, महकमा मात्तिएको छु, भाइ तिम्रो हरकमा आत्तिएका छन् । तिम्रो सुगन्ध र सप्तरङ्गमा मात लागेको छ मलाई, तिम्रो सुगन्ध नै गन्ध सावित भइरहेछ कसैलाई । तिम्रा उचाइहरु कसैका लागि पीडा र कसैका लागि बरदान हुने रै’छन् । पाँचदिनमा बिचरा भाइको दुईपटक नाथ्री फुट्यो । टाउको दुख्ने र वाकवाक लाग्ने त भइरहयो निरन्तर ।  

अघिल्लो साँझ भाइ र म पाउबाडाको उकालो चढ्दै थियौं । ‘सर मेरो सबै शरीर नीलो भयो’– एउटा कम्पन निस्कियो महेश भाइबाट । हेर्छु । सबै शरीर सर्पले डसेझैं नीलो छ । बोलीमा हडबडाहट छ, शरीरमा चिडचिडाहट छ । तुरुन्तै भाइलाई अस्पताल लगें । डा. सर्बैेस शर्माले भन्नुभयो– ‘अल्टिच्युडको शिकारमा पर्नुभयो भाइ । तुरुन्त हुम्लाबाट फर्काउनुपर्छ । अन्यथा गाह्रो छ ज्यून ।’ अक्सिजन दिइयो । भाइ अलि ठीक त बने तर कुनै पनि बेला फेरि लेक लाग्न सक्ने डाक्टरको भनाइले भने तर्साइरह्यो । प्रमुख जिल्ला अधिकारीलाई विषयको गम्भिरता जानकारी गराएँ  उहाँले सबैेरै मगाइदिनुभयो हेलिकप्टर । नेपालगन्ज ओर्लनेबित्तिकै शरीर पूरै शान्त, खुशी र हल्का महसुस गरें । मृत्युको मुखबाट बलजफ्ती बाहिरिएँ सर’ — एउटा उत्साह र जीवनोदयको उज्यालो पोखे भाइले नेपालगंजबाट फोनमा । उचाइमाथि उभिएर सारा शिखरहरुलाई जित्नुपर्छ भनिरहेछु म ।

हार नखाएसम्म फैलिरहन्छ पारिलो घाम जीवनमा ।  

‘हजुर म रणशुर गुल्म, रानीवनको मेजर दिनेश रजौरे  । हामीहरु खार्पुनाथ जाँदैछौं । हजुरको पनि फुर्सद छ भने सँगै जाउँ कि ?’  एउटा विनम्र निम्ता आएको थियो अघिल्लो दिनमै । ‘यात्रा, खरिद र भेटघाट गर्ने मौका छुटायो भने पछुताउपर्छ आखिरमा, त्यसैले छुटाउनु हुँदैन यो मौका’— स्वीकृतिको सङ्केत सम्पे्रषण गरें मैले दिनेशजीलाई । बिहानको कलिलो उज्यालामै टुप्लुक्किनुभयो मेजर मेरो अघिल्तिर ।  

‘हाम्रो सुविधाका लागि एउटा बन्दोबस्ती टोली खार्पुनाथ पठाइसकेको छु, बिस्तारै जाऊँ हजुर, हतारले थकाउन सक्छ शरीरलाई’—सैनिक अनुशासनलाई अदवपूर्वक प्रस्तुत गर्नुभयो मेजरले ।  

हुम्ला पुगेदेखि नै धेरैको मुखबाट सुन्दै थिएँ म खार्पुनाथ ।  

 राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत उत्तम खनाल, सुवेदार जनक केसी र हुम्लाका पत्रकार जयबहादुर रोकाया पनि पर्खिरहनुभएको रहेछ मलाई ।  

खार्पुनाथ हुम्लाको एउटा चल्तिको तीर्थस्थल । कर्णाली नदीको किनारमा प्रतिष्ठापित हिन्दूहरुको एउटा आस्थाबिम्ब ।  समुद्र सतहबाट सिमकोटको उचाइ नौ हजार पाँचसय फिट रहेकोमा खार्पुनाथ त्यस्तै चार हजार फिटको उचाइमा । सधैं शिखरमा बसिरहँदा कहिलेकाहीँ रहर हुँदोरहेछ फेदीमा पनि लडिबुडी खेल्न । फेदीका मान्छेहरु चुचुुरालाई शाहससँग साँध्न चाहन्छन् । शिखरका बिजेताहरु फैलिन चाहन्छन् समथरमा पनि । समथरको स्वप्निल सौन्दर्यलाई शिखरको सोलोडोलोसम्म मिलाउन हामी ओरालो झरिरहेछौं । ओरालो झरेपछि मात्र अवगत हुँदोरहेछ उचाइको उज्जरता ।  

रेखाहरु बाटो बनेका देखिन्छन् पहाडका पटुकी जस्तै । हामी रेखामाथि हिंडिरहेका लेडिवर्ड बनिरहेछौं । सिमकोटको पूर्वतिर छ शिवमन्दिर । शिवमन्दिरको पूर्वतिर भीरमा टुक्रुक्क बसेको छ बुराउँसे गाउँ । अलि तल भीरमै माहुरीको गोलाझैं गुटुमुटु परेको छ हेल्दुङ्ग गाउँ । नजिकै बगिरहेछ हेल्दुङ्ग नदी । नदीभन्दा पारिपट्टि हरियो पाखो छ, बाँदर लड्ला जस्तो भिरालो तर, हरियो गलैंचा बिछ्याएजस्तो सुन्दर । त्यही पाखोको माझतिर पटुकी बाँधेजस्ता दुईवटा रेखाहरु । ठेहे गाउँ समात्दा रहेछन्  ती रेखाहरुले । तल हुम्ला कर्णाली सेतो साँपझैं कुलुलु बगिरहेको । भर्खर फक्रन लागेका कमलफूलका कोपिला जस्ता पाँच चुचुरा बोकिरहेका पञ्चमुखी हिमालहरु ।

बाटाहरु भन्दा रेखाहरु बढी देखिन्छन् हामी हिंड्ने बाटाहरु । पहाडमा रेखाहरु भेट्नु पनि निकै सजिलो हुन्छ गन्त्व्य भेट्न । अन्यथा बिन्दुबिन्दुमा हराउन बेर लाग्दैनन् सपनाहरु ।

बिहान घामले चुचुरादेखि फेदसम्म उज्यालो पोत्न शुरू गरेपछि हामी पाँचजना शिवमन्दिरबाट ओरालो गुड्यौं । भीरमा कतै बाटै थिएन । कतै ढुङ्गा र घाँस समातेर ओर्लनुपर्ने । गुड्यो भने आफैं लोहोरोको तालमा तल पुग्ने । कतैकतै पाइला बल्ल टेक्न मिल्ने बाटो । बाटामा आफू हिंड्नुभन्दा पनि शरीर आफैं हुत्तिन्थ्यो ओरालोमा । हिंड्नुभन्दा पनि शरीर रोक्नतिर बढी ध्यान पुरयाउनुपर्ने । डाँडाहरु जता हेरे पनि खर ओडेका हरिया । ‘राम्ररी समातेर हिंड्नुस् है हुत्तिनुहोला तलतिर’– सतर्क गराउनुहुन्थ्यो रोकायाजी । ‘धेरै नदौडिनुस् है सर भरे फर्कदा पैताला भरिएलान् पानी फोकाहरुले’—अनुभव पोख्दै हुनुहुन्थ्यो खनालजी । ‘अनुभवीको साथ, यात्राको राज’—त्यसै भनेका होइनन् अनुभवीहरुले ।

हिंडाइमा तन्मयता उब्जिरहेछ । परपरसम्म फैलिरहेछन् मनका स्वप्निल बिरुवाहरु ।

एकघण्टा झरेपछि पूर्वपट्टि पहाडको फेदीमा सात आठ घर भएको सुन्दर गाउँ देखियो — ‘स्याम्ने’ । हेल्दुङ्ग खोलाको गीत र गतिको स्पर्शमा मक्ख छ स्याम्ने । टाढाबाट देख्दा फुस्रा खण्डहर जस्तो लाग्ने हुम्ली शैलीका घरहरु जागिरहेछन् खोंचमा । तलतिरबाट आउने र सिमकोटबाट फर्कनेहरुको बिसौनी पनि रहेछ स्याम्ने । हातमा कुखुरा, पिठ्यूँमा भारी र साना बच्चा र अर्को हातमा बोको डो¥याएर सिमकोट हिंडेका एक हूल भेटिए  त्यहीं ।

‘बिसौनी त रोकावट होइन यात्राको, थकाइ छोड्ने र उर्जा उमार्ने स्यानो सङ्गम रहेछ’— स्याम्नेमा सुस्ताउँदा त्यही सोचें मैले ।  

स्याम्नेमा हेल्दुङ्ग खोला पनि भेटियो । मैले हात चोबें । हिउँको लेदो बग्दै आएझैं चिसो थियो । खोलाले थाम्नै नसक्ने बल ब्युँतिरहेथ्यो पानीमा । रगत जम्ला जस्तो भयो हातको । अलितल ओर्लेको त्यही पानीमा एउटी बहिनी मजासँग जीउ माडेर नुहाइरहेकी थिइन् ।  

‘पानीले टोक्ला नि’– मैले भनें ।  

‘किन टोक्नु पानीले ?’– बहिनी ।

‘चिसो भएर’– मेरो जवाफ ।

‘चिसोमा नुहाए पो तातो हुन्छ, अनि पो चढ्न सकिन्छ डाँडाकाँडा । तपाईंहरु तातोपानीमा नुहाउनुहुन्छ अनि डाँडा चढ्दा गर्न थाल्नुहुन्छ स्याँस्याँ’— पारी भीरबाट ओर्लदा हाम्रा तिघ्रा लगलग कामेको देखिसकेकी रहिछिन् बहिनीले ।

हिउँबाट अग्नी निकाल्ने सूत्र छ गाउँलेहरुसँग । पानीभित्रबाट पाहार निकाल्ने तागत छ गाउँलेहरुसँग ।

हेल्दुङ्गको समानान्तरमा नदीझैं बगिरह्यौं हामी पनि । ओरालो ओर्लन सजिलो त हो तर भकुण्डोझैं गुडेको शरीर भेट्नै मुस्किल पर्ला कि भन्ने डर बढिरहेथ्यो । बढी उचाइबाट कम उचाइतिर ओर्लंदा बढिरहेथ्यो तापको मात्रा । पाइलाहरु भन्दा छिटो कुदिरह्यो उत्सुकता भीर र खोंचहरु नाघ्दै ।

‘के हो हँ डोकामा ?’

 ‘केरा हो हजूर’ ।  

भीरमै मगमग बास आएपछि भरिया दाइ र हाम्रो भयो भलाकुसारी । ‘हुम्लामा पनि केरा’– आश्चर्यमा म ।  

सबैै हुम्ला हिमाल हैन नि । कर्णालीको किनार र बाजुराको सिमानामा भाबर पनि छन् । श्रीनगर र कालिका गाउँमा त धान, केरा र सुन्तला झरिझुट्ट फल्छ । त्यतैबाट ल्याए हुन् यिन्ले । हो ?’ – जयवहादुर रोकायाजीले खोतल्नुभयो यथार्थ ।

भीरमा केरा भेटिएपछि के चाहियो र ? दश रुपैयाँका दरले पाँच केरा किन्यौं र पक्यायौं । हेर्दा झप्री जस्तो खाँदा भने मालभोगभन्दा चौवर मीठो ।  

“हैन यो त अमृतको थुप्रो पो रहेछ कि क्या हो, कति मीठो”– मेजर दिनेशको अभिव्यक्ति ।  

“साँच्चै हो, हुम्लाको केरालाई कसैले भेट्न सक्तोरहेनछ, अमृतफल जस्तो”– अरु हामीले थप्यौं ।  

थप केरा खान सबैैलाई मन थियो, भरिया दाइ भने स्याम्ने नाघेर डाँडामा चढिरहेका चाँचरीजस्ता देखिइसकेका थिए ।

भीरमा गुल्टेको फर्सी बन्ने क्रम रोकिएको छैन ।  

नल्ना गाउँनजिकै पुगेपछि कर्णालीमा मिसियो हेल्दुङ्ग नदी । झण्डै पैंतालीस मिनेट सँगै हिंडेको साथी छुट्यो । मानसरोवर नजिक राक्षस ताल उद्गम रहेको कर्णाली सेतो दूधजस्तै बगिरहेछ । हामीहरु हेल्दुङ्ग मिसिएको महानदी कर्णालीको किनारैकिनार हिंडिरहेछौं ।  

नदीले हतार गर्दैन । प्रकृतिले हतार गर्दैन । आफ््नो गतिलाई कहिल्यै छोड्दैन पनि । वेगले बगिरहिन् कर्णाली । तिमी त कति राम्री हगि हुम्ला । हिमालमा छ्यौ । पहाडमा छ्यौ । सम्म खोंचहरुमा छ्यौ । नदीहरुमा बगिरहिछ्यौ । चर्को हावामा बहिरहिछ्यौ ।

पारिपट्टि माउ र चल्लाहरु छरीबरी भएझैं नल्ला गाउँ टाँसिरहेछ भीरमै । कर्णाली नदीको हावाले बेस्सरी बताउँदोरहेछ नल्ला गाउँका दश घरहरुलाई ।  गाउँ वरिपरि मकै फलिरहेका थिए, कोदो झुलिरहेका थिए, राताम्य लट्टेको लहर थियो; बीचबीचमा सूर्यमूखी फूलिरहेका थिए । गाउँमा मान्छेको भने छायासम्म देखिएन । परपर तीन चार गोठालाहरु गीत गाउँदैथे । उनीहरुको आवाजसँगै कर्णाली सुसाइरह्यो । साँच्चै सुन्दर थियो नल्ना । नल्ना हिमाली परिवेशको गाउँजस्तो देखिएन । कोदो, मकै झुलेको तनहुँको भिमाद वरिपरि वा काभ्रेको फूलबारी डाँडागाउँतिरको झझल्को दिइरह्यो नल्नाले ।

तलतिरबाट उँभो लाग्दै गरेका दुई पुरुष र दुई महिला हामी अघिल्तिर ठिङ्ग उभिए ।  ‘कहाँबाट आया हुन् ?’ मैले हुम्ली शैलीमा सोधें ।  

‘सर पनि हुम्ली बन्न लाग्नुभो’ अब’–रोकायाजी हाँस्नुभयो ।

‘अब एकवर्ष वस्नुभयो भने पूर ैहुम्ली बनिहाल्नुहुन्छ नि’– मेजर दिनेश पनि हाँस्नुभयो ।  ‘छिप्राबाट आया हउँ’— एकजना अधबैंसेले जवाफ फर्काए ।

पुरुषहरुले दौरासुरुवाल लगाएका थिए । कालो दौरासुरुवालमा सयभन्दा बढी टाला थिए । सिलाएदेखि नधोएझैं तिनका कपडाहरुमा काति जमेझैं च्यापच्याप्ती थिए । पुरुषहरुले भारी बोकेका थिए र एक एक ओटा बोका डो¥याएका थिए । महिलाहरुको पहिरन अझ विशेष खालको थियो । चोलो, फरिया र स्पोर्टसुज लगाएका थिए । तर तिनीहरुको परिधान कतै पनि सग्लो थिएन । टम्म मिल्नेगरी बुनेको पोतेमाला, पहेंलो, रातो र नीलो रङ्गका पोतेका ठूल्ठूला झुत्ता, घाँटीमा खगालो  त्यसमाथि रुपैयाँको सिक्का लहरै उनिएको ठूली कम्पनी माला र चवन्नी उनिएको सुकीमालाले बक्षस्थल पूरैढाकिएको थियो । त्यतिमात्र हो र कानमा चक्री , नाकमा घुणी  दुवै खुट्टाको गोलीगाँठामा बढेमाका सेलजत्रा चाँदीका कल्ली, चुल्ठामाथि तीनवटा चाँदीका सिक्का जोडेर बनाइएको काँटाले झकिझकाउ ।

‘हुम्लीहरु लाहुरबाट फर्कंदा गहनाबाहेक केही ल्याउँदैनन् । घरमा खाने गेडा नभए पनि गहनाले छापिन मक्ख पर्छन् महिलाहरु’— गहनाको रहस्य अथ्र्याउनुहुन्छ जयबहादुरजी ।

भारी बोकेका छन्, साना नानीहरु भारीमाथि बोकेका छन्, त्यसमाथि त्यतिविघ्न गहनाहरु । गहना त छ, न त्यसको सफाइ न नुहाइधुवाइ, जन्मेदेखि सिँगान नपुछेका जस्ता बच्चाहरु, आँखामा चिप्रै चिप्रा सबैैका । एउटा बच्चा पाँचदिनदेखि पखलाले लखतरान परेको रहेछ । तिनीहरु घरको अन्न र बोका सिमकोटमा बेचेर नून किन्ने सुरमा हिंडेका रहेछन् । ‘नून पाईंदैन, एक महिना भैसक्यो अलिनु खाएको’– तीमध्ये सिकुटे दाइले आफ््नो पीडा ओकले । साँच्चै कस्ती छ्यौ हगि हुम्ला तिमी ।

एकढिका नून नपाएर तड्पिरहिछ्यौ तिमी । उता राजधानीका होटलहरुमा दिनहुँ सभा सम्मेलनको बहानामा लञ्च, डिनर र पार्टी मनाउनमै व्यस्त छ राज्य । राज्य विदेशीले प्रायोजन गरेको रोडम्यापका शब्दहरु घोक्नमै व्यस्त छ । तिम्रातिर नून र औषधि नपुगेको के थाहा छ र उसलाई ।

यात्रामा भेटिएकाहरुसँग धेरै कुरा सोधखोज गर्ने पक्षमा हुन्छु म सधैं । सोधखोजले नजिक भइन्छ स्थानीयताको । उनीहरुसँग पनि मैले धेरै कुरा सोधें । बताउन त्यति चाहेनन् । जयबहादुरजीले हुम्ली भाषामै कुरा गरेपछि अलि खुले उनीहरु ।

‘यिनीहरुले नै हुन हाम्रो पुल भत्काएका ?’

‘यिनीहरुले होइन, यी त सरकारी मान्छे हुन् ।’

‘ए हामीले त माओवादी ठानेको यिनीहरुलाई । बोल्यो भने हामीलाई पनि युद्धमा जाउँ भन्लान् भनेर तर्किएको हामी’ ।

जयबहादुर र उनीहरुबीच भएको कुराकानी नेपाली भाषामा बुझेपछि पो उनीहरु हामीसँग टाढिन खोजेको रहस्य खुल्यो । खार्पुनाथबाट छिप्रा जाने कर्णाली पुल द्वन्द्वको क्रममा भत्काइएको रहेछ । त्यसले बेस्सरी रिसाएका रहेछन् गाउँलेहरु माओवादीसँग । ‘जे भएपनि पुल त भत्काउन हुन्थेन नि । काँडो समेत नउम्रने कर्णालीमा त्यत्रो मेहनतले बल्ल बनेको पुल भत्काइदिनेको पनि भलो नहोस् । 

अचेल यी यस्ता केटाकेटी र भारी बोकेर तारमा झुण्डेर तर्नुपरेको छ कर्णाली । कति गाउँले कर्णालीमा हेलिएरै मरिसके । पुल भत्काउनेले सोच्नु पर्दैन त्यो । राजनीति गर्नेले त जनतालाई दुःख दिने होइन नि । झन् तिनीहरुलाई नै वास दिनुपर्छ हामी गाउँलेहरुले । घरमा भएको खोलेपानी पनि खोसेर खाइदिन्छन् । फेरि  सिपाही आउँछ । माओवादीलाई बास दिएको भनेर हामीलाई नै भकुर्छ । यस्तो पखेरामा पनि चरा जसरी बाँच्न पाइएन’— हामी सरकारी मान्छे भन्ने थाहा पाएपछि मनका बह पोखे दाइले ।  

‘म पनि सिपाही हुँ, अब त्यस्तो हुन दिंदैनौ है त’— मेजर दिनेशले आश्वासन दिनुभयो ।  

‘लौ है सिपाही बाबु हामीलाई सन्तोषको श्वास फेरेर बाँच्न मिल्ने बनाइदेऊ’—उनीहरुले एकैस्वरमा भने ।

गाउँलेहरु माथितिर लागे । ओरालो लाग्ने क्रम जारी थियो हाम्रो । उत्तिस ढपक्कै उभिएका थिए त्यतातिर । भाँगोघारी फाँड्दै हिंडिरह्यौं हामी बाटोमा । पाखाभरि राता नीला फूलहरुले ढाकेका थिए । भाँगोको चोप हातमा च्याटच्याटी लगाउँदै, चरेस संकलन गर्नेहरु प्रशस्तै देखिए । हामीलाई देखेपछि समात्लान् भन्ने डरले रूखमा छेको लाग्थे । चरेसलाई स्थानीय भाषामा अत्तर भनिदो रहेछ । हुम्लाको अत्तर छिमेकी मुलुकहरुमा बेचेर मालामाल बन्ने गिरोह पनि बाक्लै छ भन्ने बुझियो रोकायाजीबाट ।

‘कता गएर आया हुन् ?’ हाम्रो अघिपछि आएका सत्तरी बहत्तर वर्षे एक बूढालाई सोधें मैले ।  

बूढा दाइको पिठ्यूँमा हल्का भारी थियो ।  दारीजुँगाले अनुहार सुकेको खरले ढाकेको तारेभीर बनेको थियो । हातमा एउटा लठ्ठी थियो । खुट्टामा औंलाजति पूरै देखिने चाइनिज जुत्ता ।

‘सिमकोट’– छोटो जवाफ दिए दाइले । उनले हुम्ली खस भाषामा बोलेकाले बुझ्न  गारो भइरहेको थियो मलाई । दाइ  लत्ताकपडा खरिद गर्न सिमकोट गएका रहेछन् । अघिल्लो साँझ त्यतै बसेका रहेछन् । सिमकोटमा स्वास्थ्य शिविर चलेकोले आँखा पनि जँचाएछन् । ‘गाउँबाहेक कता पुग्नुभएको छ ? – मैले सोधें ।

‘सिमकोट बाहेक अन्त छैन ।’ दाइले जवाफ दिए ।

के देख्यौ त सिमकोटमा ? – रोकायाजीको प्रश्न ।

“टिभि देख्यौं नि”– बूढा दाइमा असाध्यै उमङ्ग रहेछ टेलिभिजन देख्न पाएकोमा । सिमकोटमा दुई महिनाअघि बिजुली बत्ति बलेको र एकमहिना अघि मोवाइल सेवा सुरु भएकोले धेरै हुम्लीका लागि टेलिभिजन र सेलफोन अचम्मको वस्तु भइरहेथ्यो । सिमकोटबाट दुर्इ दिन पैदल हिंडेपछि पुगिने राया गाउँका दलगिरी रावल रहेछन् उनी ।

सत्तरी वर्षे उमेरमा दाइको जिन्दगीमा अघिल्लो दिन अचम्मको घटना घटेको थियो । ‘हैन टिभि भनेको त अचम्म   रैछ ’– दाइले हुम्ली भाषामा बोले । रोकायाजीले त्यसलाई अथ्र्याउनुभयो । ‘केके देख्नुभयो त टिभिमा ?’ मैले सोधें । ‘देखे’नि प्रचण्ड देखें, सीता देखें, रामलक्ष्मण देखें, रावण देखें’– बूढाले भन्दै गए । ‘जिन्दगीमा राम लक्ष्मण, रावण भन्ने सुनेको थिएँ, त्यस्ता भगवानको दर्शन पाउँला भन्ने लागेको थिएन । हैन कति राम्रा रहेछन् राम र सीता ! भगवान भनेको भगवाननै हो रहेछन्, मैले त पाती चढाएर पूजा गरें तिनीहरुलाई । मैले हेरुञ्जेल बिचरी सीता रोइरहिन् , रावण बेसरी कराइरह्यो । कसरी अटाउन सकेका होलान् त्यति धेरै भगवानहरु त्यति सानो टिभिमा’– बूढा दङ्गदास परे ।  

अनि प्रचण्ड कस्तो लाग्यो त ?– रोकायाजीले बूढालाई खोतल्न खोज्नुभयो । रोकायाजी पत्रकार भएकाले कसरी अरुको मनको कुरा खोतल्ने राम्ररी थाहा थियो ।

‘प्रचण्ड त भ्यालै  रहेछन्’– बूढा थोते दाँत देखाएर हाँसे ।

‘प्रचण्ड त प्रधानमन्त्री छन् । नयाँ सरकार आएको छ । कस्तो लाग्या छ त तपाईलाई ?– रोकायाजीले पत्रकार शैलीमा प्रश्न तेस्र्याउनुभयो ।

‘जो भया पनि क्या हुन्छ र ?  आफ्नो दुःख आफैंलाई छन् । यी यस्तो तुइनमा त पैसा खान्छन् । ‘पुरालेकी दश ओरालेकी दश  छ । अनि सरकार भएर के, दुःखीलाई झन् दुःख । दलगिरि दाइको गाउँमा जान कर्णाली नदी तर्नुपर्ने रहेछ । नदीमाथि तारमा रहेको एउटा कोक्रोलाई वारि तान्ने भए वारिकाले पारि जाने भए पारिकाले तान्नुपर्ने रहेछ र मान्छेलाई वारपार गराउनुपर्ने रहेछ । नेता र राजनीतिसँग भने असाध्यै रिस उठेको रहेछ दाइलाई ।

 ‘हामी जस्ताको तस्तै छौं, सरकार जहाँको त्यहीँ छ, अनि के मतलब हामीलाई सरकारको’– दाइले मनका कुरा खोले, ‘तर, प्रचण्ड हेर्दा त राम्रो मान्छे लाग्छ, किन मार्न लगाएको होला मान्छे ?’– बूढाले प्रश्न पनि गरे हामीसँग । “हाम्रोतिर जाने हो ? खुर्सानी ढिंडा जो मिल्छ सो लडकाउँला” — दाइको पवित्र आत्मा बोल्यो ।

‘हैन, पछि आउँला ।’– हामी बोल्यौं ।

दाइ तुइन चढ्न थाले । हामी अघि बढ्यौं ।

आफन्त ठानेपछि गाउँलेहरु ह्वात्तै खुलिहाल्छन् । उनीहरुको सुधोपनसामु कुनै पर्दा  र पर्खालले काम गर्दैन ।

हाम्रा पाइला खार्पुनाथअघि रोकिंदा घाम हामै्र टाउको मास्तिर थियो । । पश्चिमबाट आएको हुम्ला कर्णालीमा उत्तरबाट आएको दोज्याम खोला मिसिदा बनेको दोभान किनारमा रहेछ खार्पुनाथ मन्दिर । ढुङ्गे पहाडको फेदको ककरामा खार्पुनाथ र हिन्दू र बौद्ध धर्मका पाँचसातवटा मूर्तिहरु राखिएको छ । ककरामै जोडेर कुटी बनाइएको छ । हिन्दूहरु बगरमा पनि देवता देख्दछन्, ओडार र ककरामा पनि देवता देख्दछन्, खोंच होस् वा शिखर जहाँसुकै देवताको बास छ भन्ने ठान्छन् र मूर्ति ठड्याउँछन् । खार्पूनाथ पनि यसै संस्कारगत औपचारिकतामा बाँचिरहेछ ।

कुटीबाट भित्रिएपछि एकजना मात्र छिर्ने दुलोबाट पस्नुपर्ने रहेछ । हामीले पालैपालो दर्शन ग¥यौं । खार्पुनाथको मूर्तिसँगै एउटा भारतीय पूजारी थिए ।

‘खार्पुनाथ के हुन्, कसरी उत्पत्ति भए, महिमा के छ ?’– मैले पूजारीलाई सोधें ।

अवाक् बने पूजारी । ‘ठूलो महत्व छ’— सुगाको बोलीमा रटिरहे । बाबाजीले दुई लैना गाई पनि पालेका रहेछन् । दूःध दही माग्दा चिया पसलेलाई बेचिसकेका बताए । ‘जोगीले गाई पाल्न थालेछन् , अब कुन दिन बिहे गर्न बेर छैन’— मैले ती बाबाको नक्कले चालातर्फ इङ्गित गरें । रोकायाजीबाट थाहा भयो ती बाबा त नाम मात्रका रहेछन् । बाबाले गाउँका महिलाहरुलाई अनेकौं बहानामा छामछुम पार्दा रहेछन् । 

गाउँलेले थाहा पाउने डरले चूप रहँदा रहेछन् महिलाहरु । एकदिन शिवमन्दिर दर्शन गर्न आएकी महिला विकास अधिकृतलाई नै हातपात गर्न खोजेपछि उदाङ्ग भएछ उनको कर्तुत । त्यसपछि बाबालाई गाउँलेले निकाले शिवमन्दिरबाट । बाबा खार्पुनाथका नयाँ पूजारी बनेछन् । बाबाको सक्कली रुप थाहा पाएपछि उनी नै मेरा लागि बेचैनी बने । धर्मको नाममा सोझा जनतालाई शारीरिक र मानसिक शोषण गर्नेहरु कुनाकुनामा छन् । मन्दिरसँग टाँसिएर बसेका । देवता र पुजारीको नाममा आफू नखाईनखाई सम्पत्ति सुम्पनु पर्ने बाध्यता सिर्जना गरेका छन् धर्माधिकारी भनाउँदाहरूले । वास्तवमा ईश्वर एउटा नहुने हो भने अलिअलि सन्तोषले बाँच्न पाउँथे कि सोझासाझाहरुले । नेपालका अनकन्टार गाउँहरुमा त्यस्ता बाबाहरुको बिगबिगी छ जो भगवानको रुपधारण गरेको भ्रम बाँडेर कयौं चेलीहरुको अस्मिता लुट्न अघि सर्दछन् ।

खार्पुनाथ मन्दिर अगाडिको स्यानो बगरमा बन्दोबस्ती टोलीका पाँच जना सैनिक भाइहरु खानेकुरा पकाइरहेका थिए ।

‘ए भाइ हो खाना तयार भो ?’– मेजर रजौरेले सोध्नुभयो ।

‘हुँदैछ सा’ब’– तनक्क तन्केर जमदारले जवाफ दिए ।

कर्णाली किनारमा खानपानको बन्दोबस्त गरिरहेछ बन्दोबस्त टोलीले । हामी पुगेपछि जन्ती भित्रिएको दुलहीको घर जस्तो हतारो छ सैनिक भाइहरुलाई । कर्णाली किनारको चौरमा कार्पेट र राडी ओछ्याइएको छ । कुर्सीहरु छन् । खाने, पिउने सामान र भाँडाकुँडाको अभाव छैन । भाइहरु छिनमा काँक्रो, छिनमा अण्डा टोस्ट, छिनमा रोटी र मह, छिनमा चिया खुवाइरहन्छन् हामीलाई । उनीहरुमा अदक छ, अनुशासन छ । उनीहरुले प्रस्तुत गरेको आतिथ्यले मेटिन्छ सबै थकाइहाम्रो । मलाई त दरी छोडेर चौरमै पल्टिन र प्राकृतिक सौन्दर्य पिएर रमरमी बन्न मन लाग्यो । त्यसै गरें मैले ।

‘फुर्सदै छ, केहीबेर घुमु कि ?’– मेरो आग्रह ।

‘हुन्छ जाऊ न त’– सबैको सहमति ।  

हामी दोज्याम खोलालाई दायाँ पारेर पाँच मिनेट अघि बढ्यौं । एउटा नाम मात्रको वस्ती रहेछ त्यहाँ — खार्पुनाथ । जम्मा चार टहरा थिए । आँगनमा एक अधबैंसे कपडा सिलाउँदै थिए । बेलाबेलामा एउटी अधबैंसे उनको अघिल्तिर मासु र जाँड राखिदिंदैथिन् । दुवैले खान्थे । कपडा सिलाउँथे र मरीमरी हाँस्थे । तिनीहरुको जिन्दगी दोज्याम खोलाझैं सफा र आनन्दी लाग्दै थियो — आफ्नै गतिमा बढिरहेको । सँगै अर्को एउटा होटल थियो । त्यो रोकायाजीको मितभाइको रहेछ । ‘दाइ खाना यही खाई जान्या हो ?’ भेट्नेबित्तिकै ती अधबैंसे हौसिए ।

‘हुन्छ नि, हामी धेरै छौं’ – रोकायाजीको ठट्यौलीपन देखियो ।

‘बरु हिमाली जुस छ भने खान्या हो सर, हिमाली जुस खाने ? साह«ै शीतल पो गर्छ ?’– रोकायाजीले एकैपटक भाइ र मलाई पकड्नुभयो ।

‘के जडीबुटीको हो र ?’– मैले सोधें ।

‘होहो, हिमाली जडीबुटीको रस’ – रोकायाजी, उत्तमजी र पसलमा रहेका सबैैबाट हाँसो फैलियो ।

‘हुन्छ खाउँन त’– मैले सहमति दर्शाएँ ।

ती भाइले गिलास भरिभरि खैरो लेदी ल्याए । हेरें । बिग्रेको दहीमा उसिनेको गहुँ मिसाएझैं देखियो । मलाई घिन लाग्यो ।

‘के हो यो यस्तो पनि जुस हुन्छ, म त खान्न’– मेरो जवाफले हाँसो नाघ्यो दोज्यामको पल्लो किनार ।

‘यो त उवाको जाँड पो हो, सरलाई थाहा होला भनेर हिमाली जुस भनेको’ – तन्काउनु भयो मित्रहरुले ।

मैले र मेजरले मात्र लिएनौ ।

हामी बसेकै अघिल्तिर नौ केटाहरु तास खेलिरहेका थिए । तास त के खेल्थे, सबैै हिमाली जुसमा माछा चिप्लेझैं तास तानातान गर्दै थिए ।

पैसठ्ठी सत्तरी वर्षे एक बूढा परतिरबाट ढलपलढलपल गर्दै आए । हाम्रो अघिल्तिर आएपछि मलको डोको घोप्ट्याएझैं बुङ्लुङ्ङ लडे । बिस्तारै उठे ।  हामी सबैैतिर फर्केर हात जोडे । मातमै पनि मातको पश्चताप झल्कँदैथ्यो बूढाबाट ।  त्यसैबेला टहरा छेउमै रोकिए एक हूल खच्चर । हिल्सादेखि सिमेण्ट बोकेर चार दिनमा त्यहाँ आइपुगेका रहेछन् उनीहरु । तीन केटाहरुले धमाधम खच्चरको पिठ्यूँबाट सिमेण्ट अनलोड गरे र एकठाउँमा चाङ लगाए । 

खच्चरहरू चर्नका लागि पाखातिर उकालो लागे । हरिया पाखाहरुमा पन्ध्र बीस खच्चरहरु गारोमा फैलिएका कमिला जस्ता देखिए । गोठालाहरु होटलभित्र पसे । भात र हिमाली जुस गमक्र्याउन थाले । तिनीहरु एकअर्कासँग बेसरी छिल्लिदैंथे । होटलवाला भाइले हाँस्दै भने– यिनीहरु छोटीको कुरा गर्दैछन् । हिल्साबाट त्यता आउँदा एउटी तरुनीको घरमा ती गोठालाहरुको  बास परेछ । एउटाले उनलाई फकाउँन खोज्दा नराम्ररी गाली खाएको घटनालाई अरु साथीहरुले हाँसोको विषय बनाएका रहेछन् ।

रोकायाजी र खनालजी हिमाली जुसमा मस्त बन्नुभएको थियो । मेजर दिनेश र म ती चर्तिकला देख्दैमा मुग्ध बनिरहेथ्यौं ।

दुईतिर आकाशै ढाक्ने पहाडहरुका बीचमा दोज्यामको किनारमा त्यसरी नै बाँच्दोरहेछ खार्पुनाथ बजार । आकाश छेक्ने अग्लो पहाडमाथि एकातिर ठेहे गाउँ र अर्कोतिर याङ्चु गाउँहरु पर्दारहेछन् । तर, ती दुवै गाउँ देखिदैनन् खार्पुनाथ बजारबाट । देखिन्छन् त दुवैतिर बाँदर लड्ने अग्ला चट्टाने पहाड मात्रै । पहाडको भिरालो भागमा चरिरहेछन् घोडा, खच्चर र गधाहरु । बाटै नदेखिने पहराबाट उकालोओरालो गरिरहेका मान्छेहरु । जस्तोसुकै अप्ठ्यारोमा पनि मान्छेहरु आनन्द लिइरहेछन्, रमाइरहेछन्, तर जिन्दगी कहाँसम्म पुग्ने हो उनीहरुको – कुनै लक्ष्य छैन जस्तो लाग्छ ।

बजारको अलि अगाडि दोज्याम खोलामाथि एउटा तुइन तारमा झोलुङ्गो ओहोरदोहोर गरिरहेथ्यो । दिनेशजी र म तुइनको नजिक गयौं र तस्विरमा कैद भयौं । दुईवटी अधवैंसे पिठ्यूँमा भारी बोकेर बच्चा हिंडाउँदै आइपुगे ।

‘कहाँ जान लाग्या हौ ?’ मैले सोधें ।

‘देउडा नाच्न’– तिनीहरुले सीधा जवाफ दिए ।

गौरा पर्व चलिरहेकोले मेला भर्न उनीहरु ठेहेबाट याङ्चु जाँदै थिए ।

‘फोटो खिचौं है ?’ – मेजर दिनेशले सोध्नुभयो ।

‘नाईं’– लजाए तिनीहरु । मानेनन्, मुख छोपे ।

‘अहिल्यै हेर्न मिल्छ क्या तिमीहरुको फोटो’– मैले भनें ।

त्यसपछि तस्बिर खिच्न माने । खिच्नुभयो मेजरले । देखाइदिनुभयो । तस्वीरमा आफूलाई देखेपछि भर्खर  फक्रेको लाहुरे फूलजस्तो देखियो उनीहरुको अनुहार । तस्वीर खिच्न मिल्छ भन्ने थाहै थिएन रे तिनीहरुलाई । ‘भाइ पनि छ’– सानी बच्ची कराई तस्वीरमा आफूलाई देखेपछि ।  भाइलाई पनि तस्वीरमा देखेपछि बुद्रुक्कै उफ्रिई बिचरा । तिनीहरु तुइन चढेर हिंडे याङ्चुतिर । संसार कहाँ पुगिसक्यो । बिचरी हुम्ला, तिमी अझै कति सादा र सुधी बाँचिरहेकी छ्यौ, एकटक हेरिरहें मैलै टाढाटाढासम्म ।

भोकले बेस्सरी हुँडलियो पेट । हामी फक्र्यौं खार्पुनाथ मन्दिर । सैनिक भाइहरुले साह«ै मीठोसँग खाना खुवाए । रणशुर गुल्म रानीवनमै फलेको फर्सी, साग र त्यहीं तयार गरेको गुन्द्रुकको परिकार बिर्सिनसक्नु थियो । भोकको बेलामा तातो गुन्द्रुकको झोल र भात । पेट भरिसक्ता पनि मनले मागिरहेथ्यो । भोको जुकाले भैंसी भेटेजस्तो ग¥यौं हामीले । मेरोलागि दही, दूध समेत जुटाउन लगाउनुभएछ मेजर दिनेशले । भान्छे भाइहरु फूर्तिला, लायकी र आज्ञाकारी थिए ।

सेना वास्तवमा अनुशासनमा चलेको हुन्छ । सेनाबाट अनुशासन झिकिदिने हो भने त्यो विनाशको जग बन्छ । मेजर दिनेश पनि असाध्यै पुखला, मिलनसार र आफूभन्दा तलकाको असाध्यै हेरविचार पु¥याउने खालको हुनुहुँदोरहेछ । ती भाइहरु मेजरलाई अभिभावक मानिरहेथे ।

नीलो आकाश सेता हिमालहरु र हरिया पहाडहरु हुँदै ओर्लिएको छ खार्पुनाथमा । जताततै हरियाली फैलिरहेछ । परपर डाँडाहरुमा गाई वस्तुहरु चरिरहेछन् । धेरै समय आँखा घुमाएपछि मात्र कतै कतै छाया जस्तै देखिन्छन् मान्छेहरु । अनवरत मूच्र्छना निकालिरहेछन् कर्णाली र दोज्यामहरुले । चराहरु खेलिरहेछन् खोलाहरुसँग जुहारी । अर्धमूदित रुपमा हेर्ने र चिम्लने गर्दैछन् बादल छेडेर घामका आँखाहरुले । निर्वाङ्ग प्रकृतिको अन्वितिमा भित्रदेखि फक्रिएको छु  म । उद्याम आनन्द बर्सिरहेछ हावासँगै । खार्पुनाथ प्राकृतिक बगैंचा बनेर ब्युँझिरहेछ । मसिना फूलहरुको रङ्गीबिरङ्गीले महक छरिरहेछन् अनन्तसम्म । फगत त्यो स्वाद लिने मान्छेहरुको कमी छ त्यहाँ । त्यहाँका जल, जमिन, आकाश र जीवजन्तुले कविता लेखाइरहे मलाई ।

खाना खाँदै थियौं । सिमसिम वर्षियो पानी । पानीमा भिज्दै भोक मेटाउनुमा मजा फैलिरह्यो कर्णालीको कञ्चन फैलावटझैैं । दोज्याम र कर्णालीको मिलनले सुसाई अझ सुरिलो बनिरहेथ्यो । पानी र स्याँठको सङ्ग्रालोबाट बच्न घामसँगै उकालोतिर लाग्यौं हामी ।

उकालो चढ्दछौं । पानीले मुसालाई भैंm चुट्दैछ । सैनिक भाइहरुले ओडाएको छाताले थेग्न सकेन । डाँडाबाट बगेको भेलले बगाउला जस्तो छ । न बाटो न घाटो स्याम्नेमा । केहीबेर ओत लागेपछि बल्ल बढ्यो बाँच्ने साहस । स्याम्नेदेखि त नाक ठोकिने उकालो चढ्नुपर्छ । पहाड उचाइ, थकाइ, पीडा, अप्ठेरो, भय सबै पहाड बनेर उभिइहेछ । । जति माथि चढ्यो त्यति अक्सिजन कम, त्यति श्वासप्रश्वासमा अवरोध । छाती पड्केला जस्तो हुन थाल्यो । ‘लेक लाग्यो कि क्या हाे’– मनमनै डराएँ । ‘अलि विस्तारै हिंडुँ है’– अघिल्लो पङ्तिमा हिंडिरहनुभएको मेजरलाई अनुरोध गरें । उहाँको हिंडाइ एकनासको । नथाक्ने किसिमको । तैपनि त्यो पहाडमा म नौलो थिएँ । त्यहाँको उचाइ त्यति मसँग भिजिसकेको थिएन । उभिनेबाहेक टुसुक्क बस्ने ठाउँ छैन उकालोमा । धेरै माथि पुगेपछि बल्ल एउटा थाप्लो भेटियो । एकक्षण सुस्ताउँदा सबै थकाइ मेटियो । पहाडमा हिंड्नुको मजा नै त्यसैमा हुन्छ ।  त्यहाँबाट कर्णाली र हेल्दुङ्ग दुवै देखिन्थ्यो । कर्णालीतिरबाट कुहिरो आइरहेथ्यो । हेल्दुङ्गमा इन्द्रेणी फैलिरहेथ्यो । सिमसिम पानी र पसीनाले लुछुप्प थिए कपडा । हामीले तातोपानीसँग ग्लुकोज खायौं । शरीर झन् ताजा भयो । यात्रा त आर्मीसँग गर्नुपर्ने रहेछ, सबैै कुरा व्यवस्थित, सबैै कुरा सहज’– मनमनै सोचें ।

बिसौनीमा सुस्ताइरहेको बेला माथितिरबाट झरे एक गाउँले । ‘एकक्षण बसौं न ’– मैले आग्रह गरें । बस्न अनकनाए उनी । मैले बढी जोड गरेपछि बल्ल अलि पर बसे, छोइएलाझैं गरेर । पहिले त कुरा गर्नै मानेनन् । बल्लतल्ल कुरा गरे । बुराउँसेका रहेछन् तिनी ।  

‘आज दिउसो मसानमा खाना खान्या तिमीहरु नै हऊ ?’

‘कुन मसान ?’

‘ऊ क्या खार्पुनाथ मन्दिर अगाडि ।’

‘त्यो मसान हो र ?

‘हो त मान्छे पोल्ने ठाउँ मसान नभए के त ? मसानमा त भूतले मात्र खान्छ । मान्छे पोल्ने ठाउँमा चुल्हो बालेर खानेसँग बोल्नु पनि हुँदैन, छुनुपनि हुँदैन ।’

हामीले खाना खाएको ठाउँ त मूर्दा पोल्ने ठाउँ पो रहेछ । आपसमा हेराहेर गरयौं हामीले । थाहा नपाएपछि रछ्यान र ओछ्यानको भेद हुँदोरहेनछ केही पनि । दिनभर मसानमा बसेर खाएछौं भन्ने थाहा पाएपछि एकाएक खरानी बन्न थाले खुशीहरु । मृत्युका लहरहरुले गिज्याएजस्तो लाग्यो हामीहरुलाई ।

उकालो चढ्ने क्रम रोकिएको छैन । दुई मिनेट के हिंडेका थियौं, थचक्क परें म त । एक्कासि खुट्टा बाउँडिए ।  ‘प्यारालाइसिस पो हुन लाग्यो कि क्या हो’— मनमनै डराएँ । लौ न मेरा दुवै खुट्टा त हल न चल भए — चिच्याएँ म । हत्त र  पत्त लौरो दिनुभयो रोकायाजीले । ‘बिस्तारै हिंड्नुपर्छ हजुर, नसा तातेपछि ठीक हुन्छ’– मेजर र उत्तमजीले ढाडस दिनुभयो । हिंडे । बिस्तारै ठीक हुँदै गयो । 

उकालो यात्रामा अविराम गति पनि औषधि हुँदोरहेछ कहिलेकहीं । उकालो चढ्न पाइयो र पो महसुस गर्न सकियो सर्वोच्च आनन्द । जति उकालो ओरालो गरे पनि जिन्दगी छ र पो खप्न सक्छ सबैै दुःख । संसारका कति मान्छेहरुले पो टेक्न सकेका छन् र यी हिमाली उकालीओरालीहरुलाई । जिन्दगीलाई सर्वोच्च ठान्छु म प्रकृतिसँग नाङ्गिएर माया साट्ने मौका पाएकोमा ।

उकालाहरु सपनाका पहाड बनेर फक्रिए मेरा यात्राका बिरुवाहरुमा ।

कुहिरोले पूरअँगालो मारिरहेथ्यो सिमकोटलाई । दिनभर नेटवर्कभन्दा टाढा रहेकोले चूप थियो मोवाइल । पार्वती र छोरी प्रसुनसँग गफिंदा आधा थकाइ त त्यसै बिलायो । उकालो ओरालो र झरीमा झाँटिएको पीडा सुन्दा बरु उनीहरु नै थाके होलान् बरा ।

साँझको बर्कोमा सिँगारिंदा झन्झन् लोभलाग्दी देखिंदैछयौं तिमी । निधारहरु उज्याला बन्दै छन् । कुहिरोको खास्टो ओड्दा सुहागरातमा भेटिएकी दुलही बनिरहेछ्यौ तिमी । शीतलमा असाध्यै शीतल छ्यौ,  तिमी । शान्तमा असाध्यै शान्त छ्यौ, तिमी । तिम्रो काखमा लडिबुडी गर्दा म प्रकृतिको सर्वोच्च आनन्द बटुल्दैछु । टहटह जून लोभिएर हेर्दैछ तिमीलाई । जून पोतिएको तिम्रो अनुहारबाट आनन्दका सहस्र धाराहरु बगेको भेट्दैछु म ।

गाढा आँध्यारोसँगै मौन आतङ्क फैलाउँदैछ सिरोटो । अँध्यारो होस् या उज्यालो तिम्रो सामीप्यले बढाइरहेछ मेरो मनमा स्वप्निल सौन्दर्य । उमङ्गका पखेंटाहरु फिंजारिदैछन् इन्द्रेणी लहरहरुमा ।

पहाड नाघिसकेपछि भेटिएको बिश्राम जीवन्त बन्दोरहेछ उर्वर गराजस्तै ।

निष्पट्ट रातलाई चिर्दै अझै चढौं नयाँ शृङ्खलाहरुमा – छङछङी उत्साहका नदीहरु उर्लिए तिम्रो धापको न्यानोमा ।  

अप्ठेराहरुलाई लडाउन सकुञ्जेल फुलिरहन्छ जिन्दगी उत्साहका रङ्गहरुमा । तिम्रा अङ्गअङ्गमा लुटपुटिंदा जीवनमा फेरि बज्न थाल्यो हिमालझैं सुन्दर जिन्दगीको अमीट मूच्र्छना ।

प्रकाशित: १६ श्रावण २०७७ १०:०१ शुक्रबार

अक्षर नियात्रा